कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दासढुंगा : एक स्टेरिङ

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज ठ्याक्कै २७ वर्ष भयो । ३ जेठ, २०५० को त्यो घटनापछि छानबिन आयोगहरु गठन भए तर आजसम्म कुनै विश्वसनीय तथ्य बाहिर आएको छैन । उक्त घटनाको १० वर्षपछि एक मात्रै जीवित साक्षी-पात्र अमर लामाको पनि हत्या भएपश्चात् दासढुंगा प्रकरण झन् रहस्यमय बन्यो ।
'कीर्तिपुरका अमर लामा हत्याका प्रत्यक्षदर्शीहरू छक्क पर्छन् र सविस्तार तत्कालीन दृश्यहरू बयान गर्छन् । मेरो दौडाइ सुटिङ मात्रै भन्ने थाहा पाएपछि धेरैले सुबिस्तासँग भन्न थाल्छन्, 'गोली चलेपछि हामी यसरी नै सटर बन्द गरेर निस्किएका थियौँ । कपडा पनि यही हो ।'
दयाहाङ राई

प्रख्यात कथनलाई पत्याउने हो भने संसार एउटा रंगमञ्च हो । म अहिले बेनुका राईको लोग्नेको भूमिकामा कटिबद्ध छु । यो दृश्य त्यो समयको हो, जुन बेला बेनुका मेरी प्रेमिका थिइन् । उनैको गीत रेकर्डिङका लागि सिम्फोनी स्टुडियोतिर बसमा जाँदै थियौँ, लगनखेलबाट रत्नपार्क ।

दासढुंगा : एक स्टेरिङ

बिहान ११ बजेतिर माइतीघर पुग्दा मेरो मोबाइल बज्यो । उताबाट रंगकर्मी कृष्ण शाह ‘यात्री’ बोले, ‘दया, एउटा फिल्म बन्दै छ । तिमी तुरुन्तै बबरमहल जाऊ ।’ एक्टर स्टुडियोबाट पासआउट भएपछि आफूमा व्यावसायिक अभिनेता भएको अनुभूति पलाउँदै गर्दा पहिलोपटक फिल्म अफर आएको थियो । तुरुन्तै भेट्न जान नसकिने जानकारी गराउँदा शाहले जोड गरे, ‘यो ठूलो अवसर हो, तिम्रा लागि । जसरी भए पनि जाऊ ।’ मनमा डर पनि लाग्यो- कतै मभित्र घमण्ड त पलाएन ?

तीन बज्न पाँच मिनेट बाँकी छँदै बबरमहल पुग्दा मनोज पण्डितले भने, ‘तिमी डट टाइममा हिँड्दा रहेछौ । खुसी लाग्यो ।’ उनको फिल्म ‘लक्ष्य’ विश्वज्याति सिनेमाघरमा हेरेको थिएँ तर औपचारिक चिनजान थिएन । चिया पिउँदै उनले आफ्नो प्रस्तावको पोको फुकाए, ‘मैले दासढुंगा भन्ने फिल्म बनाउँदै छु । त्यसको एउटा मेजर कास्टका लागि तिमीसँग भेट्न खोजेको, कृष्ण शाहले भनेर । ठीक छ, तीन दिनमा कल गर्छु ।’ थप कुराकानी भएन । छुट्टिएपछि हिँड्दै-हिँड्दै बुद्धनगरको डेरातिर लागेँ ।

चौथो दिन आफैँले फोन गरेँ तर उठेन । अनि बुझेँ- म रोजाइमा परिनँ । मंगोलियन अनुहार खोजेको आधारमा अनुमान लगाइसकेको थिएँ- पक्कै पनि अमर लामाको भूमिका थियो । तर, त्यो अध्याय त्यत्तिकै सकियो ।

करिब एक महिनापछि एक भेटमा अनुप बराल सरको प्रश्न थियो, ‘तिमीलाई मनोज पण्डितले फोन गरेन ?’ मैले हुबहु कुरा राखेँ । त्यसको तीन-चार दिनपछि पण्डितको फोन आयो । पहिलेकै ठाउँमा हाम्रो भेट भएपछि पण्डितले भने, ‘मैले अमर लामाको भूमिकाका लागि अरूसँग पनि कुरा गरेँ तर अनुप सरले दयाले नै गर्न सक्ने दाबी गर्नुभयो । मान- आजदेखि तिमी अमर लामा भयौ । म तिमीलाई एक हप्ताको समय दिन्छु । के-के गर्न सक्छौ, गरेर देखाऊ ।’

स्कुल पढ्दा नै मदन भण्डारीबारे सुनेको थिएँ । त्यसताका मदन भण्डारी र सूर्यबहादुर थापाको भाषण-क्यासेट खुब बिक्री हुन्थे । उनीहरूका क्यासेट विरोधीहरूमाझ पनि प्रख्यातै थिए । मदन भण्डारी-जीवराज आश्रितको रहस्यमय दुर्घटनासँग नाम जोडिएकाले अमर लामाबारे अलिअलि थाहा थियो, मलाई । स्वयं लामाकै मृत्यु पनि चर्चित थियो । तर, अन्य जानकारी मसँग थिएन ।

त्यसपछि मैले अमर लामा खोज्न थालेँ । मेरो संग्रहमा ‘नेपाल’ म्यागजिनको थाक खोतलखातल पार्दा अर्धकदको एउटा तस्बिर भेटियो, अमरको । गोली लागेर सडकमा ढलिसकेपछि अमरको हुलियामा खैरो पाइन्ट, नीलोनीलो सर्ट, ‘खबटे’ अनुहारमा जुँगा थियो । मलाई पहिलो चुनौती थियो- जुँगा । मेरो जुँगा त्यसताका निकै पातलो थियो । आफू मोटै भएकाले दुब्लाउनु पनि उत्तिकै जरुरी थियो ।

पटकथाबारे केही थाहा नभए पनि पात्रको शारीरिक भाषा उतार्नु थियो । खानामा एकदमै ख्याल गर्न थालेँ । झोलामा मिनरल वाटर बोतल बोकेर पहिलो दिन शंखमूलबाट नयाँ बानेश्वर-पुरानो बानेश्वर-गौशाला हुँदै महाराजगन्ज चक्रपथमा नाटक रिहर्सल गर्न हिँडेरै पुगेँ । दोस्रो दिनदेखि नेपाल यातायातको रुट पछ्याउन थालेँ । सकुन्जेल हिँड्ने, थाकेपछि बसमा उक्लिने । यही दैनिकी पछ्याएपछि केही दुब्लाएँ, आँखावरपर गाढा धर्साहरू देखिन थाले र जुँगाले पनि केही छाँटकाँट देखायो ।

‘दासढुंगा’ सुटिङका तीतामीठा सम्झना

एक हप्तापछि पुरानै ठाउँमा भेटेपछि निर्देशक पण्डितले विश्वाससहित भने, ‘ल, तिमीले गर्ने रहेछौ । तीन हप्तापछि सुटिङ सुरु हुन्छ ।’ मैले दुब्लाउनका लागि अझै म्याद थपको प्रस्ताव राखे पनि उनले मानेनन् । र, छेउमै बसेका निर्माता अपिल विष्टसँग परिचय गराए ।

यो बीचमा मैले अमर लामाबारे केही अध्ययन गर्ने सोचेँ । अमरको परिवारसँग भेट्ने कुरा भयो तर पछि परिवारका सदस्यहरू मानेनन् भन्ने सुनेँ । मेरा साथी गायक राजु तामाङले अमरसँग प्रतिष्ठानमा काम गरेका रहेछन् । सायद त्यो प्रतिष्ठान कांग्रेसनिकट थियो । उनलाई अमरको स्वभाव, हाउभाउ आदिबारे सोधेको थिएँ । उनका अनुसार, तौलिएर बुझेर बिस्तारी बोल्ने लामा भलाद्मी स्वभावका थिए । यसैबीच हात लागेको ‘दासढुंगा दर्पण’ मा पढ्न पाएँ- दासढुंगासम्बन्धी थुप्रै जानकारी, आफूमाथि लागेका आरोपप्रति अमरको खण्डन अनि उनीसँगका कुराकानीहरू । त्यस किताबले अमरका तर्कहरू बुझ्न सघायो । यिनै आधारमा आफूले पाएको पात्रत्वबारे मोटामोटी खाका बनाएँ । तर, अमरको सग्लो अनुहार मेरो मानसमा कहिल्यै आएन । पात्रलाई न्याय गर्न उसका ठूल्ठूला आदर्शभन्दा दैनन्दिनका सरसंगतलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ, जुन मैले सहजै पाइनँ ।

***

सुटिङका लागि पोखरा गइयो । ड्यामसाइटमा सुर्ती माडेर बसेको लगायतका केही दृश्य सकाएपछि व्यवसायी तथा नेता हरि पाण्डेको घरमा सुटिङ थियो । मदन-आश्रित पाण्डेकै घरमा बसेका र दासढुंगातिरको यात्राअघि पाण्डेकै घरमा खाना खाएकाले पनि त्यहाँको दृश्यांकन महत्त्वपूर्ण थियो । पाण्डे परिवारका अनुसार, यात्रा थाल्नुअघि अमर गाडी बनाउन गएका थिए । षड्यन्त्रको तानाबाना त्यही बेला रचिएको हुन सक्ने धेरैले अनुमान गरेका थिए । खानाको समय मैले झ्यालबाट भित्र चियाउनुपर्ने एक दृश्यमा हरि-पत्नी तुलसा पाण्डे रोइन् । रुँदै मलाई बारम्बार हेरिरहेपछि डर लाग्यो- केही बिराम भो कि ! पछि उनले भनिन्, ‘भाइ, मेरो कुराले नरिसाऊ । हुन त कलाकार मात्रै हौ । तिमीलाई हेरिराख्दा मलाई असाध्यै घीन लाग्यो । तिमी साँच्चिकै अमर लामा हौ ।’ यो वाक्य बोल्न उनलाई सकस लागे पनि मलाई निकै खुसी लाग्यो । उनले थपिन्, ‘अमरको हाउभाउ ठ्याक्कै यस्तै थियो ।’ कहिल्यै नदेखेको व्यक्तिको भूमिका उतार्न अनेक तर्कना खेलाइरहेको मैले सोचेँ- अब मैले यो लय फुत्किन दिनु हुँदैन ।

अर्को सुटिङ पोखराकै सभागृहमा थियो, जहाँबाट मदन-आश्रित बिदा भएर हिँडेका थिए । त्यहाँ पनि अमरलाई देख्ने अग्रजहरूले गौर गरेका थिए, मलाई । ड्राइभिङको पाटोमा म निकै कमजोर थिएँ । गाडी बिग्रिने डरका कारण ड्राइभर दाइले मलाई धेरै अभ्यास गर्न पनि दिएनन् । जसोतसो सुटिङ सकाइयो । त्यताको पाटो सन्तोषजनकै रह्यो ।

***

अब सुटिङको पालो छ, कीर्तिपुरमा ।

स्कुल बसहरूको चाप कम भइसकेपछि हामीले क्यामरा झिकेका छौँ । हत्याअघि अमरलाई लखेटिएका बाटोहरू पहिल्याइसकेपछि एक सट लुकेर खिच्ने सल्लाह हुन्छ, जसमा लामै दौडनुपर्नेछ । घुम्तीमा क्यामेरा लुकाइएको छ । मलाई लखेट्न तीन-चार जना तयारी अवस्थामा छन् । जब ‘एक्सन’ को इसारासँगै ओरालोबाट दौडेर बजारतिर लाग्दै र ‘गुहार ! गुहार !’ चिच्याउँछु, तब वरपरका सारा सटरहरू बन्द गर्दै मान्छेहरू हल्लीखल्ली गर्न थाल्छन् । मलाई धेरै मानिसका विस्फारित आँखाले घेर्न थाल्छन् । अमर लामा हत्याका प्रत्यक्षदर्शीेहरू पनि तीनछक पर्छन् र सविस्तार तत्कालीन दृश्यहरू बयान गर्छन् । अहिलेको दौडाइ सुटिङ मात्रै भन्ने थाहा पाएपछि धेरैले सुबिस्तासँग भन्न थाल्छन्, ‘आज अचम्मै भो ।’ उनीहरूको भनाइमा अमर लामा पनि त्यहीँ त्यसरी नै दौडिएर आएका थिए र छेवैको फलफूल पसलमा छिर्न खोज्दा पनि तानेर ल्याइएको थियो ।

उनीहरू कोलाहल गर्दै भन्छन्, ‘गोली चलेपछि हामी यसरी नै सटर बन्द गरेर निस्किएका थियौँ ।’ यस्तो प्रतिक्रियाले यथार्थ नजिक पुग्ने विस्तृति दिन्छ, हामीलाई । कतिपयले त बिस्तारै नजिक आएर मलाई चिमोट्दै भन्छन्, ‘कपडा पनि यही हो । ’तर, त्यो दिन हामीले सुटिङ बन्द गर्छौं किनकि हाम्रो तयारी र मनोविज्ञानले साथ दिँदैन ।

भोलिपल्टको सुटिङमा-मैले क्यामेरा र सिँढीहरू नाघ्नुपर्ने हुन्छ तर प्राविधिक हिसाबले मलाई गाह्रो पर्छ । मेरो दाहिने खुट्टामा केही समस्या छ, नाघेर तल पुगेपछि सानो भीर छ र सुरक्षाका लागि भरपर्दो व्यवस्था पनि केही छैन । सिनेमाटोग्राफर र टिमले मलाई फुर्क्याउँदै भन्छन्, ‘तिमी सक्छौ ।’ व्यवस्थापनका साथी मलाई थाम्नसमेत तयार हुन्छन् तर त्यसलाई मैले आफ्नो अहम्माथिको प्रहार सम्झिन्छु र नकार्छु । हामीबीचको गलफती एक डेढ घण्टा चल्छ अनि केही छिन सन्नाटा । अन्त्यमा, क्यामरा-कोण परिवर्तन गराउन म सफल हुन्छु । तत्काललाई मेरो अहम्ले जित पाए पनि बेलुकीतिर ग्लानि अनुभूति हुन्छ ।

***

कलाकारले कतिसम्म मिहिनेत गर्छभन्दा पनि त्यो अभिनयको विश्वसनीयताले बढी अर्थ राख्दो रहेछ । निर्देशकलाई मैले दुई महिना मागेको थिएँ तर पाइनँ । लामो समय पाएको भए म ‘मेकानिकल’ भइसक्थेँ हुँला । पात्रलाई अझै धेरै बुझ्ने थिएँ, सायद । अमरले कहीँ कतै छल गरे/गरेनन्, त्यो बेग्लै पाटो भयो । तर, मैले अध्ययन गरेका डकुमेन्टहरूले मेरो पात्रलाई निर्दोष रहेको दाबी गर्छन् । र, मैले निर्दोष अमरलाई नै आत्मसात् गरेर भूमिका निर्वाह गरेँ । यदि मैले उनलाई दोषी या खलपात्र ठहर गरेर क्यामेरा अगाडि उभिएको भए, सायद मैले न्याय गर्न सक्दिनथेँ । उनलाई आदर्श पात्र करार गरेर मात्रै अमरको छवि उतार्न सक्थेँ । पूर्वाग्रहसहित जानु मेरा लागि नै गाह्रो हुन्थ्यो । तर, मेरो उद्देश्य उनलाई निर्दोष प्रमाणित गर्नु थिएन । मलाई केवल पात्रता निभाउनु थियो । बस् ।

मेरो केन्द्रीय चासो यत्ति मात्रै थियो कि अमर त्यस बेला कस्ता घटना र मनोविज्ञान चेपुवाबीच बाँचे ? अमरका कतिपय बयान परस्परमा बाझिएका छन् भन्ने देखाउँछन्, डकुमेन्टहरू । त्यसैलाई मैले शक्तिको रूपमा लिएँ र उतार्ने प्रयत्न गरेँ । मलाई थाहा थियो, संशययुक्त भंगिमासहितको अभिनयले नै दर्शकहरूलाई यथार्थ नजिक पुर्‍याउँछ । हुन त काल्पनिक पात्रलाई समेत विश्वसनीय बनाउनैपर्छ । वास्तविक पात्रलाई हुबहु उतार्न झनै सकिँदैन किनकि अभिनय त मात्रै अभिनय हो । ‘पात्रमा डुब्ने’ अवधारणाचाहिँ मलाई नक्कली लाग्छ । अमर लामा वा कुनै सक्कली पात्रमा कलाकार डुब्ने होइन, पात्रलाई महसुस गर्ने र नजिक पुग्ने कोसिस कतिको सफल हुन्छ भन्ने नै मुख्य पाटो हो । सत्य घटनामा आधारित भएकाले यो फिल्म मेरा लागि चुनौती नै थियो ।

गिनेचुनेका नेताहरूसँगको संगतले अमरमा राजनीतिक चेत थियो । आठ कक्षा मात्रै पढेका भनिएका उनी राजनीतिक लेखहरू लेख्थे । उनी गाडी चालक मात्रै नभएर पार्टीको राम्रै कार्यकर्ता रहेको बुझ्न गाह्रो थिएन । तर, उनीजत्तिको राजनीतिक सुझबुझ ममा थिएन सायद ।

***

कुमारी हलमा ‘दासढुंगा’ हेर्दा रमाइलो अनुभव बटुलेँ । मध्यान्तरको समय शौचालयमा दुई दर्शकबीच परेछु । एक जनाले भने, ‘अमर लामाकै फुटेजलाई जोडेर बनाएको हो कि !’ अर्कार्ले प्रतिवाद गरे, ‘होइन, त्यो त कलाकार नै हो तर अनुहार डिट्टो मिल्दो रैछ । सायद परिवार या आफन्तकै कोही हुनुपर्छ ।’ मेरो अभिनयको तारिफ सुनेपछि सोधेँ, ‘तपाईंहरूलाई मन पर्‍यो ?’ मन परेको बताए तर उनीहरूले मलाई चिनेनन् । धेरैका लागि मेरो अनुहार पर्दामा नौलो हुनुले पनि अधिक पत्यारिलो भयो सायद । त्यसैले जस पनि बढी पाएँ र ममा ढुक्कजस्तो केही पलायो । केही अग्रजहरूको प्रत्यक्ष/अप्रत्यक्ष प्रशंसा पनि पाएँ तर त्यति बेला राजनीतिक व्यक्तित्वहरूबाट उति प्रतिक्रिया पाइनँ ।

नेसनल अवार्डको घोषणा भएपछि अग्रजहरूले फोन गरे, ‘दया, फिल्म रिलिज भएको छैन । एमालेको सरकार भएकाले त्यो अवार्ड तिमीलाई दिएको हो । तिमी राम्रो मान्छे हौ । पछिसम्म तिमीलाई यसले पिरोल्छ । अवार्ड फिर्ता गरिदेऊ ।’ तीन जनाले फोन गरेपछि निर्णायकमध्येका एक यज्ञशलाई भनेँ, ‘यज्ञशजी, दबाबमा यो पुरस्कार मैले पाएको हुँ भने फिर्ता गर्छु ।’ उनले कतैबाट दबाब नआएको जिकिर गरेपछि पुरस्कार स्विकारेँ । फिर्ता गर्नर् सुझाव दिनेमध्ये एक जनाले फिल्म रिलिजपछि फेरि फोन गरे, ‘दया, मेरो अघिल्लो प्रतिक्रियालाई माफ गर । फिल्म हेरेँ । पुरस्कारको दाबेदार तिमी नै रहेछौ ।’

दासढुंगाबारे अनेक हल्ला चले । फिल्म निर्माणको आफ्नै भाषा र नियत हुन्छ । निर्माता-निर्देशकको पनि आफ्नै विचार र शैली हुन सक्छ । दर्शकले अनुभूति गर्न सक्छ । तर, यस सिनेमाले आफ्नो निष्कर्ष दिनेभन्दा घटना, तथ्य, साक्षी, टिप्पणी र प्रतिटिप्पणीहरूलाई अभिलेखीकरण गरेको मात्रै हो, जसको उद्देश्य हो- इतिहासप्रसिद्ध यस्ता घटनाबारे बहस हुँदै जाओस् ।

कनकमणि दीक्षितको प्रश्न थियो, ‘दयाजी, अन्त्यमा तपाईंले के थाहा पाउनुभयो ? दासढुंगा दुर्घटना थियो कि हत्या ?’ मैले भनेँ, ‘दासढुंगालाई दुर्घटना मान्न सकिन्छ तर अमर लामाको चाहिँ हत्या नै हो ।’

दासढुंगाको सडकमा गाडीको स्टेरिङ गलत दिशामा घुम्दा नेपाली राजनीतिले दुई मूर्धन्य व्यक्तित्व गुमायो र उथलपुथल भयो । ‘दासढुंगा’ को अभिनयरूपी स्टेरिङले मेरो अभिनय-यात्रामा ठूलो मोड दियो । फिल्म रिलिज हुनु/नहुनुसँग मलाई ठूलो सुर्ता थिएन तर यही फिल्मले मलाई अभिनेता बन्ने आत्मविश्वास दिलायो । यो फिल्मपछि मेरो अनुहारका लागि पनि फिल्म बन्दो रहेछ भन्ने थाहा पाएँ । र, अभिनयको प्रक्रियामा गुरु-योजना बनाउने सीप पनि सिकेँ । आज पनि कुनै पात्र र उसको पृष्ठभूमि अध्ययन गर्दा अमर लामाकै चरित्र सम्झिन्छु ।

तर रोचक कुरा- यो फिल्म मैले दोहोर्‍याएर हेरेको छैन ।

प्रस्तुति : गुरुङ सुशान्त

प्रकाशित : जेष्ठ ३, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?