२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७१

खेलकुदको पुरानो रोग 

सन् २०२१ को जापान ओलम्पिककै प्रसंग काफी छ । पाँच जना खेलाडीको व्यवस्थापनका लागि भन्दै २५ पदाधिकारी जापान शयर गर्न पुगे । खेलाडी एउटा छ, अर्कै सङ्घको पदाधिकारी गएको छ । पदाधिकारीको ध्याउन्न खेलको नतिजाभन्दा पनि विदेश भ्रमणमा केन्द्रित देखिन्छ । यो तरिकाले खेलमा विकृति मात्र भित्रयाउने हो, सुधार हुने होइन ।
सुवर्ण क्षेत्री

काठमाडौँ — बैठक होस् वा भेला, राखेपका पूर्वसदस्य–सचिव शरदचन्द्र शाह बारम्बार भनिरहन्थे, कमजोर हुनु पाप हो ।
नेपाली खेलकुदमा शाहले विशेष छाप छाडेका छन् । खेलकुदको अहिलेको स्थितिको जग उनैले हालेका थिए । उनलाई मैले एउटा वास्तविक राष्ट्रवादी व्यक्तिका रूपमा लिन्छु ।

खेलकुदको पुरानो रोग 

उनले नेतृत्व लिनुअघि नेपाली खेलकुदको कुनै संरचना थिएन । खेलकुदमा राज्यको नजर परेको थिएन । यस्तोमा खेलमा सपना बोकेर आए, शाह । उनले सपना देखेनन् मात्र, खेललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेमा विश्वास पनि लिए । अनि, त्यसका लागि आवश्यक प्रयत्न पनि गरे ।

समाजमा विशिष्ट परिचय र स्वभाव लिएर प्रतिभावान् व्यक्ति जन्मिएका हुन्छन्, तीजिनियस हुन्छन् । मैले शाहमा एक किसिमको जिनियस देखेको थिए“ । उनलाई जिनियस भन्न मिल्छ मिल्दैन, आ–आनै ठाउ“मा छ । तर, उनले नेपाली खेलकुदमा विशेष क्षमता देखाएका छन् ।

सदस्य–सचिव शाह बोर्ड बैठक र जमघटमा पनि त्यही सुनाइरहन्थे, कमजोर हुनु पाप हो । तर, त्यो अभिव्यक्तिको व्याख्या गरेको मैले कहिल्यै सुनिनँ । उनको त्यो भनाइको धेरैले धेरैथरी व्याख्या गरे । मेरो बुझाइमा कमजोर व्यक्तिले बाध्यतासँग सम्झौता गर्छ, बिक्छ र शक्ति ह्रास गराउँछ भन्ने अर्थमा उनले यो अभिव्यक्ति दिएका हुनसक्छन् । जब तपाईं कसैसँग सम्झौता गर्नुहुन्छ, तब तपाईं बोल्न सक्नुहुन्न । त्यसबारे तपाईं अडान लिन सक्नुहुन्न । कमजोरले लक्ष्य हासिल गर्न सक्दैन । उसले सम्झौता गर्छ । दुस्मनले जहिलेसुकै कमजोर कडीलाई निशाना लगाएको हुन्छ । कोहीविरुद्ध षड्यन्त्र हुँदैछ भने उसको वरपरका कमजोर पात्रको खोजी गरिएको हुन्छ । कमजोर व्यक्ति, पात्र वा प्रवृत्ति बिकाउ हुन्छ भन्ने आमबुझाइ रहन्छ ।

जर्मन शासक हिटलर गलत थिए तर अन्तिमसम्म कुनै सम्झौता गरेनन् । उनले आफूलाई कमजोरमा दर्ज गरेनन् । दुस्मनले घेरेपछि बरु उनले आत्महत्या गरे, तर कसैसँग झुकेनन् । किनभने, उनी कमजोर देखिन चाहँदैनथे ।

०००

पञ्चायत भन्नुस् वा बहुदल र अहिले गणतन्त्र, जो आए खेलकुदलाई राजनीतिको औजार बनाउन खोजे । पञ्चायतमा खेलकुदको पूर्वाधार विकास र युवालाई रंगशालामा पुर्‍याउन धेरै मिहिनेत गरियो । त्यसको एउटै उद्देश्य थियो, युवा पढाइ र खेलमा व्यस्त होऊन् । राजनीतिमा लागेर व्यवस्थालाई चुनौती नदिऊन् ।

दलहरू प्रतिबन्ध रहे पनि क्याम्पसहरूमा विद्यार्थी संगठनहरूको खुलेआम राजनीतिमा खासै ठूलो अवरोध थिएन । स्ववियु चुनाव चलिरहेको थिए । विद्यार्थी संगठनहरूबीच अस्वस्थ प्रतिस्पर्धा र मारामार नै थियो । पार्टीपिच्छेका विद्यार्थी संगठन थिए । तर, आपसमा जुधिरहन्थे । क्याम्पसमा अनेरास्ववियु, नेविसङ्घ, युवा मण्डलका कार्यकर्ताबीच झैझगडा र तनाव हुनु सामान्यजस्तै थियो । राजनीतिमा युवा सक्रियता जति थियो, त्यसभन्दा अधिक आपसका मारपिटमा हुन्थ्यो ।

शैक्षिक क्षेत्रभित्रका विकृतिबारे अनेक कोणबाट बहस, छलफल चलिरहेको थियो । क्याम्पसभित्रको तनावको सही समाधान के होला भन्ने चिन्ता थियो । समाधानको उपायका रूपमा खेलकुदलाई माध्यम बनाउने नीति लिइयो । खेलकुदमार्फत युवालाई व्यस्त राख्ने र राज्यको पक्षमा परिचालन गर्ने नीति लिइयो । यो कुनै ठूलो सोच थिएन ।

बिहानदेखि कलेजमा पढाइहुन्थ्यो । मध्याह्नपछि विद्यार्थी घर फर्केर खानपिन गर्थे । साँझपख खेल्न निस्कन्थे । साँझको समय खेलकुदका लागि भन्ने मान्यता विकास गरिएको थियो । फुटबल, भलिबल, ब्याडमिन्टन वा क्रिकेट, तपाईं जे पनि खेल्न सक्नुहुन्छ, तर खाली बस्न पाइँदैन भनिन्थ्यो । दिउँसोसम्म पढेर एक–दुई घन्टा खेलेपछि थाकेका युवा आपसमा मारपिट र राजनीतिमा सक्रिय हुन फुर्सद नहोला भन्ने सरकारी विश्लेषण थियो । त्यति गर्न सके युवाबीचको झैझगडा पनि कम हुन्छ, युवालाई अघि सारेर गरिने राजनीति पनि निस्तेज हुन्छ भन्ने मान्यता थियो ।

खेलकुदले स्वास्थ्यसँगै युवा अनुशासनमा पनि योगदान पुर्‍याउँछ भन्ने विश्वास थियो । खेलकुदमा माहोल ल्याउन देशभर रंगशाला बनाउन थालियो । खेलकुदको अभियान नै चलेझैं विभिन्न खेलमा लगानी गरियो । खेलकुदमार्फत युवालाई व्यवस्थाविरुद्ध जान रोक्ने अभियान चलाइयो । त्यसमा हजारौं युवाहरू आबद्ध भए ।

पञ्चायतमा नेपाली खेलकुदले फड्को मारेको थियो । सँगै, खेलाडीलाई व्यवस्था जोगाउने सुरक्षा कवच बनाइयो भन्ने आरोप पनि लाग्यो । विशुद्ध खेलकुदकै लागि भनेर लगानी गरिएको भन्न त मिल्दैन तर जेजस्तो बाहनामा भए पनि खेलकुदलाई त्यसले लाभ प्रदान गरेको थियो ।

पञ्चायतले बसालेका राम्रा पद्धति नसिके पनि विकृति एवं राजनीतीकरण बहुदल र गणतन्त्रकालसम्म पनि उत्तिकै मौलाएको छ । व्यवस्था परिवर्तन भयो तर खेलकुदको राजनीति झन् डरलाग्दोसँग हुर्किइरहेको छ । पञ्चायतमा खेलकुदमा अतिरिक्त शक्ति केन्द्रित भयो भन्ने आरोप थियो । बहुदलपछि पनि खेलकुद पार्टीका राजनीतिक अखडा बनिरहेका छन् । फरक यत्ति छ कि पहिले खेलकुद क्षेत्र एउटै शक्तिले चलाउँथ्यो । तर, बहुदल र गणतन्त्रमा पार्टीपिच्छे खेल र खेलाडीका आ–आफ्नै सङ्घ–सङ्गठन छन् । चौतर्फी बेथितिको स्थिति पनि उस्तै छ ।

खेलमा बेथिति कति छ भनेर धेरै खोज्नै पर्दैन । सन् २०२१ को जापान ओलम्पिककै प्रसंग काफी छ । पाँच जना खेलाडीको व्यवस्थापनका लागि भन्दै २५ पदाधिकारी जापान शयर गर्न पुगे । खेलाडी एउटा छ, अर्कै सङ्घको पदाधिकारी गएको छ । पदाधिकारीको ध्याउन्न खेलको नतिजाभन्दा पनि विदेश भ्रमणमा केन्द्रित देखिन्छ । यो तरिकाले खेलमा विकृति मात्र भित्रयाउने हो, सुधार हुने होइन ।

यो देख्दा मलाई डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको एउटा प्रसङ्ग सम्झना आउँछ । नेपाल वायु सेवा निगममा उनले अर्कै क्षेत्रको यस्तो व्यक्तिलाई नियुक्त गरेका थिए, जसले एयरलाइन्सबारे केही बुझेकै थिएन । प्लस टू पनि पास थिएन । निगममा त्यो नियुक्तिको विरोध गरियो । भट्टराईले ती व्याक्तिलाई सक्षम प्रशासक भनेर ल्याएको बताएका थिए । तर, ती पदाधिकारी न सक्षम प्रशासक थिए, न त उनमा निगमलाई नेतृत्व गर्नसक्ने खुबी थियो । पार्टीका झोलेभन्दा अधिक उनी केही थिएनन् ।

खेलकुदमा पनि त्यस्तै हो । सम्बन्धित क्षेत्रकै, विषयवस्तु बुझेको, पद अनुसारको क्षमता भएको र इमान्दार पदाधिकारी आए धेरै कुरामा सुधार हुनसक्छ । तर, यहाँ आफ्ना कार्यकर्तालाई व्यवस्थापन गर्न यस्ता नियुक्ति हुने गरेका छन् । त्यसले समग्रमा संस्थालाई धराशयी बनाउनेबाहेक अरु काम गर्दैन ।

टोकियो ओलम्पिकमा तत्कालीन सांसद तुलसा थापा जुडोको व्यवस्थापक बनेर गएको निकै चर्चा भयो । उनी कबड्डी सङ्घकी अध्यक्ष थिइन् । सांसदका रूपमा भन्दा उनको चर्चा पूर्वउपप्रधानमन्त्री एवं एमालेकापूर्वउपाध्यक्ष वामदेव गौतम–पत्नीका रूपमा ज्यादा भयो । ओलम्पिक कमिटीले कुन आवश्यकताले थापालाई व्यवस्थापकका रूपमा टोकियो लग्यो, त्यो बेग्लै कुरा हो ।

तर, खेलकुद सङ्घमा स्रोतसाधन जुटाउन उद्योगी व्यवसायी, राजनीतिक व्यक्तिलाई नेतृत्वमा राख्ने चलन पुरानै हो । पञ्चायतकालदेखि नै समाजका टाठाबाठा र आर्थिक हैसियत भएका व्यक्तिलाई खेलकुदको पदाधिकारीमा नियुक्ति गर्ने परम्परा बनेको हो । त्यसो गर्दा एकातर्फ खेल सङ्घ चर्चित हुने र अर्कोतर्फ खेल गतिविधिका लागि स्रोत जुटाउन सहज हुन्थ्यो । खेलुकदसँग साइनो नभएका व्यवसायी, सीईओ, व्यापारी, समाजसेवी र म्यानेजरलाई विभिन्न सङ्घ र खेल पदाधिकारीमा राखिन्थ्यो । प्रतिष्ठित व्यक्ति राखेर स्रोत जुटाउने र खेल स्पर्धा गराउनुपर्ने बाध्यताबाट अबको खेलकुद माथि उठ्नुपर्छ ।

हिजो जे भयो, त्यसैलाई निरन्तरता दिने हो भने यो बहुदल वा गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ । समयक्रममा अहिले उपयुक्त लागेको काम अर्को सन्दर्भमा असान्दर्भिक र गलत बन्छन् । खेलमा गैरखेलकुद क्षेत्रबाट नेतृत्वमा ल्याउने परम्परा पनि अब असान्दर्भिक भइसकेको छ । खेलकुदमा हुने राजनीतिक नियुक्तिमा पनि त्यही क्षेत्रका व्यक्तिलाई ल्याउन सकिन्छ । कम्तीमा विषय बुझेको व्यक्ति भइदिए खेलकुदलाई अघि बढाउन सजिलो हुन्छ । खेल क्षेत्रमा पनि सबै पार्टीका कार्यकर्ता छँदैछन् । पढालेखा, अनुभवी र खेलकुदमै लागेका व्यक्तिलाई छाडेर विशुद्ध झोले नेता कार्यकर्ता पठाउनु भएन ।

मेरै आफ्नो अनुभवले पनि भन्छ, खेल सङ्घहरूलाई चलायमान राख्न सजिलो छैन । प्रशिक्षण र खेल प्रतियोगिताका लागि आर्थिक स्रोत चाहियो । त्यसमाथि धेरै सङ्घहरू हुँदा खेलकुदमा आएको बजेट भागबन्डा लगाउँदा थोरै मात्र आइपुग्छ । राखेपमा हामी हुँदादेखि अहिलेसम्म एउटा आवश्यकता टड्कारो रूपमा म देख्छु । त्यो हो, खेलको प्राथमिकता छुट्याउने । त्यसो गर्न सके देशको माटो सुहाउँदो खेलकुदले प्राथमिकता पाउँछ । पदकमा सम्भावना भएको खेलकुदमा लगानी बढाउन सकिन्छ । अनि, धेरैको आकर्षण रहेका खेलका लागि राम्रो योजना ल्याउन सकिन्छ । कम प्राथमिकतामा परेका खेललाई हेर्दै नहेर्ने वा बजेट नदिने भनेको होइन । तर, अहिले जसरी सम्भावना भएको पदक जित्ने खेल र सहभागिताका लागि मात्र खेल्ने खेललाई एउटै श्रेणीमा राखेर व्यवहार गर्ने प्रवृत्तिको भने अन्त्य हुनु अनिवार्य छ ।

खेलकुद त्यसै पनि हाम्रोजस्तो विकासोन्मुख देशको कम प्राथमिकताको क्षेत्र हो । हाम्रो आधारभूत प्राथमिकता गाँस, बास र कपास हो । त्यसपछि स्वास्थ्य, शिक्षा र पूर्वाधार आउँछ । अनि, बल्ल खेलकुदको पालो आउँछ ।

वास्तवमा खेलकुद गाँस, बास र कपासपछि दोस्रो प्राथमिकतामा पर्नुपर्ने हो । किनभने, यो स्वस्थ समाज निर्माणको आधार हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । त्यसैले खेलकुदलाई जीवन पद्धतिका रूपमा विकास गर्नुपर्छ ।

खेलकुद भन्नासाथ धेरैले पदक जित्ने कुरालाई मात्र हेर्छन् । यो पदक जित्ने कुरा मात्र होइन । युवा पुस्तालाई अनुशासनमा राख्ने माध्यम हो । स्वस्थ जीवनको आधार हो । अनि, सुसंस्कृति समाजको एउटा उन्नत संस्कृति हो । एउटा अस्पतालले बिरामीलाई मात्र उपचार दिन्छ । तर, खेलकुदले सिङ्गो देशलाई स्वस्थ बनाउन मद्दत गर्छ । त्यसैले खेलकुदमा व्यवस्थित र नतिजामुखी लगानी गर्नु आवश्यक थियो । थोरबहुत लगानी भयो पनि । तर, त्यो पदक जित्ने उद्देश्यबाट प्रेरित भयो । खेललाई संस्कृति बनाउन सकियो भने नया“ पुस्ताको बिहानी रङ्गशालामा बित्ने छ । खेलमा अभ्यास गर्ने ठूलो जनसङ्ख्याबाटै राम्रा प्रतिभाको छनोट हुनेछ । लाखौँ युवाले खेलकुदको माध्यमबाट अनुशासित जीवन जिउन सिक्नेछन् । स्वस्थ र अनुशासित युवा उत्पादनको योभन्दा राम्रो विकल्प के हुनसक्छ ? ती सबै परिकल्पना गरेरै हामी राखेपमा छँदै स्वास्थ्यका लागि खेलकुद भन्ने नारा ल्याएका थियौँ।

भनिन्छ नि, स्पोर्टिङ स्प्रिट । स्वास्थ्य, अनुशासन र सक्रिय जीवनबाहेक खेलकुदले सिकाउने अर्को कुरा हो, जित वा सिक । त्यो सूत्र हिडेन ट्रेजरले मिस नेपाल प्रतियोगितामा पनि अवलम्बन गरेको छ । हामी प्रतियोगीलाई भन्छौँ, तिमी जित्नेछौ वा सिक्नेछौ ।

मैले केही वर्षखेलकुदमा बिताएको अनुभवले भन्छ, हामी खेलकुदमा लगानी गर्न नसकेका कारण उत्कृष्ट हुन सकेनौ“ । उत्कृष्टलाई हेरेर सिक्ने वातावरणसमेत दिन सकेनौँ । अरु धेरै बैकुण्ठ मानन्धर, गौरिका सिंह, दीपक विष्ट, संगीना वैद्य, पारस खड्का जन्माउन सक्ने सम्भावना थियो । तर, लगानी पुगेन । रोलमोडल धेरै खेलाडी जन्माउन नसक्दा ठूलो सङ्ख्यालाई आकर्षित गर्न सकिएन । जेजति आएका छन्, ती अधिकांश आफ्नै सपनामा विश्वास गरेर आएका छन् । आफ्नै अठोट र मिहिनेतले आएका छन् । राज्यले गर्दै गरेन त भन्न मिल्दैन । तर, जति गरेको छ, त्यसको तुलनामा प्राप्त नतिजा कम होइन ।

दक्षिण एसियामा म्याराथनमा कीर्तिमान राखेका बैकुण्ठलाई राज्यले ठूलो लगानी गरेको मलाई थाहा छैन । उनलाई ट्याकसुट दिनसमेत कठिनाइ थियो । गौरिकाले आफनै निजी र पारिवारिक प्रेरणामा पौडीमा उत्कृष्ट नतिजा दिइराखेकी छन् । संगीना, दीपक हुन् वा महिला क्रिकेटकी पहिलो कप्तान नेरी थापामगर, सबैले आफनो सपना पूरा गर्ने क्रममा देशको सपना पूरा गरिरहेका छन् ।

त्यसो त स्रोत कम छ । त्यसमाथि प्राथमिकता निर्धारण नगरेर कनिका छरेझैं वितरण गरिएको लगानीले नतिजा दिँदैन । त्यसो गर्नुभन्दा देशको माटो सुहाउँदो खेलमा लगानी गरे उत्कृष्ट नजिता निस्कन सक्छ भन्ने मलाई लाग्छ । हामी राखेपमा हुद्दाँ व्यक्तिगत खेललाई जोड दिइएको थियो । हाम्रा युवाहरू पहाडमा उकालीओराली गरिरहेकै छन् । भारी बोकेर तलमाथि गरेका युवाका लागि त्यस्तै खेल उपयुक्त हुनसक्छ भन्ने ठानेरै भारत्तोलन, बक्सिङ, मार्सल आर्ट्सलाई प्राथमिकतामा राखेर लगानी गरिएको थियो । त्यसले राम्रै नतिजा दियो पनि ।

त्यस्तै, बक्सिङजस्ता मार्सल आर्ट्समा पनि नेपालले राम्रो उपलब्धि हात पारेको छ । अर्को, म्याराथन लगायतका दौडलाई पनि प्राथमिकता दिइयो । के ठानियो भने नेपालीको स्टिमिना राम्रो छ, उनीहरूले व्यक्तिगत खेलमा राम्रो नतिजा दिनसक्छन् ।

खेलकुदमा अहिले अनगिन्ती खेल सङ्घहरू गठन भएका छन् । न ती सक्रिय छन्, न त कुनै काम देखाउन सकेका छन् । झन्डै ८० प्रतिशत सङ्घ निष्क्रिय छन् । राष्ट्रहितभन्दा व्यक्तिहितका लागि खोलिएका ती सङ्घ विघटन गर्नु बुद्धिमत्तापूर्ण निर्णय हुनेछ ।

नेपालमै भएका खेल अनुसन्धानले के देखायो भने फुटबल लोकप्रिय खेल हो । तर, नेपालमा धेरै खेलिने खेल भलिबल हो । लामो लबिइङपछि भलिबललाई राष्ट्रिय खेल पनि घोषणा गरिएको छ ।

सीमित साधनस्रोत र थोरै अवसर भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय रङ्गशालामा देशलाई चिनाइसकेका छन् । बिस्तारै खेलकुदको महङ्खव पनि बढ्दैगएको छ । खेल राज्यको प्राथमिकतामा पर्न थालेको छ । ती सबै सुधारको केन्द्रमा खेलाडी छन् । खेलकुदको भविष्यको मूल आधार खेलाडी नै हुन् । नेपाली खेलाडीले आफूलाई अब्बल साबित गर्न कुनै कसर बाँकी राखेका छैनन् । फुटबल, क्रिकेट, एथलेटिक्समा व्यावसायिक खेलाडी जन्मिइसकेका छन् । त्यसले नेपाली खेलकुदलाई थप नया“ उचाइमा पुर्‍याउन मद्दत पुर्या‍उनेछ ।

कसैले रहर गर्दैमा रातारात खेलकुदमा न आमूल परिवर्तन हुन्छ, न त कुनै ठूलो नतिजा हात पर्छ । खेलकुदमा गुणात्मक र स्तरीय फड्को मार्न हामीले प्रणाली विकास गर्नुपर्छ । प्रस्ट रोडम्यापसहितको दीर्घकालीन योजना तयार गर्नुपर्छ । हाम्रो स्थिति कस्तो छ भने चाहिएका बेला प्रतियोगी खेलाडी खोज्ने । सामान्य प्रक्रिया पूरा ग¥यो, खेलाडी छान्यो । हामीलाई जित्नु त छैन । सहभागी हुनलाई किन धेरै मिहिनेत गर्ने भन्ने खालको मनोदशा देखिन्छ ।

मेरो विचारमा खेल संस्कृति विकास गर्न र खेलमा राम्रा प्रतिभाको खोजी गर्न स्कुल कलेजतर्फ नजर पु¥याउनुपर्छ । यू–१४ का बालबालिकालाई खेल मैदानमा उतार्नुपर्छ । उनीहरूबाटै प्रतिभाको खोजी गरिनुपर्छ । वर्षमा एक दिन स्पोटर्स डे गर्ने विद्यालयको क्यालेन्डर परिवर्तन गरेर खेलकुदलाई नियमित अभ्यासमा राख्नुपर्छ ।

अहिले भएको के छ भने सहरको बीचमा स्कुलहरू छन् । ती यति साँघुरा छन् कि मैदानको कुनै गुन्जायस छैन । कानुनी व्यवस्थामा विद्यालय भन्नासाथ खेलमैदान हुनुपर्ने अनिवार्य सर्त छ । तर, सहरी क्षेत्रमा त्यो एउटा सामान्य प्रक्रियाको मात्र विषय बनेको छ ।

एन्फाको फुटबल एकेडेमी छ । म एन्फाको सराहना गर्दछु । हरेक खेलका आ–आफ्नै एकेडेमी चाहिन्छ । नयाँ खेलाडी आउँछन्, अभ्यास गर्छन् र प्रतिभालाई निखार ल्याउँछन् । खेल जीवन पनि व्यावसायिक बन्दै जान्छ ।

एक समय मेरो परिचय खेलकुद पत्रकार पनि बन्यो । मेरा खेल समाचार र विश्लेषण द राइजिङ नेपालमा प्रकाशित हुन्थे । त्यतिबेला अहिलेजस्तो बिट पत्रकारिता नभएकाले थोरै पत्रकारले मात्र खेलकुदमा कलम चलाउ“थे । ती पत्रकारले खेलकुदमा लेख्थे, जसको खेलप्रति रुचि छ । खेल बुझ्थे ।

त्यो बेला खेल र पत्रकारितामा लाग्नुलाई बेकारको पेसा मानिन्थ्यो । पत्रकारिता पेसा बनिसकेको थिएन । त्यसलाई समाजसेवा वा लेखक साहित्यकारको कोटीमा राखिन्थ्यो । खासै कमाइ नहुने भएकाले पत्रकारितामा लाग्नु पेसा समात्नु थिएन । त्यस्तै स्थिति थियो खेलकुदको । सोच कस्तो थियो भने पत्रकार भन्नासाथ ‘पत्रकार बनेर हल्लिराछ’ भन्थे । खेलाडी बन्यो भने ‘काम केही छैन, खेलेर बस्छ’ भन्थे । तर, अहिले समय फेरिएको छ ।सशक्त पत्रकार वा सफल खेलाडी हुनु भनेको आजको दिनमा खास सेलिब्रिटी बन्नु हो ।

मैले खेल पत्रकारिता गर्दा खेलकुदमा श्याम केसीजी लेख्नुहुन्थ्यो । अरु एकाध पत्रकार थिए । खेलमा रुचि भएकाले मैले स्थानीय प्रतियोगिताका समाचारसमेत लेखिदिन्थे ।अन्तर्राष्ट्रिय खेलकुदमा पनि चासो राख्थें । राती अबेरसम्म खेल हेरेर समाचार लेख्थेँ । विचार पेजमा खेलकुदका कमै सामग्री प्रकाशित हुन्थे । तर, मैले खेलकुदसम्बन्धी थुप्रै आलेख विचार पेजमा पनि प्रकाशित गरेको छु ।

(राखेपका पूर्वसदस्य सुवर्ण क्षेत्रीको संस्मरणात्मक पुस्तक सपना, विश्वास र अठोटको पुस्तक अंश । क्रियटिभ बुक्सले प्रकाशित गरेको यो पुस्तक भोलि बिहिबार काठमाडौँमा लोकार्पण हुँदैछ ।)

प्रकाशित : मंसिर १३, २०८० १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महालेखापरीक्षकको प्रतिवेदनअनुसार गत वर्षभन्दा यसपाली करिब सवा २ खर्ब बेरूजु रकम बढ्नुको संकेत के हो ?