चिया काटछाँटमा व्यस्त किसान

विप्लव भट्टराई

इलाम — हिउँद याममा चियाको मुना नपलाए पनि कृषकले फुर्सद पाएका छैनन् । बर्खाभरि हरियो चियापत्ती टिपेर कारखानामा बेच्नमा व्यस्त कृषक आ–आफ्नो बगान काटछाँट गर्नाले बेफुर्सदिला बनेका हुन् । 

श्रमिकको अभाव भएकाले कृषकले आफैं काटछाँट गर्ने गरेका छन् । चैतदेखि कात्तिकसम्म चिया टिपाइसकिएपछि तुरुन्त काँटछाँट थाल्नुपर्ने कृषक बताउँछन् । ‘बर्सेनि बगानमा गर्नुपर्ने यो अनिवार्य काम हो,’ अन्तुका लक्ष्मण गौतमले भने, ‘सबैलाई उस्तै चटारो हुने भएपछि कृषक आफैंले काम नगरी विकल्प छैन ।’

धेरै उत्पादन गर्न र बगानको आकार मिलाउन पनि चियाको कटिङ अनिवार्य छ । चियालाई विभिन्न चरणमा काटछाँट गरिन्छ । कृषकले चिया टिपाइसकिएपछि हल्का ढंगले हरेक वर्ष काटछाँट गर्छन् । ‘हरेक ३ वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ,’ गौतमले भने, ‘जमिनको सतहदेखि १२ देखि १४ इन्चसम्म यो कटाइ गर्नुपर्छ ।’ चिया प्राविधिकका अनुसार चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट ६ सेन्टिमिटरमा अर्कोकटाइ हुन्छ ।

कृषकस्तरबाट खुलेका अधिकांश बगानको उमेर १५ वर्षभन्दा कम भएकाले थोरै बगानमा मात्र यस्तो कटाइ हुने गरेको छ । पुरानो बगान ठूलो भएका कृषकले प्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् ।

‘चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल भएकाले समस्या हुने गरेको छ,’ अन्तुकै कृषक केशव घिमिरेले भने, ‘समयमा काटिएन भने बगान बिग्रने भएकाले अरू काम छाडेर आफैं कटिङ गर्ने गरेका छौं ।’ ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काटछाँटमा मेसिनको प्रयोग हुने गरेको छ । तर, मेसिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् ।

‘आफैं काटदा पनि सजिलो छैन,’ सन्दकपुर ५ जमुनाका गीता नेपालले भने, ‘गहक हतियारले बल लगाएर काट्नुपर्दा हात दुख्ने समस्या पनि आउँछ ।’ चियाको कटिङलगायत क्षेत्रमा काम गर्ने दक्ष प्राविधिक नहुँदा कृषकले अर्को समस्या खेप्नुपरेको छ । नियमित र विभिन्न प्रकारले कटिङ मिलाउनलाई प्राविधिक ज्ञान आवश्यक छ । तर, अधिकांश कृषकले अरूले गरेको हेरेर नै काम चलाउने गरेका छन् ।

जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषककोछ । फैलिँदो चिया खेती र घट्दो कामदारका कारण खेतीवालाले नैसबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता १२ महिना नै उस्तै छ । कटिङसँगै चियालाई मल्चिङ गर्न पनि उत्तिकै भ्याईनभ्याई छ ।

चियापत्ती आउन छाडेपछिकारखानाले पनि मेसिनको मर्मत सम्भारसँगै आउँदो सिजनको तयारीका लागि समय छर्चने गरेका छन् । चैतदेखि निरन्तर सञ्चालनमा रहेका चिया कारखानाहरूले सबै मेसिनरीसामानको चाँत गर्ने, अत्यावश्यक सामग्री थपघट गर्ने र दाउराको जोहो गर्ने गर्छन् । यहाँका दुई दर्जनभन्दा ठूला र ६० को हाराहारीमा रहेका साना कारखानाको हिउँदयामको व्यस्तता यस्तै हुने गरेको छ ।

प्रकाशित : माघ २९, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

निर्यात अनुदान प्रदान गर्न निर्देशन

अनुदानका लागि वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क गर्नुपर्नेछ । प्रक्रिया पूरा भएका सबैले सोही बैंक मार्फत अनुदानको रकम प्राप्त गर्ने व्यवस्था कार्यविधिले गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्र बैंकले सोमबार कार्यविधि जारी गरेर अनुदानसम्बन्धी नयाँ व्यवस्था लागू गर्न बैंकहरूलाई निर्देशन दिएको छ । निर्यातमा नगद अनुदान बढाउने सम्बन्धमा सरकारले करिब २ महिनाअघि कार्यविधि पारित गरेको थियो ।

त्यसपछि कार्यान्वयनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार राष्ट्र बैंकले ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि ०७५’ जारी गरेको हो ।

सरकारले एक महिनाअघि निर्यातमा दिंदै आएको नगद अनुदानको सीमा बढाएर पाँच प्रतिशतसम्म पुर्‍याएको थियो । उच्च आयात र न्यून निर्यातका कारण व्यापारघाटा चुलिंदै गएको बेला सरकारले निर्यातबापत नगद अनुदानको सीमा बढाएको हो ।

घरेलु उत्पादन बढाएर निर्यात प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अनुदानको सीमा बढाएको बताइएको छ । यसअघि एकदेखि दुई प्रतिशतसम्म नगद अनुदान पाउने व्यवस्था थियो । यो व्यवस्थाअन्तर्गत गत वर्ष सरकारले ३० करोड रुपैयाँ अनुदान दिइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

नयाँ व्यवस्थाअनुसार अब निर्यातकर्ताले तोकिएका २६ प्रकारका वस्तु निर्यातमा तीनदेखि पाँच प्रतिशतसम्म नगद अनुदान पाउनेछन् । यी वस्तुलाई औद्योगिक र अन्य उत्पादन गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।

औद्योगिक उत्पादनको सूचीमा परेका १५ प्रकारका वस्तुको निर्यातमा सरकारले ५ प्रतिशत नगद अनुदान दिनेछ । यस्तै, अन्य उत्पादनको सूचीमा रहेका ११ प्रकारका वस्तु निर्यातमा तीन प्रतिशत अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ । यो व्यवस्थाले घरेलु उत्पादन बढ्ने र नयाँ रोजगारी सिर्जना हुने सरकारको दाबी छ ।

अब भारतमा वस्तु निर्यात गरेबापत पनि अनुदान पाइने व्यवस्था कार्यविधिमा गरिएको छ । यसअघि भारतबाहेकका तेस्रो मुलुकमा भएको निर्यातमा मात्र अनुदान दिने व्यवस्था थियो । दुवै प्रकारको अनुदानका लागि निर्यातको कारोबार बैंकिङ प्रणाली मार्फत (एलसी) हुनुपर्नेछ ।

अनुदानका लागि वस्तु निर्यात गरेबापत विदेशबाट पैसा प्राप्त भएपछि आफूले कारोबार गरेको बैंकमा सम्पर्क गर्नुपर्नेछ । प्रक्रिया पूरा भएका सबैले सोही बैंक मार्फत अनुदानको रकम प्राप्त गर्ने व्यवस्था कार्यविधिले गरेको छ । यसरी अनुदान दिएबापतको रकम राष्ट्र बैंक मार्फत सम्बन्धित बैंकले प्राप्त गर्नेछन् ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने घोषणा गरिएको थियो । त्यसपश्चात् आपूर्ति मन्त्रालयले कार्यविधि बनाएर निर्णयार्थ मन्त्रिपरिषदमा पेस गरेको थियो । उक्त कार्यविधि दुई महिनाअघि मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो । सरकारले नगद अनुदानका लागि चयन गरिएका अधिकांश वस्तु तुलनात्मक लाभका वस्तुभित्र पर्छन् ।

कार्यविधिअनुसार निर्यातकर्ताले स्वदेशमै प्रप्त हुने वा उत्पादन हुने कृषि वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेको, उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ५० प्रतिशत भएको हुनुपर्ने
उल्लेख छ ।

पाँच प्रतिशत अनुदान प्रदान गर्ने वस्तु
प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । अनुदान प्राप्त गर्नका लागि उल्लिखित वस्तु शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित भई उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

तीन प्रतिशत अनुदान प्रदान गर्ने वस्तु
स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, पोलिस्टर यार्नरफाइबर भिस्कोर्स यार्नरकटन यार्न र तामाका सामान (हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा) ।

प्रकाशित : माघ २९, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्