कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानी–जमरा सिँचाइको परीक्षण

गणेश चौधरी

टीकापुर — राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइको प्रारम्भिक परीक्षण गरिएको छ । मंगलबार मुख्य इन्टेकको गेट टेस्ट (परीक्षण) रन गरिएको हो । 

इन्टेकको निर्माण कार्य करिब ५ वर्ष पहिले सम्पन्न भए पनि गेट जडान भएको थिएन । ८ वडा हेड रेगुलेटर गेट जडान गर्नुपर्नेमा ३ वटा जडान भइसकेको र बाँकी जडानको काम भइरहेको रानी–जमरा–कुलरिया सिँचाइ आयोजना प्रमुख मधुकर रानाले बताए । उनले भने, ‘३ वटा गेटको अपरेसन टेस्टिङ गर्‍यौं । मूल नहरमा पानी सञ्चालन हुने अवस्था छ । हाइड्रोपावर निर्माणाधीन अवस्थामा रहेकाले सञ्चालित पानी सेटलिङ बेसिनबाट पानी बाइपास गरिएको छ ।’


हाइड्रोपावरको डिजाइन संरचनामा केही फेरबदल गर्नुपरेकाले केही ढिलाइ भएको आयोजना प्रमुख रानाले बताए । उनले भने, ‘वर्षाले काममा अवरोध छ । वर्षा लगत्तै काम सुरु हुन्छ । यसै वर्ष सकिन्छ हाइड्रोपावरको काम पनि ।’

हाइड्रोपावरको काम गर्दा जमिनमुनिबाट अत्यधिक पानी निस्कँदा संरचना बनाउन समस्या भई केही ढिलाइ भएको आयोजना प्रमुख रानाले बताए ।


रानी–जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको मुख्य इन्टेकबाट रानी–जमरा र कुलरिया कुलोका लागि आएको करिब ५५ क्युमेक पानीबाट करिब ४ मेगावाट बिजुली निकाल्ने उनले बताए ।


पहिलो चरणको कामबाट १४ हजार ३ सय हेक्टरमा सिँचाइ पुगेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख रानाले भने, ‘मूल नहरको काम अब करिब सकिएको छ । किसानको खेतसम्म पानी जाने ससाना कुलाको व्यवस्थापन गर्ने काम पनि आयोजनाले गर्नेछ ।’


सिँचाइ आयोजनाले पहिलो चरणमा कर्णाली चिसापानीमा कर्णाली नदीको पुलको तलतिर करिब १२० मिटर तल मूल इन्टेक निर्माण गरेको छ । इन्टेकबाट करिब ९ किलोमिटर मूल नहर निर्माण, १४ किलोमिटरको नयाँ शाखा नहर निर्माण, कृषक सञ्चालित नहर प्रणालीहरूको पुनर्निर्माण/सुदृढीकरण, सिञ्चित क्षेत्र बचाउ, गाउँले कृषि सडकको सुधारलगायतको काम गरेको जनाएको छ ।


सिँचाइ आयोजना सम्पन्न गर्न नेपाल सरकार, विश्व बैंक र उपभोक्ताको लगानी छ । विश्व बैंकले नदी नियन्त्रण, बाटोको स्तर सुधार तथा सहायक नहर निर्माणमा लगानी गरेको र नेपाल सरकारले मूल इन्टेक तथा मुख्य नहर निर्माणमा लगानी गरेको जनाइएको छ ।


सिँचाइ आयोजनाले दोस्रो चरणमा पथरैया नदीसम्म लम्कीचुहा नगरपालिकाको वडा नम्बर ४ ६ र ८ मा नहर विस्तार गरिरहेको छ । लम्की क्षेत्रमा करिब साढे १४ किलोमिटर नहर बनिरहेको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?