कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुपरदोर्दी ‘ख’ अनिश्चित

आश गुरुङ

(लमजुङ) — ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को निर्माणकार्य अनिश्चितकालका लागि बन्द भएको छ । हेडवर्क्स र पावर हाउसमा जाने बाटो पहिराले बगाएको छ । हेडवर्क्सका सबै संरचनामा बाढीले क्षति पुर्‍याएपछि निर्माण कार्य रोकिएको छ ।

सुपरदोर्दी ‘ख’ अनिश्चित

पिपुल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको टनेलको काम मात्रै करिब ७० प्रतिशत सकिएको थियो । डिसेन्डरको काम चलिरहेको थियो भने इन्टेकका लागि हिउँदमा सबै तयारी गर्नुका साथै केही ठाउँमा संरचना निर्माण गरिएका थिए । बाढीले डिसेन्डर पुरिएको छ र इन्टेक क्षेत्रको नामोनिसाना छैन ।


आयोजनाका निर्देशक अर्जुनप्रसाद गौतमले भने, ‘बाढीले सबै संरचना बिगारेको छ । निर्माण गर्नुपर्ने ठाउँमा जाने बाटोसमेत पहिराले लग्यो । अस्थायी पुलहरू बगाएको छ ।’ अहिले प्राविधिकहरू आयोजनामा भएको क्षति अध्ययनमा लागेका छन् । ‘इन्टेक लगिदिएको छ । बाटो छैन । डिसेन्डरमा ढुंगा, काठ भरिएको छ । टनेल (सुरुङ) मा ढुंगामाटो छिरेको छ,’ गौतमले भने, ‘बाढीले बगाएर घाटा त भयो, अब ती सबै हटाउँदा पनि खर्च लाग्ने भयो ।’


इन्टेकका लागि संरचना निर्माण हुँदै गरेको ठाउँ नै बगाएकाले यसको डिजाइन नै परिवर्तन गर्नुपर्ने उनले बताए । ‘इन्टेकको डाइभर्सन बनाउँदै थियौं । त्यसैको मुनि १० मिटरबाट बाढीपहिराले सबै लगिदियो । अब इन्टेकको डिजाइन परिवर्तन नगरी सुख छैन,’ गौतमले भने । साउन ८ मा बाढी आएको दिन सुरुङभित्र १७ कामदार फसेका थिए । ड्रमको डुंगा बनाएर उद्धार गरिएको थियो ।


बाढीले आयोजना र निर्माण कम्पनीमा गरी २५ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । निर्माण कम्पनी बज्रगुरु कन्स्ट्रक्सनका इन्टेकमा प्रयोग हुने सबै मेसिनरी सामान बगाएको छ । यसबाट १५ करोड क्षति भएको आकलन छ । आयोजनाको भने १० करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको आयोजना निर्देशक गौतमले बताए । ‘हाम्रो प्राविधिक टोली खटिएकाले के–कति क्षति भयो भन्ने विवरण केही सातामा आउँछ,’ उनले भने, ‘सरसर्ती हेरेर अनुमान गर्दा आयोजनातर्फको क्षति १० करोड रुपैयाँ र निर्माण कम्पनीतर्फ १५ करोड रुपैयासम्म क्षति भएको होला ।’ दोर्दी र दूधपोखोलाको सिमाना माथि दोर्दीखोलापट्टिबाट बाढी आएको थियो ।


निर्माण ६ महिना लम्बिने

आयोजनाका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीका अनुसार व्यावसायिक विद्युत् उत्पादन २०७७ असारमा तोकिएको थियो । हरेक वर्ष बर्खायाममा बाढीपहिरोले समस्या बनाउने भए पनि यसपटक क्षति नै हुने गरी बाढी आएपछि समस्या परेको उनले बताए । आयोजना कहिलेदेखि सञ्चालन गर्ने निर्क्योल नभए पनि छिट्टै काम सुचारु गर्ने हिसाबमा लागेको उनले बताए । ‘२५/३० करोड रुपैयाँको क्षति देखिन्छ । सबै बाढीले लगेको छ । पानी

रोकिएपछि बिस्तारै काम गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अनायसै सोच्दै नसोचेको ठूलो घटना घट्यो ।’ बाढीपहिराका कारण कम्तीमा ६ महिनासम्म आयोजना निर्माणको समय बढ्ने उनले बताए । ‘प्रोजेक्ट सकिने बेला थियो । बाढीले डुबायो । आयोजना अवधि बढदा घाटा पनि बढ्छ,’ रायमाझीले भने ।


आयोजनामा करिब ८ सयजना कामदार कार्यरत थिए । उनीहरू अहिले अलमलमा छन् । अधिकांश कामदार बिदामा गइसकेका छन् । ‘कामदार यहाँ भएर के गर्नु ? काम छैन । धेरैजना आफ्नो घर गइसकेका छन् । ठेकेदारसँग सल्लाह गरेर पछि आउने भन्दै गए । कोही फर्किन्छ या फर्किंदैन थाह छैन,’ आयोजनाका एक कर्मचारीले भने ।


बाढीले क्षति पुर्‍याएपछि आयोजनाको लागत बढ्ने देखिएको छ । साढे ८ अर्ब रुपैयाँमा निर्माण प्रक्षेपण गरिएको उक्त आयोजनामा बाढी र पहिरोका कारण लागत बढ्ने भएको हो ।


लागत कति बढ्ने भन्ने विषय अहिले नै आकलन गर्न नसकिए पनि बाढीपहिरोबाट भएको क्षति समेत जोडदा र बढी समय आयोजना निर्माणमा लाग्दा लागत स्वत: बढ्ने आयोजनाले बतायो । यस्तै दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीबीच बग्ने दोर्दीखोलामा निर्माणाधीन उक्त अयोजनामा बाढीले पुर्‍याएको क्षतिबारे चासो राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले समेत अघिल्लो साता निरीक्षण गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?