गोलभेंडा किन्न घरमा व्यापारी

आनन्द गौतम, ज्ञानु घिमिरे

पाँचथर — गत वर्ष मूल्य नपाएपछि पाँचथर नागीका किसान पोष्टनाथ नेपालले यो वर्ष गोलभेंडा खेती गर्न चासो दिएनन । बारीमा गन्ध फैलिने गरी कुहिएको र मेची राजमार्गमा फाल्नुपरेको सम्झँदै उनले एक रोपनीमा मात्रै खेती गरे ।

त्यो पनि सामान्य ढंगले । याङवरक गाउँपालिका ६ का उनले स्काइभेटर मेसिन लगाएर गह्रालाई ठूलो बनाए र गोलभेंडा रोप्ने खेतमा मकै बाली लगाए । यो खेतमा सिमी, काँक्रालगायतका अरू नै बाली लगाउने मन गरे ।


हिलिहाङ गाउँपालिका अमरपुरका मेदनी भण्डारीले पनि विगतमा जस्तो गोलभेंडा खेतीमा हत्ते गरेनन् । गत वर्षजस्तै होला भन्ने लागेर सामान्य आफूले खाने र आफन्त साथीभाइसम्म आए सब्जीमा ‘मिसाऊँ, अचार खाऔं हैं’ भन्ने गरीको थोरै मात्रै लगाए ।


स्थानीयका अनुसार पाँचथरको गोलभेंडा खेतीको राजधानी मानिएको अमरपुर, थर्पु, भारपालगायतको क्षेत्रका २५ प्रतिशत किसानले मात्रै खेती लगाए । तर, यो वर्ष मूल्य भने पछुताउने गरीको आयो । ‘गत वर्ष कसैले किनिदिन्छ कि भनेर चोकचोक भौंतारिनुपर्‍यो, तै सरकारले सुन्छ कि भनेर सडकमा लगेर फाल्नुपर्‍यो,’ नेपालले भने, ‘यो वर्ष किन नलगाउनुभएको भन्दै घरघरमा व्यापारी आउँछन्, साह्रैपछुतो भयो ।’


आफू पनि उत्पादन गर्ने र गाउँटोलको संकलन गरेर बिर्तामोडसम्म पनि पुर्‍याउने अमरपुरका भानु ढकाल किसानले अहिले प्रतिकिलो ५५ रुपैयाँसम्म पाएको बताउँछन् । झापा विर्तामोडमा पुर्‍याएर थोकमा बिक्री गर्दा ७० रुपैयाँसम्म पाएको उनले बताए । ‘यहाँका किसानले ३५ देखि ५५ रुपैयाँसम्म पाएका छन्,’ ढकालले थपे, ‘हामीले ६० देखि ७० रुपैयाँसम्ममा थोकलाई बिक्री गरेका छौं ।’ झरी परेर डुबान हुँदा र पहाडको बाटो रोकिँदा बिर्तामोडमा खुद्रा मूल्य १ सय २० रुपैयाँसम्ममा बिक्री भएको सुनेको मेदनी भण्डारीले बताए ।


यो वर्षको मूल्य पनि पहिलाको जस्तो धेरैचाहिँ होइन । आफूले बोटैमा ५५ रुपैयाँ किलोसम्म बिक्री गरेको नागीकी इन्दिरा नेपाल भट्टराई बताउँछिन् । तीन वर्षअघि यसरी राम्रो मूल्य आएको थियो । यो वर्ष यस्तो मूल्य आउँछ भन्ने पत्तो हुँदैन । ‘आकाशे फलजस्तो गरेर खेती गर्नुपर्छ,’ उनले भनिन्, ‘कहिले हौस्याउँछ, कहिले रुवाबासी बनाउँछ ।’


गत वर्ष तीन रुपैयाँ किलोमा पनि नबिकेपछि किसानले फालेका थिए । अधिकतम मूल्य लिनेले प्रतिक्यारेट (२३ किलोको एक क्यारेट) ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए । बिषादी परीक्षणलगायतका नाममा भारतले रोक लगाएपछि बजार खस्किएको थियो ।


राम्रो खेती गर्ने किसानले एउटा बोटबाट १३ किलोसम्म गोलभेंडा उत्पादन गर्न सक्छन् । एक रोपनी जमिनमा २५ क्विन्टलसम्म उत्पादन हुन्छ ।


पटक–पटक गरेर पाक्ने भएकाले बजारमा यसरी नै जान्छ । तर, पाकेपछि लामो समयसम्म राख्न नसकिने भएकाले तत्काल बिक्री नभए किसानले समस्या बेहोरिहाल्नुपर्ने कृष्णबहादुर पराङदेन बताउँछन् । भारतले परीक्षणका क्रममा लामो समय लगाइदिए मात्रै पनि किसानलाई समस्या हुन्छ ।


बिक्रीमा समस्या हुने भएपछि पछिल्ला वर्ष किसानले बिषादीको प्रयोग अत्यन्तै कम गरेको बताउँछन् । पाँचथरमा सिजनमा दैनिक ४० ट्रिफरसम्म उत्पादन हुने गरेको व्यापारी भानु ढकाल बताउँछन् ।कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार दुई वर्षअघि यी दुई गाउँपालिकाले मात्रै गोलभेंडाबाट तीन करोड २८ लाख रुपैयाँ भित्र्याएका थिए । प्रकाशित : श्रावण १४, २०७६ ०८:४०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'असारे विकास’ ले निम्त्याएको विनाश

मेची राजमार्गको फिदिम–राँके खण्ड पहिरोले अवरूद्ध हुँदा तीन जिल्लाका बासिन्दालाई आउजाउमा कठिनाइ 
आनन्द गौतम, ज्ञानु घिमिरे

पाँचथर — साताअघि खसेको मेची राजमार्गको फिदिम–राँके खण्डको पहिरो अझै हटिसकेको छैन । पांग्रेभीरको पहिरो पन्छाउन वारीपारि दुइटा स्काभेटर छन् । जब आवागमन एकतर्फी पनि नहुने गरी पहिरोले सडक छेक्छ, पन्छाउन स्काभेटर चल्छन् । 

मौसम सफा हुँदा र पहिरो नझर्दा ट्राफिक प्रहरीको संकेतअनुसार एकतर्फी गाडी मुस्किलले चल्छन् । झरी पर्दा आवागमन रोक्ने गरिएको छ । पांग्रेभीरको पहिरोका कारण फाल्गुनन्द गाउँपालिका–३ मालिंगेका तीन घर पनि जोखिममा छन् । हिलिहाङ गाउँपालिका–७ टारीको यलम्बर पार्क मन्दिरको छत खस्दा दुईजना कामदारको ज्यान गयो । ढलान खोल्ने क्रममा स्थानीय रुद्र राई र जगत राईको ज्यान गएको हो । ढलान खोल्न चारजना गएका थिए । चारमध्येका एकको हातमा चोट लाग्यो ।

मेची राजमार्गमै रहेको यो गुणस्तरहीन ढलान र समय नपुग्दै खोलेका कारण ज्यान गएको हो । पांग्रे भीरको पीडा पाँचथरलाई मात्रै नभएर ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दालाई पनि भएको छ । दुवै घटना चरम लापरबाही र असारे विकासको परिणाम भएको जिल्ला समन्वय समिति पाँचथरका संयोजक विष्णुप्रसाद सापकोटा बताउँछन् ।

जिल्लाको अनुगमन समितिको संयोजकसमेत रहेका सापकोटाले बाटो हिंड्दा पाङ्ग्रेभीर भत्काएको देखेर सडक विस्तार गर्ने भन्ने लागेको बताए । ‘बाटो हिँड्दा काम गर्दै गरेको त पहिला नै देखेको हो, सडक चौडा पार्ने रहेछन् भनेर वास्ता गरिएन,’ सापकोटाले भने, ‘पहिरोले सडक अवरुद्ध गर्दा मात्रै थाहा भयो कि यहाँको सामग्री लगेर अन्त निर्माण गर्ने र यो ठाउँलाई जोखिमपूर्ण बनाउने काम गरिएछ ।’ सडक डिभिजन कार्यालय र ठेकेदारलाई गलत काम गरिएको भनेर सचेत गराएको दाबी गरे । ‘काम त बिग्रिहाल्यो,’ सापकोटाले भने, ‘तर आइन्दा दिनमा यस्तो नहोस् भनेर पनि सचेत चाँहि गरायौं ।’

टारीमा भएको दुर्घटनाको विषयमा पनि सत्यतथ्य बाहिर ल्याउन गाउँपालिका अध्यक्षलाई भनेको सापकोटाले बताए । यी घटना आगामी दिनमा आफ्ना लागि पनि पाठ सिकाइ भएको सापकोटा स्विकार्छन् । उनका अनुसार गाउँपालिकाले राजा यलम्बरको शालिकको माथीवाट छाता लगाउन वजेट दिएको थियो ।

तर उपभोक्ताले पुरै ढलान गर्दा गुणस्तर नपुगेर दुर्घटना भयो । असारे विकास हतारमा कामगर्ने र चेक साट्ने उद्देष्यले गरिएको योजनाको ढलान असार मसान्तको दुई दिन अघि मात्रै ढलान भएको थियो । त्यसको ८ दिनमै खोल्न कामदार लागेका थिए । बिममा रड नदेखिएको, ढलान गर्दा राखिनुपर्ने रड पनि नभएको र सिमेण्ट, बालुवा र गिटिको मात्रा नमिलेको स्थानीय टिकहाङ लिम्वू बताउँछन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहाल प्राविधिकको परामर्श नमानी उपभोक्ता समितिले जबरजस्ती काम गर्न खोज्दा दुर्घटना भएको दावी गर्छन् । त्यही कारण गाउँपालिकाले २ लाख रुपैयाँको आयोजनामा १ लाख ५३ हजार मात्र भुक्तानी दिएको उनले बताए ।

खाद्यान्न र तेल ढुवानीमा समस्या
ढुवानी साधन चल्न नसक्दा ताप्लेजुङ र पाँचथर दुबै जिल्लामा समस्या भएको छ । पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन । ‘असार मसान्तअघि भए त हाहाकारै भइसक्थ्यो,’ आशिका आयल सप्लायर्सका सञ्चालक तारा बरालले भने, ‘अहिले निर्माणका काम कम भएकाले थोरैले पनि काम चलिरहेको छ ।’ एक साताभन्दा बढी समयसम्म ढुवानीका साधन नआउँदा सामान निख्रिदै गएको उद्योग वाणिज्य संघका उपाध्यक्ष नारान थापाले बताए ।

वैकल्पिक सडक भएन
पाङ्ग्रेभीरको विकल्पमा सडक निकाल्न सकिने अवस्था नरहेको जिल्ला समन्वय समिति प्रमुख सापकोटा बताउँछन् । राँकेबाट पौवा भञ्ज्याङ निस्कने ग्रामीण सडक भासिएका कारण सम्भव नभएको हो । ‘सोलिङ लगायो सबै भासिइहाल्छ, ठूला सवारी त चलाउन सक्ने अवस्थानै भएन,’ उनले भने, ‘अब यही भीरलाई कहिलेसम्म हुन्छ पन्साएर चलाउनुको विकल्प छैन ।’ यात्रुवाहक साना सवारी मात्रै चलाउने प्रयास पनि सफल नभएको सापकोटाले बताए ।

प्रकाशित : श्रावण ९, २०७६ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×