'ड्रिमक्याचर’ को बजार बढ्दै

थाइल्यान्ड, इटाली, कोरिया, चीनलगायत देशबाट भित्र्याउने गरिएको डि्रमक्याचर अहिले निर्यात हुन थालेको छ 
सजना बराल

काठमाडौँ — गोलाकार, प्वाँख झुन्डिएको, माकुराको जालोजस्तो झिलिमिली सजावटको वस्तु हिजोआज लोकपि्रय छ । उपहार दिन, घर सजाउन, विदेश पठाउन यसको माग हुनेे गरेको व्यापारीहरू बताउँछन् । झोंछे, ठमेल, बौद्धजस्ता पर्यटकीय क्षेत्रमा यो वस्तु अर्थात् डि्रमक्याचर जताततै बेच्न राखिएको देखिन्छ ।

राजधानीको एक पसलमा ड्रिमक्याचर छान्दै ग्राहक । तस्बिर : सजना/कान्तिपुर

झयालतिर झुन्डयाइने विन्ड चाइमजस्तै हुन्छ ड्रिमक्याचर । करिब उस्तै प्रयोजन भए पनि यी दुईबीच धेरै भिन्नता छ । ड्रिमक्याचर धागोले बनाइन्छ, झुन्डिने भागमा चराचुरुङ्गी, कुखुराका प्वाँख जडान गर्नु यसको विशेषता हो । रड वा पाइपलाई गोलाकार बनाएर त्यसलाई धागोले बेरिन्छ । बीचमा क्रिसक्रस गरेर जालो बनाइन्छ । प्वाँख, बिड्स, स्टि्रङ आदि राखेर सजाएपछि यो तयार हुन्छ ।

'पहिले पहिले विदेशबाट मगाएर बेच्ने चलन थियो,' वसन्तपुरस्थित बीएससी कलेक्सनका सञ्चालक बबिन श्रेष्ठले भने, 'अचेल यहीँ बनाउन थालिएको छ । मान्छेहरूले रोजगारी पाएका छन् ।' बजारमा विभिन्न डिजाइन र साइजका ड्रिमक्याचर उपलब्ध छन् । यसको लोकपि्रयता बढेपछि सजाउन मात्र नभएर ड्रिमक्याचरकै रिरिङ, इयर रिङजस्ता गहनासमेत बनाउन थालिएको छ ।
ठमेलस्थित नमस्ते हयान्डिक्राफ्टकी सञ्चालक सुवर्ण अमात्यले ड्रिमक्याचर बनाउन १० जना कामदार राखेकी छन् । विगत बाइस वर्षदेखि हस्तकला सामग्रीको व्यापार गर्दै आएकी उनले आठ वर्षपहिले पसलमा ड्रिमक्याचर थपिन् । पहिले विदेशीले मात्रै खरिद गर्ने भए पनि हिजोआज नेपालीले बढी किन्ने गरेको बताइन् ।

'नेपालीहरूमा यो फेसन भएको छ,' उनले भनिन्, 'सुत्ने कोठामा यो झुन्डयाएको भने लच्छिन लाग्छ भन्ने विश्वास छ ।' बजारमा २५ रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका ड्रिमक्याचर किन्न पाइन्छन् ।

अमेरिकामा रहेकी आफ्नी दिदी र भान्जाभान्जीका लागि ड्रिमक्याचर किन्न सोमबार ठमेल पुगेका आदर्श बस्नेत उपहारमा यो चीज राम्रो भएको बताउँदै थिए । 'दिदीले मागेकी हो खासमा,' उनले भने, 'भान्जीको कोक्रामा झुन्डयाउन चाहिएको रे ।' उनले ६ सय रुपैयाँमा तीनवटा ड्रिमक्याचरकिनेका थिए ।

यिनले नाबालकलाई राम्रो सपना देख्न मद्दत गर्ने विश्वास रहेको आदर्शले कान्तिपुरलाई बताए । उनले गुलाबी, सुन्तला र हरियो रङका मध्यम साइजका ड्रिमक्याचर खरिद गरेका थिए । नेपालमा बन्नुअघि ड्रिमक्याचरहरू थाइल्यान्ड, इटाली, कोरिया, चीनलगायत देशबाट भित्र्याउने गरेको वसन्तपुरस्थित बीबी इन्टरप्राइजका एस प्रधानले जानकारी दिए । 'अब भने नेपालबाट बाहिर जान थालेको छ,' उनले भने, 'होलसेलमै निर्यात हुन्छ ।'

आयातित ड्रिमक्याचरको मूल्य यहाँ निर्मितभन्दा महँगो हुने गरेको छ । यहीँ बनेका ड्रिमक्याचर राम्रा र सस्तो हुने
भएकाले विदेशीले किन्ने गरेको बीएससी कलेक्सनका श्रेष्ठले जानकारी दिए । 'नाम सुन्दै अनौठो र आकर्षक भएकाले नेपालीहरूमाझ लोकपि्रय भएको होला,' उनले भने, 'यहाँ सस्तोमा पाइने भएकाले विदेशीले बल्कमै किन्छन् ।' उनी महिनामा सरदर ७० वटा ड्रिमक्याचर बेच्ने गर्छन् । विदेशमा समेत सप्लाई गर्दै आएको बताए ।

यहाँबाट कति परिमाणमा ड्रिमक्याचर निर्यात हुन्छ भन्नेबारे तथ्यांक छैन । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले आफूहरूकहाँ यो क्षेत्रका व्यवसायी आबद्ध नभएको जानकारी दिए । 'निर्यात भइरहेको छ भने हामीकहाँ खबर आउनुपर्ने हो,' उनले भने, 'आएको छैन ।' उनले ड्रिमक्याचर बनाउँदा प्रयोग हुने चराचुरुङ्गी र कुखुराका प्वाँखबारे पनि ध्यानाकर्षण गराएका छन् । 'ती कहाँबाट आइरहेका छन् ?' उनले भने, 'खेर गएका प्वाँख हुन् भने हामी प्रोत्साहन गर्छौं तर परेवा मारेर पो यसो गरिँदै छ कि ? छानबिन गर्नुपर्छ ।'

नेपाली बजारमा विगत एक दशकदेखि ड्रिमक्याचर देखिन थालेको शाक्यको अनुभव छ । अहिले आएर यसको लोकपि्रयता चुलीमा पुगेको बताए । कोरियन फिल्म र ड्रामाहरूमा यो सामग्री देखेपछि युवायुवती आकषिर्त भएको व्यापारीहरूको अनुभव छ । 'म कानमा लाउने झुम्काहरू बेच्थें,' ठमेलको नमस्ते हयान्डिक्राफ्टकी अमात्यले भनिन्, 'ड्रिमक्याचरको माग बढेपछि यो पनि राखिदिएँ ।' केही अघि आफूकहाँ यसको व्यापार राम्रो भए पनि अचेल जताततै भेटिएका भएकाले बिक्री घटेको उनको बुझाइ छ ।
के हो ड्रिमक्याचर ?

लोगोमेनन डटकमका अनुसार यो उत्तर अमेरिकाको सांस्कृतिक पहिचान हो । यसलाई त्यहाँको ओजिब्वी र लाकोता आदिवासीको परम्परागत विम्ब मानिन्छ । ओजिब्वीहरू यसलाई 'आसाविकेसिन' भन्ने गर्छन् जसको अर्थ माकुरो हुने वेबसाइटमा उल्लेख छ । यो समुदायले माकुरालाई सुरक्षा र सहजताको प्रतीक मान्ने गरेका छन् । माकुराको जालो शैलीमा बनाइने भएकाले यसलाई उनीहरू 'पवित्र घेरा' भन्ने गर्छन् ।

ड्रिमक्याचरले निद्रामा रहेका मान्छेलाई विशेषतः बालबालिकालाई खराब वा दुःस्वप्नबाट जोगाउने विश्वास राखिन्छ । नेटिभ अमेरिकीहरूले यसलाई खाटकोसिधा मास्तिर वा सूर्यको प्रकाश पर्ने गरीआफ्नो कोठामा झुन्डयाउने गर्छन् । जालोमार्फत ड्रिमक्याचरले राम्रा सपना समात्ने विश्वास छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

निर्यातबारे बेखबर उत्पादक

रमेशकुमार पौडेल

चितवन — माछा, केरा, कुखुरा र महजस्ता उत्पादन जिल्ला र देशभित्र खपत गर्नुका साथै विदेश निर्यात गर्न नसकिने हैन । बजार खोज्ने तरिका र निकासीका नियम प्रक्रियाबारे जिल्लाका किसानहरू खासै जानकार छैनन् ।

मंगलबार रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा भएको निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उत्पादनको अवस्था, समस्या र निर्यातको सम्भावनाबारे चर्चा गरे ।

रमेश पाण्डे चितवन मत्स्य उत्पादक संघका अध्यक्ष हुन् । लागत मूल्यभन्दा पनि कममा माछा बेच्नुपरेको गुनासो गरेका उनलाई व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रशिक्षक राजेन्द्र सिंहले चितवनको माछा बंगलादेश पुर्‍याउन सुझाव दिए । 'बंगलादेश धेरै टाढा पनि छैन । माछाको माग पनि अत्यधिक छ । मूल्य पनि राम्रो छ । अब यहाँ मूल्य नआएको भए त्यता पनि बेच्नुपर्‍यो,' सिंहले भने ।

सिंहको हौसलाले किसानहरू उत्साहित भएको देखिएन । अध्यक्ष रमेशले भने, 'अब भन्ने बित्तिकै कसरी त्यहाँ लैजाने ? हामी यहाँ माछामा समस्या आएर परीक्षण गर्न सरकारी अधिकारीका अगाडि पुग्यौं भने १० बजे जाँदा १२ बजेसम्म माछा चिरफार गरेर अन्तिममा खै के भयो भयो भन्छन् । हाम्राे हालत यस्तो छ ।' चितवनमा उत्पादन हुने माछासहित मह, केरा, कुखुरा निर्यात गर्न सम्भव रहेको अधिकारीहरूले बताए ।

'माछा तिब्बतमा समेत जति पनि बिक्री हुने अवस्था छ । तिब्बत बोर्डर ट्रेड एसोसिएसनका अधिकारीहरूले हामीलाई माछा किन्ने बाचा गरेका छन् । केरुङमा उनीहरूको ठूलो मल रहेछ,' सरकारी निकाय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुरेश खनालले भने । त्यसैगरी केराको बोट अर्थात् थम्बाबाट रेशा निकालेर कपडा बनाउने उद्योग नेपालमा खुलेको पनि उनले जानकारी दिए ।

'केराको फल बिक्री हुन्छ । बोट भने त्यसै खेर गएको छ । त्यसबाट रेशा निकालेर बेच्न सकिन्छ । ललितपुरको लुभूमा केराको रेशाबाट कपडा बनाउने उद्योग खुलेको छ । उसले त्यस्ता कपडा विदेश पठाउँछ,' खनालले भने । चितवनमा पनि रेशा निकाल्ने प्लान्ट राख्ने योजना बनाएको सुनाए । त्यसैगरी महलाई प्रशोधन गरेर विदेश पठाउन सकिने उनले बताए । पूर्वाधारहरूको अभावमा निकासी फस्टाउन नसकेको उनले भने ।

'अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी केन्द्रहरू ठाउँठाउँमा भए स्वदेशी उत्पादक र विदेशी उपभोक्ता वा व्यापारीको जमघट हुन्थ्यो । यसबाट बजार विस्तारमा टेवा पुग्थ्यो । अर्कोतर्फ उत्पादन बढी हुँदा मूल्य कम हुन्छ । ठूलाठूला स्टोरहरू भए त्यसमा राखेर पछि मूल्य आउँदा बेच्न सकिन्थ्यो,' खनालले भने । प्रशोधित कृष उत्पादनले राम्रो मूल्य पाउने भएका कारण प्रशोधन उद्योगहरू खोल्न आवश्यक भएको उनले बताए ।

'भारत तथा अमेरिका र युरोपमा समेत नेपाली कृषि उत्पादन बिनाभन्सार जान पाउने प्रवधान रहेका कारण यहाँका उत्पादनले पनि त्यहाँका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ,' उनले भने । 'धेरैजसो निकासी भारतसँग निर्भर छ । अर्कातर्फ निकासीका नियम प्रक्रिया र बजारबारे उत्पादकहरू जानकार नहुँदा पनि सोचेजस्तो प्रगति नभएको हो,' उनको तर्क थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विदेश निर्यातका साथै चितवनका उत्पादन अन्य प्रदेशमा लगेर बेच्न सक्ने सम्भावना पनि रहेको बताए । संघका निवर्तमान अध्यक्ष तथा कुखुरा व्यवसायी ज्ञानबहादुर बिसुरालले सरकारी नीति नियमका कारण पनि उत्पादनहरू निर्यात हुन नसकेको बताए । आफ्ना उत्पादनहरू लागत मूल्यभन्दा कममा बेच्नुपरेका कारण नेपाली किसानहरू निराश भएको उनको भनाइ थियो ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्