पुनर्निर्माणलाई १ खर्ब ५६ अर्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले उक्त निर्णय गरेको हो । बजेट निर्माणको गरिरहेको अर्थ मन्त्रालय, योजना आयोग र प्राधिकरणका अधिकारीहरूबीच छलफल गरी उक्त बजेट आउँदो वर्ष आवश्यक रहेको भन्दै स्वीकृति गरेको प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारमार्फत पुनर्निर्माण तथा पुनःस्थापनामा यो वर्षको सहित २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुने अनुमान प्राधिकरणको छ । यो रकम कुल पुनर्निर्माण लागतको करिब ३१ प्रतिशत हो । सरकारले पुनर्निर्माणमा कम्तीमा ९ खर्ब ३८ अर्ब रुपैयाँ खर्चनुपर्ने अनुमान गरिएको छ ।

'यस अतिरिक्त विभिन्न गैरसरकारी संस्थाहरू एवं निजी क्षेत्रहरूबाट पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरू भइरहेका छन्,' बैठकपछि प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा प्राधिकरणले पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवषर्ीय योजनाको कार्यान्वयनका लागि पहिले निर्धारण गरेको खर्चमा पुनरावलोकन गरेको छ ।

'यसअघि निर्धारित कुल ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकतालाई पुनरावलोकन गरी सरकारको बजेट प्रणालीबाट नेपाल सरकार एवं दातृ निकायको स्रोसमेत गरी कुल ६ खर्ब ३० अर्ब परिचालन गर्ने प्रस्ताव छ,' प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सोही वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय भएको हो । 'बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पुनर्निर्माणको कार्य तीव्र रूपमा भइरहेको बताउंँदै बाँकी काम पनि राम्रो गर्न निर्देशन दिनुभयो,' विज्ञप्तिमा भनिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरूका लागि थप बजेट व्यवस्थापन गर्न विभिन्न दातृ निकायहरूसँग परामर्श गरेको र सकारात्मक रहेको बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको बाँकी कार्य सम्पन्न हुने अवधि बजेट परिचालनमा भर पर्ने बताए ।

'प्राधिकरणको कार्यकाल अब २० महिना बाँकी छ । सो अवधिमा पुनर्निर्माणका मूलभूत कार्यहरू सक्नेछौं,' उनले भने,'राज्यको बजेटको सीमालाई विशेष ध्यानमा राखेर समग्रपुनर्निर्माण तथा पुनःस्थापनाका कार्यका लागि बजेट प्रस्ताव पेस गरेका छौं ।' भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन-२०७२ ले पुननिर्माण प्राधिकरणको अवधि पाँच वर्षको तोकिएको छ । सरकारले चाहेमा एक वर्ष समय थप गर्न सक्ने व्यवस्था ऐनले गरेको छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

रूसी विमान दुर्घटनामा ४१ को मृत्यु

एजेन्सी

मस्को — रूसको राजधानी मस्कोमा आपत्कालीन अवतरणका क्रममा भएको विमान दुर्घटनामा कम्तीमा ४१ जनाको ज्यान गएको छ । ९ घाइते छन् । विमानमा ७३ यात्रु र चालक दलका ५ सदस्य थिए । रूसी समाचार संस्थाका इन्टरफयाक्सका अनुसार मृत्यु हुनेमा २ बालबालिका र एक विमान परिचारिका छन् ।

रूसको मस्कोस्थित विमानस्थलमा आपत्कालीन अवतरणका क्रममा आगलागी भएको हवाईजहाज । तस्बिर : एपी

चालक दलका सदस्य तथा यात्रुहरूका अनुसार विमानमा चटयाङ लागेपछि आपत्कालीन अवतरण गरिएको हो । इन्टरफयाक्सका अनुसार मस्कोको सेरेमेतएभो विमानस्थलबाट उडेको केही बरेमै विमान चालकले आपत्कालीन संकेत जारी गरेका थिए ।

दुर्घटनाग्रस्त सुखोई सुपरजेट-१०० विमान रूसको स्थानीय समयअनुसारआइतबार साँझ ५ बजेर ५० मिनेटमा मुर्मन्स्क सहरका लागि उडेको थियो ।

विमान चालक डेनिस यभ्दोकिमोभलाई उद्धृत गर्दै रूसी सञ्चारमाध्यमले 'विमानमा चटयाङ लागेपछि सञ्चार सम्पर्कविच्छेद भएको' जनाएका छन् । उनले भने, 'हामीले पुनः सञ्चारसम्पर्क कायम गर्ने प्रयास गर्‍यौं । तर तत्कालै पुनः सम्पर्कविच्छेद भएकाले केही शब्द मात्र भन्न सम्भव थियो ।'

तर आपत्कालीन अवतरणको पहिलो प्रयास विफल भएको जनाइएको छ । 'फ्लाइट राडार २४' वेबसाइटले विमान उडेको करिब आधा घण्टामा आपत्कालीन अवतरण गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा आगो लागिरहेको विमानको आपत्कालीन द्वारबाट यात्रुहरू निस्कँदै दौडिरहेको देखिन्छ । यभ्दोकिमोभले विमानमा इन्धन भरी रहेकाले अवतरणका क्रममा आगो तीव्र भएको जनाए ।

रूसी स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल भर्ना गरिएका ९ मध्ये ३ अवस्था गम्भीर छ । एक प्रत्यक्षदर्शीले ७८ यात्रु रहेको जेट विमानबाट मानिस निस्किएरभाग्न सक्नु आफैंमा 'चमत्कार' भएको बताए ।

एक यात्रु मिखाइल सेभचेन्कोले धावनमार्गमा विमानलाई आगोको लप्काले छोप्दै गर्दा आफू विमानबाट हाम फाल्न सफल भएको बताए । उनले जलिरहेको विमानबाट यात्रुहरू दौडेर भागिरहेको भिडियो पोस्ट गर्दै आफू सकुशल रहेको जनाएका छन् ।

प्रत्यक्षदर्शी प्याटि्रक होर्लचरले आगोको लप्काले विमान जलिरहेको दृष्य निकै भयानाक रहेको बताए । गायक क्रिस्तियान कोस्तोफले घटना प्रत्यक्ष रूपमा देखेको सामाजिक सञ्जालमा उल्लेख गर्दै विमानस्थलमा मानिस डरले कापेको जनाए ।
रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले विज्ञप्तिमार्फत प्राविधिक त्रुटिपछि जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ । उसका अनुसार आपत्कालीन अवतरणपछि मात्र जहाजमा आगो लागेको हो ।

चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको दाबी गर्दै एरोफ्लोटले एक मिनेटभन्दा कम समयभित्रै सबै याुत्रलाई विमानबाट बाहिर निकालिएको जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनाका पीडितका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । अधिकारीहरूले घटनाको वस्तुस्थितिबारे राष्ट्रपतिलाई अवगत गराइएको र थप अनुसन्धान जारी रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्