कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वव्यापी साझेदारी बैठक : नेपालको अध्यक्षतामा एसियाली देशले छलफल गर्ने

बैठकमा सहभागी देशहरूले दिगो विकास लक्ष्य हासिल र प्रभावकारी सहायता परिचालनका क्रममा आफ्नो देशको अनुभव आदानप्रदान गर्ने

काठमाडौँ — प्रभावकारी विकास सहकार्यका लागि विश्वव्यापी साझेदारी (जीपीईडीसी) को आगामी बैठकको अघिल्लो दिन हुने साइड लाइन मिटिङको सहअध्यक्षता नेपालले गर्ने भएको छ । 

जुलाई १३ र १४ गते अमेरिकाको न्युयोर्कमा हुने बैठकको अघिल्लो दिन एसिया प्रशान्तका विभिन्न देशका प्रतिनिधिबीच दिगो विकास लक्ष्यका लागि आफ्नो देशको अनुभव आदानप्रदान हुने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए ।


उनका अनुसार नेपालको अनुरोधमा बंगलादेशले पनि साइड लाइनको सहअध्यक्षता गर्न सहमति जनाएको छ । साइड लाइन बैठकमा सहभागी देशहरूले दिगो विकास लक्ष्य हासिल र प्रभावकारी सहायता परिचालनको क्रममा आफ्नो देशको अनुभव आदानप्रदान गर्ने र सोही बैठकको निचोड जीपीईडीसीको बैठकमा प्रस्तुत गरिने नेपालले जानकारी दिए । ‘नेपालजस्तै विकासोन्मुख देशहरूको अनुभव आदानप्रदानले नीति निर्माणका लागि नयाँ सुझावहरू दिन्छ,’ उनले भने, ‘यसको निचोडले दिगो विकास लक्ष्य हासिलका लागि नयाँ दिशा तय गराउन महत्त्वपूर्ण भूमिका खेल्छ ।’ बैठकबाट आएका निष्कर्षहरू प्रस्तुत गर्न नेपाललाई जेपीईडीसीको बैठकको क्रममा समय छुट्याइएको सहसचिव नेपालले बताए । साइड लाइन बैठकमा धेरै देशहरूको अनुभव आदानप्रदान गर्ने साइड लाइन बैठकको अध्यक्षता गर्न पाउनु नेपालको लागि महत्त्वपूर्ण अवसर भएको नेपालले बताए । जीपीईडीसीको बैठकमा भाग लिन अर्थ सचिव राजन खनालसहितको नेपाली टोली न्युयोर्क जाँदै छ । जीपीईडीसीको बैठकमा सरकारी प्रतिनिधिसहित, नागरिक समाज र विकास साझेदार संस्थाहरूका प्रतिनिधि सहभागी हुनेछन् ।


नेपालले जेपीईडीसी स्टेरिङ कमिटी एसियाको प्रतिनिधित्व गर्दै साइड लाइन बैठकको सहअध्यक्षता गर्न लागेको हो । साइड लाइन बैठकको सहअध्यक्षता र जेपीईडीसीमा सहभागिताले विकासको नयाँ प्राथमिकता र दिगो विकास लक्ष्य हासिलका लागि प्रभावकारी स्रोत परिचालन गर्न सघाउ पुग्ने नेपालले बताए । ‘बैठकमा सहभागी देशहरूलाई लगानीमैत्री नीतिका लागि हामीले कानुन संशोधन र नीति नियम परिवर्तन गरेका छौं भन्ने सन्देश दिन यो बैठक महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘दातृ निकायले गरेको प्रतिबद्धताको पनि समीक्षा हुन्छ ।’


जीपीईडीसी बैठकमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने एजेन्डा नै प्रमुख हुने नेपालले जानकारी दिए । ‘दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्र र अन्य गैरसरकारी निकायको ठूलो भूमिका छ,’ उनले भने,

‘लक्ष्य प्राप्तिका लागि थप स्रोत साधन र विभिन्न निकायको भूमिका बढाउने विषयमा बैठकमा छलफल हुनेछ ।’


प्रकाशित : असार २१, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?