कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हवाई इन्धनको मूल्य दोब्बर भएकोमा टर्किसको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आयल निगमले दोब्बर हाराहारी दरभाउमा उपलब्ध गराउँदै आएको हवाई इन्धनको मूल्य नघटाएमा टर्किस एयरलाइन्सले आफ्नो नेपालको उडान चाँडै स्थगन गर्न सक्ने भनेको छ । 

हवाई इन्धनको मूल्य दोब्बर भएकोमा टर्किसको आपत्ति

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शुक्रबार पर्यटन व्यवसायीहरुसँग आयोजना गरेको भम्रण वर्ष २०२० बारेको अर्न्तक्रियामा टर्किस एयरलाइन्सका प्रबन्ध निर्देशक अब्दुल्ला टुयुन्सर क्यासीसीले एक साताअघि आफ्नो कम्पनीले राजधानी इस्तानबुलस्थित मुख्यालयमा आयोजना गरेको एउटा गोप्य बैठकको कुरा उद्धृत गर्दै भने, ‘गत हप्ता मेरो हेडक्वार्टरमा भएको एउटा बैठकमा काठमाडौंमा उपलब्ध हुने दोब्बर महँगो हवाई इन्धन लगायतको खर्चकै कारण उडान सुचारु गर्न नसकिने भनिएको छ ।’


टर्किसका प्रबन्ध निर्देशक अब्दुल्लाले काठमाडौं विमानस्थलमा आयल निगमले बिक्रि गर्ने हवाई इन्धनको मूल्य संसारमै कतै नभएको भने । आयल निगमले आन्तरिक विमानलाई हवाई इन्धन ९४ दशमलव ५० रुपैया प्रति लिटरमा उपलब्ध गराउँछ भने विदेशी एयरलाइन्सलाई १ सय १८ रुपैया तोकेको छ । निगमले प्रति एककिलोलिटर हवाई इन्धनको १०५० अमेरिकी डलर लिन्छ ।


संसारभरका ३ सय ४ वटा गन्तव्यमा उडान भर्ने यस एयरलाइन्सकालागि नेपाल प्रतिनिधि समेत रहेका उनले मन्त्री भट्टराईलाई केही मुलुकहरुमा उपलब्ध हुने हवाई इन्धनको मूल्य प्रति टन (१२५० लिटर) को ७ सय ५० डलर (८४ हजार) भन्दामूनि रहेको सूचि नै सुनाउँदै भने, ‘हामी नेपालमा पर्यटक बोक्ने एयरलायन्समा पर्छौं, तर अहिलेको अपरेशन खर्चका आधारमा काठमाडौंमा उडान गर्न सक्दैनौ ।’


उनले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा ल्याण्डिङ, पार्किङ, नेभिगेयसन, ग्राउन्ड ह्याण्डलिङको मूल्य पनि अत्याधिक भएको सुनाए । प्रबन्ध निर्देशक अब्दुल्लाले कान्तिपुरसँग नेपाल भम्रण वर्ष सुरु हुनुअघि नेपाल सरकारले सकारात्मक कदम नचाले उडान रोक्न बाध्य हुने बताए ।


पछिल्लो समय भारत र पाकिस्तानबीच चलिरहेको द्वन्द्वका कारण टर्किस एयरलाइन्सले पाकस्तिानको आकाश प्रयोग गर्न पाइरहेको छैन ।


यो एयरलाइन्सले इस्तानबुल–काठमाडौं–इस्तानबुलको उडान पाकिस्तानको आकाशबाट गर्न नपाएपछि भारतको मुम्बई हुँदै मध्यपूर्वी मुलुकको हवाई रुट प्रयोग गर्न परेको छ ।


यसरी घुमाउरो रुट हुँदै उड्नु परेका कारण ४ मिलियन डलर (४५ करोड) अतिरिक्त खर्च बढेको अब्दुल्लाले कार्यक्रममा भने । टर्किस नेपाललाई युरोपसँग जोड्ने एकमात्र एयरलाइन्स हो । ३ सय भन्दा बढी विमानबाट संसारमा १ सय २२ मुलुकमा उडान भर्दै आएको यसले ०७० भदौदेखि नेपालमा उडान थालेको थियो । युरोप लगायतका गन्तव्यमा जानेहरु टर्किसको उडान प्रयोग गर्छन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?