कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमा अल्झेका घरेलु हिंसाका मुद्दा

क्वारेन्टाइन दौरान घरभित्र हिंसाका घटना किन बढे ? घरेलु हिंसाका कभरेज पढ्दा लाग्छ, मानौं हिंसाको दोषी क्वारेन्टाइन हो, पीडक होइन ! दोष क्वारेन्टाइनमाथि थोपर्दा पीडक झन् सहानुभूतिका पात्रजस्ता देखिन्छन् ।
पुरुष श्रेष्ठतामा आधारित हाम्रो वैवाहिक र पारिवारिक संस्थाभित्रका आचार र व्‍यवहार कहिले मायाको नाममा, कहिले नातागोता, आत्मीय सम्बन्ध, संस्कार, परम्परा र मर्यादाका नाममा लैंगिक हिंसालाई स्वाभाविक र प्राकृतिक भन्दै परिभाषित गर्दै आएका छन् ।
अर्चना थापा

कोरोनाको आतंक जब विश्वको एउटा कुनाबाट अर्को कुनासम्म पुग्न थाल्‍यो, त्यसलाई रोक्न विश्वका थुप्रै देशसँग ‘लकडाउन’ बाहेक अरू विकल्प रहेन । जब विश्वका सरकारहरूको ध्यान नागरिकहरूको स्वास्थ्‍य र सुरक्षातिर थियो, अप्रत्‍याशित रूपले बढेका घरेलु हिंसाका घटनाले सबैको ध्यानाकर्षण गर्न थाल्‍यो ।

क्‍वारेन्टाइनमा अल्झेका घरेलु हिंसाका मुद्दा

एकातिर चीन, अमेरिका, इटाली, स्पेन, ब्रिटेन र फ्रान्सका सरकारले महामारीबाट जोगिन आफ्ना नागरिकलाई घरभित्र बस्ने आदेश दिँदै थिए, त्यहीँ हिंसापीडितहरूका लागि आफ्नै घरभित्र ज्यानको खतरा बढेको थियो । कोरोना संक्रमितहरूका लागि अस्पतालमा स्वास्थ्य उपचारको व्यवस्थाका साथै हिंसाका ‘सर्भाइभर’ का लागि हटलाइन, हेल्प ग्रुप र सेल्टरको व्यवस्था गर्ने आवश्यकता पनि त्यत्तिकै बढ्दै गयो ।

क्वारेन्टाइनलगत्तै घरेलु र अन्तरंग सम्बन्धमा हिंसाका घटना किन बढे ? अमेरिकाको राष्ट्रिय घरेलु हिंसा हटलाइनकी पदाधिकारी केटी रेका अनुसार, जुन घरमा पहिल्यैदेखि हिंसा हुन्थे, त्यहाँ क्वारेन्टाइनपछि विभिन्न आर्थिक कारण, तनाव र कोरोनाको संत्रासले गर्दा हिंसा बढ्न थाले । घरेलु हिंसा निवारणका क्षेत्रमा काम गर्नेहरूको विश्लेषण पनि त्यस्तै थियो— क्वारेन्टाइनमा समाजबाट एक्लिएकी महिलामाथि ज्यानको खतरा बढ्यो । इंग्ल्यान्डकी गृह सचिव प्रीति पटेलले पीडितलाई घर छाडेर सेल्टरमा पुग्ने अपिल गरिन् । इंग्ल्यान्डको सरकारले आपत्कालीन रकमबाट सेल्टरको व्यवस्था गर्‍यो र फ्रान्सेली सरकारले पीडितलाई होटलमा राख्ने व्यवस्था गरेको समाचार प्रसारित गर्‍यो । सिंगापुरले हेल्पलाइन उपलब्ध गरायो । इटाली र स्पेनमा तुलनात्मक रूपमा घरेलु हिंसाका घटना कम दर्ता भए । तर, महिलाअधिकारकर्मीका अनुसार, घटना कम दर्ता हुनु हिंसा घटेको संकेत होइन । राहत उपलब्ध गराउने संस्थामा कर्मचारीहरूको अनुपस्थितिले हिंसाका घटना कम दर्ता भएको अनुमान गर्छन् उनीहरू । ‘लकडाउन’ पछि नेपालमा घरेलु हिंसाका घटना बढेका छैनन् भनेर दाबी गर्न मिल्दैन ।

क्वारेन्टाइन दौरान घरभित्र हिंसाका घटना किन बढे ? के आर्थिक समस्या, बेरोजगारी, एक्लोपन, संक्रमणको त्रास र मानसिक तनावले गर्दा पीडक एक्कासि हिंस्रक भए होलान् ? घरेलु हिंसाका कभरेज पढ्दा लाग्छ, मानौं हिंसाको दोषी क्वारेन्टाइन हो, पीडक होइन १ दोष क्वारेन्टाइनमाथि थोपर्दा पीडक झन् सहानुभूतिका पात्रजस्ता देखिन्छन् । मानौं महामारीबाट सिर्जेको असहज परिस्थितिले गर्दा पीडकले नियन्त्रण गुमाउँछ र ऊसित हिंसा गर्नेबाहेक विकल्प हुँदैन !

‘घरेलु हिंसा अविकसित, अशिक्षित निम्नवर्गीय परिवारको समस्या हो’, ‘विकसित देशमा घरेलु हिंसा हुँदैन’ जस्ता कपोलकल्पित कुरालाई कोरोनाले भत्कायो । घरेलु हिंसा यस्तो महामारी हो, जसबाट नेपालका मात्र नभई विश्वका बहुसंख्यक महिला पीडित छन् र यो धनी–गरिब, शिक्षित–अशिक्षित जस्तोसुकै सम्बन्धमा अरू बेला पनि हुँदै आएको छ । नेपालमा यौन र शारीरिक हिंसालाई स्वाभाविक मान्नेहरूका लागि घरेलु हिंसाका अन्य प्रकार, आर्थिक, मानसिक र मनोवैज्ञानिक पक्ष, अझै अर्थहीन रहेको छ । किनकि हाम्रो परिवार, धर्म, संस्कृति र राजनीतिमा घरेलु हिंसालाई स्वाभाविक बनाउने संयन्त्रहरू सक्रिय रहेका हुन्छन् ।

पुरुष श्रेष्ठतामा आधारित हाम्रो वैवाहिक र पारिवारिक संस्थाभित्रका आचार र व्यवहार कहिले मायाको नाममा, कहिले नातागोता, आत्मीय सम्बन्ध, संस्कार, परम्परा र मर्यादाका नाममा लैंगिक हिंसालाई स्वाभाविक र प्राकृतिक भन्दै परिभाषित गर्दै आएका छन् । परम्परादेखि चलिआएका अभ्यासका पालना गर्दा कहिलेकाहीँ त पीडक र पीडित दुवै हिंसाको अन्य स्वरूपबाट अनभिज्ञ हुन्छन् । आधुनिक समयमा घरबाहिर निस्केर अर्थोपार्जन गरिरहेका महिलामाथि दोहरो कामको भारी थपिएको छ । क्वारेन्टाइनका दौरान अनलाइनबाट अफिसको काम गर्न बसेकी महिलासित घरायसी कामको अपेक्षा गर्दा कुनै महिलालाई स्वाभाविक लाग्ला, कुनैलाई मानसिक हिंसा होला । घर बसेका बहुसंख्यक पुरुषले आफूलाई घरायसी सेवाका हकदार मान्छन् किनकि सेवा गर्ने श्रीमतीको धर्म र सेवाको हक दाबी गर्ने पुरुषको कर्मजस्ता पारिवारिक ‘म्याट्रिक्स’ हाम्रा घरेलु परिवेशमा अटल र प्राकृतिक मानिन्छ । क्वारेन्टाइन दौरान बनेका कार्टुन, जसमा पतिले दु:खी हुँदै भाडा माझेको, ‘घर बसेर श्रीमतीको किचकिच सुन्नुभन्दा संक्रमित हुनु बेस’ जस्ता व्यंग्य–चित्रले जेन्डर स्टिरियो टाइपको पुनरावृत्ति गर्छ ।

इटालीकी एक जना महिलाले घर बस्दा अफिसको काम गरी भन्दै उनका प्रेमीले उनलाई पिटेको खबर पढ्दा लाग्यो— देश फरक, महिला फरक, समाज फरक र तर हिंसा खप्ने महिलाको जमात अकल्पनीय रूपले ठूलो छ । साधारणत: परिवारभित्र जो बलियो हुन्छ, घरको व्यवस्था उसको निर्णयले चल्छ र हिंसा हुने सम्भावना पनि उसैबाट हुन्छ । अरब देशहरूमा पतिको हक पत्नी र सम्पत्तिमाथि हुन्छ । सबै निर्णय पतिको हुन्छ । हिस्पेनिक संस्कृतिमा पुरुष आक्रामक र बलियो हुनुपर्छ र घरायसी मामिलाको निर्याणक हुनुपर्छ भन्ने विश्वास छ । अमेरिका, ब्रिटेन, इटाली, फ्रान्स, रूस र अन्य मुलुकमा पनि पुरुष हुनुको अर्थ हाम्रो पारम्परिक पुंसत्वको अर्थभन्दा धेरै फरक छैन । प्राज्ञिक र सार्वजनिक स्थलमा लैंगिक समानताका पक्षमा चर्को भाषण गर्नेहरूको घर व्यवस्था पनि पुरुषको एकल निर्णयले चल्छ भन्ने कुरामा आश्चर्य नमाने हुन्छ । किनकि नेपालमा मात्र होइन, विश्वका धेरै देशको राजनीतिक र सामाजिक व्यवस्था नै पुरुष निर्णयबाट सञ्चालित छ । तसर्थ, आफ्नो पत्नी, प्रेमिका, पार्टनरमाथि प्रभुत्व जमाउनु, उसलाई आफ्नो नियन्त्रणमा राख्नु, रिस उठेको बेला कराउनु, धम्क्याउनु र हात छाड्नुलाई परिवारजनले पनि समान्य मानेर स्विकारेका हुन्छन् । ‘श्रीमान् भएपछि श्रीमतीलाई ठाउँमा राख्नु त पर्छ’, ‘हाम्रा पालामा हामीले पनि सहेका थियौं’, ‘सबैका घरमा यस्तो हुन्छ’ जस्ता भनाइ हामी सबैले प्राय: सुनेका हुन्छौं ।

हिंसा स्विकार्ने मानसिकताले गर्दा घरेलु हिंसाविरुद्ध बनेका कानुन सोचेजस्तो परिणाममुखी हुन सकेका छैनन् । किनकि पुरुष आक्रामक र बलियो हुनुपर्छ र महिला सहनशील हुनुपर्छ भन्ने मान्यतामा आधारित सामाजिक व्यवस्थाले हिंसात्मक उग्रता र आक्रामकतालाई सहन प्रेरित गर्छ । अर्कोतिर कानुनी प्रक्रिया लामो, जटिल र खर्चिलो भएको कारण पनि पीडितले कानुनमाथि भर गर्दैनन् । ‘घरको कुरा बाहिर भन्दा लाज हुन्छ’ भन्ने सोचाइले ढोकाभित्र गरिएको हिंसा उजागर गरिँदैन । निम्नवर्गीय महिलाहरूले घरेलु हिंसाको दोहोरो, तेहोरो मार खेपेका हुन्छन् भनें नेपालका उच्च र मध्यमवर्गीय परिवारका

हिंसापीडित महिलाहरू पारिवारिक मर्यादा जोगाउन हिंसाविरुद्ध बोल्दैनन् ।

हाम्रा धर्म, संस्कृति, पाप, पुण्य, खानदानी इज्जत र मर्यादाका प्रतिबन्धात्मक भाष्यले घरभित्र हुने हिंसालाई ‘डिसेन्सिटाइज’ र ‘डिपोलिटिसाइज’ गर्दै आएको छ, जसले हिंसालाई निरन्तरता पनि दिएको छ । ‘परिवार बनाउने र बिगार्ने महिला हु्न्’ जस्ता भनाइले जस्तै हिंसात्मक सम्बन्धलाई पनि महिलाले निर्वाह गर्ने कोसिस गर्छन् । अमेरिकाको म्यामफिसमा केही वर्षअघि घरेलु हिंसासम्बन्धी रिसर्चमा बाइस जना फरक धर्मका गुरुहरूको अन्तर्वार्ता लिइएको थियो । सबै धर्मगुरुले वैवाहिक संस्थालाई बलियो बनाउनेमा जोड दिएका थिए । घरेलु हिंसालाई क्षणिक आवेग मान्ने ती गुरुहरूका अनुसार, वैवाहिक सम्बन्धको सफलता महिलाको गुणमा भर पर्छ रे १

नेपालमा मात्र होइन, विदेशमा पनि इहलोकभन्दा परलोकका सपना देखाउने धार्मिक संकथनहरूमा हिंसालाई क्षणिक आवेग भनेर व्याख्या गर्नु भनेको पीडकको ज्यादती नदेख्नु हो । नेपालमा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ मा नै बन्यो । तर, चालीस प्रतिशत घरेलु हिंसाका घटना हुने देश रूसमा घरेलु हिंसालाई अपराध मान्ने स्पष्ट कानुन छैन । त्यहाँका कानुन र नीति निर्माताका अनुसार, घरेलु हिंसाविरुद्धको कानुनले ‘पारम्परिक मूल्य र मान्यता’ लाई बिथोल्छ ।

लिंग, जात, वर्ग, शरीर, रङ, भाषा, उच्चारण, अपांगता र सेक्सुअलिटीको आधारमा कसैलाई निरन्तर होच्याउने, अपमानित गर्ने, खिसी गर्नेजस्ता अभ्यासले मानसिक हिंसाको स्वरूप लिन सक्छ । विचार नपुर्‍याएका कमेडी, कार्टुन र व्यंग्यचित्रले पनि घरेलु हिंसाको संवेदनशीलतालाई असंवेदनशील बनाउन मद्दत गर्छ । भारतीय टेलिभिजनबाट प्रसारित हुने कपिल शर्मा कमेडीको क्रेज नेपालमा पनि छ । शोमा कपिलले आफ्नो श्रीमतीको रोल गर्ने महिला कलाकारमाथि गरेका ‘सेक्सिक्ट जोक’ बारे हामी कतिले ध्यान दिन्छौं ? दर्शक हँसाउन गरिएको ‘सेक्सिस्ट जोक’ ले शोको टीआरपी बढाउला र दर्शकलाई एक छिन हँसाउला । तर, त्यसले लैंगिक र घरेलु हिंसाको मुद्दालाई कति असंवेदनशील बनाउँछ भन्नेमा छलफल हुनु आवश्यक छ ।

केही वर्षअघि न्युयोर्कको एउटा स्कुलले फुटबलको म्याच जितेर फर्केका आफ्ना खेलाडीहरूको स्वागतार्थ एउटा प्रहसन तयार पारेको थियो । स्कुल प्रशासनबाट स्वीकृति लिएर तयार पारेको प्रहसनमा क्रिस ब्राउन भन्ने गायकले आफ्नी प्रेमिका, विख्यात गायिका, रिहानालाई पिट्दै गरेको घटनालाई अभिनयमा उतारेर प्रस्तुत गरियो । वास्तविक घटनामा आधारित त्यो प्रहसनबाट दर्शक हाँस्ने अपेक्षा गरिएको थियो । तर, जब ‘सेक्सिस्ट’ र ‘रेसिस्ट’ भन्दै त्यसको विरोध सुरु भयो स्कुल प्रशासन र अध्यापकहरूले प्रहसनको पक्षमा वक्तव्य दिए । त्यो प्रहसन फगत मनोरञ्जन थियो वा हिंसाको सामान्यीकरण भन्ने विषयमा फरकमत हुन सक्लान्, तर ‘सेक्सिस्ट’ कमेडी र कार्टुनले हिंसाको चरमतालाई जति ‘डिपोलिटिसाइज’ र ‘डिसेन्सिटाइज’ गर्छ, त्यति नै घरेलु हिंसाको सामान्यीकरण हुन्छ । मास–मिडिया र समाचारपत्रमा पनि बलात्कार र हिंसाका कभरेज र रिपोर्टहरूमा पीडितको अनुहार, परिवार, बसोबास, आनीबानी उल्लेख गर्दा अपराधी अदृश्यजस्तै रहेको हुन्छ ।

अन्तरंग सम्बन्धमा पीडकलाई स्विकारिरहँदा उसले हिंसा गरिरहन्छ । उसले क्वारेन्टाइनभन्दा पहिला, क्वारेन्टाइनमा र पछि पनि हिंसा गरिरहनेछ । क्वारेन्टाइन दौरान हिंसाका घटना बढे भन्दा पीडितलाई ज्यानको खतरा बढेकाले सुरक्षाका लागि घटनाहरू दर्ता हुन थाल्यो । किनकि बन्दले गर्दा पीडितको सुरक्षाको अवसर कम भयो । कोरोना संक्रमण दौरान सरकारको मुख्य ध्यान नागरिकको स्वास्थ्य र सुरक्षाको विषय भएकाले हिंसापीडितको स्वास्थ्य र सुरक्षाको विषय पनि महत्त्वपूर्ण भयो र घरेलु हिंसाका घटनाले सबैको ध्यानाकर्षण गर्‍यो । नत्र घरेलु हिंसा सर्वव्याप्त र चिरकालीन छ । अरू बेलामा नेपालका सुरक्षा निकाय पीडक र ‘सर्भाइभर’ बीच मिलापत्र गराएर हिंसाको समाधान भयो भन्ने भ्रममा हुन्छन् । मिलापत्रपछि ‘सर्भाइभर’ फेरि हिंस्रक सम्बन्धमा नै फर्किन बाध्य हुन्छ ।

क्वारेन्टाइनले गर्दा हिंसाका घटना बढे भन्दा पनि हिंसाको पराकाष्ठा बढेकाले पीडितको ज्यानको खतरा बढेको हो । घरेलु हिंसा क्वारेन्टाइनभन्दा पहिला पनि हुन्थे र पछि पनि भइरहन्छन् । किनकि हामीले भोलिका लागि हिंसाका बीउ रोप्दै गएका छौं । हिंसात्मक वातावरणमा हुर्केका बच्चाहरूले हिंसा देख्दै, सिक्दै र ती सबैको सामान्यीकरण गर्दै हुर्किन्छन् । इन्टरटेन्मेन्ट सफ्टवेयर रेटिङ बोर्ड (ईएसआरबी) का अनुसार, आजका बच्चाहरूले खेल्ने आधाभन्दा बढी सफ्टवेयरका गेम हिंसायुक्त छन् । बच्चाले हेर्ने र पढ्ने धेरैजसो कार्टुन, कमिक, गीत, फिल्म र घरभित्रका अभ्यासहरू जेन्डर स्टिरियोटाइपबाट मुक्त छैनन् । यस्तो परिवेशमा हुर्केका बच्चाहरूको भविष्य के हिंसामुक्त होला ?

घरभित्र हुने हिंसा पीडक र पीडितबीचको मुद्दा हुँदै होइन । छरछिमेक, टोलमा हिंसाका घटना भइरहँदा त्यसको निष्क्रिय साक्षी हुनुभन्दा तुरुन्त हस्तक्षेप गर्नुपर्छ । किनकि अरूको घरमा, आफ्नै घरमा भएको हिंसा व्यक्तिगत विषय होइन, अपराध हो । साथै, घरेलु हिंसामा बहुसंख्यक महिला पीडित हुन्छन् भन्नेमा कुनै शंका छैन तर बाल हिंसा, घरेलु सहायकलाई गरिने हिंसा, असहाय र अपांगमाथि गरिने हिंसा र परिवारका वृद्धवृद्धामाथि गरिने हिंसा घरेलु हिंसाको यस्तो पाटो हो, जो प्राय:जसो बहसमा ओझेलमा पर्छन् । के उनीहरूले हिंसाका घटना दर्ता गर्न सक्छन् ? घरेलु हिंसाका तथ्यांकमा उनीहरू पर्छन् ? त्यस्तै विषम लैंगिक अन्तरंग सम्बन्धमा पनि घरेलु हिंसा हुन्छ । किनकि हिंसा गर्ने व्यक्ति एउटै लिंग, वर्ग, उमेर, धर्म वा देशको बासिन्दा हुँदैन । जो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शारीरिक रूपमा बलियो हुन्छ, उसले हिंसा गर्न सक्छ । तर, हिंसा गर्ने वा नगर्ने विकल्प ऊसित क्वारेन्टाइनको समयमा पनि हुन्छ ।

क्वारेन्टाइनले गर्दा नागरिकहरूको स्वास्थ्य र सुरक्षा मुख्य मुद्दा भएकाले घरेलु हिंसाका घटना पनि त्यसमा समेटिन पुगे । नत्र महिलाका मुद्दाले कहीँ प्राथमिकता पाउँदैनन् । पुँजीवादी रमझम हुने सभ्यताका केन्द्रहरूमा घरेलु हिंसाको दोष क्वारेन्टाइनलाई थोपर्दा त्यहाँका शिक्षा, विकास, कानुन र सुरक्षामाथि प्रश्न उठ्ने मौका आउँदैन । आज विश्वको एकतिहाइ जनसंख्या लकडाउनमा छन् र घरेलु हिंसाका ‘सर्भाइभर’ का स्वास्थ्य खर्च अनुमानित १.५ ट्रिलियन डालरसम्म हुन सक्ने तथ्यांकले अन्तरंग सम्बन्धमा हिंसाको पराकाष्ठा उदांग पारेको छ । घरेलु हिंसाका विषयलाई क्वारेन्टाइनमा अल्झाउनुभन्दा विषयको गम्भीरतालाई बुझेर हिंसा निर्मूलीकरणको लागि

आफ्ना घर, परिवार, संस्कार, विचार र सम्बन्धका अभ्यासलाई सूक्ष्मदेखि समष्टिगत स्तरसम्म पुनर्विचार पो गर्ने हो कि ?

प्रकाशित : वैशाख ६, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?