५२ थरी वसन्ती अचार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

५२ थरी वसन्ती अचार

मासिक ६० देखि ९० क्विन्टल अचार उत्पादन
अमृता अनमोल

बुटवल — उद्यमले पैसा बर्साउँछ । त्यो उद्यम ठूलै हुनुपर्छ भन्ने छैन । लगाव र मेहनत भयो भने सानो सीप र उद्यमले पनि अब्बल बन्न सकिन्छ । यसलाई बुटवलकी व्यवसायी वसन्ती खत्रीले चरितार्थ गरेकी छिन् । करिब २७ वर्षअघि उनले ५० रुपैयाँको सामग्री किनेर अचार बनाउन थालेकी थिइन् ।

बिक्री कक्षमा अचार मिलाउदै बुटवलको वसन्ती अचार उद्योगकी सञ्चालक वसन्ती खत्री । तस्विर : अमृता/कान्तिपुर

‘त्यो अचार २ वर्षसम्म त सालको पातमा पोको पारेर २ देखि ५ रुपैयाँ पोकोमा बेचें,’ वसन्तीले सम्झना सुनाइन्, ‘टाढा लैजान मिलेन भन्ने गुनासो आएपछि मात्रै प्लास्टिक र डिब्बामा राखेर बेच्न थालेकी थिएँ ।’


अहिले तिनै वसन्तीले मासिक ६० देखि ९० क्विन्टलसम्म अचार बनाउँछिन् । मासिक १२ लाख बढीको कारोबार गर्छिन् । सानैदेखि अचार बनाउन खप्पिस उनले बुटवल शिवनगरमा वसन्ती अचार उद्योग खोलेकी छिन् । वसन्तीले ५२ थरी अचार बनाउँछिन् ।


२५ थरी अचारको व्यावसायिक कारोबार गर्छिन् । ती अमिलो, कागती, मुला, गाजर, सिमी, बोडी, अमला, बयर, खुर्सानी, करेला, तामा, इस्कुस, लसुन हुँदै माछामासुलगायतका अचार हुन् । ‘सानो सोच र लगानीमा खोलेको अचार यति फस्टाउला र लोकप्रिय बन्ला भन्ने सोचेकै थिइनँ,’ उनले भनिन्, ‘अब त वसन्ती अचार लोकप्रिय ब्रान्ड नै बनेको छ । देशभित्रका ४५ जिल्लामा बिक्रीका लागि जान्छ । देश बाहिर कोसेलीका लागि पनि थुप्रै लैजान्छन् ।’


६८ वर्षीया वसन्ती दिनको १७ घण्टासम्म अचार बनाउनमै खट्छिन् । अचार बनाउनैका लागि पूर्णकालीन १८ जना कामदार छन् । ती सबै महिला हुन् । अचार बेच्न स्टलहरूमा लैजाने थप २८ जना कामदार छन् । तिनमा पनि धेरै महिला छन् । ‘घरधन्दा सकेर २–४ रुपैयाँ हजार भए पनि कमाऊन् भनेर महिलालाई नै काममा राखेकी हुँ,’ उनले भनिन्, ‘उहाँहरूले पनि राम्रो गुजारा गर्नुभएको छ ।’


देशका प्रायजसो जिल्लामा वसन्ती उद्योगको अचार पुगेको छ । घरेलु प्रयोजनदेखि तारे होटलसम्म उनको अचार खपत हुन्छ । वसन्तीको अचार बिक्रीका लागि सिधै भारत जान्छ । विदेश जानेहरूले कोसेलीका रूपमा पनि मासिक एक क्विन्टल बढी लैजान्छन् ।


उद्योग वाणिज्य संघ बुटवलको प्रोत्साहनमा अचार व्यवसाय बढाएकी वसन्तीले विसं ०५३ सालदेखि राष्ट्रिय मेला तथा प्रदर्शनीमा पनि अचारको स्टल राख्छिन् । बुटवलदेखि काठमाडौं, पोखरा, दाङलगायत देशका धेरैजसो जिल्लाका मेलामा उनको अचार राख्ने गरिएको छ । मेला महोत्सवमा लैजान थप १० जना कर्मचारी खट्ने गरेका छन् ।


वसन्तीको अचार बनाउने तरिका निकै सरल छ । कुनै रसायन राख्दिनन् । कच्चा पदार्थका लागि वसन्तीले कुनै पनि फलफूल वा तरकारीलाई सफा गरी काटछिन् र नुनपानीमा भिजाएर प्रशोधन गर्छिन् । यसपछि मागका आधारमा प्रशोधन गर्दै जान्छिन् । ‘नुनपानीमा भिजाएको कच्चा पदार्थलाई बिग्रन नदिन बेलाबेलामा पानी चलाउने र फाल्ने गर्छु,’ उनले भनिन्, ‘यसो गर्दा त्यसको आकार र ताजापन कायम रहन्छ ।’


वसन्तीको उद्योगमा अचार बनाउन राखिएका करिब एक वर्षअघिदेखिका कच्चा पदार्थ हुन्छन् । तिनलाई मागअनुसार जिरा, धनियाँ, मुग्रिलो, ज्वानो, तोरी, तिल सोफ, कालोजिरा, मेथी, हिङलगायतका मसलामा मोल्छिन् । तोरी या सस्र्युंको तेलले झान्छिन् । यसरी अचार तयार हुन्छ । ‘यस्तो अचार एक वर्षसम्म रहन्छ,’ वसन्तीले सुनाइन् ।


बजारमा पाइने धेरै अचारलाई टिकाउ, स्वादिलो र आकर्षक बनाउन विभिन्न रसायन राखिएको हुन्छ । वसन्तीले बनाएको अचारमा भने कुनै रसायन हुँदैन । अचारको प्रकृतिअनुसार अमिलोका लागि अमारो र भकिम्लो मात्रै राख्ने गरेकी छिन् । यसले गर्दा यो अचार स्वास्थ्यका लागि पनि प्रतिकूल नहुने वसन्तीको दाबी छ ।


व्यवसाय मात्र होइन वसन्ती अचार बनाउन सिकाउने प्रशिक्षणमा पनि व्यस्त छिन् । अहिलेसम्म विभिन्न क्षेत्रका ५ सय बढी महिलालाई अचार बनाउन औपचारिक प्रशिक्षण दिएकी छिन् । तालिम लिएका करिब तीन दर्जन महिलाले व्यावसायिक रूपमै अचार बनाउने गरेका छन् ।


वसन्तीले अचारबाट गरेको प्रगतिलाई विभिन्न स्थानीयदेखि राष्ट्रिय संघसंस्थाहरूले प्रशंसा र सम्मान गरेका छन् । राष्ट्रिय महिला उद्यमीका रूपमा नेपाल सरकार, गुण तथा नियन्त्रण विभाग, उद्योग वाणिज्य महासंघ, महिला विकास कार्यालय तथा आफू सहभागी भएका सबैजसो राष्ट्रिय मेला तथा प्रदर्शनीले पनि उत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत गरेको छ ।


‘वसन्ती उद्यमी महिलाका लागि ऊर्जा हो,’ उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले भने, ‘बुढयौली लागेकी वसन्तीको सीप र जाँगर अब अर्को पुस्तामा सार्न आवश्यक छ ।’ विभिन्न संघसंस्थाको आग्रहमा वसन्तीको उद्यममा अहिले छोरीहरू सक्रिय हुन थालेका छन् ।

प्रकाशित : माघ १७, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्

ढाका मेलामा नेपालीले पाएनन् स्टल

छ वटा स्टलमा १५ जना कोचिएर बस्नुपरेको व्यवसायीले बताए
पर्वत पोर्तेल

ढाका, बंगलादेश — महिनायता जारी ढाका अन्तर्राष्ट्रिय वाणिज्य मेलामा नेपाली उत्पादन प्रवद्र्धनका लागि आएका व्यवसायीले स्टल नपाएको गुनासो गरेका छन् । २४ वर्षदेखि आयोजना हुँदै आएको मेलामा नेपाली व्यवसायी सहभागी हुन थालेको तीन वर्ष मात्रै भएको छ ।

मेलामा नेपालसहित विश्वका ५० बढी देशले आफ्ना उत्पादनको प्रवद्र्धनसँगै बिक्री गरिरहेका छन् ।

नेपाली दूतावासका अनुसार पहिलो वर्ष १९ लाख रुपैयाँ खर्चेर स्टल खरिद गरिएको तर नेपाली व्यवसायीको खासै उपस्थिति थिएन । अघिल्लो वर्ष पनि करिब ३० लाख खर्च गरेर स्टल किनिएको थियो । उनले भने, ‘मेलाको पहिलो साता र अन्तिम साता नेपाली स्टल खाली भयो ।’
यो वर्षचाहिँ करिब ३० लाख बढी खर्चेर किनिएको स्टल नेपाली व्यवसायीलाई अभाव भयो । छ वटा स्टलमा १५ जना व्यवसायी कोचिएर बस्नुपरेको व्यवसायीहरूले बताए । नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले बंगलादेशमा नेपाली उत्पादनको मागलाई यकिन गरेर त्यहीअनुसारको स्टल खरिद गर्न जरुरी रहेको सुझाव दिइन् । ‘नेपाली उत्पादन टन्नै छन् तर कहाँ राखेर बेच्ने भन्ने समस्या छ ।’

मेलामा नेपाली उत्पादनहरू पस्मिना, हस्तकला, अल्लोबाट निर्मित सामानसँगै कृषिजन्य उत्पादनहरू जडीबुटी, अदुवा, अम्लिसो, अलैंची, टिमुरलगायतका वस्तु प्रवद्र्धनका लागि राखिएको छ ।

नेपाल–बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपाली व्यवसायी र दूतावासबीचको तालमेल अभावले नेपाली वस्तु प्रवद्र्धनमा समस्या हुने गरेको सुनाए । उनका अनुसार बंगलादेश निर्यात हुने ९० प्रतिशत वस्तु पूर्वका छन् ।

पूर्वका उत्पादनहरूको एउटा पनि स्टल नहुनु दुखद रहेको जैनले बताए । उनले भने, ‘स्टलकै अभाव छ । यसले गर्दा व्यापार प्रवद्र्धनमा समस्या भएको छ ।’ उनले नेपाली उत्पादन प्रवद्र्धनमा सरकारी निकाय गम्भीर नबनेको आरोप लगाए ।

जैनले भन्सारको झमेलाले निर्यातमा कठिनाइ भएको बताए । नेपालमा उत्पादित ६ रुपैयाँको एक किलो बन्दाकोपी ६० टाका, २ सय २० डलरको एक टन अदुवा निर्यात गर्दा बंगलादेश भन्सारले ९ सय डलर मूल्यांकन गर्ने र ५७ प्रतिशतभन्दा बढी डयुटी असुल्छ ।

बंगलादेशस्थित नेपाली दूतावासले सोमबार साँझ नेपाली व्यवसायीमाझ छलफल आयोजना गरेको थियो । पस्मिना, धागो, जडीबुटी तथा कृषि उत्पादनको माग बंगलादेशमा उच्च रहेको कार्यवाहक नेपाली राजदूत धनबहादुर वलीले जनाए । उनले भने, ‘मागअनुसार नेपाली व्यवसायीले निर्यात गर्न सकेका छैनन् ।’

नेपाली उत्पादन निर्यातका लागि बंगलादेश उत्कृष्ट गन्तव्य रहेको बताउँदै वलीले निर्यातका लागि दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘बंगलादेश सरकारले नेपाली उत्पादन ९३ वटा वस्तुको सूची मागेको पनि धेरै भयो,’ उनले भने, ‘हामीले सूची दिनै सकिरहेका छैनौं ।’

प्रकाशित : माघ १७, २०७५ १०:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×