यथेच्छसि तथा कुरु !

बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ ।
प्रदीप गिरि

राजधानीमा गत साता एउटा उल्लेखनीय आयोजना भयो । भारत संस्कृति केन्द्रको कुनै कार्यक्रममा महाराजा कर्ण सिंह आउनुभएको रहेछ ।

केही समयअघि मेरो मित्र गोपालप्रसाद दुलालले कर्ण सिंहको आत्मकथा नेपालीमा अनुवाद गर्नुभएको थियो । मैले दिल्ली गएको मौका पारेर कर्ण सिंहलाई यस कुराको जानकारी दिएको थिएँ । कुरैकुरामा मैले उहाँलाई त्यस पुस्तकको लोकार्पणका निमित्त काठमाडौं आउन आमन्त्रित गरें । आखिर परिबन्दले गर्दा उहाँ आफै यता आउने हुँदा उक्त पुस्तकको लोकार्पणको चाँजो मिल्यो । १५ फरवरी २०१४ का दिन उक्त पुस्तकको लोकार्पण गरियो ।
लोकार्पण सँगसँगै हाम्रै अनुरोधमा कर्ण सिंहले सरल र सुवोध ढङ्गबाट 'गीता'का उपर पनि प्रवचन दिनुभयो । गीताका उपर हाम्रो परम्परामा प्रवचन अथवा टीकाटिप्पणीको कुनै अभाव छैन । आदि गुरु शंकराचार्यदेखि लिएर २१ औं शताब्दीमा छयाप्पछ्याप्ती देखापरेका अनेकन टेलिभिजन गुरुहरूसमेतले गीतामा बोल्ने गरेका छन् । गीतामा यसरी बोल्ने प्रयासमा राजनेताहरू पनि पछि रहनुभएको छैन । हुँदाहुँदै आधुनिक युगमा अरविन्द, तिलक, महात्मा गान्धी र विनोवा भावेले पनि भाष्य लेख्नुभएको छ । हाम्रो नेपालको हकमा बीपी कोइरालाले गीताका उपर स्वतन्त्र व्याख्या लेख्नुभएको छैन । तर आफ्नो जीवनयात्राको क्रममा उहाँले 'मोदिआइन' र 'हिटलर र यहुदी' भन्ने बहुचर्चित उपन्यासमा गीताको चर्चा गर्नुभएको छ । तर ती चर्चा विवादास्पद भए पनि अत्यन्त लोकप्रिय छन् भनेर भन्न सकिन्छ । गीताका उपर कर्ण सिंहको व्याख्यानको थालनी गर्ने क्रममा विद्वान् जयराज आचार्यले 'मोदिआइन'को लामो उल्लेख गर्नुभयो । उहाँले मोदिआइनको लामो उद्धरण पनि पढेर सुनाउनुभयो ।
कर्ण सिंहले आफ्नो प्रवचनमा मोदिआइनको उल्लेख गरेनन् । त्यसै मञ्चमा जयराजले आफूले अंग्रेजीमा अनुवाद गरिसकेको 'मोदिआइन'को एक प्रति कर्ण सिंहलाई दिनुभयो । कर्ण सिंह मूलतः राजनीतिक प्राणी हुनुहुन्छ । बीपी कोइराला पनि त्यस्तै नै हुनुहुन्थ्यो । यस्ता मानिसले गीताका बारे टीकाटिप्पणी गर्ने गरेको देख्दा यहाँ एउटा प्रश्न स्वाभाविक रूपले उठ्दछ । गीताका परम्परागत व्याख्याताहरू ज्यादातर विद्वान्-साधु वा योगी भएका छन् । उनीहरूको विद्वता पनि असन्दिग्ध छ । खासगरेर शंकराचार्य, रामानुजाचार्य प्रभृतिको विद्वताका उपर कसैले शंका गर्ने कुरै उठ्दैन । तर प्रश्न छ, गीतालाई हेर्दा एउटा विद्वान्हरूले टीका गर्नु र एउटा जीवन संग्राममा आकण्ठ रहेको मान्छेले टिप्पणी गर्नुमा के फरक हुन्छ त ? कर्ण सिंहले त्यस दिन राम्ररी सम्झाउनुभयो, गीताको प्रथम विशेषता भनेको नै युद्धभूमिमा त्यो उपदेश हुनु हो । बीपी कोइरालाले पनि युद्धभूमिकै पृष्ठभूमिलाई ध्यानमा राखेर गीताका उपर टिप्पणी गर्नुभएको छ । तर कर्ण सिंहले यसलाई अझ ठोस रूपमा यसको अर्थ अगाडि ल्याउनुभयो । खासमा गीतामा उपनिषद्मा भनिएकै कुरालाई प्रकारान्तरबाट भन्ने कोसिस गरिएको छ । स्वयम् गीताले यस कुरालाई स्वीकार गरेको छ । गीताको उपोद्घातमा नै हामीले स्पष्ट यो घोषणा भेट्दछौं । तर कर्ण सिंहका अनुसार उपनिषद्भन्दा एक कदम अगाडि बढेर गीताको महत्त्व यस कारणले हुन्छ किनभने यसले उपनिषद्को शिक्षालाई युगीन जीवनसंग्रामसँग जोडेको छ ।
अहिले वा उहिल्यैका विद्वान्हरू अथवा कर्ण सिंह, तिलक, गान्धी वा बीपी कोइरालाले गर्नुभएको टीका-टिप्पणीका उपर विशद् चर्चा गर्नु यस लेखको अभीष्ट पनि होइन । त्यस किसिमको सामथ्र्य प्रस्तुत पंक्तिकारमा छैन पनि । पंक्तिकारको मुख्य प्रश्न के हो भने गीताको दार्शनिक चिन्तनलाई जीवन संग्राममा ल्याउने प्रयास के-कति महत्त्वपूर्ण छ त ? वेदान्त र गीताले एउटा कुरा बारम्बार भनेको छ- यहाँ व्यक्त गरिएको निष्कर्षहरू तर्कगम्य छैनन् । यिनीहरू अनुभूतिजन्य मात्र छन् । कुनै व्यक्तिले गीताका बारेमा अथवा वेद-वेदान्तका बारेमा सयकडौं किताब पढेको हुन सक्छ । सयकडौं किताब पढेको आधारमा निजले हजारौं प्रवचन पनि गर्न सक्छन् । तर त्यहाँ व्यक्त गरिएका शिक्षालाई त्यस व्यक्तिविशेषले आफूले अनुभव गरेको छैन भने त्यस शिक्षाको मतलब के हुन्छ त ? त्यस शिक्षाको मतलब एक टिप्पणीकारका अनुसार चखिलो दालमा राखिएका एउटा निर्जीव डाडु वा पन्युजस्तै हुन्छ । डाडु दालको हण्डीमा रहेको हुन्छ । त्यसै डाडुका मद्दतले दाल बाँडिन्छ । तर दालको स्वाद डाडुले कहिल्यै पनि पाउँदैन, जिब्रोले पाउँछ । त्यो पनि स्वस्थ मानिसको जिब्रोले । त्यस हिसाबले गीता र उपनिषद्मा गरिएको विद्वतापूर्ण टिप्पणी खासै मतलब राख्दैनन् भन्ने सनातन मान्यता छ । यस सनातन मान्यताका दृष्टिले ठीक-बेठीक जे भन्नुभए पनि बीपी कोइरालाको भनाइ उहाँको आत्मसंघर्षको परिप्रेक्ष्यमा हेर्नुपर्छ ।
तद्नुरूप कर्ण सिंह वा बीपी कोइरालाको व्यक्तित्वबाट पृथक् राखेर उनीहरूले गरेको व्याख्यालाई शास्त्रसम्मत छ वा छैन भन्ने कसीमा हेर्‍यौं भने त्यो न्यायोचित हुने छैन । ज्यादातर हिन्दू शास्त्रहरूबारे लेखिएको कुनै भाष्य विशेष शास्त्रसम्मत छ-छैन, अझ वेदसम्मत छ-छैन भनेर अल्झिएका हुन्छन् । सबै टीकाहरू यस जंगलमा भड्किएका हुन्छन् । यो ठूलो समस्या हो । प्राचीनकालका विद्वान् शंकराचार्य, रामनुज, जीव गोस्वामी र वल्लभाचार्यदेखि लिएर अचेलका पण्डित यथा डा. विनोदरञ्जन बरालसमेतले गीता र भागवतको यस्तै टिप्पणी गर्नुहुन्छ । निजहरुले उक्त टिप्पणीलाई आफ्नो अनुभवभन्दा पनि शास्त्रसम्मत बनाउन खोजेका हुन्छन् । कर्ण सिंह वा बीपी कोइरालामा यी दुवै दोष छैन । होइन भने शास्त्रको कसीमा कर्ण सिंह र बीपीलाई मूल्यांकन गर्न खोज्ने हो भने दुवैको टिप्पणीको तर्कलाई खण्डन गर्ने केही अप्ठेरो छैन ।
बीपीले गीतामा महाभारतको विध्वंस मात्र देख्नुभयो । योगी अरविन्दले महाभारतको त्यस महायुद्धलाई नवोन्मेषकारी एवम् नवजागरणका संकेतका रूपमा व्याख्या गर्नुभएको छ । यो व्याख्या बीपी कोइरालाको व्याख्यासँग मिल्दैन । जीवनमा सुख मात्र खोज्ने, दुःखलाई नकार गर्ने, संसारमा जीवन मात्र खोज्ने, मृत्युको सत्यलाई स्वीकार नगर्ने मानिस पूर्ण मानिस हुँदैन भन्ने सनातन धर्मको धारणा छ । यो एउटा सानो तर्कमा बीपी कोइरालाको 'मोदिआइन'को सम्पूर्ण वेदना गौण भएर जान्छ । सनातन परम्परामा एकातिर सतत् बाँसुरी बजाएर प्रसन्न रहने कृष्णलाई परमेश्वर मानिएको छ भने अर्कोतिर विध्वंसकारी कालीको नृत्य पनि उनकै लीला हो भनेर अभ्यर्थना गरिएको छ । 'मोदिआइन'ले यस पक्षलाई हेरेको छैन । मानव जीवन दुःख र सुखको द्वन्द्वात्मक अनुभूतिमा अगाडि बढ्छ । दिन र रात एक-अर्काको पूरक भएझैं दुःख-सुख पनि जीवन यात्राका दुई अनिवार्य पाङ्ग्रा हुन् । यसै हिसाबले युद्ध र शान्तिलाई पनि हेर्नुपर्छ । युद्ध र हिंसाको तथ्यलाई नकारेर शान्तिलाई बुझ्न सकिंदैन । कतिपय इतिहासविद्ले युद्धलाई विकास र प्रगतिको आनिवार्य सर्तको रूपमा लिएका छन् । यस दृष्टिले हेर्दा बीपी कोइरालाको मोदिआइनको विलाप निरर्थक छ । यसको अर्थ मोदिआइनको प्रस्तुतिको सार्थकताका उपर प्रश्नचिन्ह लाग्दैन । कुरो यति हो, अत्यन्त सानो कलेवरको त्यस उपन्यासिका 'मोदिआइन'मा प्रतिपादित विषयप्रति न्याय गर्न सकिएको छैन । बरु यस सिलसिलामा एउटा शिक्षाप्रद प्रश्न उठाउन सकिन्छ- महाभारतको मुख्य प्रतिपाद्य विषय के हो ? के महाभारतले युद्धलाई गौरवान्वित गर्न खोजेको छ ? स्वयम् गीताले अहिंसा र क्षमाजस्तै अन्य 'सद्गुण'को कुरा उठाउँछ । महषिर्व्यासले आदि पर्वमा नै महाभारतको उद्देश्यको स्पष्टीकरण गरिसकेका छन् । आदि पर्वमा गृहस्थ आश्रमलाई श्रेष्ठतम आश्रम भनिएको छ, मोक्षको समेत त्यहाँ उल्लेख छैन । 'मोदिआइन' प्रकारान्तरले गृहस्थ-नारीको करुण क्रन्दन हो । कुनै पनि हालतमा क्षत्रीले ओछ्यानमा मर्नै हुँदैन भन्ने विश्वास भएका वीररसका प्रतिमूर्ति कर्णजस्ता योद्धाका निमित्त यस्तो क्रन्दनको कुनै मूल्य थिएन, त्यस युगमा । यस युगमा समेत घर-परिवार, पद, प्रतिष्ठा, पैसा समेतलाई सबै व्यर्थ ठान्ने मानिस मनज्ञ छन् । भर्तृहरिले यसै भावमा लेखेको 'तत् किम' भन्ने श्लोक यसै पनि हाम्रै संस्कृतिको एक पक्ष हो । यस्तो पृष्ठभूमिमा महाभारतकारले त्यस कृतिमा मुकुटमणिको रूपमा जडान गरेका भागवत गीतालाई कुनै एकाङ्गी दृष्टिबाट हेर्न सकिंदैन ।
आधुनिक युगका हामी राजनीतिक कार्यकर्ताले जीवनका यस्ता प्रश्नलाई कहिल्यै पनि गम्भीरतापूर्वक लिंदैनौं । बीपी कोइराला र किसुनजीजस्ता अपवादलाई छोड्ने हो भने सामयिक राजनीतिक जीवनमा नैतिकताका सँगसँगै अध्यात्मको पनि लोप भएको छ । तर अध्यात्म जीवनको एउटा सत्य हो । आधुनिक मनोविज्ञानले पनि अध्यात्मको महत्त्वलाई अर्कै शब्दमा भए पनि स्वीकार गरेको छ । फ्रायडपछि पश्चिममा देखापरेका मनोविज्ञान वेत्तामध्ये अव्राहम म्यास्लो एक महत्त्वपूर्ण हस्तक्षेप मानिन्छ । अब्राहम म्यास्लोले फ्राइडियन मनोविश्लेषणको परम्परा अस्वीकार गरे । म्यास्लोका अनुसार फ्रायडले रोगी मानिसहरूलाई आफ्नो अध्ययनको केन्द्र बनाए । म्यास्लोले 'स्वस्थ मानिस'लाई केन्द्र बनाए । उनले आफ्ना जीवनकालमा भेटेका स्वस्थ मानिसको प्रवृत्तिलाई अध्ययन गर्न खोजे । आफ्ना जीवनकालभन्दा अघि पनि इतिहासबाट जानकारी लिएर स्वस्थ व्यक्तिहरूको स्वभाव अध्ययन गरे । त्यस्ता अध्ययन गर्दा उनले हिटलरलाई मात्र होइन, लिङ्कनलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । स्टालिनलाई मात्र होइन, गान्धीलाई पनि अध्ययन गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । लिङ्कन र गान्धी मानवताका परिपक्व-पुष्ट फल हुन् । त्यही कुरा हिटलर र स्टालिनका बारे भन्न सकिंदैन भन्ने म्यास्लोको निष्कर्ष छ । हिटलर र स्टालिनलाई एकै श्रेणीमा राख्दा यहाँ केही अन्याय गरेको बोध हुनेछ । त्यो होला । हिटलर त युद्ध पिपासु मात्र थिएनन्, कदाचित मनोरोगी थिए । तद्जनित परिस्थितिमा कतिपटक मनोरोगी पनि सर्वेसर्वा शासक भएका छन् । समाजले यस्ता तथ्यतर्फ ध्यान दिनुपर्छ । राजनीतिमा नैतिकता नभएको कुरा हामी सधैं सुन्दछौं । वास्तवमा आजको युगमा जनजीवनबाट नैतिकताको विमर्शसमेत विलीन भएको छ । त्यसैले त्यस्तो स्थिति ल्याउँछ ।
सत्ताको नामूद खेलाडीहरूलाई यस प्रश्नसँग उल्झिने खाँचो पनि हुँदैन, समय पनि हुँदैन । तर यस प्रश्नसँग ढिलो-चाँडो नउल्झिने हो भने मनुष्य अपूर्ण रहन्छ । विकासक्रममा मानिस अमिबाबाट यहाँ आइपुगेको छ । तर मानिसको विकासको यो अन्तिम खुड्किलो होइन । मानिस योभन्दा पनि अगाडि बढ्नैपर्छ । अरविन्दका शब्दमा भन्ने हो भने मनुष्य एउटा असमाप्त प्राणी हो । आज गीताका उपर यो टिप्पणी गर्ने क्रममा मुख्यतः अध्यात्मिक जिज्ञासा र नैतिकताको सम्बन्ध गाँस्न खोजिएको हो । नैतिकताको उत्स अन्ततः अध्यात्म नै हुन्छ । कमसे कम सर्वसाधारणका लागि यही हुन्छ । अध्यात्म भन्नाले यहाँ पूजा-आजा, मन्दिर मात्र भन्न खोजिएको होइन । अध्यात्म भन्नाले सबभन्दा ठूलो कुरो मानिसले ढिलो-चाँडो आफूलाई सोध्नैपर्छ म को हुँ ? मेरो कर्तव्य के हो ? संसारमा कुन कुरो कर्तव्य र अकर्तव्य हुन्छ ? कुन कुरो गर्न हुने र नहुने काम हो ? यस्ता जिज्ञासाबिना मानिसको जीवन सार्थक हुँदैन भन्ने अब्राहम म्यास्लोको ठहर छ । गीताको केन्द्रीय प्रश्न पनि यही नै हो । युगौंदेखि साधु-संन्यासी-कवि-द्रष्टाले यस्ता प्रश्न जीवित राखेका थिए । अहिले यी प्रश्न समाजमा छैनन् ।
भीष्म र द्रोणलाई मार्न मन लागेन भनेर अर्जुनले धनुष फ्याँकिदिएको घडीदेखि गीताको अन्तिम अध्यायसम्म अर्जुनले बारम्बार कर्म-अकर्मका अन्तरका बारे कृष्णलाई पछ्याएका छन् । अर्जुन शिष्य पनि नामूद थिए । कृष्णले दिएको कुनै जवाफलाई उनले सजिलै स्वीकार गर्दैनथिए । कृष्णले दिनुभएको अन्तिम जवाफ मेरो पछि लाग भने र अर्जुन बिल्कुलै आविष्ट मोहच्छन्न र यन्त्रवत् भएर युद्धका निमित्त लागे भन्ने व्याख्या त्यति सजिलो छैन । गीताका आखिरी श्लोकहरूमा 'मामेकं शरणं ब्रज' अवश्य भनिएको छ । तर लगत्तै अघिको श्लोकमा 'यथेच्छसि तथा कुरु' समेत भनिएको छ । यति मात्र होइन, सिंगो महाभारतका कृष्णमा अनेक अन्तरविरोध छर्लङ्ग भेटिन्छ । त्यसको प्रतिविम्ब गीतामा पनि छ । तर अन्ततः गीता एक समन्वयपरक पुस्तिका छ । होइन भने कुनै पनि एक श्लोक पढेर अर्को श्लोक प्रतिवाद गर्न सकिन्छ । फेरि अर्जुन सजिलै र सोझो बाटोबाट 'करिष्ये वचनं तव'मा कदापि पुगेका छैनन् ।
बीपी कोइरालालाई आजीवन अस्तित्ववादको पश्चिमा दर्शनले घचघच्यायो । अबलेयर कामुका उपर उहाँको दुई/तीन लेख पनि उपलब्ध छ । अस्तित्ववादका यावत् परम्परा 'यथेच्छसि तथा कुरु'बाट अभिप्रेरित छन् । स्वयम् बीपी कोइरालाको जीवन र खास गरेर मेलमिलापको ऐतिहासिक निर्णय यसको उत्कृष्ट उदाहरण छ । 'मोदिआइन'को प्रस्तुतिमा कोइरालाको यो पक्ष छैन । नत्र कृष्ण-अर्जुनको त्यो रोमहर्षक संवाद बीपी कोइरालाले पृथक् ढङ्गबाट हेर्नुहुन्थ्यो कि ? गीताको 'यथेच्छसि तथा कुरु' भन्ने सम्झँदा कृष्णले मोहित गरेर अर्जुनलाई लडाइँमा लगाए भन्ने मोदिआइनको तर्क ठीक ठहरिंदैन । तर सत्यको एक पक्ष मात्र देख्नु सायद मानव जातिको नियति नै हो । मानिसजस्तै महान् किन नहोस् बीपी कोइराला, गान्धी, कर्ण सिंह र तिलक आ-आफ्नो जीवनका अनुभवले गर्दा कहिल्यै पनि एक ठाउँमा हिंड्न सक्ने रहनेछन् । यसैले आजको राजनीतिको यस्तै क्रूर रूप छ । आज एमाओवादी, एमाले र कांग्रेसको बानी-व्यहोरा र विचारधारा हेर्दा धेरै फरक देखिंदैन । खासगरी एमाले र कांग्रेसको विचारधारा त झन् नजिक देखिन्छ । तर दृष्टिमा अहम् प्रवेश भएपछि कांग्रेस र एमाले पनि आज मुलुकमा मिल्नै नसक्ने शक्ति भएका छन् । गान्धी, कर्ण सिंह र बीपी कोइरालाको समानान्तर व्याख्याले यस तथ्यलाई स्वीकार गरेर राजनीतिक शक्तिहरूलाई केही नजिक ल्याउन सकिन्छ ? नजिक नआए पनि राजनीतिक शक्तिले जीवनको अधुरो पाटो अध्यात्ममा ध्यान पनि दिनुपर्छ भन्ने घचघचाउँछ कि ! त्यसका निमित्त अरू केही नभए पनि गीता, उपनिषद् वा धर्म परम्पराका उपर यस्ता प्रवचन सामयिक र वाञ्छनीय भइरहनेछन् ।
 

प्रकाशित : फाल्गुन १७, २०७० १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस-एमाले : टुट्न नहुने सहकार्य

प्रदीप गिरि

काठमाडौ — मन्त्रालयको प्रश्न टुंगो नलागेको भन्दै अहिले एमालेले सरकारमा जानसमेत इन्कार गरेको छ ।

नेपालमा ढिलै भए पनि सुशील कोइरालाको नेतृत्वमा बहुमतीय सरकार गठन भयो । सिंगो मुलुकले यसलाई आशाको नजरले हेरेको छ । पहिलो दिन नेकपा एमालेका संसदीय दलका नेता ओलीले सदनभित्रै कतिपय शंका व्यक्त गर्नुभएको थियो । लगत्तै गृह
कांग्रेस-एमालेको लामो समयसम्म सहकार्यको खाँचो छ । संविधान लेखनमा त्यो सहकार्यको खाँचो टुंगिन्छ भन्ने पनि होइन । साँच्चै दूरदर्शी राजनीतिज्ञले सोच्ने हो भने त्यसपछि पनि हाम्रा विकराल सामाजिक-आर्थिक समस्या यी दुई पार्टी नमिल्दासम्म समाधानका दिशामा डेगै चल्दैन । यसै पनि समानुपातिक निर्वाचन प्रणालीसमेत अंगीकार गरेको मुलुकमा कुनै दल विशेषको सामान्य बहुमत बिरलै आउँछ । त्यसो हुँदा नेपालले अब संयुक्त सरकारको संस्कार बसाउनैपर्छ । नेपाली राजनीतिको इतिहासमा पहिलोपटक शेरबहादुर देउवाले संयुक्त सरकारको नेतृत्व गर्नुभएको हो । पछि गिरिजाप्रसाद कोइरालाको पालामा पनि संयुक्त सरकार बन्यो । तिनताका पनि कतिपय तनावले वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा माले सरकारबाट बहिर्गमन भएको थियो । त्यसका विशेष अन्तरकथा पनि छन्, त्यो अर्कै कुरा हो ।
अहिले भने संविधान लेख्नुपर्ने कुरामा सबैले ध्यान दिने वाचा बारम्बार गरेर पनि मन्त्रालय विशेषको बाँडफाँडलाई लिएर कटुता उत्पन्न हुनु निश्चय पनि चिन्ताको विषय हो । भएको के हो ? यसमा कसलाई दोष दिने ? संयुक्त सरकार बनाउने समझदारी भएकै घडीदेखि परस्पर विरोधी कुरा कांग्रेस-एमालेबाट आइरहेको थियो । कांग्रेसका वार्ताकार र प्रभावशाली नेताहरूको कुरा नमिलेको कुरा रामचन्द्र पौडेलले पहिले नै छनक दिइसक्नुभएको थियो । निर्णय प्रक्रिया बाहिर रहेका कांग्रेस नेताहरूले अथवा आम जनताले पनि त्यो अन्तरकथामा एक हदभन्दा बढी चासो राख्ने कुरा
उठेन । हामीले बढीमा सैद्धान्तिक कुरामात्र गर्न सक्छौं ।
राजनीतिको सार भनेकै सत्ता-संघर्ष हो । त्यस दृष्टिले आज एमालेले र भोलि कांग्रेसले हामीले यस्तो-उस्तो मन्त्रालय चाहिन्छ भनेर माग राख्नु, निहुँ खोजेजस्तो देखिनु आफैंमा अनुचित कुरा होइन । कांग्रेसको एकमना सरकार बन्दासम्म संख्या पुग्ने/पुर्‍याउने क्रममा गिरिजाबाबु र शेरबहादुर लगायतले 'तिमीहरूलाई फलानो मन्त्रालय दिन्छु, लौ मलाई समर्थन गर्नुपर्‍यो' भनी पहिले नै विन्तीभाउ गरेका उदाहरण हाम्रासामु छन् । मन्त्रालयको भागबन्डाले नपुगेर कांग्रेस नेतृत्वले कांग्रेसकै सदस्यलाई अन्य प्रलोभनसमेत दिनुपरेका प्रसंगहरू हाम्रो स्मृतिपटलमा ताजै छन् । यस स्थितिबाट मुलुकले कसरी उन्मुक्ति पाउने हो त ? यो भन्न पनि बडो गाह्रो छ । तर भने पनि नभने पनि यसबारे चिन्ता भने गर्नैपर्छ ।
नेपाली राजनीतिको इतिहासमा त्याग र तपस्याको उदाहरण नभएको होइन । बीपी कोइरालाले आफ्ना अन्तिम दिनहरूमा आफू कुनै पनि कार्यकारी पदमा जाने कहिल्यै पनि इच्छा राख्नुभएको थिएन । गणेशमानजीले त आफ्नो हातमा रहेको प्रधानमन्त्रीको पद सहर्ष छाडेर किसुनजीलाई अगाडि ल्याउनुभयो । किसुनजीका अनेक कमी होलान् । तर उहाँले पद र पैसाको लालच कहिल्यै देखाउनुभएन भन्ने सर्वविदितै छ । अझ भन्ने हो भने किसुनजी पछिल्लोपटक प्रधानमन्त्री हुँदा झन्डै-झन्डै सहयोगी साथीहरूको दबाबमा वितरागको मनोदशामा उहाँले त्यो पद स्वीकार गर्नुभएको थियो । पछि उहाँले त्यस पदबाट छुट्कारा लिंँदा पनि संसदमा मार्मिक कुराहरू भन्दै निष्कृतिको अनुभूति अभिव्यक्त गर्नुभएको थियो । हामी कतिपय मित्रहरू त्यसका अन्तरंग साक्षीसमेत छौं । तर अहिलेको दुर्भाग्य अर्कै छ । कांग्रेस, एमाले वा एमाओवादीका नेता कोही पनि कुनै हालतमा आफूले देखेको कुनै पनि पद छोड्न चाहँदैन । राजनीतिक पदको मात्रै कुरा नगरौं, सानातिना सामाजिक- सांस्कृतिक पद पाएका व्यक्तिहरू पनि हत्तपत्त आफूले ओगटेको कुर्सी छोड्न चाहँदैनन् । नेपालमा यसरी कुर्सीमोह हुने कारण के हो ? यस्तो मदमोह हुने समाजशास्त्र के हो ? यो व्याख्या हुनैपर्ला ।
नेपालको राजनीतिक इतिहासमा हाम्रा शीर्षस्थ नेताहरूले राजनीतिक पदबाहिर पनि समाजमा प्रभाव राख्न सक्छु भन्ने अनुभूति अंगीकार नगर्दासम्म पदलालसा जाँदैन । यस बाहेक कुनै मन्त्रालय विशेषको नेतृत्व गर्न कोही व्यक्ति वा पार्टीविशेष यसरी दुराग्रही हुनुको पनि एउटा पृष्ठभूमि छ । मुलुकमा रित पुगेको कानुनको शासन ढुक्क हुने हो भने कुनै पनि मन्त्रीले मनपरितन्त्र गर्न पाउँदैन । मन्त्री विशेषलाई कानुनको शासनमा प्रेरित गर्न र त्यतिमात्रले नपुगेर रित पुगेको कानुनको शासन गराउन बाध्य गराउने काम मुख्यतः निजामती सेवाको हो । हिजोका राणाकालमा हुकुम नै कानुन हो भन्ने उखान थियो । त्यो हुकुम नै कानुन भएका ठाउँमा पनि इमानदार प्रशासक र न्यायकर्ताहरू हुन्थे । कोइराला परिवारमा सरदार कालिदासका पालामा निजले तत्कालीन राणा प्रधानमन्त्रीको कुनै एउटा आदेश विशेषलाई प्रचलित ऐन-कानुन
बमोजिम गर्दा सरकारको कोपभाजन हुनुपरेको उदाहरण बीपी कोइरालाले सगर्व आफ्नो आत्मकथामा लेख्नुभएको छ ।
राणाकाल आदर्श व्यवस्था थिएन । सिद्धान्ततः नै त्यो व्यवस्था ओठे कानुनमा आधारित थियो । कानुनमा जस्तै लेखिए पनि राणा प्रधानमन्त्रीको मौखिक आदेशले त्यसको उल्लंघन हुन्थ्यो । त्यही पनि सरदार कालिदासले राणाको बेनियमको आदेशलाई मानेनन् रे । त्यसो हुँदा राणा प्रधानमन्त्री कदाचित् वीरशमशेरले उक्त ऐन-नियममा हरिताल लगाए रे । हरिताल लगाएपछि कालिदासले 'लौ अब कानुन फेरियो, अब म सरकारको आदेश पालन गर्छु' भन्नुभएको भन्ने प्रसंग आउँछ ।
अर्को शब्दमा भन्ने हो भने मन्त्रीले आफ्ना सचिव र सहसचिवलाई आदेश दिंँदा विद्यमान कानुनको दायराबाट हट्न कर्मचारीले नमान्ने हो भने गृहमन्त्री वा अर्थमन्त्रीले मनपरी गर्न पाउँदैन । दुर्भाग्यवश मन्त्रीको यस किसिमको आदेशमा होमा हो मिलाउने कर्मचारीतन्त्र वा पुलिसतन्त्रसमेतको हाम्रो मुलुकमा जगजगी छ । यस तथ्यका लागि पुलिस र कर्मचारीलाई मात्रै दोष दिने कुरो छैन । मुख्य दोष त नेताहरूकै
हो । उनीहरूले अहिलेसम्म मुलुकलाई सुशासन दिने खालको कानुन, नीति-नियम बनाउनसकेका छैनन् । पदमा पुगेका मन्त्री र कर्मचारीले यसै तथ्यमा टेकेर आफ्नो स्वार्थपूर्ति गर्छन् । भ्रष्टाचारको मुहान अनुत्तरदायी र निरंकुश अधिकार हो । आजको हाम्रो राजनीतिक व्यवस्था यस्तै छ । गृह र अर्थजस्ता मन्त्रालयमा मन्त्री र सचिवको मिलोमतोमा मनपरी काम गर्न सकिने गल्छेँडो छन् । त्यस्तै चोरबाटाको आकर्षणले गर्दा महत्त्वाकांक्षी राजनीतिज्ञहरू यस्ता मन्त्रालयका लागि अचेलको 'कोतपर्व' गर्छन् ।
राजनीतिमा सत्ता संघर्षको इतिहास प्राचीन हो । पृथ्वीनारायण शाहले आफ्नो नेपाल विजयको अभियानमा के-कस्ता वचन दिएर कसरी आफ्ना वचन तोडे भन्ने उदाहरण हामीसँग छ । राणाकालको हत्यामूलक षड्यन्त्रबाट हामी राम्ररी परिचित छौं । मध्ययुगीन अथवा त्यसभन्दा पनि पहिलेको इतिहास पढ्दा राजा-महाराजाले राजकाज गर्दा सधैं साम, दाम, दण्ड र भेदको उपयोग गर्नु भन्ने कुरा हाम्रो शास्त्रमा समेत लेखिएको छ । राजनीतिशास्त्रका पण्डित मेक्यावेली, चाणक्यदेखि लिएर कणिकसम्म सबै नै जालझेलका प्रवक्ता मानिन्छन् । स्वयम् महाभारत युद्धमा धर्मको स्थापना गर्न उद्यत हुनभएका कृष्णले युधिष्ठिरको पक्षलाई झुठ बोल्न, कुट-युद्ध गर्न, धोखा दिएर विरोधीको हत्या गर्न सिकाएका छन् । कालान्तरमा त्यस्ता कुराको पुष्टि र औचित्यसमेत ठहर्‍याइएको छ ।
यस सानो टिप्पणीमा यस विषयमा केही भन्न पुग्दैन । तर प्रश्न भने जिउँदो छ- के हामी अहिले पनि राणायुगमा छौं ? के हामी युरोपको मध्ययुगमा छौं त ? अथवा दुशासनको ठाडै रगत पिउन तम्सिने भीमसेनजस्तो महाभारत युगमा छौं त ? के आज पनि नांगो सभामा एउटा द्रौपदी बलात्कार गरिने अवस्थामा छिन् त ? यथार्थमा त्यही छ होला । तर हाम्रो आदर्श पनि त्यही हो त ? होइन भने हामीले कहीं न कहीं राजनीतिमा नैतिक तत्त्वलाई प्रवेश गराउनैपर्छ । नैतिक तत्त्वलाई प्रवेश गराउँदा हामीले त्यागको सम्मान गर्नैपर्छ । दुर्भाग्यवश, इतिहासमा त्यागका कुरा गर्ने महापुरुषहरू मौका पाउनासाथ पाखण्डका उदाहरण भएका छन् । त्यस्तो पाखण्डले गर्दा हाम्रो मुलुकलाई धेरै समस्या परेको छ । पाखण्डका कुरा गरेर सत्तामा जान्छु र अरु सबैले पनि राम्रा व्यवहार गरुन् भन्नु कदापि सम्भव हुँदैन । वर्तमानका हकमा यसले संविधान लेखन कठिन बनाएर जान्छ । भविष्यका हकमा मुलुकमा विद्यमान रहेको हिंसा, आतंक, विग्रह र विभेदको राजनीति झन्-झन् बलियो हुँदै जान्छ ।
यो महाभारतको युग होइन, नत राणायुग हो । यस युगमा राजनीति गर्न र राजनीतिलाई सार्थक बिसाउनीमा पुर्‍याउनका लागि न्युनतम नैतिकताको पालन गर्नैपर्छ । सञ्चार क्रान्तिको यस युगमा राजनीतिज्ञले झुठ बोल्नु नैतिकपतनमात्र होइन, प्रत्युत्पादकसमेत हो । हिजो अध्यक्ष प्रचण्डले अनावश्यक झुठ बोलिरहँदा नै उनको अविश्वसनीयताले गर्दा पराजय भएको हो । कांग्रेस र एमालेको वार्तामा के भएको थियो त ? कुन पक्ष झुट बोल्दैछ त ? वास्तविक कुरो के हो ? कतिपय खबरका अनुसार कांग्रेसका केही महाबलीहरू वामदेव गौतमलाई भने गृहमन्त्री दिन चाहँदैन थिए । के त्यो हो त ? अथवा कांग्रेसले स्वास्थानी व्रतकथामा विष्णुले विवाह गर्छु भनेको सतीदेवी झुक्याएर महादेवलाई दिएजस्तो हो ? अथवा महाभारतमा अश्वत्थामा हतो-हतो भनेजस्तो हो । यसरी कांग्रेस र एमालेले प्रारम्भमै घिउ बेचुवा र
तरवार बेचुवाको हिसाबले लेनदेन गर्नथाले भने दुवै पार्टीको भविष्य
राम्रो हुने छैन । जनताले दुःख पाउने कुरा त छँदैछ ।
कांग्रेस र एमालेमा यसबेला व्यक्तिवाद चरम सीमामा छ । यस किसिमको व्यक्तिवाद जहिले पनि पार्टी सिद्धान्त विमुख भएपछि आउँछ । एमालेले बहुदलीय जनवादको कुरा गरेको छ, कांग्रेसले लोकतान्त्रिक समाजवादको । गहिरिएर हेर्दा त्यसमा विशेष दूरी देखिँदैन । यता आएर कांग्रेस केही दक्षिणपन्थी झुकावतिर लागेको
छ । उसले भूमण्डलीकरणको प्रवाहको प्रतिरोध गर्नसकेको छैन । व्यवहारमा त एमाले र एमाओवादीले पनि गर्नसकेका छैनन् । होइन भने कांग्रेसको प्रजातान्त्रिक समाजवाद, मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद, अरु त अरु एमाओवादीले अगाडि ल्याएको २१ औं शताब्दीको जनवादमा समेत न्युनतम समता खोज्न सकिन्छ । त्यस समबोधलाई अँठ्याएर आगामी दस वर्षका लागि राष्ट्रका निम्ति न्युनतम कार्यक्रमको निक्र्योल र घोषणा गर्न सकिन्छ ।
स्मरणीय छ, सन् १९१७ अघि दुनियाँका सबै सोसल डेमोत्रmयाट एकै थिए । सबैले आफूलाई भन्दा सोसलिस्ट भन्थे । बेलाबखतमा कम्युनिस्ट भन्न पनि चुक्दैन
थिए । हाम्रो कांग्रेस पार्टीमा हिजोसम्म एकअर्कालाई कमरेड भन्ने चलन थियो । बीपी कोइरालाका कतिपय पत्रहरू वर्तमान नेतृत्वले पनि पढेको होला । प्रधानमन्त्री सुशील कोइरालाले त पक्कै पढ्नुभएको होला । एक-अर्कालाई कमरेड भन्ने त्यो संस्कृति देखेर बुझेका सुशील कोइरालाजस्ता पुराना खान्दानी कांग्रेसीले एमालेलाई व्यवहार गर्दा शत्रुशक्ति होइन, साथ लिएर हिँड्नुपर्ने सहयात्री शक्ति भनेको खण्डमा यो विवाद मिल्न सक्छ । फेरि एमालेले पनि गृहमन्त्रीलाई नाकको प्रतिष्ठा बनाएर कांग्रेसलाई भि“mझो दिनु हुँदैन कि ? कम्तीमा पनि हाम्रा नागरिक समाज र आम जनताले यस विषयमा नेपालमा क्रमशः बलियो हुँदै गएको सञ्चारमाध्यमबाट आफ्नो आवाज बेलाबखत अगाडि ल्याउनैपर्छ । त्यही गर्ने उद्देश्यले मात्र मुख्यतः एउटा नागरिकका रूपमा यो टिप्पणी गरिएको हो ।

प्रकाशित : फाल्गुन २, २०७० १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×