कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

यार्सा टिप्न पाटनमा पल्टनै

विष्णुलाल बुढा

डोल्पा — से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जअन्तर्गतका पाटनहरूमा सोमबारबाट यार्चागुम्बु संकलन खुला गरिएको छ । अनुमतिपत्र लिएर ७ हजार २ सय ९९ जना संकलक पाटन क्षेत्रमा प्रवेश गरेका छन् । निकुञ्जले संकलन इजाजतपत्र वितरणबापत चार दिनमै करिब २ करोड राजस्व संकलन गरेको छ ।

निकुञ्ज क्षेत्रका विभिन्न पाटनमा यार्चा संकलन गर्न डोल्पाका साथै आसपासका जिल्लाबाट समेत बर्सेनि हजारौं संकलक आउने गरेका छन् ।


इजाजतपत्र वितरणबापत शुक्रबारदेखि सोमबारसम्म १ करोड ९१ लाख ३१ हजार रुपैयाँ राजस्व उठेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । केही नाकामा उठेको राजस्वको विवरण आइनपुगेको उनको भनाइ छ । उक्त राजस्व सुलीगाड, परिला, रह, रुम, रसी, त्रिपुराकोट, खालिवन, रिग्मो, सुम्धुवा नाकाबाट संकलन भएको हो ।


निकुञ्जका अनुसार १६ वर्ष माथिका व्यक्तिलाई मात्र यार्चा संकलनका लागि इजाजत दिइएको छ । इजाजत लिनेमा ‘क’ वर्गका २ हजार ५ सय ३६, ‘ख’ वर्गका १ हजार २ सय २९ र ‘ग’ वर्गका ३ हजार ५ सय ३४ जना छन् । मुगु, साल्दाङ, भिजेरलगायत केही नाकाबाट यार्चा संकलन इजाजतपत्र जारी गरेबापतको राजस्वको विवरण आउन बाँकी छ । निकुञ्जले ‘क’ वर्गका संकलकबाट ५ सय, ‘ख’ वर्गका बाट २ हजार र ‘ग’ वर्गका संकलकबाट ३ हजार प्रतिव्यक्ति राजस्व संकलन गरिएको जनाएको छ ।


यसबाहेक निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले सेवा शुल्कबापत प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले रकम उठाउने गरेका छन् । समितिले संकलन भएको रकम भने सरकारी कोषमा जम्मा गर्दैनन् । वन, वातावरण तथा सरसफाइका लागि मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले सेवा शुल्क लिने गरेका हुन् ।


यार्चा संकलन क्षेत्र निकै जोखिमपूर्ण रहेकाले १६ वर्षमुनिका बालबालिकालाई प्रवेश नगराइएको निमित्त प्रमुख संरक्षण अधिकृत यादवले बताए । यसैबीच संकलकबाट राजस्व उठाउने विषयमा तोइजम पोस्टमा निकुञ्जका कर्मचारी र मध्यवर्ती क्षेत्रका उपभोक्ताबीच विवाद भएको छ । विवादबारे विस्तृत विवरण आउन नसकेको निकुञ्ज मुख्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?