कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातामा ५ अर्बको कारोबार

काठमाडौँ — यो साता पाँच अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम ९० प्रतिशतले बढी हो । गत साता २ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सातामा ५ अर्बको कारोबार

नेप्से परिसूचक निरन्तर रूपमा बढेसँगै कारोबार रकम पनि बढिरहेको छ । यो सँगै सातामा दैनिक औसत कारोबार रकम पनि बढेर अर्ब रुपैयाँ पुगेको छ । गत साताको तुलनामा यो करिब ५३ प्रतिशतले बढी हो ।

साताको कुल कारोबारमध्ये बैंकिङ समूह (२७ वटा वाणिज्य बैंक) को हिस्सा करिब साढे ६७ प्रतिशत छ । सो अवधिमा वाणिज्य बैंकहरूको मात्र १ करोड ११ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।

पछिल्ला एक महिनायता बजारमा वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढदो छ । कुल कारोबारमा वाणिज्य बैंकको हिस्सा बढदै जानुले पनि यही संकेत गर्छ । गत साता कुल कारोबारमा बैंकिङ समूहको सेयर हिस्सा ६५.११ प्रतिशत थियो ।

सामान्य अवस्थामा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा करिब ५० प्रतिशत हाराहारी रहँदै आएको छ । यो साता यस्तो हिस्सा ६५ प्रतिशतभन्दा धेरै हुनुले पनि बैंकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षण बढेको पुष्टि हुने जानकारहरू बताउँछन् ।कुल कारोबारमा बैंकिङपछि बिमा समूहले धेरै हिस्सा ओगटेको छ ।

पाँच दिनको कारोबारमा बिमा कम्पनीका ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भए । यो कुल साप्ताहिक सेयर कारोबारको करिब ११ प्रतिशत हो । गत साता यस्तो हिस्सा थोरैले कम हो । बिमापछि धेरै हिस्सा ओगटनेमा लघुवित्त र विकास बैंक समूह छन् ।

यो साता करिब ५१ हजार कारोबारबाट १ सय ९१ कम्पनीका १ करोड ६३ लाख ६६ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?