नेप्से घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे २ अंकले घट्यो । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले घटेर नेप्से १ हजार २ सय ७२.४९ विन्दुमा ओर्लेको छ ।

सो दिन १ हजार २ सय ७५.७१ विन्दुबाट सुरु भएको परिसूचक बढेर दोस्रो घण्टामा १ हजार २ सय ८३.५९ विन्दुसम्म पुगेको थियो । त्यो वृद्धि धेरै बेर टिकेन । त्यसपछि ओरालो लागेको नेप्से २.३७ अंकले घटेको हो ।

यो साताका चार कारोबार दिन नेप्से बढे पनि अन्तिम दिन घटेको हो । गएको चार दिनमा नेप्से साढे २६ अंकले बढेको छ । नयाँ आर्थिक वर्षको सुरुवातदेखि सेयरको पुँजीगत लाभकर गणना विधिपरिमार्जन भएको छ । नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले आफ्नो लगानीको भारित औसत लागत गणना गरी फाराम भर्नुपर्नेछ ।

अन्यथा राफसाफ प्रणालीले नै कारोबार भएको धितोपत्रको भारित औसत लागतको आधार मूल्य स्वतः अंकित मूल्यलाई कायम गर्ने व्यवस्था छ । त्यसपछि सोही मूल्यलाई आधार मानेर कारोबारको राफसाफ हुने कानुनी व्यवस्था छ । यो व्यवस्थाले लगानीकर्ता अन्योलमा रहेको ब्रोकरहरू बताउँछन् ।

बिहीबार ४१ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको करिब साढे १ करोड रुपैयाँले कम हो । उक्त दिन कारोबारमा आएका १ सय ५८ कम्पनीमध्ये ६४ को सेयर मूल्य बढ्यो, ६७ को घट्यो र बाँकी २७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक घटेपछि सेयर बजारको आकार (कुल बजार पुँजीकरण ) पनि खुम्चिएर १५ खबै ८४ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सञ्चय कोषले ब्याज घटायो

कान्तिपुर संवाददाता

काठमाडौँ — कर्मचारी सञ्चय कोषले जलविद्युत् क्षेत्रको लगानी र घर सापटीमा साउन १ देखि लागू हुने गरी ब्याजदर घटाएको छ । कोषले जलविद्युत् क्षेत्रको विकासमा योगदान पुर्‍याउन र सञ्चयकर्तालाई घरसापटीमा राहत दिन ब्याजदर घटाइएको जनाएको छ ।

कोषले जलविद्युत् क्षेत्रमा गरेको लगानीको ब्याज १०.७५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ । कोषले माथिल्लो तामाकोसी, मध्य भोटेकोसी, रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो त्रिशूली ३ ‘बी’ लगायतका विद्युत् आयोजनामा ऋण लगानी गरेको छ । कोषका अनुसार यी सबै आयोजनाले तिर्नुपर्ने ब्याजदर घटेको छ ।

कोषले ४० लाख रुपैयाँभन्दा बढीको घर सापटीको ब्याजदरसमेत घटाएको छ । कोषले घरसापटीमा १०.२५ प्रतिशत लिँदै आएको ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।

अरू ऋणमा भने ब्याजदरमा परिवर्तन नगरिएको कोषले जनाएको छ । कोषले विशेष सापटीमा ९.५०, ४० लाखसम्मको घर सापटीमा ९.७५ तथा सञ्चयकर्ता शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ तथा सरल चक्र कर्जामा १०.२५ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ ।

प्रकाशित : श्रावण ३, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×