भाउ उच्च भएपछि बजारमा सुन बेच्ने ग्राहकको घुइँचो
गोरखा — बजारमा सुनको भाउ प्रतितोला ७० हजार नजिक पुगेपछि यहाँ खरिद भन्दा विक्री गर्ने ग्राहक बढेका छन् । एक सातायता यहाँका एउटै पसलमा दैनिक पाँच जना सुन विक्रीका लागि आउने गरेका व्यवसायीहरु बताउँछन् । केहिदिन यता विक्री दर ठप्प बनेको गोरखा हरमटारीका सुनचाँदी व्यवसायी राजु बराइलीलले बताए ।
‘अहिले आधा तोला सुनका गहना विक्री गर्न गाह्रो छ,’ उनले भने । दिनै पिच्छे सुनको भाउ महंगिदा समस्या थपिएको उनले बताए । ‘मुस्किलले एक जना खरिद गर्न आए, चार–पाँच जना विक्री गर्न आउँछन्,’ उनले भने,‘अहिले त ग्राहकको सुन किन्ने पैसा पनि अभाव हुन थालेको छ, विक्री हुँदैन किन्ने मात्र काम भएको छ, ग्राहकलाई एक दुई दिनमा आउनुस भनेर गहना नकिनी फर्काउनुपर्ने अवस्था पनि छ ।’
दुई महिना अघि सम्म यहाँका सुनचाँदी व्यवसायी कोटा अनुसारको सुनले ग्राहकलाई पुर्याउन नसकेको भन्दै समस्या सुनाउथे । अहिले भएकै सुन विक्री नभएको नवदुर्गा सुनचाँदी पसलका कृष्णबहादुर विश्वकर्मा बताउँछन् । ‘बैंकमा सुन राखेर ऋण लिएकाहरु पनि अहिले सुन झिकेर बेच्न थालेका छन,’ उनले भने, ‘५०–५५ हजारको हाराहारीमा प्रतितोला हुँदा किनेको सुन अहिले ७० हजार पुग्दा ८/१० हजार नाफा हुने देखेर विक्रीमै चासो बढाएका छन् ।’
घर बनाउँदा ऋण लागेका भूकम्प पीडितहरु पनि सुन विक्रीका लागि सदरमुकाम आएका उनको भनाइ छ । ‘एउटै व्यक्तिले पाँच–सात तोलासम्म सुन बेचेका छन्,’ उनले भने,‘घर बनाउँदा ऋण लाग्यो, बिरामीको उपचार गर्नुपर्यो भन्दै समस्या सुनाएपछि हाम्रै पसलबाट किनेको सुन अहिले हामी आफैँले किन्दैनौ भन्न पनि सकेका छैनौँ ।’
प्रकाशित : श्रावण २५, २०७६ १५:२८