कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरुवा रोगको संकटमा विश्‍व

विगतलाई हेर्ने हो भने विश्वको विभिन्न ठाउँमा प्रत्येक १०-१५ वर्षमा सरुवा रोगको महामारी देखापरिरहेको छ। नयाँनयाँ  खालका सरुवा रोगको प्रकोप नियन्त्रण तथा रोकथाम गर्न चिकित्सा विज्ञानलाई ठूलो चुनौती छ।
मानवजातिले यसअघि पनि थुप्रै सरुवा रोगको सामना गर्नुपर्‍यो। प्लेग, स्पेनिस फ्लु, एसियन फ्लु, हङकङ फ्लु, स्वाइन फ्लुमात्रै होइन एचआईभी, पोलियो र अन्य सरुवा रोगले लाखौंको ज्यान लिएको थियो।

विश्व समुदाय यतिबेला महामारीको रूपमा फैलिरहेको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र उपचारको संकटसँग जुधिरहेको छ। यो भाइरसको संक्रमणबाट अहिलेसम्म ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। १२ लाख ७५ हजारभन्दा बढी संक्रमित भएका छन्।

सरुवा रोगको संकटमा विश्‍व

कोभिड-१९ अहिले अभूतपूर्व स्वास्थ्य संकटका रूपमा देखापरेको छ। यसअघि थुप्रै सरुवा रोगको सामना मानव जातिले गर्नुपरेको थियो। जस्तै: प्लेग रोग (चौधौं शताब्दीमा युरोपभरि फैलिएको र जसले युरोपमा ६०% भन्दा बढीको ज्यान लियो। पछि उन्नाइसौं शताब्दीमा चीनमा फैलियो), स्पेनिस फ्लुकाका कारण सन् १९१८ मा विश्‍वका विभिन्‍न मुलुकमा झन्डै ५ करोड मानिसको मृत्यु भयो । एसियन फ्लु (सन् १९५७ मा सिंगापुरबाट फैलियो र करिब ११ लाखको मृत्यु भयो), हङकङ फ्लु (सन् १९६८ मा हङकङबाट फैलियो र करिब १० लाखभन्दा बढी मानिसको मृत्यु भयो), स्वाइन फ्लु (सन् २००९ मा मेक्सिकोबाट फैलियो र करिब १८ हजारको हाराहारीको मृत्यु भयो) लगायत एचआईभी, पोलियो र सरुवा रोगले लाखौं मानिसको ज्यान लियो। त्यो समयमा सरुवा रोग कसरी सर्छ भन्ने थाहा थिएन।

जब उन्नाइसौं शताब्दीमा लुइस पास्चरले (सूक्ष्मजीव विज्ञानका पिता) पहिलोपटक खाली आँखाले नदेखिने सूक्ष्मजीवबारे विश्व समुदायलाई जानकारी गराए, तबदेखि यसबारे अध्ययन अनुसन्धान सुरु भयो। त्यसपछि विश्वमा आधुनिक चिकित्सा विज्ञानले चामत्कारिक प्रगति गर्दैगर्दा सरुवा रोगको नयाँ अध्यायको सुरुवात भयो।

आधुनिक चिकित्सा/स्वास्थ्य विज्ञानको विकाससँगै विभिन्न सूक्ष्म जीवाणु ब्याक्टेरिया, भाइरस, फन्जाई र पारासाइटहरुले मानिसमा लगाउने एक प्रकारको रोग नै सरुवा रोग हो भन्ने पुष्टि हुँदै गयो। यद्यपि यस्तो प्रकारको सरुवा रोग मानव सभ्यताको सुरुवातदेखि नै रहँदै आएको पाइन्छ। सरुवा रोग संक्रमित व्यक्ति, जीवजन्तु, चराचुरुंगी, संक्रमित खाद्यपदार्थ र वातावरणबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वस्थ मानिसमा विभिन्न माध्यमद्वारा सर्ने गर्छ।

सरुवा रोगले कुनै जात, धर्म, वर्ग, भूगोललाई चिन्दैन। आफूलाई अनुकूल वातावरण पाउँदा जुनसुकै भूगोलमा पुग्न सक्छ र संक्रमण गराउँछ। विगतलाई हेर्ने हो भने विश्वको विभिन्न ठाउँमा प्रत्येक १०-१५ वर्षमा सरुवा रोगको महामारी देखापरिरहेको छ। हाल विश्वका धेरैजसो देश विशेषगरी उष्ण प्रदेशीय हावापानी भएका देश सरुवा रोगको चपेटामा छन्। अहिले विश्वमा नयाँनयाँ खालका सरुवा रोगको प्रकोप/महामारी देखिएको छ, जुन नियन्त्रण तथा रोकथाम गर्न चिकित्सा/स्वास्थ्य विज्ञानलाई निकै चुनौती छ। अन्तर्राष्ट्रिय जर्नल ‘विज्ञान’ मा प्रकाशित एक रिपोर्टका अनुसार मौसम परिवर्तन र हाम्रो वरिपरिको वातावरणअनुसार सरुवा रोग सार्ने सूक्ष्म जीवाणु परिवर्तन भइरहन्छन्।

कसरी जन्मिन्छ नयाँ सरुवा रोग?

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को तथ्यांकअनुसार हाल विश्वभर मृत्यु हुने प्रमुख १० कारणमध्ये तीन वटा सरुवा रोगको कारण रहेको बताइएको छ। जसमा सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धीको सरुवा रोग, झाडापखाला र क्षयरोग हुन्। अहिले हाम्रासामु नयाँनयाँ सरुवा रोग विशेषगरी भाइरससँग सम्बन्धित (इबोला, जिका, निम्फ, हान्टा, चिकनगुनिया, डेंगु, कोरोना आदि) रोगले दु:ख दिइरहेका छन्। यसो हुनुमा विभिन्न कारकतत्वले भूमिका खेलेको हुन्छ। जस्तै: मानवीय, प्राकृतिक र सांस्कृतिक।

१. जलवायु परिवर्तन

विभिन्न वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनको कारण विश्व जगत्‌मा सरुवा रोगको संक्रमण बढ्न थालेको पुष्टि गरेका छन्। जलवायु परिवर्तनसँगै तापक्रमको वृद्धि हुँदा वातावरणीय पर्यावरण परिवर्तन भई संक्रमित जीवाणु वा संक्रमित जीवाणु सार्ने किटहरु बाँच्न र प्रजनन गर्न उपयुक्त/अनुकूल वातावरण मिल्ने हुनाले सरुवा रोग अझ धेरै फैलने गरेको देखिन्छ। हार्वर्ड विश्वविद्यालयका अनुसार कोभिड-१९ को फैलावटलाई जलवायु परिवर्तनले असर गरिरहेको प्रत्यक्ष प्रमाण छैन। तर जलवायु परिवर्तनले पृथ्वीमा हाम्रो स्वास्थ्य र संक्रमणको जोखिमलाई भने धेरै परिवर्तन गरेको छ।

२. वातावरण विनाश

विश्वमा जनसंख्या वृद्धिसँगै वातावरण विनाशको क्रम बढ्दो छ। वनजंगल मासिँदै जाँदा कतिपय पन्छी वा जनावरको प्राकृतिक बासस्थान नष्ट भई ती मानव बस्तीमा प्रवेश गर्न थाले। जंगली जनावर र मानिसबीच सामीप्यता बढ्दै गयो र मानिसमा नयाँनयाँ सरुवा रोग उत्पन्न हुन थाल्यो। ‘द गार्जियन’ का अनुसार विश्वव्यापी रूपमा बास र वातावरणीय पर्यावरण नोक्सानी बढ्दै जाँदा कोरोना भाइरसको प्रकोप महामारीको सुरूवात मात्र हुन सक्छ।

३. आनुवंशिक हेरफेर

विशेषगरी श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरसको फरक-फरक किसिमको गुण हुन्छ। ती भाइरसले आफ्नो वंशाणुगत गुण परिवर्तन (जेनेटिक सिफ्ट र ड्रिफ्ट) गरी एकदमै छोटो समयमा नयाँनयाँ प्रजातिका भाइरस उत्पन्न गर्न सक्छन्। यसरी आनुवंशिक हेरफेर गरी इन्फ्लुएन्जा र कोरोना भाइरसले विश्वसामु धेरैपटक महामारीको रुप लिइसकेका छन्।

४. पशुपन्छी मो

मानिसको सोखको कारण विश्वभर नै जंगली पशुपन्छीको वैध वा अवैध ओसारपसार भइरहेको छ। हामी कतिपय पशुपन्छीलाई आहारको रूपमा पनि प्रयोग गर्छौं। पशुपन्छीमा प्राकृतिक बासस्थानको रूपमा केही संक्रमित जीवाणु बस्ने र त्यस्तो जनावरसँग खेल्दा, चलाउँदा, मासु वा रगतजन्य पदार्थ छुँदा वा राम्रोसँग नपकाई खाँदा संक्रामक जीवणुहरु सर्न सक्छन्। अध्ययनअनुसार अहिले विश्वमा देखापरेका भाइरससँग सम्बन्धित प्राय: सरुवा रोग पशुपन्छी वा जंगली जनावरबाट मानिसमा सरिरहेको छ। खासगरी यस्तो संक्रमण आदिवासी मुलको समुदाय वा जंगलमा नै घुमन्ते जीवन बिताउने मानिसबाट बढी फैलिने गरेको पाइन्छ।

५. गरिबी र अशिक्षा

जनचेतनाको कमीका कारण असुरक्षित पिउने पानी, अव्यवस्थित फोहोरमैला र खुल्ला रुपमा जथाभावी दिसापिसाब गर्दा वातावरण प्रदूषित भई सरुवा रोग उत्पन्न हुन्छ। यसरी वातावरणबाट मानिस वा पशुपन्छी र मानिस वा पशुपन्छीबाट वातावरणमा जीवाणुको चक्र चलिरहँदा नयाँनयाँ सरुवा रोग उत्पन्न हुने सम्भावना बढ्छ।

६. सांस्कृतिक चालचलन

पश्चिमी मुलुक र तिनको सिको गर्ने देशमा ठूलोठूलो सभा/समारोहको आयोजना गर्ने, एकापसमा हात मिलाउने, अंकमाल गर्ने, चुम्बन गर्ने, एकभन्दा बढीसँग असुरक्षित यौन सम्बन्ध राख्ने जस्ता व्यवहारले पनि सरुवा रोग एक व्यक्तिबाट अर्कोमा सरिरहेका छन्। केही जातीय वा धर्मिक संस्कारमा मानिसको मृत्युपश्चात् जमिनमुनि गाड्ने चलन छ। मृतक संक्रमित छ भने उसको शवबाट सूक्ष्म जीवणुहरु वातावरणमा जाने र वातावरणबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा फेरि स्वस्थ मानिसमै संक्रमण गराउने सम्भावना पनि रहन्छ।

असरको दायरा

सरुवा रोगको महामारीले आर्थिक, समाजिक र राजनीतिक क्षेत्रलाई नकारात्मक प्रभाव पार्छ। धेरै मानवीय क्षति बेहोर्नुपर्छ। उत्पादन क्षेत्र खस्किँदा र आयात-निर्यात नहुँदा देशलाई ठूलो आर्थिक भार पर्छ। जसको नकारात्मक प्रभाव विश्व अर्थतन्त्रलाई पर्न जान्छ। यस्तो महामारीले कुनै पनि राष्ट्रको परम्परागत रहनसहन, चालचलन र मूल्य-मान्यतालाई समेत प्रभाव पार्छ। अहिले विश्व समुदायले नेपालीहरुको नमस्ते गर्ने चलनलाई सिको गर्दै छ, यसलाई वैज्ञानिक तथ्यसगँ जोडिएर व्याख्या गरिएको छ। नमस्ते गर्दा मानिस-मानिसबीच दुरी कायम हुने र हातको माध्यमबाट सर्ने संक्रमित जीवाणु स्वस्थ व्यक्तिसम्म नपुग्ने (प्रसारण शृंखला ब्रेक हुने) र संक्रमण हुनबाट बच्न सकिने कुरालाई औंल्याइएको छ।

नेपालको अवस्था

नेपाल सरकार, जनसंख्या तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ सेवा विभाग टेकुको वार्षिक प्रतिवेदन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को प्रतिवेदनलाई आधार मान्ने हो भने नेपालमा सरुवा रोगको स्थिति उच्च छ। नेपालमा १० प्रमुख मृत्युको कारणमध्ये चार वटा सरुवा रोग (झाडापखाला, तल्लो श्वासप्रश्वासको संक्रमण, औषधि प्रतिरोधक क्षयरोग र बच्चाहरुमा भाइरल तथा ब्याकटेरियल इन्सेफ्यालोपाथी) का कारणले हुन्छ। त्यसबाहेक अन्य सरुवा रोग पनि नेपालमा पटक-पटक महामारीको रूपमा देखापरिरहेका छन्। अहिले नेपालको वातावरणीय तापक्रम बिस्तारै उकालो लाग्दै छ। यो परिस्थितिले सरुवा रोग पैदा गर्न अनुकूल समयको सिर्जना गर्छ।

दुई दशकयता मात्रै नेपालमा डेंगु (सन् २००६, २०१० र २०१९), इन्फ्लुएन्जा (सन् २००९), स्क्रब टाइफस (सन् २०१५ देखि प्रत्येक वर्ष ), झाडापखाला (हैजा/रोटा भाइरस, प्रत्येक वर्षजस्तो) लगायत अन्य सरुवा रोगको प्रकोप देखापरिरहेको छ। नेपालमा हुने बिरामीमध्ये ४०-५० प्रतिशत सरुवा रोगको कारणले हुन्छन्। दुर्गम क्षेत्रमा विशेषत: हिमाली क्षेत्र, कर्णाली र भित्री मधेसमा पहिचान नभएको रोगको संक्रमण फैलिएर मानिसको मृत्यु भएको समाचार बारम्बार सुन्दै आइरहेका छौं। यसले नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य संरचना/संस्था अत्यन्तै नाजुक, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य शिक्षासम्बन्धी चेतानाको कमीलाई प्रतिबिम्बित गर्छ। दक्ष जनशक्ति र स्रोत साधनको अभावले ग्रामीण क्षेत्रमा कतिपय रोगको निदान, पहिचान तथा उपचार भइरहेको छैन। अर्कोतिर सबै ठाँउबाट सही तथ्यांक प्राप्त नहुँदा माथि उल्लिखित तथ्यांकभन्दा बढी हुने अनुमान लगाउन सकिन्छ।

जनशक्ति व्यवस्थापन र पूर्वाधार अभाव

देशमा तीन तहको सरकार भए पनि सरुवा रोगको विशेष उपचार गर्नका लगि एक सय शय्याको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुबाहेक अरु छैन। देशको अन्य स्थानमा जनरल अस्पताल भने थुप्रै छन्। तिनमा पनि रोग पत्ता लगाउन आवश्यक प्रयोगशाला र जनशक्ति पर्याप्त छैनन्। हामीकहाँ न त सुविधा सम्पन्न प्रयोगशाला छ, न आवश्यक दक्ष जनशक्ति। अझै सरुवा रोगको पहिचान गर्न चाहिने सूक्ष्मजीव विज्ञानको प्रयोगशाला र विशेषज्ञको दरबन्दी नगन्य मात्रामा छ। जबकि ५० शय्याभन्दा माथिको अस्पतालमा कम्तीमा जैविक सुरक्षा स्तर–२ (बायोसेफ्टी लेभल २) को सुविधासम्पन्न सूक्ष्मजीव विज्ञानलगायत अन्य बायोकेमिस्ट्री, हेमाटोलोजी, हिस्टोप्याथोलोजी, आणविक लेभलको प्रयोगशाला र कम्तीमा सूक्ष्मजीव विज्ञान विषयमा स्नातकोत्तर गरेको विशेषज्ञ हुनुपर्ने हो। नेपालमा यस्तो सुविधाको प्रयोगशाला कमै अस्पतालसँग छ। देशकै जेठो त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट उत्पादित झन्डै दुई हजार माइक्रोबायोलोजिस्टलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा नाम दर्ता प्रक्रियाको समस्या देखाउँदै राज्यले उपयोग गर्न सकिरहेको छैन।

कोरोना जस्तो महामारीको रूपमा फैलिने सरुवा रोग अथवा रोगको पहिचान, रोकथाम तथा नियन्त्रण गर्न माइक्रोबायोलोजिस्ट/ट्रोपिकल मेडिसिन/इपिडिमियोलोजिस्टका साथै अन्य जनस्वास्थ्यविद्‌को महत्त्वपूर्ण भूमिका रहन्छ। हाम्रो ग्रामीण क्षेत्रको स्वास्थ्य/अस्पतालको संरचना अत्यन्तै दयालाग्दो अवस्थामा छ, जहाँ सार्स-कोरोना भाइरस-२ पहिचान तथा बिरामीको उपचार असम्भवप्राय: छ।

सरकारको भूमिका

सरकारले नै शासकीय प्रणाली र तहगत संरचनाको निर्माण गरी कार्यान्वयन गर्ने हुँदा महामारीजन्य रोग रोकथाम तथा नियन्त्रण गर्न कुनै पनि राज्यको ठूलो भूमिका रहन्छ। यसमा तीन वटा मुख्य कुरामा ध्यान दिनुपर्छ।

राज्य संयन्त्रले गर्ने पहिलो काम भनेको संक्रमित जीवाणुलाई आफ्नो देशको सीमाभन्दा पर राख्ने प्रयास गर्ने हो। यसको मतलब देशभित्र प्रवेश गर्न रोक लगाउन सावधानीको उपाय अवलम्बन गर्नुपर्छ। आफ्नो देशको सामर्थ्य र विज्ञको सुझावअनुसार परिस्थितिलाई विश्लेषण गर्दै आपत्‌काल /संकटकाल घोषण गर्नुपर्छ। संक्रमण फैलिएका देशबाट आवातजावत गर्ने नागरिकको स्वास्थ परीक्षण गरेर मात्रै प्रवेश दिने र विशेषा निगरानीमा राख्ने गर्नुपर्छ। आवश्यकताअनुसार खुल्ला सिमाना, हवाई उडान र भ्रमणका कार्यक्रम स्थगित गरी संक्रमण गराउने जीवाणुलाई छिर्न दिनुहुन्न।

दोस्रो, शंकास्पद बिरामी र बिरामीको सम्पर्कमा आएका व्यक्तिको स्वास्थ्य परीक्षण गरी संक्रमित हो/होइन भन्ने सुनिश्चितता गर्नुपर्छ। राज्यले आम सर्वसाधारणलाई विश्वस्त दिलाउन यस्तो आपतकालीन समयमा सरुवा रोगको परीक्षण गर्न आवश्यक स्रोत र साधन (स्वास्थ्य सुरक्षा सामग्री, प्रयोगशाला परीक्षणका लागि आवश्यक उपकरण र रिएजेन्ट, ल्याब सहितको मोबाइल वा हवाई एम्बुलेन्स, मेकानिकल भेन्टिलिटर, अक्सिजन) को वस्थापनसहित प्राविधिक जनशक्तिलाई परिचालन गर्नुपर्छ। देशको भौगोलिक अवस्थाअनुसार परीक्षण गर्न मिल्ने र संक्रमित जीवाणुलाई पहिचान गर्न मिल्ने (उच्च प्रकारको बायोसेफ्टी क्याबिनेट) सहितको प्रयोगशाला स्थापना गर्नुपर्छ।

अर्को, संक्रमण फैलिएछि बिरामीको व्यवस्थापन। यस्तो अवस्थामा ठाँउ–ठाँउमा आवश्यक अस्थायी स्वास्थ्य केन्द्र वा अस्पताल स्थापना गर्ने, स्वास्थ्यकर्मी/चिकित्सक/नर्सलगायत अन्य प्राविधिक जनशक्तिको व्यवस्थापन गर्नुपर्छ।

यसबाहेक नीतिगत निर्णय गर्ने, जनचेतनामूलक कार्यक्रम चलाउने, नागरिकलाई दैनिक उपभोग्य सामाको व्यवस्थापन गर्ने, एकद्वार सूचना प्रणालीमार्फत सत्यतथ्य सूचना प्रवाह गर्ने र सबै एकजुट भएर महामारीविरुद्ध लड्न आह्वान गर्ने काममा राज्य लाग्नुपर्छ।

अन्त्यमा, वातावरण र पशुपन्छी स्वस्थ रहेमात्रै मानिस पनि स्वस्थ रहन सक्छ। यो त्रिकोणात्मक सम्बन्धलाई स्वस्ठ र स्वच्छ राख्न एकीकृत एक स्वास्थ्य अवधारणा (वन हेल्थ कन्सेप्ट) अवलम्बन गर्नुपर्ने देखिन्छ। यस्ता महामारीजन्य सरुवा रोगको रोकथाम तथा नियन्त्रण गर्न सबैले आआफ्नो ठाँउबाट सहयोग गरौं। आफू बचौं र अरुलाई पनि बचाऔं।

-रायमाझी काठमाडौं जीव विज्ञान अनुसन्धान संस्था (क्रिब्स) मा र स्याङ्तान त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा आबद्ध छन्।

प्रकाशित : चैत्र २४, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?