कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थतन्त्रमा संरचनात्मक अवरोध

काठमाडौँ — अर्थतन्त्रमा देखिएको आशाजनक परिस्थितिले निजी क्षेत्र उत्साहित भए पनि संरचनात्मक समस्याका कारण चुनौती कायमै रहेको नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताएका छन् । 

अर्थतन्त्रमा संरचनात्मक अवरोध

उनले अपेक्षित रूपमा आर्थिक वृद्धिदर हुन नसकेको, वित्तीय घाटा बढेको, स्थानीय तहमा कृषिजन्य तथा अन्य उद्योग/व्यवसाय सञ्चालनमा प्रक्रियागत समस्याहरू रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।


सोमबार परिसंघको १६ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा र उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ अध्यक्ष शर्माले ‘कानुनी सुधार समृद्धिको आधार’ शीर्षकमा अभिव्यक्ति दिएका थिए । ‘औद्योगिक व्यवसाय, बैंकिङ, निर्माण र पूर्वाधार क्षेत्रमा सुधारका प्रयास र नीति नियमको समसामयिक सुधार गरेर सरकारले सकारात्मक वातावरण सिर्जना गर्न खोजेको छ,’ उनले भने, ‘यस्तो हुँदा नेपालमा पर्यटनलगायत क्षेत्रमा ठूलो लगानी आकर्षित हुने सम्भावना बढेको छ ।’


सभाको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उद्योग/व्यवसायीले भनेजस्तै वातावरण निर्माण गर्न सरकार गम्भीर रहेको बताए । उनले समस्या छ भनेर अमूर्त कुरा नगर्न आग्रह गर्दै उद्योगीले कुन–कुन ठाउँमा कस्तो समस्या छ ? कुन नियमको कुन बुँदा संशोधन गर्नुपर्ने हो ? त्यो खुलाउन सुझाव दिए । ‘हामी अब असन्तुष्टिप्रधान समाजमा छैनौं,’ उनले भने, ‘समास्याको समाधान दिन सक्ने समाजमा छौं ।’ उनले व्यवसायीलाई पारदर्शी भएर ढुक्कसाथ काम गर्न सल्लाह दिए ।


समारोहमा अर्थमन्त्री खतिवडाले निजी क्षेत्रका सबै छाता संगठन एक भइदिए राम्रो हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघ, परिसंघ र चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका छाता संगठन फरक–फरक छन् । अर्थमन्त्री खतिवडाले सरकारलाई तत्कालीन रूपमा पूर्वाधारको आवश्यकता रहेको र यसमा निजी क्षेत्रको लगानी चाहिएको भनाइ राखे ।


‘विशेषतः सहरी पूर्वाधार विकास क्षेत्रमा सार्वजनिक–निजी साझेदारीमा धेरै काम गर्नु छ,’ उनले भने, ‘त्यसका लागि सार्वजनिक–निजी साझेदारी नियमावली छिट्टै ल्याउँछौं । कानुन निर्माण, नियामवालीहरू बनाउने कुरामा परिसंघले प्रस्ताव तयार पारेको रहेछ, त्यसले हाम्रो शासकीय सुधारलाई अघि बढाउन मद्दत गर्नेछ ।’


खतिवडाका अनुसार सरकारले देखेको विकासको सपनाको पाँचवर्षे कार्ययोजना साकार पार्न सडक र विद्युतमा मात्रै ५०/६० खर्ब

रुपैयाँ चाहिन्छ ।


विकासका काममा निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको कुरा लगानी सम्मेलनले नै प्रस्ट पारेको भन्दै मन्त्री खतिवडाले स्थानीय उद्योगलाई सरकारले संरक्षण गर्ने बताए । ‘हाम्रो संरक्षणभित्र स्वदेशी उद्योगबीच प्रतिस्पर्धाको वातावरण बनोस् भन्ने हामी चाहन्छौं,’ खतिवडाले यसो भनिरहँदा प्रधानमन्त्री ओलीले थपेका थिए, ‘बाह्य लगानी आकर्षण गर्न हामी देउरालीपिच्छे पाती राख्दै हिँडिरहेका छौं भने यहाँका उद्योगलाई थिचौंला त ?’


परिसंघका पूर्वअध्यक्ष अध्यक्ष विनोद चौधरीले राजनीतिको केन्द्रमा आर्थिक विकासको एजेन्डा हुनुलाई शुभसंकेत मान्नुपर्ने धारणा राखे । उनले २०४८ यता विभिन्न क्षेत्रमा विकास भए पनि देशको भौतिक पूर्वाधार अगाडि बढ्नुको साटो भत्किँदै गएको बताए ।

‘हामीकहाँ अहिले नीति होइन, नैतिकताको अभाव छ,’ उनले भने, ‘स्रोत होइन, स्रोत परिचालनको अभाव छ । काम गरे पनि हुने, नगरे पनि हुने वातावरणको अन्त्य गर्नुपर्छ ।’ सरकारले लिएका विकास लक्ष्यको कुरा गर्दै उनले महत्त्वाकांक्षी हुनैपर्ने बताए ।

प्रकाशित : चैत्र २६, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?