कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन बालुवा तस्करी

हरिहरसिंह राठौर

धादिङ — बूढीगण्डकी किनारका ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा दिनदहाडै भइरहेको बालुवा तस्करी रोक्न जिल्ला समन्वय समिति र स्थानीय प्रशासन असफल भएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना, जिल्ला समन्वय समिति र स्थानीय प्रहरीलगायत सरोकारवाला निकायले पटकपटक अवैध उद्योग रोक्न प्रयास गरे पनि राजनीतिक पहुँच र बलियो सेटिङका कारण बालुवा प्रशोधन उद्योग सञ्चालनमै छन् । आयोजनाले मुआब्जा दिएकै क्षेत्रमा बालुवा तस्करी भइरहेको छ ।


ज्वालामुखी गाउँपालिका ५ को बुङकोटघाट र मस्तेखोलामा रहेका दर्जन बालुवा प्रशोधन केन्द्र बन्द गराए पनि साता नबित्दै केही व्यक्तिले फेरि अवैध ढंगबाट बालुवा प्रशोधन गरिरहेका छन् । गोरखाका गण्डकी, सहिद लखन गाउँपालिकालगायत बूढीगण्डकी डुबान क्षेत्रभित्र पनि बेरोकतोक सञ्चालन भइरहेका छन् ।


‘आयोजना मातहत नामसारी भइसकेका विभिन्न स्थानमा १२ वटा अवैध बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपरभन्दा बढी बालुवा बेचबिखन हुँदै आएको छ । हामीले नियन्त्रण गर्न स्थानीय प्रशाासनलाई गुहारे पनि प्रयास सफल भएको छैन, बालुवा बेच्न पाउने मागसहित उल्टै राजनीतिक दबाब आउने गरेको छ,’ आयोजना संयोजक कृष्णबहादुर कार्कीले भने ।


एक महिनाअघि प्रहरी प्रशासनले त्यहाँका अवैध बालुवा प्रशोधन उद्योगहरूमा ‘छापामारे जस्तो’ गरेर विद्युतीय उपकरण बरामद गरे पनि पुनः जडान गरी सञ्चालनमा आएको स्रोतले जनाएको छ । स्थानीय जनप्रतिनिधिकै मिलोमतोमा बूढीगण्डकी जलविद्युत् आयोजनबाट मुआब्जा लिइसकेको जमिनमा एक वर्षअघिदेखि अवैध बालुवाखानी सञ्चालन हुँदै आएका छन् ।


एक महिनाअघि सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको तीनवटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मारेको थियो । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपरलगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए । गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला आधुनिक बुमरलगायत उपकरणहरू जडान गरेर सञ्चालन गरेका थिए ।


बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेर कम्पनीको अनुमति लिएका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गर्ने गरिरहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?