युनिलिभरमा धर्ना दिने पक्राउ
मकवानपुर — बहुराष्ट्रिय कम्पनी युनिलिभरमा रोजगारी माग गर्दै धर्ना बसेका मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहानबाट हेटौंडा-३ स्थित युनिलिभरको मूल गेटमा धर्नामा बसेका उनीहरूलाई कार्यालय समय सुरु भएपछि उद्योगको आवागमनमा अवरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
धर्नामा बसेका तीन दर्जन मजदुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । युनिलिभिरको सामग्री उत्पादन गर्ने तेस्रो पक्षीय उद्योग गंगा सोपको सम्झौता युनिलिभरले तोड्दा आफूहरू बेरोजगार भएको भन्दै उनीहरूले धर्ना दिएका हुन् । आफूहरूलाई रोजगारी वा उचित राहत प्याकेज दिनुपर्ने मजदुरहरूको माग छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार नियन्त्रणमा लिएका सबैलाई छाडिएको छ । ‘हामीले धर्ना नदिने सर्तमा छाडेका छौँ ।’, उनले भने ।
प्रकाशित : असार २, २०७६ १५:२६