कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारीको बीउ उत्पादन घट्दै

घनश्याम खडका

म्याग्दी — तरकारी बीउको पकेट क्षेत्र मानिएको जिल्लाबाटै उत्पादन घट्न थालेको छ । रायो साग, केराउ, सिमी, काँक्रो, मुलालगायत एक दर्जनभन्दा बढी तरकारी र मकै तथा गहुँजस्ता अन्नबालीको बीउ उत्पादन घटेको हो ।

तरकारीको बीउ उत्पादन घट्दै

कृषि ज्ञान केन्द्रका बालीविज्ञ भोजबहादुर थापाले कर्मचारी र कार्यक्रम व्यवस्थापनको अलमलले बीउको बजार व्यवस्थापनमा समस्या भएको बताए । ‘मूल बीउ नै कृषकले नपाउनु र कृषक–व्यापारी समवन्य नहुँदा न बीउ तयार भयो न कृषकले पैसा पाए,’ उनले भने, ‘जनप्रतिनिधिले पनि तरकारीका साना पोकाको महत्त्व नबुझ्दा तरकारी तथा अन्नबालीको बीउ उत्पादन प्रभावित भयो ।’


विज्ञ भोजबहादुर थापाकाअनुसार आर्थिक वर्ष ०७५/७६ मा म्याग्दीबाट मार्फा चौडापाते सागको बीउ २६ क्विन्टल, मनकामना रायो सागको ४ क्विन्टल, केराउको ३ क्विन्टल, बकुल्लाको २ क्विन्टल, सिमीको ३.५ क्विन्टल, काँक्रोको २ क्विन्टल बीउ निकासी भएको छ । मकैको ३५ क्विन्टल र गहुँको बीउ ८६ क्विन्टल निकासी भएको छ । यो आँकडा अघिल्लो ३ वर्षअघिको भन्दा दुई गुणा थोरै हो ।


ज्ञान केन्द्रका अनुसार अहिले उत्पादन भएको तरकारीको बीउ चार वर्षअघिको उत्पादनको एक तिहाइ मात्र हो । आव ०७३/०७४, ०७४/०७५ मा तरकारी तथा अन्नबालीको बीउको कुनै तथ्यांक कसैले राखेनन् । यहीं बीचमा बीउ व्यापारीले मूल्यमा र समूह नाइकेले बजारलाई झुक्याएकाले खास कृषक बीउ उत्पादनबाट हच्चिएका हुन् ।


लामो चक्र पूरा गरी तयार पारिएको बीउको मूल्य कृषकको हातमा पुग्न नदिन विभिन्न स्वार्थ समूह सक्रिय रहन्छन् । कतिपय ठाउँमा बीउ उत्पादन समूहकै नाइकेले बेइमानी गर्छन् । कृषकबाट संकलन गरेको बीउ व्यापारीलाई बेचेपछि पैसा कृषकको हातमा सहज पुर्‍याउँदैनन् । बीचमै अल्मल्याउँछन् ।


कृषक र बीउ व्यापारीबीच खरिद–बिक्रीसम्बन्धी लिखित सम्झौता नहुने हुँदा मूल्य दिन वा बीउ उठाउने बेला धोका दिन्छन् । साविकका कृषि कार्यालयले कृषक समूह र व्यापारीबीच समन्वयको काम गर्दै आएकोमा पुनःसंरचनाले यो प्रक्रिया अवरुद्ध भएको छ । प्रायः स्थानीय तहमा कृषि प्राविधिक छैनन् । नयाँ भएकाले प्रक्रिया बुझेका छैनन् ।


‘हामी दुर्गम गाउँमा तरकारीको बीउ उत्पादन गर्छौं । बीउ व्यापारी सहरको हुन्छ । विभिन्न अल्झनबीच बीउ पुर्‍यायो, व्यापारीले तौल पुगेन, माग छैन, मूल्य छैन, बिक्री भएको छैन भन्दाभन्दै वर्ष दिनसम्म भुक्तानी रोक्छन् । कहिले त बीउ बेच्ने बेलामा व्यापारीले उठाउनै मान्दैनन्,’ अन्नपूर्ण गाउँपालिका ६ खिवाङको लालीगुराँस तरकारी बीउ उत्पादन कृषि समूहका प्रेमबहादुर गर्वुजाले भने, ‘व्यापारीले सहज उठाउने र समयमै भुक्तानी गरे बीउ उत्पादनमा राम्रो मूल्य छ । गाउँपालिकाले बीउ उत्पादन गर्नेलाई कृषक नै मान्दैन, सहयोग नै गरेन । हामी आफैँले बजार खोजेर काम गरेका छौं । बीउ उत्पादन र बजारीकरण गर्न छुट्टै व्यवस्था भएहुन्थ्यो ।’


तरकारी तथा अन्नबालीका बीउ उत्पादन गर्न लामो प्रक्रिया पूरा गर्नुपर्छ । खेतीबालीबाट जातीय गुण भएकावाला वा कोषा संकलन गरी बीउ शुद्धता कायम गरिन्छ । जातीय शुद्ध बीउबाट कृषि वैज्ञानिकले फार्ममा तयार गरेको प्रजनन बीउबाट वैज्ञानिकको रेखदेखमा बीउ विज्ञले पुनः फार्ममा मूल तयार पार्छन् ।


मूल बीउबाट बीउ विज्ञको रेखदेखमा बीउ उत्पादक कृषकको बारीमा प्रमाणित पहिलो पुस्ताको बीउ तयार गरी अगुवा कृषकमार्फत स–सानो परिणाममा धेरै कृषकको बारीमा रोप्न सिफारिस गरिन्छ । यतिले मात्र बीउको चक्र पूरा हुँदैन । सिफारिस गरिएको बीउ खेतबारीमा रोपेपछि कृषकले खेतको प्रतिफल र स्वादमा सन्तुष्टि प्राप्त गरे/नगरेको आधारमा बीउ विस्थापित गर्ने वा थप सुधार गर्ने काम गरिन्छ ।


‘कार्यालय पुनःसंरचना र कर्मचारी समायोजनले कृषि क्षेत्र अस्तव्यस्त भएको छ । कृषक र कृषि विज्ञबीच सम्पर्क टुटेको छ । स्थानीय तह स्वायत्त भएकाले रिपोर्टिङ सिस्टम बसेको छैन । हामीले यस वर्षदेखि आफ्नै पहलमा स्थानीय तहका कृषि हेर्ने साथीहरूसँग सम्पर्क राखेर डाटा माग्ने प्रयास थालेका हौं,’ कृषि ज्ञान केन्द्रका बाली विज्ञ थापाले थपे, ‘पुरानो नेटवर्कको परिचयले गर्दा हामीले नै कृषक र व्यापारीबीच सम्पर्क स्थापित गरी तरकारी बीउमा पुनः कृषकलाई फर्काएका हौं ।’

प्रकाशित : श्रावण १५, २०७६ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?