कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धानमा ठगिँदै किसान

सस्तो मूल्यमा धान बेच्न बाध्य किसान तौलमा पनि ठगिए  
देवनारायण साह

मोरङ — रंगेली नगरपालिका ५ का कृषक सुरेन्द्र मण्डलले ५४ कठ्ठामा उब्जाएको चैते धान स्थानीय व्यापारी नन्दलाल मण्डललाई बिक्री गरे । उनले उब्जाएको घुटराज प्रजातिको ३५ मन धान तौलेर र बजरंगी प्रजातिको धर्मकाँटामा तौल गर्ने सर्तमा नन्दलाललाई दिएको बताए । 

‘धानको तौलमा व्यापारीले ठगी गरिरहेकाले धर्मकाँटामा तौल गर्ने सर्तमा धान व्यापारी नन्दलाललाई ३ सय १४ वटा बोरामा दिए,’ उनले भने, ‘ना३ख ५२५९ नम्बरको ट्रकमा धान लोड गरेर डोरी बाँध्दै नन्दलालले यो सिल भयो अब राइस मिलमा मात्रै खुल्छ भन्यो ।’ दुवै पक्षको उपस्थितिमा धर्मकाँटामा धान तौल गर्ने सर्त गरेर नन्दलालले ट्रक लिएर गएको तर भोलिपल्ट उनले एक्लै तौल गरेको बिल ल्याएर दिएको सुरेन्द्रले गुनासो पोखे ।


‘मैले ३ सय ४० मन जति धान हुने अनुमान गरेको तर नन्दलालले ३ सय १४ मन ३५ किलो मात्रै तौल आएको बताउनुभयो,’ उनले भने, ‘धर्मकाँटाको बिलमा आफूले अनुमान गरेअनुसारै ३ सय ३५ मन ३५ किलो तौल उल्लेख छ तर नन्दलालले २१ मन धान बाटोमा पनि ट्रकमा लोड गरेको भनेर ठग्न खोज्दै छ ।’ गत वर्षपनि त्यत्तिकै जग्गामा लगाएको चैते धान ३ सय ८२ मन दाइँ गरेर बिक्री गरेको तर यस वर्ष व्यापारीले ठग्न खोजेको उनको गुनासो छ ।

नन्दलालले प्रतिक्विन्टल १५ सय ७५ रुपैयाँको दरमा सुरेन्द्रको धान खरिद गरेको छ तर त्यो धान मिलमा पुग्दा प्रतिक्विन्टल १८ सयमा बिक्री भइरहेको छ । व्यापारीले धानको मूल्यमा समेत कृषकलाई ठग्न गरेका छन् ।


व्यापारीले ठगी गरेको बारे इलाका प्रहरी कार्यालय रंगेलीमा असार १५ गते जाहेरी दिएको सुरेन्द्रले बताए । ‘सुरुमा प्रहरीले जाहेरी लिनै मानेन तर पछि दर्त्ता नै नगरी लिएर राख्यो,’ उनले भने, ‘जाहेरी लिएको एक सातापछि दुवै पक्षलाई बोलाएर छलफल गराउँदासमेत व्यापारीले गल्ती स्विकारे पनि कारबाही भएको छैन ।’


कृषक रामानन्द मण्डलले पनि २ बिघामा लगाएको चैते धान २ सय २० मन व्यापारीलाई बिक्री गर्दा ठगिएको गुनासो पोखे । ‘चैते धान असार लागेपछि काटेकाले तत्काल बिक्री गर्नुपर्ने बाध्यात्मक स्थितिको व्यापारीले फाइदा उठाएर कम मूल्यमा खरिद गर्‍यो,’ उनले भने, ‘सबैको १५ सय ७५ रुपैयाँ प्रतिक्विन्टलको दरमा खरिद गरिरहेको धान मेरो १५ सयको दर मात्रै खरिद गर्‍यो ।’ आफ्नो आँगनमा सुकाउने ठाउँ नभएको र वर्षा हुन सुरु हुनुअगावै व्यापारीले मूल्य घटाएर खरिद गर्दै आएको उनले बताए ।


‘सबै कृषकले चैते धान कम्पन मेसिनले काटा परालजति खेतमै रहने र धान मात्रै घर ल्याउँछन्,’ उनले भने, ‘प्रतिकठ्ठा ५–७ मनको दरले उत्पादन भएको धान कुनै पनि कृषकको भण्डारण गर्ने क्षमता हुँदैन किनकि काँचो धानलाई सुकाएर मात्रै भण्डारण गर्न मिल्छ ।’


वर्षाको समय सुरु भएपछि पाक्ने चैते धान गाउँमा सुकाउने ठाउँ पनि नहुने गरेकाले सबै कृषकले एकैपटक बिक्री गर्न बाध्य हुने गरेको स्थानीय कृषक युगेश मण्डलले बताए । ‘कृषकलाई बिक्री गर्नैपर्ने बाध्यात्मक अवस्थामा व्यापारीले मनोमानी रूपमा ठगी गर्दै आएका छन् र त्यसका लागि बोलिदिने कोही छैनन्,’ उनले भने, ‘व्यापारीले धान तौलमा समेत ठगी गरिरहेका छन् तर नियामक निकायले काँटा जाँच्न गर्न आएको अहिलेसम्म हेरेका छैनौं ।’

नाप तौल विभागलाई कृषकलाई ठग्ने व्यापारीहरूको काँटा जाँच गरेर कारबाही गर्न मण्डलले माग गरे । ‘सबै व्यापारीले सीमावर्ती भारतीय बजारबाट डिजिटल काँटा खरिद गरेर ल्याएका छन्,’ उनले भने, ‘व्यापारीहरूले डिजिटल काँटामा एक पटकमा एक मन तौल्ने गरेको तर त्यही धान किलोले तराजुमा तौल गर्दा ४२/४५ किलो हुने गर्छ ।’


धान खरिदमा गरेको ठगीको हिस्सा स्थानीय प्रहरीलाई पनि बुझाउने गरेकाले व्यापारीहरूलाई कारबाहीको दायरामा नल्याउने गरेको कृषकहरूको आरोप छ ।


इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक कबिन्द्र कार्कीले सुरेन्द्र मण्डलले धान खरिदमा व्यापारीले ठगी गरेको जाहेरी दिएको स्विकारे । ‘दुवै पक्षलाई छलफल गराउँदा व्यापारीले ठगी नगरेको भन्ने र कृषकले ठगी गरेको भन्ने अडान लिए,’ उनले भने, ‘त्यसको जाँच गर्नका लागि ना३ख ५२५९ नम्म्बरको ट्रकबाट धान बिक्री भएको मितिमा कति बोरा धान बिक्री भएको बारेमा मिलमा जानभन्दा कृषकले जान चाहेनन् ।’ कृषक सुरेन्द्रले प्रहरीले कहिल्यै पनि आफूलाई मिलमा पुनः जाँचका लागि जान नभनेको गुनासो पोखे ।

प्रकाशित : श्रावण १३, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?