२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९
अर्काइभबाट-प्रदीप गिरि

यथेच्छसि तथा कुरु !

बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ ।
अध्यात्म भन्नाले सबभन्दा ठूलो कुरो मानिसले ढिलो-चाँडो आफूलाई सोध्नैपर्छ म को हुँ ? मेरो कर्तव्य के हो ? संसारमा कुन कुरो कर्तव्य र अकर्तव्य हुन्छ ? कुन कुरो गर्न हुने र नहुने काम हो ?
प्रदीप गिरि

राजधानीमा गत साता एउटा उल्लेखनीय आयोजना भयो । भारत संस्कृति केन्द्रको कुनै कार्यक्रममा महाराजा कर्ण सिंह आउनुभएको रहेछ ।
केही समयअघि मेरो मित्र गोपालप्रसाद दुलालले कर्ण सिंहको आत्मकथा नेपालीमा अनुवाद गर्नुभएको थियो । मैले दिल्ली गएको मौका पारेर कर्ण सिंहलाई यस कुराको जानकारी दिएको थिएँ । कुरैकुरामा मैले उहाँलाई त्यस पुस्तकको लोकार्पणका निमित्त काठमाडौं आउन आमन्त्रित गरें । आखिर परिबन्दले गर्दा उहाँ आफै यता आउने हुँदा उक्त पुस्तकको लोकार्पणको चाँजो मिल्यो । १५ फरवरी २०१४ का दिन उक्त पुस्तकको लोकार्पण गरियो ।

यथेच्छसि तथा कुरु !

लोकार्पण सँगसँगै हाम्रै अनुरोधमा कर्ण सिंहले सरल र सुवोध ढङ्गबाट 'गीता'का उपर पनि प्रवचन दिनुभयो । गीताका उपर हाम्रो परम्परामा प्रवचन अथवा टीकाटिप्पणीको कुनै अभाव छैन । आदि गुरु शंकराचार्यदेखि लिएर २१ औं शताब्दीमा छयाप्पछ्याप्ती देखापरेका अनेकन टेलिभिजन गुरुहरूसमेतले गीतामा बोल्ने गरेका छन् । गीतामा यसरी बोल्ने प्रयासमा राजनेताहरू पनि पछि रहनुभएको छैन । हुँदाहुँदै आधुनिक युगमा अरविन्द, तिलक, महात्मा गान्धी र विनोवा भावेले पनि भाष्य लेख्नुभएको छ । हाम्रो नेपालको हकमा बीपी कोइरालाले गीताका उपर स्वतन्त्र व्याख्या लेख्नुभएको छैन । तर आफ्नो जीवनयात्राको क्रममा उहाँले 'मोदिआइन' र 'हिटलर र यहुदी' भन्ने बहुचर्चित उपन्यासमा गीताको चर्चा गर्नुभएको छ । तर ती चर्चा विवादास्पद भए पनि अत्यन्त लोकप्रिय छन् भनेर भन्न सकिन्छ । गीताका उपर कर्ण सिंहको व्याख्यानको थालनी गर्ने क्रममा विद्वान् जयराज आचार्यले 'मोदिआइन'को लामो उल्लेख गर्नुभयो । उहाँले मोदिआइनको लामो उद्धरण पनि पढेर सुनाउनुभयो ।

कर्ण सिंहले आफ्नो प्रवचनमा मोदिआइनको उल्लेख गरेनन् । त्यसै मञ्चमा जयराजले आफूले अंग्रेजीमा अनुवाद गरिसकेको 'मोदिआइन'को एक प्रति कर्ण सिंहलाई दिनुभयो । कर्ण सिंह मूलतः राजनीतिक प्राणी हुनुहुन्छ । बीपी कोइराला पनि त्यस्तै नै हुनुहुन्थ्यो । यस्ता मानिसले गीताका बारे टीकाटिप्पणी गर्ने गरेको देख्दा यहाँ एउटा प्रश्न स्वाभाविक रूपले उठ्दछ । गीताका परम्परागत व्याख्याताहरू ज्यादातर विद्वान्-साधु वा योगी भएका छन् । उनीहरूको विद्वता पनि असन्दिग्ध छ । खासगरेर शंकराचार्य, रामानुजाचार्य प्रभृतिको विद्वताका उपर कसैले शंका गर्ने कुरै उठ्दैन । तर प्रश्न छ, गीतालाई हेर्दा एउटा विद्वान्हरूले टीका गर्नु र एउटा जीवन संग्राममा आकण्ठ रहेको मान्छेले टिप्पणी गर्नुमा के फरक हुन्छ त ? कर्ण सिंहले त्यस दिन राम्ररी सम्झाउनुभयो, गीताको प्रथम विशेषता भनेको नै युद्धभूमिमा त्यो उपदेश हुनु हो । बीपी कोइरालाले पनि युद्धभूमिकै पृष्ठभूमिलाई ध्यानमा राखेर गीताका उपर टिप्पणी गर्नुभएको छ । तर कर्ण सिंहले यसलाई अझ ठोस रूपमा यसको अर्थ अगाडि ल्याउनुभयो । खासमा गीतामा उपनिषद्मा भनिएकै कुरालाई प्रकारान्तरबाट भन्ने कोसिस गरिएको छ । स्वयम् गीताले यस कुरालाई स्वीकार गरेको छ । गीताको उपोद्घातमा नै हामीले स्पष्ट यो घोषणा भेट्दछौं । तर कर्ण सिंहका अनुसार उपनिषद्भन्दा एक कदम अगाडि बढेर गीताको महत्त्व यस कारणले हुन्छ किनभने यसले उपनिषद्को शिक्षालाई युगीन जीवनसंग्रामसँग जोडेको छ ।

अहिले वा उहिल्यैका विद्वान्हरू अथवा कर्ण सिंह, तिलक, गान्धी वा बीपी कोइरालाले गर्नुभएको टीका-टिप्पणीका उपर विशद् चर्चा गर्नु यस लेखको अभीष्ट पनि होइन । त्यस किसिमको सामथ्र्य प्रस्तुत पंक्तिकारमा छैन पनि । पंक्तिकारको मुख्य प्रश्न के हो भने गीताको दार्शनिक चिन्तनलाई जीवन संग्राममा ल्याउने प्रयास के-कति महत्त्वपूर्ण छ त ? वेदान्त र गीताले एउटा कुरा बारम्बार भनेको छ- यहाँ व्यक्त गरिएको निष्कर्षहरू तर्कगम्य छैनन् । यिनीहरू अनुभूतिजन्य मात्र छन् । कुनै व्यक्तिले गीताका बारेमा अथवा वेद-वेदान्तका बारेमा सयकडौं किताब पढेको हुन सक्छ । सयकडौं किताब पढेको आधारमा निजले हजारौं प्रवचन पनि गर्न सक्छन् । तर त्यहाँ व्यक्त गरिएका शिक्षालाई त्यस व्यक्तिविशेषले आफूले अनुभव गरेको छैन भने त्यस शिक्षाको मतलब के हुन्छ त ? त्यस शिक्षाको मतलब एक टिप्पणीकारका अनुसार चखिलो दालमा राखिएका एउटा निर्जीव डाडु वा पन्युजस्तै हुन्छ । डाडु दालको हण्डीमा रहेको हुन्छ । त्यसै डाडुका मद्दतले दाल बाँडिन्छ । तर दालको स्वाद डाडुले कहिल्यै पनि पाउँदैन, जिब्रोले पाउँछ । त्यो पनि स्वस्थ मानिसको जिब्रोले । त्यस हिसाबले गीता र उपनिषद्मा गरिएको विद्वतापूर्ण टिप्पणी खासै मतलब राख्दैनन् भन्ने सनातन मान्यता छ । यस सनातन मान्यताका दृष्टिले ठीक-बेठीक जे भन्नुभए पनि बीपी कोइरालाको भनाइ उहाँको आत्मसंघर्षको परिप्रेक्ष्यमा हेर्नुपर्छ ।

तद्नुरूप कर्ण सिंह वा बीपी कोइरालाको व्यक्तित्वबाट पृथक् राखेर उनीहरूले गरेको व्याख्यालाई शास्त्रसम्मत छ वा छैन भन्ने कसीमा हेर्‍यौं भने त्यो न्यायोचित हुने छैन । ज्यादातर हिन्दू शास्त्रहरूबारे लेखिएको कुनै भाष्य विशेष शास्त्रसम्मत छ-छैन, अझ वेदसम्मत छ-छैन भनेर अल्झिएका हुन्छन् । सबै टीकाहरू यस जंगलमा भड्किएका हुन्छन् । यो ठूलो समस्या हो । प्राचीनकालका विद्वान् शंकराचार्य, रामनुज, जीव गोस्वामी र वल्लभाचार्यदेखि लिएर अचेलका पण्डित यथा डा. विनोदरञ्जन बरालसमेतले गीता र भागवतको यस्तै टिप्पणी गर्नुहुन्छ । निजहरुले उक्त टिप्पणीलाई आफ्नो अनुभवभन्दा पनि शास्त्रसम्मत बनाउन खोजेका हुन्छन् । कर्ण सिंह वा बीपी कोइरालामा यी दुवै दोष छैन । होइन भने शास्त्रको कसीमा कर्ण सिंह र बीपीलाई मूल्यांकन गर्न खोज्ने हो भने दुवैको टिप्पणीको तर्कलाई खण्डन गर्ने केही अप्ठेरो छैन ।

बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ । यो व्याख्या बीपी कोइरालाको व्याख्यासँग मिल्दैन । जीवनमा सुख मात्र खोज्ने, दुःखलाई नकार गर्ने, संसारमा जीवन मात्र खोज्ने, मृत्युको सत्यलाई स्वीकार नगर्ने मानिस पूर्ण मानिस हुँदैन भन्ने सनातन धर्मको धारणा छ । यो एउटा सानो तर्कमा बीपी कोइरालाको 'मोदिआइन'को सम्पूर्ण वेदना गौण भएर जान्छ । सनातन परम्परामा एकातिर सतत् बाँसुरी बजाएर प्रसन्न रहने कृष्णलाई परमेश्वर मानिएको छ भने अर्कोतिर विध्वंसकारी कालीको नृत्य पनि उनकै लीला हो भनेर अभ्यर्थना गरिएको छ । 'मोदिआइन'ले यस पक्षलाई हेरेको छैन । मानव जीवन दुःख र सुखको द्वन्द्वात्मक अनुभूतिमा अगाडि बढ्छ । दिन र रात एक-अर्काको पूरक भएझैं दुःख-सुख पनि जीवन यात्राका दुई अनिवार्य पाङ्ग्रा हुन् । यसै हिसाबले युद्ध र शान्तिलाई पनि हेर्नुपर्छ । युद्ध र हिंसाको तथ्यलाई नकारेर शान्तिलाई बुझ्न सकिंदैन । कतिपय इतिहासविद्ले युद्धलाई विकास र प्रगतिको आनिवार्य सर्तको रूपमा लिएका छन् । यस दृष्टिले हेर्दा बीपी कोइरालाको मोदिआइनको विलाप निरर्थक छ । यसको अर्थ मोदिआइनको प्रस्तुतिको सार्थकताका उपर प्रश्नचिन्ह लाग्दैन । कुरो यति हो, अत्यन्त सानो कलेवरको त्यस उपन्यासिका 'मोदिआइन'मा प्रतिपादित विषयप्रति न्याय गर्न सकिएको छैन । बरु यस सिलसिलामा एउटा शिक्षाप्रद प्रश्न उठाउन सकिन्छ- महाभारतको मुख्य प्रतिपाद्य विषय के हो ? के महाभारतले युद्धलाई गौरवान्वित गर्न खोजेको छ ? स्वयम् गीताले अहिंसा र क्षमाजस्तै अन्य 'सद्गुण'को कुरा उठाउँछ । महषिर्व्यासले आदि पर्वमा नै महाभारतको उद्देश्यको स्पष्टीकरण गरिसकेका छन् । आदि पर्वमा गृहस्थ आश्रमलाई श्रेष्ठतम आश्रम भनिएको छ, मोक्षको समेत त्यहाँ उल्लेख छैन । 'मोदिआइन' प्रकारान्तरले गृहस्थ-नारीको करुण क्रन्दन हो । कुनै पनि हालतमा क्षत्रीले ओछ्यानमा मर्नै हुँदैन भन्ने विश्वास भएका वीररसका प्रतिमूर्ति कर्णजस्ता योद्धाका निमित्त यस्तो क्रन्दनको कुनै मूल्य थिएन, त्यस युगमा । यस युगमा समेत घर-परिवार, पद, प्रतिष्ठा, पैसा समेतलाई सबै व्यर्थ ठान्ने मानिस मनज्ञ छन् । भर्तृहरिले यसै भावमा लेखेको 'तत् किम' भन्ने श्लोक यसै पनि हाम्रै संस्कृतिको एक पक्ष हो । यस्तो पृष्ठभूमिमा महाभारतकारले त्यस कृतिमा मुकुटमणिको रूपमा जडान गरेका भागवत गीतालाई कुनै एकाङ्गी दृष्टिबाट हेर्न सकिंदैन ।

आधुनिक युगका हामी राजनीतिक कार्यकर्ताले जीवनका यस्ता प्रश्नलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिंदैनौं । बीपी कोइराला र किसुनजीजस्ता अपवादलाई छोड्ने हो भने सामयिक राजनीतिक जीवनमा नैतिकताका सँगसँगै अध्यात्मको पनि लोप भएको छ । तर अध्यात्म जीवनको एउटा सत्य हो । आधुनिक मनोविज्ञानले पनि अध्यात्मको महत्त्वलाई अर्कै शब्दमा भए पनि स्वीकार गरेको छ । फ्रायडपछि पश्चिममा देखापरेका मनोविज्ञान वेत्तामध्ये अव्राहम म्यास्लो एक महत्त्वपूर्ण हस्तक्षेप मानिन्छ । अब्राहम म्यास्लोले फ्राइडियन मनोविश्लेषणको परम्परा अस्वीकार गरे । म्यास्लोका अनुसार फ्रायडले रोगी मानिसहरूलाई आफ्नो अध्ययनको केन्द्र बनाए । म्यास्लोले 'स्वस्थ मानिस'लाई केन्द्र बनाए । उनले आफ्ना जीवनकालमा भेटेका स्वस्थ मानिसको प्रवृत्तिलाई अध्ययन गर्न खोजे । आफ्ना जीवनकालभन्दा अघि पनि इतिहासबाट जानकारी लिएर स्वस्थ व्यक्तिहरूको स्वभाव अध्ययन गरे । त्यस्ता अध्ययन गर्दा उनले हिटलरलाई मात्र होइन, लिङ्कनलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । स्टालिनलाई मात्र होइन, गान्धीलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । लिङ्कन र गान्धी मानवताका परिपक्व-पुष्ट फल हुन् । त्यही कुरा हिटलर र स्टालिनका बारे भन्न सकिंदैन भन्ने म्यास्लोको निष्कर्ष छ । हिटलर र स्टालिनलाई एकै श्रेणीमा राख्दा यहाँ केही अन्याय गरेको बोध हुनेछ । त्यो होला । हिटलर त युद्ध पिपासु मात्र थिएनन्, कदाचित मनोरोगी थिए । तद्जनित परिस्थितिमा कतिपटक मनोरोगी पनि सर्वेसर्वा शासक भएका छन् । समाजले यस्ता तथ्यतर्फ ध्यान दिनुपर्छ । राजनीतिमा नैतिकता नभएको कुरा हामी सधैं सुन्दछौं । वास्तवमा आजको युगमा जनजीवनबाट नैतिकताको विमर्शसमेत विलीन भएको छ । त्यसैले त्यस्तो स्थिति ल्याउँछ ।

सत्ताको नामूद खेलाडीहरूलाई यस प्रश्नसँग उल्झिने खाँचो पनि हुँदैन, समय पनि हुँदैन । तर यस प्रश्नसँग ढिलो-चाँडो नउल्झिने हो भने मनुष्य अपूर्ण रहन्छ । विकासक्रममा मानिस अमिबाबाट यहाँ आइपुगेको छ । तर मानिसको विकासको यो अन्तिम खुड्किलो होइन । मानिस योभन्दा पनि अगाडि बढ्नैपर्छ । अरविन्दका शब्दमा भन्ने हो भने मनुष्य एउटा असमाप्त प्राणी हो । आज गीताका उपर यो टिप्पणी गर्ने क्रममा मुख्यतः अध्यात्मिक जिज्ञासा र नैतिकताको सम्बन्ध गाँस्न खोजिएको हो । नैतिकताको उत्स अन्ततः अध्यात्म नै हुन्छ । कमसे कम सर्वसाधारणका लागि यही हुन्छ । अध्यात्म भन्नाले यहाँ पूजा-आजा, मन्दिर मात्र भन्न खोजिएको होइन । अध्यात्म भन्नाले सबभन्दा ठूलो कुरो मानिसले ढिलो-चाँडो आफूलाई सोध्नैपर्छ म को हुँ ? मेरो कर्तव्य के हो ? संसारमा कुन कुरो कर्तव्य र अकर्तव्य हुन्छ ? कुन कुरो गर्न हुने र नहुने काम हो ? यस्ता जिज्ञासाबिना मानिसको जीवन सार्थक हुँदैन भन्ने अब्राहम म्यास्लोको ठहर छ । गीताको केन्द्रीय प्रश्न पनि यही नै हो । युगौंदेखि साधु-संन्यासी-कवि-द्रष्टाले यस्ता प्रश्न जीवित राखेका थिए । अहिले यी प्रश्न समाजमा छैनन् ।

भीष्म र द्रोणलाई मार्न मन लागेन भनेर अर्जुनले धनुष फ्याँकिदिएको घडीदेखि गीताको अन्तिम अध्यायसम्म अर्जुनले बारम्बार कर्म-अकर्मका अन्तरका बारे कृष्णलाई पछ्याएका छन् । अर्जुन शिष्य पनि नामूद थिए । कृष्णले दिएको कुनै जवाफलाई उनले सजिलै स्वीकार गर्दैनथिए । कृष्णले दिनुभएको अन्तिम जवाफ मेरो पछि लाग भने र अर्जुन बिल्कुलै आविष्ट मोहच्छन्न र यन्त्रवत् भएर युद्धका निमित्त लागे भन्ने व्याख्या त्यति सजिलो छैन । गीताका आखिरी श्लोकहरूमा 'मामेकं शरणं ब्रज' अवश्य भनिएको छ । तर लगत्तै अघिको श्लोकमा 'यथेच्छसि तथा कुरु' समेत भनिएको छ । यति मात्र होइन, सिंगो महाभारतका कृष्णमा अनेक अन्तरविरोध छर्लङ्ग भेटिन्छ । त्यसको प्रतिविम्ब गीतामा पनि छ । तर अन्ततः गीता एक समन्वयपरक पुस्तिका छ । होइन भने कुनै पनि एक श्लोक पढेर अर्को श्लोक प्रतिवाद गर्न सकिन्छ । फेरि अर्जुन सजिलै र सोझो बाटोबाट 'करिष्ये वचनं तव'मा कदापि पुगेका छैनन् ।

बीपी कोइरालालाई आजीवन अस्तित्ववादको पश्चिमा दर्शनले घचघच्यायो । अबलेयर कामुका उपर उहाँको दुई/तीन लेख पनि उपलब्ध छ । अस्तित्ववादका यावत् परम्परा 'यथेच्छसि तथा कुरु'बाट अभिप्रेरित छन् । स्वयम् बीपी कोइरालाको जीवन र खास गरेर मेलमिलापको ऐतिहासिक निर्णय यसको उत्कृष्ट उदाहरण छ । 'मोदिआइन'को प्रस्तुतिमा कोइरालाको यो पक्ष छैन । नत्र कृष्ण-अर्जुनको त्यो रोमहर्षक संवाद बीपी कोइरालाले पृथक् ढङ्गबाट हेर्नुहुन्थ्यो कि ? गीताको 'यथेच्छसि तथा कुरु' भन्ने सम्झँदा कृष्णले मोहित गरेर अर्जुनलाई लडाइँमा लगाए भन्ने मोदिआइनको तर्क ठीक ठहरिंदैन । तर सत्यको एक पक्ष मात्र देख्नु सायद मानव जातिको नियति नै हो । मानिसजस्तै महान् किन नहोस् बीपी कोइराला, गान्धी, कर्ण सिंह र तिलक आ-आफ्नो जीवनका अनुभवले गर्दा कहिल्यै पनि एक ठाउँमा हिंड्न सक्ने रहनेछन् । यसैले आजको राजनीतिको यस्तै क्रूर रूप छ । आज एमाओवादी, एमाले र कांग्रेसको बानी-व्यहोरा र विचारधारा हेर्दा धेरै फरक देखिंदैन । खासगरी एमाले र कांग्रेसको विचारधारा त झन् नजिक देखिन्छ । तर दृष्टिमा अहम् प्रवेश भएपछि कांग्रेस र एमाले पनि आज मुलुकमा मिल्नै नसक्ने शक्ति भएका छन् । गान्धी, कर्ण सिंह र बीपी कोइरालाको समानान्तर व्याख्याले यस तथ्यलाई स्वीकार गरेर राजनीतिक शक्तिहरूलाई केही नजिक ल्याउन सकिन्छ ? नजिक नआए पनि राजनीतिक शक्तिले जीवनको अधुरो पाटो अध्यात्ममा ध्यान पनि दिनुपर्छ भन्ने घचघचाउँछ कि ! त्यसका निमित्त अरू केही नभए पनि गीता, उपनिषद् वा धर्म परम्पराका उपर यस्ता प्रवचन सामयिक र वाञ्छनीय भइरहनेछन् ।

  • २०७० फागुन १६ गतेको कान्तिपुरको कोसेलीमा प्रकाशित गिरिको लेख । उनको लेखनीको सम्झनास्वरुप अर्काइभबाट पुनः प्रकाशित गरिएको हो ।

प्रकाशित : भाद्र ५, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?