कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा कामरेडहरुलाई पत्र

कामरेड मित्रहरु ‘मैले गल्ती गरें, म अबदेखि गर्ने छैन, मलाई क्षमा देऊ’ भन्ने वाक्य विद्वान, अनुशासित, पढेलेखेका, त्यागी व्यक्तिहरुले बोल्ने भाषा हो । यसलाई अपराधी र मुर्खहरुको बोली हो भन्ने सोच राख्दा तपाईंको पार्टीले देश र जनतालाई अनिर्णयको बन्धक बनाएको छ ।

केही दिन पहिले नेकपाका कामरेडहरुसँग चिया पिउने मौका पाएको थिए । चिया पिउने क्रममा भएका कुराकानी र वादविवाद सुन्दा त्यहाँ केपी शर्मा ओली, कोही पुष्पकमल दाहाल, कोही माधव नेपाल र कोही झलनाथ समूहका समर्थक मात्र थिएनन्, आफ्ना नेताहरुलाई क्रान्तिकारी, इमान्दार, पार्टी सञ्चालन गर्न योग्य र जेलमा बिताएको समयको प्रशंसा गर्दै आफ्नै पार्टीका अर्काे समूहका नेताहरुका नकारात्मक टीकाटिप्पणी गरेको सुनियो । यसै क्रममा मैले कामरेडहरुलाई बीचैमा रोकी आफ्नो कुरा राख्ने इच्छा व्यक्त गरें :

नेकपा कामरेडहरुलाई पत्र

तपाईंहरु एक–अर्काले आफ्ना नेताहरुका नकारात्मक कुरा गरेर नेताहरुलाई कोपर्दै गर्दा आफ्नै शरीरमा घाउ बनाइरहनुभएको छ । राम्रो कपडा लगाएर घाउ छोपिएको छ र जनताले देख्दैनन् भन्ने भ्रममा नपर्नुस्, जनता यसमा अनभिज्ञ छैनन् ।

अर्को उदाहण दिँदै भनेँ, एक युवकले जथाभावी मोटरसाइकल कुदाइराखेका थिए । उनको मोटरसाइकल कारमा ठोक्किनै लागेको थियो । त्यत्तिकैमा कार मालिकले भने, ‘भाइ दुर्घटना भयो भने उपचार खर्च दिउँला तर दुर्घटनापछिको पीडा, हातखुट्टा भाँच्चिए, अपाङ्ग भए वा मृत्यु समेत भए के हुन्छ ?’ सवारी दुर्घटना भएपछि कसैले खर्च बेहोर्छ भनेर जथाभावी सवारी चलाउँदा चोट आफैले बेहोर्नु परे जस्तै यदि कुनै राजनैतिक दुर्घटना भयो भने खुट्टा तपाईंहरुकै भाँचिने हो भन्ने कुरा मनन गरौं ।

अर्को प्रसंगको याद दिलाउँदै भनेँ, रामायणमा राक्षसको एउटा समूह राम लक्ष्मणमाथि आक्रमण गर्न कुरिराखेका थिए । त्यसै समयमा रामले मायारुपीवाण छोड्नुभयो, त्यसपछि एक राक्षसले अर्को राक्षसमाथि रामको अनुहार देख्न थाले र एकले अर्कालाई मार्न थाले । अनि सबै राक्षसहरु आ–आफै लडेर समाप्त भए । त्यसैले कामरेडहरु सतर्क रहनुस्,एकले अर्कालाई भारतवादी, चीनवादी र राष्ट्रवादी भनेर कोपर्दाकोपर्दै समाप्त हुने स्थिति नबनोस् ।

कामरेडहरुलाई अर्को उदाहरण दिँदै भनेँ, ‘वर्षा यामको समय थियो, पानी सिमसिम परिराखेको थियो । रुखमा निथ्रुक्क झिजेर काँप्दै बसेका बाँदरमाथि दया लागेर गुँड बनाएर बसेका चराले भन्यो, ‘बाँदर दाइ तिमीलाई भनेका थियौं घर बनाएर बसेको भए आज यो दु:ख भोग्न पर्ने थिएन ।’ बाँदरलाई उसको सल्लाह मन परेन र रिस उठ्यो अनि चराको गुँड भत्ताभुङ्ग गरी दियो । भनिन्छ, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुको घर पनि बनेको हेर्न पनि सक्दैन ।’ त्यसैले कामरेडहरु जनताले दुई तिहाइको गुँड बनाइदिएका छन्, बाँदर प्रवृत्ति नदेखाउनुस् ।

कामरेड, इतिहास रट्ने होइन, इतिहासबाट पाठ सिकी आउने पिँढीका लागि नयाँ इतिहास बनाउने हो । तपाईंहरु मारेका मरेका, क्रान्तिका कुरा, आन्दोलन, अधिकार र इतिहास कुरा मात्र गर्नु हुन्छ तर नयाँ पुस्ताले तपाइंहरुको कुरा बुझदैन र बुझ्न् पनि चाँहदैनन् । युवापुस्ताको हातहातमा मोबाइल छ, मोबाइलभित्र संसार छ । विश्वमा भएका घटना मिनेटमा थाहा पाउँछन् । विश्वमा एक से एक जोसिला, योग्य, त्यागी र भिजन भएका युवा नेताहरुले देश बनाइरहेको देख्दा हाम्रा युवाहरुमा हाम्रा नेताहरु त्यस्ता भइदिएको भए आज युवाहरु बेरोजगार भई विदेसिनु पर्ने थिएन र हाम्रा दिदीबहिनीमाथि विदेशमा महिला हिंसा हुने थिएन भन्ने सोच आउनु स्वभाविक देखिन्छ । जनादेशको कदर गर्नुस्, अर्को चुनाव आउने बेला हुन लागिसक्यो । अहिले दुईतिहाई गुमे पनि बहुमत गुमेको छैन, यसलाई जतन गर्नुस् ।

कामरेड मित्रहरु, गीतामा कृष्णले अर्जुनलाई भनेका थिए, ‘ज्ञान नै सबैभन्दा ठूलो शक्ति हो, ज्ञानभन्दा ठूलो केही छैन, ज्ञान नै सबै समस्याको उपचार हो र ज्ञानको कमी नै सबै समस्याको जड हो ।’ त्यसैले डिग्री र ज्ञान, शिक्षक र गुरु, शिक्षा र दिक्षा, विज्ञान र कला, कानुन र नियम, विवेक र व्यवहारिकता, राजनेता र वरिष्ठ नेता, वरिष्ठ नेता र नेताबीचको भिन्नता र महत्वको अध्ययन गर्नुस् । देश, जनता र तपाईंको पार्टीले निकास पाउने छ ।

कामरेड मित्रहरु ‘मैले गल्ती गरें, म अबदेखि गर्ने छैन, मलाई क्षमा देऊ’ भन्ने वाक्य विद्वान, अनुशासित, पढेलेखेका, त्यागी व्यक्तिहरुले बोल्ने भाषा हो । यसलाई अपराधी र मुर्खहरुको बोली हो भन्ने सोच राख्दा तपाईंको पार्टीले देश र जनतालाई अनिर्णयको बन्धक बनाएको छ ।

पार्टी र सरकारमा शक्तिवान पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन्छन् तर उहाँहरु संयमित, त्यागी, संवेदनशील, जिम्मेवारी, विवेकशील र व्यवहारिक हुनुपर्दछ । उहाँहरुलाई पदबाट हटाइयो भने पार्टी फुट्छ, संकटकाल लाग्छ, संसद् विघटन हुन सक्छ र संक्रमणकालका मुद्दाहरु ब्युँतिन सक्छ भनेर कामरेडहरुले मनगढन्ते कुरा गर्नु र उहाँहरुलाई उकास्ने कार्य गर्नु कसैको हितमा देखिँदैन । ‘जुन दु:ख गरेर सुख मिल्दैन त्यो दु:ख किन गर्नु’ भने जस्तै जुन कार्य गरेर संविधान कार्यन्वयनमा बाधा आउँछ, राजनैतिक अस्थिरता आउँछ, देशमा शान्ति भंग हुन्छ, पार्टी एकता टुट्छ, विकास र संवृद्धिमा रोक लाग्दछ त्यस्तोकार्य किन गर्नु,कसका लागि र केका लागि गर्नु भन्ने ज्ञान प्रधानमन्त्रीज्यूलाई नभएको होइन । यस्तो कार्य गर्दा पार्टीले दिएको पदीय दायित्वमा जनताले प्रश्न उठाउँछन् कि भन्ने कुराको ज्ञान पनि उहाँलाई छ । त्यस्तै दक्षिणा नपाए मन्दिर भत्काइदिन्छु, भगवानका मूर्तिहरु तोडफोड गरी दिन्छु भन्ने व्यक्ति मन्दिरको सही पुजारी हुन सक्दैन भन्ने कुरा पनि उहाँले राम्रैसँग बुझनु भएको छ ।

हामीले बुझेका छौं रामराज्य कहीँ छैन । पार्टीभित्र समस्या आउँछ त्यसलाई छलफल, बहस र वार्ताबाट निकास दिनुपर्छ । समस्यालाई प्रतिष्ठाको विषय बनाएर द्वन्द्व निम्त्याउनु हुँदैन, द्वन्द्वले हिंसा जन्माउँछ । यो विश्वमान्यता हो । यी कुराको ज्ञान हुँदाहुँदै किन कामरेडहरु प्रतिष्ठाको बाटो समातिराखेका छन् । वरिष्ठ नेता उमेर पुगेर हुने होइन, भोलि पार्टीमा आउन सक्ने समस्याको निकास दिनका लागि सक्षम व्यक्ति नै वरिष्ठ बन्ने हो । आजको असहज स्थितिको समाधान भोलिको सफलताका लागि हो भन्ने कुरा बुझ्नुपर्दछ ।

अन्त्यमा, कामरेडहरु आ–आफ्नै गुटले पार्टी कब्जा गर्न बारम्बार जमघट गर्नु भन्दा भविष्यमा पार्टीको सरकार बनिरहने नीति बनाउनुस् । त्यसका लागि सबैले त्यागको राजनीति गरौं । यसैमा पार्टीको हित देखिन्छ ।

प्रकाशित : श्रावण १२, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?