कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागढुंगा–सिस्ने सुरुङमार्ग जापानी कम्पनीलाई

४ किलोमिटर दूरी छोटो गर्ने सुरुङमार्ग निर्माणको काम असारभित्र सम्झौता भई कात्तिकबाट काम सुरु हुने । ठेक्का सम्झौताको ४२ महिनाभित्रमा सुरुङमार्ग निर्माण गरिसक्नुपर्ने ।
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्ने खोला (नौबिसे नजिक) सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनीले पाउने भएको छ । यो सुरुङमार्ग निर्माणका लागि छवटा कम्पनीले ठेक्का प्रक्रियामा सहभागिता जनाएका थिए । यसमध्ये जापानको हाज्मा/एन्डो जेभीले निर्माणको जिम्मेवारी पाउने गरी छनोट भएको छ ।

पाँच चिनियाँ कम्पनीको प्राविधिक पक्ष मूल्यांकन गर्दा योग्य नभएपछि जापानी कम्पनीले ठेक्का पाउने भएको सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले बताए ।


जेठ अन्तिमसम्म ठेक्का स्वीकृतिका लागि विभागमा पठाइने उनले बताए । यो निर्माण कम्पनीले बीपी राजमार्ग, कोटेश्वर–सूर्यविनायक सडक बनाइसकेको र मर्दीखोला खानेपानीको खानेपानी आयोजनाअन्तर्गत खानेपानी शुद्धीकरण परियोजनाको ठेक्का पाएको छ । ‘सुरुङमार्ग निर्माणका लागि असारभित्रमा सम्झौता भई मोभिलाईजेसन पेस्की रकम दिइसक्ने छौं,’ आयोजना प्रमुख खरेलले भने । वर्षाको समय भएकाले तत्काल काम सुरु हुने छैन । ठेक्का सम्झौता असारमा भए पनि निर्माणको काम कात्तिकबाट मात्र हुनेछ । ‘त्यतिन्जेलसम्म मेसिन जम्मा गर्ने र साइट क्लियर गर्ने काम मात्र होला,’ खरेलले भने ।


ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माण सक्नुपर्ने छ । जापान सरकारको ऋण सहयोगमा सुरुङमार्ग निर्माण हुन लागेको हो । ‘यो २२ अर्ब रुपैयाँ लागतको आयोजना हो । मुआब्जा वितरण र परामर्श सेवा पनि यसैमा पर्छ,’ उनले भने, ‘जापान सरकारको करिब १६ अर्ब मात्र ऋण हो, मुआब्जा नेपाल सरकार आफैंले तिर्नुपर्ने हुन्छ ।’ जापानले ४० वर्षका लागि ० दशमलव ०१ प्रतिशत सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो । ‘पहिलो १० वर्षसम्म ऋणको ब्याज तिर्नुपर्ने छैन,’ खरेलले भने, ‘३० वर्षको मात्र ब्याज तिर्नुपर्नेछ ।’


यो रकमले नागढुंगादेखि सिस्नेखालासम्म २ दशमलव ६८ किलोमिटरको सुरुङमार्ग निर्माण गर्ने हो । सुरुङमार्ग गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाई ओभर बन्नेछ । यो उत्तरतर्फ मोडिएर साढे २ किलोमिटर सडक बन्ने र टनेलको मुखमा पुग्नेछ । सिस्नेमा सुरुङबाट निस्किँदा ५ सय मिटर नयाँ सडक बन्ने र जुन त्रिभुवन राथपथसँग जोडिनेछ ।


काठमाडौंतर्फ जग्गा अधिकरणको काम अन्तिम चरणमा पुगेको छ । ‘मुआब्जा वितरणमा ४ अर्बभन्दा बढी रकम वितरण भइसकेको छ,’ उनले भने, ‘धादिङतर्फ जग्गाको मूल्य निर्धारण भइसकेको छैन, करिब ६०/६५ रोपनी जग्गा चाहिन्छ ।’ जग्गाको मूल्य निर्धाणरको काम प्रक्रियामै रहेको उनले बताए ।


आगामी वर्ष नागढुंगा–नौबिसे सडक खण्डको सुरुङ र सडक निर्माणलाई निरन्तरता दिन अर्थ मन्त्रालयले ६ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार एक साताभित्र ठेक्का टुंगो लाग्नेछ । ‘अहिले धमाधम मुआब्जा वितरण भइरहेको छ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्र ठेक्काको टुंगो लाग्नेछ, अर्को आर्थिक वर्षबाट निर्माणको काम सुरु हुनेछ ।’


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सुरुङ मार्ग निर्माणका लागि प्राविधिक प्रस्तावको मूल्यांकन सकिसकेको बताए । ‘आर्थिक प्रस्ताव मूल्यांकन भइसकेको छ,’ उनले भने, ‘केही दिनभित्रै ठेक्काको टुंगो लाग्नेछ ।’ उनले मूल्यांकनमा केही ढिलाइ भएको बताए । ‘यो अन्तर्राष्ट्रिय बोलपत्र हो, त्यसकारण ढिलो भयो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय भएकाले अली समय दिनुपरेको हो ।’ नागढुंगा–नौबिसे सडकखण्डमा सवारी साधनको निकै चाप छ ।


सवारी साधन लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यता छ । त्यसैलाई मध्यनजर गर्दै सुरुङमार्ग निर्माण गर्न लागिएको हो । सुरुङमार्ग निर्माणपछि करिब ४ किलोमिटर दूरी छोटो हुने आयोजना प्रमुख खरेलले बताए । ‘आधा घण्टा समय बचत हुनेछ,’ उनले भने, ‘पेट्रोलियम पदार्थ बोकेका सवारी साधन सुरुङमार्ग भएर आउन पाउने छैनन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?