ढाका मेलामा नेपालीले पाएनन् स्टल- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

ढाका मेलामा नेपालीले पाएनन् स्टल

छ वटा स्टलमा १५ जना कोचिएर बस्नुपरेको व्यवसायीले बताए
पर्वत पोर्तेल

ढाका, बंगलादेश — महिनायता जारी ढाका अन्तर्राष्ट्रिय वाणिज्य मेलामा नेपाली उत्पादन प्रवद्र्धनका लागि आएका व्यवसायीले स्टल नपाएको गुनासो गरेका छन् । २४ वर्षदेखि आयोजना हुँदै आएको मेलामा नेपाली व्यवसायी सहभागी हुन थालेको तीन वर्ष मात्रै भएको छ ।

मेलामा नेपालसहित विश्वका ५० बढी देशले आफ्ना उत्पादनको प्रवद्र्धनसँगै बिक्री गरिरहेका छन् ।


नेपाली दूतावासका अनुसार पहिलो वर्ष १९ लाख रुपैयाँ खर्चेर स्टल खरिद गरिएको तर नेपाली व्यवसायीको खासै उपस्थिति थिएन । अघिल्लो वर्ष पनि करिब ३० लाख खर्च गरेर स्टल किनिएको थियो । उनले भने, ‘मेलाको पहिलो साता र अन्तिम साता नेपाली स्टल खाली भयो ।’

यो वर्षचाहिँ करिब ३० लाख बढी खर्चेर किनिएको स्टल नेपाली व्यवसायीलाई अभाव भयो । छ वटा स्टलमा १५ जना व्यवसायी कोचिएर बस्नुपरेको व्यवसायीहरूले बताए । नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले बंगलादेशमा नेपाली उत्पादनको मागलाई यकिन गरेर त्यहीअनुसारको स्टल खरिद गर्न जरुरी रहेको सुझाव दिइन् । ‘नेपाली उत्पादन टन्नै छन् तर कहाँ राखेर बेच्ने भन्ने समस्या छ ।’


मेलामा नेपाली उत्पादनहरू पस्मिना, हस्तकला, अल्लोबाट निर्मित सामानसँगै कृषिजन्य उत्पादनहरू जडीबुटी, अदुवा, अम्लिसो, अलैंची, टिमुरलगायतका वस्तु प्रवद्र्धनका लागि राखिएको छ ।


नेपाल–बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले नेपाली व्यवसायी र दूतावासबीचको तालमेल अभावले नेपाली वस्तु प्रवद्र्धनमा समस्या हुने गरेको सुनाए । उनका अनुसार बंगलादेश निर्यात हुने ९० प्रतिशत वस्तु पूर्वका छन् ।


पूर्वका उत्पादनहरूको एउटा पनि स्टल नहुनु दुखद रहेको जैनले बताए । उनले भने, ‘स्टलकै अभाव छ । यसले गर्दा व्यापार प्रवद्र्धनमा समस्या भएको छ ।’ उनले नेपाली उत्पादन प्रवद्र्धनमा सरकारी निकाय गम्भीर नबनेको आरोप लगाए ।


जैनले भन्सारको झमेलाले निर्यातमा कठिनाइ भएको बताए । नेपालमा उत्पादित ६ रुपैयाँको एक किलो बन्दाकोपी ६० टाका, २ सय २० डलरको एक टन अदुवा निर्यात गर्दा बंगलादेश भन्सारले ९ सय डलर मूल्यांकन गर्ने र ५७ प्रतिशतभन्दा बढी डयुटी असुल्छ ।


बंगलादेशस्थित नेपाली दूतावासले सोमबार साँझ नेपाली व्यवसायीमाझ छलफल आयोजना गरेको थियो । पस्मिना, धागो, जडीबुटी तथा कृषि उत्पादनको माग बंगलादेशमा उच्च रहेको कार्यवाहक नेपाली राजदूत धनबहादुर वलीले जनाए । उनले भने, ‘मागअनुसार नेपाली व्यवसायीले निर्यात गर्न सकेका छैनन् ।’


नेपाली उत्पादन निर्यातका लागि बंगलादेश उत्कृष्ट गन्तव्य रहेको बताउँदै वलीले निर्यातका लागि दूतावासले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘बंगलादेश सरकारले नेपाली उत्पादन ९३ वटा वस्तुको सूची मागेको पनि धेरै भयो,’ उनले भने, ‘हामीले सूची दिनै सकिरहेका छैनौं ।’

प्रकाशित : माघ १७, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्

हिउँ पन्छाएर उडान सुचारु

जयबहादुर रोकाय

हुम्ला — सिमकोट विमानस्थलमा तीन फिट बाक्लो हिउँ जमेर एक सातादेखि अवरुद्ध हवाई उडान मंगलबार बेलुकादेखि सुचारु भएको छ । विमानस्थलमा रहेको हिउँ सिमकोट नागरिक उड्डयन कार्यालयको संयोजनमा सिमकोट गाउँपालिका, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीको सक्रियतामा पन्छाइएको थियो । 

हुम्लाको सिमकोट विमानस्थलमा हिमपातपछि उडान गर्दै तारा एयरको जहाज ।  तस्बिर सौजन्य : दिनेश घिमिरे

हिउँ पन्छाएपछि मंगलबार बेलुका ५ बजे तारा एयरले दुई उडान गरेको छ । विमानस्थल प्रबन्धक गौरीशंकर शाहले कार्यालयको जिपमा स्काभेटर जस्तै हिउँ फाल्ने मेसिन जडान गरी हिउँ फाल्न प्रयोग गरेको बताए । ‘सबैको सहयोगमा हिउँ नहटाएको भए अझै दुई सातासम्म हवाई सेवा सुचारु हुने सम्भावना थिएन,’ शाहले भने, ‘फेरि हिउँ नपरे र हावा नलागेमा अब नियमित उडान हुनेछन् ।’

माघ ८ गतेदेखि लगातार हिमपात हुँदा विमानस्थलसहित सिमकोटमा तीन फिट बाक्लो हिउँ जमेको थियो । हिउँ जमेलगत्तै हवाई उडान हुन सकेका थिएनन् । हवाई उडान नहुँदा स्थानीय समस्या परेका थिए । अति आवश्यक कामका लागि सहर आउजाउ गर्नुपर्ने स्थानीय र कर्मचारी समस्यामा परेका थिए ।

उडान नभएकै कारण सिमकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सर्केघाट गाउँपालिका अध्यक्षले सुर्खेतमा भएको प्रदेश समन्वय परिषद् बैठकमा सहभागी हुन नपाई मंगलबार अन्तिम समयमा मात्रै पुगेका थिए । सडक सञ्जालमा नजोडिएको हुम्लाका लागि यातायातको एक मात्र विकल्प हवाई मात्र हो । लामो समय हवाई उडान हुन नसके सिमकोटमा खाद्यान्नदेखि अन्य सबै सामानको अभाव हुने गर्दछ ।

तीन दिनपछि उडान मुगुमा भारी हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको रारा विमानस्थलको हवाई सेवा मंगलबारदेखि सुचारु भएको छ । धावन मार्गमा जमेको हिउँ केही पग्लिएको र केही हिउँ मेसिनले फालेपछि अवरुद्ध हवाई सेवा सुचारु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

धावनमार्ग सफा भएपछि मंगलबार नै नेपालगन्जदेखि तारा एयर र सीता एयरले उडान भरेका छन् । विमानस्थल प्रमुख मोहन गिरीले धावनमार्ग कालोपत्रे भएकाले हिमपात र झरीले लामो असर नपार्ने बताए ।

हिमपातले अवरुद्ध भएको गमगढी–नाग्मा सडक भने खुल्न अझै समय लाग्ने भएको छ । मुगु र जुम्लाको सिमाना घुच्चीलेकमा जमेको छ फिट हिउँ नपग्लिँदासम्म सडक मार्ग सुचारु हुन नसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ १७, २०७५ १०:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×