२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एकान्तको उपयोग

मानिस जति राग रञ्जित, द्वेष दूषित र मोह विमूढित भएको छ त्यही अनुपातमा पृथ्वी प्रदूषित, फोहोर, कुरूप र असन्तुलित भएको छ । मानिसले वस्तु, विचार र डाटा बेहिसाब उपभोग गरिराखेको छ । शरीर टक्सिनको भारले र मस्तिष्क सूचनाहरूको भारले थिचिएको छ ।
नेत्र आचार्य

काठमाडौँ — पृथ्वीको पुकार– पृथ्वी स्वर्गको सभामा पुगिन् र त्यहाँ उपस्थित ब्रह्मा, विष्णु, इन्द्रादि देवसामु आफू पापीहरूको भारबाट पीडित भएको वृत्तान्त सुनाइन् । कंस, जरासन्ध, शिशुपाल, दुर्योधनजस्ता कुख्यात शासकहरूको स्वेच्छाचार र अत्याचार सुनेर देवताहरू द्रवित भए ।

एकान्तको उपयोग

विष्णुले भने, ‘पापीहरूको संहार गरेर पृथ्वीको उद्धार गर्न मर्त्यलोकमा जन्म लिनेछु ।’ इन्द्र, अग्नि र अन्य देवदेवीले पनि अंशावतार लिई विष्णुलाई मदत गर्ने संकल्प गरे । कृष्णावतार लिएर विष्णुले दुराचारीको अन्त्य गरी पृथ्वीको भार हरण गरे ।

यो द्वापर युगको प्रसंग थियो । कलियुगमा फेरि पृथ्वीको भार चुलिएको छ । जीवाष्म इन्धनको अति प्रयोगले वायुमण्डल दूषित भएको छ, विश्व तापमान बढेको छ, समुद्रसतह बढ्दै आएको छ । धूवाँले भरिएको आकाश, जंगल मासिँदा नांगिएका डाँडापाखा, फोहोर, सुक्खा नदीनाला, मांसाहारका निम्ति जीवजन्तुको बीभत्स हत्या यी दृश्यले पृथ्वी प्रताडित भएको छ । पृथ्वीले आफ्नो उद्धार होस् भनी पुकार गरिरहिन्, देवताहरूले सुनेनन् । यसपालि एउटा अदृश्य भाइरसले सुन्यो ।

यो भाइरसले एकाध महिनादेखि संसारलाई बन्दीगृह सरी बनाइदिएको छ । मानिस घरभित्र थुनिएका छन्, नाफाखोर अर्थव्यवस्था धराशायी भएको छ, सबैले आफ्नै मनका लोभानि–पापानि पर्यालोचना गर्दै छन् । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनिन्छ । महामारी सृजित अव्यवस्थाभित्र कतै सुव्यवस्थाको संकेत पनि छ । नित्सेले भनेका थिए, ‘मानिस एउटा संक्रमणकाल हो, चेतना उन्नत बनाउँदै महामानव बन्न सक्छ, अधोपतन हुँदै पशुवत् हुन पनि सक्छ ।’ इन्द्रिय तुष्टिका निम्ति समयलाई पैसा र गतिलाई प्रगति मानेर प्रतिस्पर्धामा दौडिरहेको मानिसले आफैंलाई, आफ्ना सम्भावनालाई चिन्न सकिरहेको छैन । सामाजिक दूरी र एकान्तवासको यो समय अन्तर्यात्राका निम्ति अवसर हो । अन्तर्यात्रा धेरै तरिकाले गरिन्छ– स्व–अध्ययनमार्फत, योगाभ्यास एवं ध्यानमार्फत ।

अन्तर्यात्रा र ऊर्जा

स्वाध्यायका लागि एकान्तवास सुन्दर अवसर हो । रहँदाबस्दा मनमा राग, द्वेष र मोहको संस्कार बस्छ । त्यो संस्कारले निरन्तर क्लेशतिर, दुःखतिर तानिरहेको हुन्छ । सामाजिक संसर्गका दौरान प्रिय—अप्रिय परिस्थिति सामना गर्नुपर्छ । रुचिकर—अरुचिकर सम्झौता गर्दा, लत्रिंदा—लत्रिंदा, चोट खाँदा—खाँदा आत्मा छियाछिया भइसक्छ, ऊर्जा छिन्नभिन्न भइसक्छ । शरीर र मनमा पुनः ऊर्जा सञ्चार गर्ने माध्यम योग र ध्यान हो । ध्यानको परिभाषामा असंगले भने – धारयति अध्यात्मं मन इति ध्यानम्, मनलाई आफैंभित्र अड्याएर राख्नु ध्यान हो । ध्यानले मनलाई स्थिर बनाइदिन्छ, ऊर्जा सञ्चित गराइदिन्छ, निष्क्रिय ऊर्जालाई सक्रिय गराइदिन्छ । ऊर्जा शान्ति र आनन्दको स्रोत हो जुन सामाजिक संसर्गका दौरान क्षय हुन्छ । सामाजिक हुने नाममा व्यक्तिले आफ्नो निजता बिर्सनु, ऊर्जा क्षय गर्नु हितकारी होइन ।

मानिसलाई सामाजिक प्राणी मानिएको छ तर यो बहसको विषय हो । प्रकटमा मानिस समाजमा बस्न रुचाएको देखिन्छ तर अन्तर्यमा अर्कै यथार्थ फेलापर्छ— अधिकांश मानिसले समाजको उपयोग मात्र गरिरहेका हुन्छन् । नित्से, फुकोजस्ता दार्शनिकले मानिसले पावर एक्सरसाइजगरिरहने तथ्य औंल्याएका छन् । मानिसले शक्तिको आकांक्षाले हिंसा प्रतिस्पर्धामात्र गर्दैन, कसैको प्रशंसा गर्दा, माया गर्दा वा उपहार दिँदासमेत शक्तिको आकांक्षा राखेको हुन्छ । घरपरिवारभित्र समेत शक्तिसंघर्ष चलिरहेको हुन्छ । निराशा जगाउने यो पाश्चात्य दृष्टि हो, पूर्वीय दर्शनको दृष्टि आशावादी छ । पूर्वीय दर्शनले हरेक व्यक्ति आफैंमा सम्पूर्ण छ भन्छ । सर्वं आत्मवशं सुखम्, स्वतन्त्र हुनु, आफ्नै वशमा रहनु सर्वाधिक सुखद अनुभूति हो । यो स्वतन्त्रता दर्शन मात्र होइन, प्रकृतिको नियम नै हो । हरेक वस्तु स्वतन्त्र छ, स्वयंमा पूर्ण छ ।

उपनिषद्का अनुसार, असंगता नै वस्तुको स्वभाव हो । पञ्चतत्व अर्थात् माटो, पानी, हावा, प्रकाश आदि असंग हुन्छन् । माटोमा पानी हाल्दा हिलो हुन्छ तर सुकेपछि माटो यथावत् हुन्छ । पानीमा नुन, चिनी अथवा कुनै रङ राखे पनि बाफ बनेपछि पानी आफ्नै स्वभावमा फर्कन्छ– रंगहीन स्वादहीन । त्यसैगरी हावा दुर्गन्धित भए पनि स्रोत हटेपछि दुर्गन्ध हट्छ । रंगीन चस्माले हेर्दा प्रकाश रंगीन देखिन्छ तर प्रकाशले असंगता छाडेको हुँदैन । वस्तुमा जस्तै व्यक्तिमा पनि यही नियम लागू हुन्छ– व्यक्ति त्यतिखेर खुसी हुन्छ जतिखेर आफ्नो स्वभावमा स्थिर हुन्छ ।

आर्यदेव भन्छन् –

यथैव स्फटिकः स्वच्छ पररागेण रज्यते ।

तथैव चित्त रत्नं तु कल्पना रागरञ्जितम् ।

स्फटिक मणि नजिकमा जस्तो रङ छ उस्तै रङको बनेजस्तै चित्त पनि जस्तो विचार वा भावनाको संगत हुन्छ उस्तै बन्छ । चित्त असंग हुँदा आदिशुद्ध स्वरूपमा फर्कन्छ । चित्तलाई आदिशुद्ध स्वरूपमा फर्काउन इन्द्रिय संयम चाहिन्छ ।

इन्द्रिय संयमको फल

नववधू गान्धारीले पति धृतराष्ट्र अन्धा रहेछन् भन्ने थाहा पाएकै क्षण कालो पट्टीले आँखा बाँधेकी थिइन् । जीवनभर पट्टी नखोल्ने प्रतिज्ञा पतिव्रता गान्धारीको थियो । उनका पुत्र दुर्योधन महाभारत युद्ध हार्ने स्थिति आएपछि मातापितालाई भेट्न हस्तिनापुर पुगे । गान्धारी चिन्तित भइन् र प्रतिज्ञा तोडेर पुत्रको कल्याण गर्ने मनसायले उसलाई सर्वांग निर्वस्त्र हुन भनिन् । गान्धारीले आँखाको पट्टी खोलेर हेर्दा दुर्योधनले जननेन्द्रिय छोप्न लंगौटी लगाएका थिए । दुःखी हुँदै गान्धारीले भनिन्– मेरो दृष्टिपातले तिम्रो शरीर वज्र समान भएको छ तर जंघा कमजोर रह्यो । महाभारत युद्धको अन्त्यतिर गदायुद्ध हुँदा भीमले दुर्योधनको शरीरलाई कत्ति पनि चोट पुर्‍याउन सकेका थिएनन्, कृष्णको संकेतमा भीमले जंघामा प्रहार गरी दुर्योधनलाई मारे । आँखाको संयम गर्दा अपार दृष्टि शक्ति विकसित हुन्छ भन्ने उदाहरण हो यो ।

निस्फला नेत्रविक्षेप न कर्तव्याः कदाचन ।

निध्यायन्तीव सततं कार्या दृष्टिरधोगता ।।

शान्तिदेव आँखाको संयमका बारेमा भन्छन्– अकारण यताउता चियाउने नगर्नु जाति हो, ध्यानमा बसेजस्तै आँखा झुकाइरहनु उत्तम हो । ‘विचार विज्ञान’ मा विचारको संयम गर्दा चिताएको वा बोलेको पूरा हुने उल्लेख छ । इन्द्रिय संयमले हुने लाभ योगदर्शनमा छन् । संयमले मनमा प्रसन्नता, चित्तमा एकाग्रता, इन्द्रिय वशिता, आत्मदर्शनको योग्यताजस्ता गुण विकसित गराउँछ ।

यत्पिण्डे तत् ब्रह्माण्डे

जे शरीरमा छ त्यही ब्रह्माण्डमा पनि छ । सबै पञ्चतत्त्वले बनेका छन् । शरीरमा घटिरहेको अव्यवस्था प्रकृतिमा प्रकट भएको हुन्छ । मानिस जतिराग रञ्जित, द्वेष दूषित र मोह विमूढित भएको छ त्यही अनुपातमा पृथ्वी प्रदूषित, फोहोर, कुरूप र असन्तुलित भएको छ । मानिसले वस्तु, विचार र डाटा बेहिसाब उपभोग गरिराखेको छ । शरीर टक्सिनको भारले र मस्तिष्क सूचनाहरूको भारले थिचिएको छ । मानिस आफू सम्हालिन सके पृथ्वीलाई मदत गर्न सक्नेछ । एकान्तवासले सम्हालिने ऊर्जा दिन सक्छ ।

एक्लोपना र एकान्तवास फरक हुन् । एकान्तप्रिय हुँदा एक्लोपना गायब हुन्छ । एकान्तवासमा संचय हुने ऊर्जाको ऊर्ध्वगमनले सिद्धार्थलाई बुद्ध बनायो, महावीरलाई भगवान् बनायो, कालिदास र तुलसीदासलाई महाकवि बनायो । शंकराचार्यले भने, एकान्ते सुखमास्यताम्, एकान्तमा सुखानुभूति गरौं । एकान्तलाई अवसरका रूपमा भरपूर उपयोग गरौं । मानिस स्वयंभित्र सन्तुलित भयो भने पृथ्वी सन्तुलित हुनेछ ।

एकान्तवासको उपयोग गर्दै मानिसले टक्क रोकिएर आत्ममूल्यांकन गर्न सक्यो भने, पृथ्वी साझा घर हो यसलाई सबैले आफ्नै घरजस्तै रक्षा गर्नुपर्छ भन्ने बोध गर्न सक्यो भने, प्रतिस्पर्धाको साटो प्रेम विकसित गर्न सक्यो भने, जीवजन्तुको हिंसा रोक्यो भने श्रेय कोरोना भाइरसलाई जानेछ । पृथ्वीको रक्षक बन्नुपर्ने मानव जाति भक्षक हुँदै जाँदा अदृश्य कीटाणुले पृथ्वीको भार हरण गरिदिँदै छ !

प्रकाशित : जेष्ठ ११, २०७७ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?