२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

फलफूल र तरकारी परीक्षणको प्रभावकारिता

विदेशबाट आयातित तरकारी तथा फलफूलको हकमा ब्यापारिका नाकाहरुमा रहेका प्रयोगशालालाई एचपीएलसी प्रणालीसहितको प्रयोगशालामा स्तरोन्नति गरेर कार्यान्वयन गराउनु आवश्यक छ ।

नेपालमा कीटनाशक विषादीहरुको अवशेष तरकारी र फलफूलहरुमा परीक्षण गर्ने प्रचलन सुरु भएको लगभग एक दशक पुग्न लागेको छ । उपभोक्ताहरूमा भने कीटनाशक प्रति नकारात्मक धारणा छ ।

फलफूल र तरकारी परीक्षणको प्रभावकारिता

बजारमा पाइने तरकारी र फलफूलहरुमा विषादीको अवशेषबारे उनीहरू चिन्तित रहेको पाइन्छ । नेपाली बजारमा पाइने कृषिजन्य उत्पादनको कुनै आधिकारिक संस्थाबाट विषादीहरुको अवशेष नरहेको तथ्य प्रमाणित भएको पाइँदैन ।

कृषि उत्पादन विशेषगरी तरकारी तथा फलफूलको बढ्दो माग पूरा गर्न उत्पादन बढाउनुपर्छ र यसकालागि विषादीहरुको प्रयोग गरिन्छ । उत्पादन लागतलाई सन्तुलनमा राख्न र बजारमा उपलब्ध उत्पादनको मूल्यसँग प्रतिस्पर्धा गर्न किसानहरुलाई उच्च उत्पादन दर आवश्यक हुन्छ । त्यसैले किसानहरूले खेतीका विभिन्न चरणहरूमा कीटनाशकको प्रयोग गर्छन् । नेपालमा १ सय ३७ प्रकारका कीटनाशक विषादीहरू प्रयोगमा छन् । रासायनिक, जैवीक र हर्मोनसहितको संख्या जोड्दा १६५ प्रकार छन् ।

विषादीको अत्यधिक प्रयोगले कृषकको आर्थिक खर्च मात्र बढाउँदैन, जनस्वास्थ्य र वातावरणमा समेत नकारात्मक असर पार्छ । धेरै अनुसन्धान प्रतिवेदनहरूले क्यान्सर, उच्च रक्तचाप, हृदयघात, मृगौला फेल आदि जस्ता नसर्ने रोगहरू खाद्यवस्तुमा विषादीको उच्च अवशेषसँग सम्बन्धित रहेको देखाएको छ । त्यसैगरी, विषादीका कारणले वन्यजन्तु, जलचर तथा कीरामा पर्ने नकारात्मक वातावरणीय प्रभावहरू पनि भयावह छ । तसर्थ विषादीको अत्याधिक प्रयोगलाई नियन्त्रण गर्न र किसानको उत्पादनमा कुनै सम्झौता नगरी आम जनताको स्वास्थ्य र वातावरण संरक्षण गर्ने संयन्त्रको विकास गर्नुपर्छ ।

विषादी प्रयोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम र तरकारीमा रहेको विषादीको अवशेषलाई बिक्री गर्नुअघि परीक्षण गरेर यसो गर्न सकिन्छ । प्रयोगशालाबाट स्वीकृति प्रमाणपत्र बिना किसानहरूले व्यापारीहरूलाई आफ्नो उत्पादन बिक्री गर्न नपाउने र प्रयोगशाला अनुमति नलिने किसानहरूबाट पनि व्यापारीहरूले उत्पादन किन्न नसक्ने बनाउनु पर्छ । तरकारी तथा फलफूल पकेट एरियाको पायक पर्ने ठाउँमा प्रयोगशाला स्थापना गरेर सेवा दिन सके यो योजनाले काम गर्छ ।

नेपालमा विशेषगरी भारतबाट विषादी आयात हुन्छ । आर्थिक वर्ष २०१६/१७ को प्रतिवेदनअनुसार नेपालले ६३५ टन कीटनाशक आयात गरेको थियो भने २०२१ र २२ मा यो मात्रा बढेर ११ सय ३५ टन पुग्यो । भारतसँगको खुला सीमानाका कारण यसको दोब्बरभन्दा बढी मात्रा अवैध रूपमा आयात हुने अनुमान गरिएको छ । यो तथ्यांकले नेपालमा कीटनाशक विषादीको प्रयोग उच्च गतिमा बढीरहेको देखाउँछ । आयातित सिन्थेटिक कीटनाशकहरूले बाली जोगाउन राम्रो प्रभाव त देखाएको छ तर रोगजनकहरूमा कीटनाशक औषधी प्रतिरोधात्मक क्षमताको विकास, गम्भीर प्रकारका मानव स्वास्थ्य समस्याको बढोत्तरी तथा वातावरणीय नकारात्मक असर र ठूलो मात्रामा कीटनाशकको आयातले गर्दा भएको ठूलो व्यापार घाटाले गर्दा हामीलाई यस बिषयमा सरकारी स्तर बाटै प्रभाभकारी कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

अहिलेको प्रणालीमा बजारमा विषादी परीक्षण गरिन्छ, उदाहरणका लागि कालीमाटी बजारमा । वर्तमान परीक्षण प्रणालीले विषादीको अर्गानोफोस्फेट वा कार्बामेट समूहहरू मात्र पत्ता लगाउन सक्छ । यसले बाली उत्पादनमा कुन खास नामको कीटनाशक अवशेष छ भनेर पुष्टि गर्न सक्दैन । सबैभन्दा दुःखलाग्दो अवस्था के छ भने १३७ प्रकारका प्रयोगमा रहेका भनिएका कीटनाशक विषादीहरूमध्ये, वर्तमान परीक्षण प्रणालीले केवल दुई रासायनिक वर्गहरू पत्ता लगाउन सक्छ, अर्गानोफोस्फेट र कार्बामेट । यस समूहमा हाल नेपालमा प्रयोग हुने सूचीमा जम्मा १८ वटा मात्रै विषादी रहेका छन् । अन्य ११९ प्रकारका कीटनाशक विषादीहरू हाम्रो परीक्षण प्रणालीले समेट्न सक्दैन । यो हाम्रो परीक्षण प्रणालीमा रहेको ठूलो खाडल हो । कीटनाशकका व्यापारीहरूले अर्गानोफस्फेट र कार्बामेट बाहेक अन्य रासायनिक वर्गका किटनाशकहरू आयात गर्न सक्छन् । यस समस्या समाधानका लागि एचपीएलसी प्रविधिजडित प्रयोगशालाको स्थापना आवश्यकता छ ।

यसका अतिरिक्त, वर्तमान परीक्षण प्रणालीमा धेरै अन्य व्यवहारिक समस्याहरू पनि छन् । एकातिर व्यापारीहरू परीक्षणका लागि प्रयोगशालामा नमूनाहरू उपलब्ध गराउन इच्छुक हुँदैनन् भने अर्कोतिर किसानहरुले आफ्नो उत्पादन बिक्रीअघि कुनै परीक्षण गर्नु पर्दैन । यदि व्यापारीहरु राजी भएर फलफूल तथा तरकारीको नमूना उपलब्ध गराइहाले भने परीक्षणको नतिजा नआउँदै व्यापारीहरु सामान बिक्री गरिसक्छन् । व्यापारिक केन्द्रमा गरिने परीक्षण प्रणालीमा यो समस्या रहिरहन्छ । अहिलेको अवस्थामा परीक्षणको नतिजा नआएसम्म प्रयोगशालाले उत्पादनहरू बिक्री हुनबाट रोक्न सक्दैन । यसको अतिरिक्त, यदि उत्पादनमा कीटनाशक अवशेषको उच्च मात्रा बाँकी छ र बेच्न सकिँदैन भने, घाटा बहन गर्ने कुनै संयन्त्र छैन । यस्तो अवस्थामा अहिले भइरहेको भनिएको परीक्षण प्रणालीले सही काम गरेको छ भन्ने ठोस आधार भेटिँदैन ।

प्रयोगशाला सञ्चालनको योजना

विषादीरहित तरकारी तथा फलफूल उपभोक्तासम्म पुग्ने प्रणाली विकास गर्नको लागि सर्वप्रथम उत्पादक किसान र व्यापार गर्ने व्यापारी सम्बन्धित स्थानीय निकायमा दर्ता हुँदा नियमन गर्न सजिलो हुन्छ । किसानले स्थानीय प्रयोगशालाबाट अनुमति लिएर मात्र आफ्नो तरकारी/फलफूल बेच्दा समस्या केही हल हुन्छ । आफ्नो उत्पादन बेच्न चाहने किसानहरूले कम्तीमा ४ कार्य दिनअघि प्रयोगशालालाई जानकारी दिन सक्छन् । प्रयोगशालाले पनि नमूना संकलन गरेर तथ्यांक सुरक्षित दायरामा राखेर अनुमति प्रमाणपत्र प्रदान गर्न सक्छ । दायराहरू फरक फरक हुन सक्छन् । जस्तो कि हरियो, पहेंलो, रातो । हरियो तुरुन्त बिक्री गर्न सकिने, पहेंलो एक हप्तामा र रातो ग्रेड दुई हप्तामा बेच्न सकिन्छ ।

प्रयोगशालाद्वारा प्रदान गरिएको अनुमति प्रमाणपत्रको आधारमा मात्र व्यापारीहरुले सम्बन्धित किसानहरूबाट खरिद गर्दा उपभोक्तालाई पनि सहज हुन्छ । यो प्रक्रियाको कार्यान्वयन स्थानीय निकायले गर्न सक्छन् । प्रयोगशालाको खर्च व्यवस्थापन सरकारी राजस्वबाट परिचालन गर्ने अथवा कुल व्यापारको निश्चित प्रतिशत राजस्व किसान वा व्यापारी वा दुवै पक्षबाट असुली गर्न सकिन्छ । यदि हामीले यी विषयहरू लागू गर्ने हो भने उपभोक्ताको भान्सामा कीटनाशक विषादीका अवशेषरहित फलफूल तथा तरकारीहरु पुग्नेछ । यसका लागि किसान, व्यापारी, स्थानीय निकाय सबैको अहम् भूमिका हुन्छ ।

विदेशबाट आयातित तरकारी तथा फलफूलको हकमा अहिले ब्यापारिका नाकाहरुमा रहेका प्रयोगशालालाई एचपीएलसी प्रणालीसहितको प्रयोगशालामा स्तरोन्नति गरेर कार्यान्वयन गराउनु आवश्यक छ ।

(भट्टराई त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका प्राध्यापक हुन् । पौडेल सेन्टर फर नेचुरल एण्ड अप्लाइड साइेन्सेजमा कार्यरत छिन् । )

प्रकाशित : श्रावण ८, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?