कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महामारीमा मानसिक स्वास्थ्य

पवन शर्मा

संसारभरका स्वास्थ्यकर्मी लागिरहे पनि कोभिड-१९ नियन्त्रणका प्रयासहरू अपर्याप्त साबित भइरहेका छन् । कोरोनाले त्रास र चिन्ता बढाइरहेको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सम्प्रेषण भइरहेका समाचार तथा सूचनाहरूले हामीलाई चिन्तित बनाइरहेका छन् । तर, भरसक चिन्ता पैदा गर्ने समाचार तथा सूचनाहरू नसुनौं, नपढौं । आफू र आफ्ना परिवार सुरक्षित राख्न मद्दत गर्ने सूचनाहरू मात्र लिऔं । कुनै निश्चित समयमा दैनिक एक वा दुईपटक कोरोनासम्बन्धी सूचनाहरू लिने गरौं भनेर विश्व स्वास्थ्य संगठनले आग्रह गरिरहेको छ । जुनसुकै बेला कोरोनासम्बन्धी सूचना सुन्नाले जोकोहीको चिन्ता बढ्न सक्छ ।

कोरोना विपत्मा तनाव हुनु सामान्य हो तर लामो समय चिन्तित भइरहनु हुँदैन । प्रत्येक मानिसको तनावसम्बन्धी प्रतिक्रिया फरक-फरक हुन्छ ।

अहिले मुख्य गरी बालबालिका, वृद्घवृद्घा र स्वास्थ्यकर्मीको तनावसम्बन्धी प्रतिक्रिया जटिल छ । निद्रा नलाग्ने, काम गर्न मन नलाग्ने, छटपटी हुने, मुटुको धड्कन बढ्ने, सास फुल्ने, पुरानो स्वास्थ्य समस्या जटिल हुँदै जाने तथा बढी मद्यपान गर्नेजस्ता समस्या बढ्न सक्छन् । यसलाई रोगकै रूपमा लिइहाल्न भने मिल्दैन । महामारी सकिएलगत्तै पहिलेझैं सामान्य अवस्थामा फर्किन सकिन्छ ।

महामारीे सम्बन्धी समाचार हेरिरहँदा खास गरी एन्जाइटी डिसअर्डरका बिरामीहरू बढ्न सक्छन् । आफू वा परिवारको सदस्यलाई केही नराम्रो भइहाल्छ कि भन्ने चिन्ताले निरन्तर सताउनु नै एन्जाइटी डिसअर्डरको मुख्य लक्षण हो । आफूलाई हुन सक्ने नराम्रो अवस्थाको परिकल्पना गर्दा दैनिक काम प्रभावित हुन्छ । जोखिममा रहेकाहरूमा महामारी सम्बन्धी समाचारले एन्जाइटी हुन सक्छ । याद गरौं, सामान्य तनाव वा चिन्ता कमजोरीको संकेत हैन ।

लकडाउनले बालबालिकाको दैनिक कार्यतालिका बदलेको छ । आफूलाई त्यस अनुरूप ढाल्न बालबालिकालाई कठिनाइ हुनसक्छ । अभिभावकले लकडाउनमा देखाइरहेको प्रतिक्रियाले बालबालिकालाई असर गर्छ । यो बेला कोरोना भाइरसबारे बालबालिकाले धेरै प्रश्न गर्छन् । झैझगडा गर्ने, खान नमान्ने, रुने, झर्कने, टाउको वा पेट दुख्ने हुन सक्छ । अभिभावकले गाली गर्ने होइन, सहानुभूति दिनुपर्छ ।

बालबालिकालाई आफ्नो खुलदुली र प्रश्नहरू व्यक्त गर्ने सकारात्मक वातावरण प्रदान गरौं । प्रत्येक बालबालिकाको आफ्नै अभिव्यक्तिका शैलीहरू हुन्छन् । कहिलेकाहीं चित्रकला वा खेलकुदजस्ता सिर्जनशील क्रियाकलापका माध्यमबाट बालबालिकाको मनोदशा अभिव्यक्त हुन सक्छन् । आफ्ना खुलदुली सुरक्षित वातावरणमा राख्न पाएमा उनीहरूलाई सहज हुन्छ । त्यस्तै बालबालिकालाई अभिभावकसँगै राख्नुपर्छ ।

अभिभावकसँग राख्न नसकिने अवस्थामा मात्र स्याहारको जिम्मेवारी अरूलाई दिऔं । अरूले स्याहार गरे पनि आफ्ना बालबालिकासँग नियमित फोन वा भिडियो कल गर्न आवश्यक छ ।

कोरोनाले वृद्घवृद्घामा मानसिक-व्यावहारिक समस्या बढाउन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । प्रायः मठमन्दिर जाने अनि सामाजिक कार्यमा संलग्न हुने तिनको दिनचर्यामा लकडाउनले असर पुर्‍याएको छ । यस्तो अवस्थामा ती बढी झर्कने, रिसाउने हुन सक्छन् । तिनलाई अहिलेको कठिनाइबारे अवगत गराउँदै घरै बस्न प्रेरित गर्नुपर्छ । तिनलाई घरभित्रै सामान्य व्यायाम गर्न लगाउनुपर्छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमित व्यक्तिहरूलाई ‘कोभिड-१९ का केसहरू’, ‘पीडित’, ‘कोभिड-१९ परिवार’ वा ‘रोगी’ भनेर सम्बोधन नगर्न आग्रह गरेको छ । उनीहरू ‘कोभिड-१९ संक्रमित’, ‘कोभिड-१९ को उपचारमा रहेका व्यक्तिहरू’ हुन् । उपचार भइसकेपछि कोरोना संक्रमितहरूले अरूसरह सामान्य जीवनयापन गर्न सक्नेछन् ।

कोभिड-१९ संक्रमणबाट बाँचेकाहरूका सकारात्मक कथा बढी प्रचारप्रसार गर्नुपर्छ । संक्रमित व्यक्तिहरूको हेरचाहमा लागेका स्वास्थ्यकर्मीलाई पनि सम्मान दिनुपर्छ । यस्तो महामारीमा निर्वाह गरेको भूमिकाका लागि स्वास्थ्यकर्मीप्रति आभार जनाउन विश्व स्वास्थ्य संगठनले पनि आह्वान गरेको छ ।

यस्तो बेला सामाजिक सञ्जालमा राखिएका भ्रामक समाचार वा कोरोनासम्बन्धी जानकारी नभएका व्यक्तिका कुरा सुन्नुभन्दा आधिकारिक सूचनामा भर पर्नु बुद्घिमानी हुन्छ । कोरोनाको तनावले निद्रामा समस्या आए वा दैनिक काममा असर पुर्‍याए मानसिक स्वास्थ्यविज्ञहरूको सहयोग लिनु उचित हुन्छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शर्मा मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : वैशाख ९, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×