‘लकडाउन’ले उब्जाएका केही तरंगहरू

प्रा. नोवल किशोर राई

काठमाडौँ — हाम्रो नेपाल सरकारले ‘लकडाउन’ को घोषणा गर्न अघि नै चैत ३ गतेका दिन हाम्रा छोरीहरू नुमा र निनाम्माले हामीलाई ‘सेल्फ क्वारेन्टाइन’का निम्ति घरबाट कतै नगई ‘सोसल डिस्ट्यान्स’ गर्ने सल्लाह दिएका थिए । 

उनीहरूको आमालाई कस्तो लाग्यो कुन्नि मलाई भने ‘म किन हाउस एरेस्ट भएर बस्ने ?’ भन्ने जस्तो अहम जागेर आयो । देशबाहिर रहेका आफूभन्दा अलि ज्यादै संसार बुझेका छोरीहरूसँग भाइबरमा निक्कैबेर वादविवाद चल्यो । आखिरमा मैले नै ‘मिड प्याक’ गर्न कर लाग्यो । मैले फेरि सम्झें यो काम त उनीहरूको लागि भन्दा पनि आफ्नै लागि हो भन्ने ठानें अनि मानें पनि । तसर्थ म चैत ३ गतेदेखि नै कडा लकडाउनमा बसेको छु ।


अझ मैले यसो पनि ठानें, समयमा हाम्रो देशका केही असल नेताहरू पनि नजरबन्द र जेल–नेलमा बसेका हुन् । आजभोलि जेसो गरे पनि म्यान्मारकी नेता आङसाङ सुकी र दक्षिण अफ्रिकी प्रिय नेता नेल्सन मण्डेलाहरू त कति कठोर जेल–नेल भोगेर आएका हुन् नि । म त आफ्नै लागि त्यो पनि केही हप्ता वा महिनाका निम्ति किन अटेर गर्ने ? किन यो पहेंलो पातलाई हावाहुरीबाट नबचाउने ? भन्ने ज्ञान फुर्‍यो । त्यस दिनदेखि मैले आफ्नो आँगनको गेटको फाटक खोलेर बाहिर पाइला हालेकै छैन । धन्यवाद छोरीहरू । आमा पापाको भलाइका निम्ति तिमीहरूको सल्लाह, अनुरोध, (आदेश ?) भनेर खुशी छु म ।


आज यसो पछाडि फर्केर हेर्नलाग्दा दुई साताभन्दा ज्यादा भए म यसरी बसेको । यी दिनहरूमा घोत्लिएर बस्दा मेरा मानसपटलमा छल्किएका छालहरूलाई कोर्ने धृष्टता गरेको छु । अनेक छालहरूमा यो ‘होम क्वारेन्टाइन’ ले दिएका फाइदा र नोक्सानीलाई यसरी कोर्ने काम गरेको छु ।


फाइदाहरू

१) मैले यो कामले ‘कोरोना भाइरस’ आफू र अरूलाई सारेको छैन ।


२) लखरलखर सहर चहारेर फोहर फैलाउने काम पनि गरेको छैन ।


३) काम बेकाममा गल्ली र गल्छेडो नापेर मैले आफ्नो गोजी दुलो पनि पारेको छैन ।

४) बाल्यकाल (विद्यार्थी अवस्था), गृहस्थी आश्रम, वानप्रस्थ आश्रम नाघ्नै लागेको यो अवस्थामा आफ्नो घरमा यति व्यवस्थित र अनुशासित भएर अविछिन्न रूपमा पहिले कहिल्यै बसेको थिइन, यसै पाली हो । पक्कै पनि मेरो ‘होम मिनिस्टर’लाई खुसी लागेको हुनुपर्छ । हाम्रो बिहा भएकै बेला पो किन ‘लकडाउन’ भएन भनेर पनि सोच्न पुग्छु । भरखरै बिहा भएका र ससुराली नभएका युवाहरूलाई छड्के सलामका साथ बधाई !


५) परिवारमा सँगै बस्ने र सँगै खाने पिउने अवसर जुटेको पनि छ । आमाबाबुको माया र छोराछोरीको सेवा प्राप्त भएको यो कस्तो अनुपम संजोग !


६) हरेक सुनौलो बिहानी र रुपौलो साँझतिर आफ्नो घरको छत माथिबाट मातातीर्थ, चन्द्रागिरी र ठूलो हात्तीवनका डाँडाहरू कति सुन्दर, शान्त, स्निग्ध देखिन्छ । कुनै कुनै दिन पानी पर्ने र चैतेहुरी चल्दा यी पहाडहरू भरखरै स्नानगारबाट स्नान गरेर फर्किरहेकी षोडषीजस्तै पनि देखिदा यो अधबैसे मन पनि !


७) अहिले म मेरो आँगनको अम्बकको बोटमुनि बसेर आकाश हेर्दा मेरै पान्थरे–इलामे आकाशजस्तै नीलो–नीलो देख्दा म खुशीले बुरुक्क उफ्रिन्छु । कवि सिद्धिचरणको ‘यो मरूस्थल’बाट यस्तो नीलो आकाश देख्न नपाएको कैयौं वर्ष भएको थियो ।


८) दूरदराजबाट ‘भाग्यको लहरमा लहरी लहरी’ अवसर खोज्दै हिंडेका हामीले यो ‘मण्डला’लाई भारी बोकाएर उकुसमुकुस भई बसेकामध्ये एउटा ठूलै जत्थाले चारभन्ज्याङ नाघेर जाँदा यो उपत्यकाले अलि सजिलै सास फेर्दैछ क्यारे ! सडकमा हल्ला, धुलो, हिलो र भीडभाड छैन । सडक र गल्लीमा तैछाड–मैछाड गर्दै दगुर्ने चक्काहरूले आराम पाउँदा हामीले पनि हाम्रो फोक्सोको सफाइ अनुभव गर्न पुग्छौ ! हाम्रो मुटुको स्पन्दन सुन्न सक्छौं ।


९) आफ्नो पाठ्यक्रमभित्रका पुस्तकहरूमात्र रट्न पर्ने विद्यार्थीहरू नयाँ नयाँ विषयका पुस्तकहरू पढेर ज्ञानको फाँट बढाउन पाउने अवसर हो यो । स्रष्टाहरूले कति नवीन सृजना गर्ने होलान् यो ‘लकडाउन’को बेला !


१०) सहरको कोलाहलबाट गाउँघर पुगेर कतिले बाँझिएको बाँझो फोडेर अन्न लहलह पार्ने अवसर एकातिर छ भने आफन्तहरूलाई भेटेर रमाउन पाउने अवसर पनि त हो । यसअघि दशैमा मात्र यति लामो विदा पाउने थियो नि ।


११) म जस्तो ‘परपरे मुख’ र ‘छुकछुके बानी’ले अलि मौन र शान्त भएर शरीर र मनलाई शुद्ध र स्फूर्त बनाउने अवसर पनि हो है ।


१२) ठूलाले सानालाई हेप्ने होच्याउने गरेकोमा आज ‘कोरोना’ले सबैलाई बराबरको त्रास दिएकाले ठूला साना बीचको भेद कम भएको हो कि त !


१३) हुने खानेले मनपरी अन्नपानी वा अरू उपभोग गरेर लापरबाही गरेर आएको अवस्था कम भए सबै कुरा जतनका साथ उपयोग गर्नुपर्ने बानी बसाल्ने अवस्था आयो ।


१४) आजभन्दा कैयौं वर्ष पहिले नै प्रख्यात अर्थशास्त्री माल्थसले जनसंख्याको नियन्त्रण प्रकृतिले स्वयं गर्दछ ! मान्छेले चिन्ता लिनै पर्दैन भनेर बढ्दो जनसंख्या स्वतः प्रकृतिले घटाउने कुरा बताएका थिए । जसलाई ‘माल्थसको जनसंख्या सम्बन्धि सिद्धान्त’ भनिन्थ्यो । त्यो आज सिद्ध हुन्छ कि भन्न मिल्ला !


अब कोरोनाका कारणबाट बन्द हुँदा नोक्सानी कस्ता कस्ता होलान् त भनी मेरो मनमा उब्जेका तरंगहरू निम्नानुसार कोरेको छु ।


नोक्सानी

१) प्राकृतिक रचनाहरूबाहेक मानव निर्मित यन्त्रहरूको सञ्चालन, प्रयोग, उपभोग एकदमै कम भएकाले अभाव, असुविधा र अनेक अप्ठ्याराहरू झेल्न परिरहेको छ । रेल, मोटर, हवाई जहाज नचल्नाले कस्तो कठिनाई भोग्न परिरहेको छ ।


२) मानिसले आफ्नो बौद्धिक, मानसिक, शारीरिक क्षमताका कारण अनेक सुविधाका उपायहरू सृजना गरेकामा अब ती धेरै कुराहरूमा ‘ब्रेक’ लागेर दुर्घटना भएको छ ।


३) कठिनाइ र आपतको यो ठूलो भुँवरीमा हामी व्यक्ति, समाज र देश उस्तैउस्तै प्रकारले होमिएका छौं । ‘बाख्रालाई बाख्राकै सिङ र भैंसीलाई भैंसीकै सिङ भारी’ भनेजस्तो भएको छ ।


४) हामी मान्छे यति स्वार्थी भएका छौं कि आफैंले आफूलाई पुग्ने खानेकुरा र अन्य साधन स्रोत जम्मा गरेर अरूलाई चटक्कै बिर्सेर ‘आफूसुके’ भएका छौं । निर्धा, दुब्ला र गरिब–निमुखाहरू ‘मर्नु न बाँच्नु’ हुन पुगेका छन् । उनीहरूलाई ‘राम भरोसे’ बनाएका छौं ।


५) हाम्रो अज्ञानता, मूर्खता र बडप्पनको स्वभाव सतहमा छर्लङ्ग आएको छ । ‘सेल्फ क्वारेन्टाइन’ मा आफैं बुझेर बस्नु पर्नेमा सरकारले अनुरोध गर्दागर्दै पनि सडकमा बर्दीधारीको ‘गोरू चुटाइ’ खानु परेको छ । आफ्ना छोराछोरीलाई डाक्टरले ‘क्वारेन्टाइन’ मा राखेको देख्दा नबुझेर डाक्टरलाई हात हाल्न पुग्ने ‘बलवान पिता’हरू पनि हाम्रै समाजमा रहेछन् । अमुक देशको अमुक कम्पनीको अमुक मालझैं यो कोरोना भाइरस पनि हो भनी ठान्ने कथित नेताहरू पनि रहेछन् । अनि घर बाहिर निस्केकै दोषमा निर्घात कुटेर थला पारेर फेरि अस्पताल पुर्‍याउनु पर्ने सुरक्षाकर्मी पनि देखिए ।


६) धन्सारभरि अन्न थन्काएर वर्षभरि पुर्‍याउने आँगनमा ठूलाठूला थाँक्रा ठड्याएर मकै साँच्ने बानी हराएर छेउकै ढावाबाट मोमो, चाउमिन, थुक्पा र पिज्जामा भर पर्ने दिन पनि गए कि कसो हो जस्तो छ । लसुन, प्याज, बेसार, अदुवा, कागती, टिम्बुर, पुदिना, जरिङ्गो, छ्यापी जस्ता वनस्पतीको सेवन गरेर शरीरको रोग निरोधक क्षमता विकास गर्नुपर्नेमा ‘वाईवाई र चटपटे’ले भरिएको यो भुँडीले कसरी धान्ला हाम्रो यत्रो शरीर ?


७) अर्थशास्त्री माल्थसले भनेको जनसंख्या नियन्त्रण त कोरोनाले गर्ला तर यो ‘लक डाउन’ अवधिमा चालु हुने युवा समुदायको क्रियाकलापले कति जनसंख्याको वृद्धि गर्ला ? भन्ने कल्पना गर्नु पनि त पर्‍यो होला नि ! ६० वर्षभन्दा माथिका वरिष्ठ नागरिकको जनसंख्या घट्नुभन्दा अबको दश महिनादेखि वर्ष दिन भरिमा धर्ती टेक्ने कनिष्ठ बालकहरूको संख्या पक्कै पनि तेब्बर नहोला भन्न सकिन्न । कुनै समयमा न्यूयोर्क सहरमा एकछिन बिजुली बत्ती नबलेर अँध्यारो हुँदाका बखतमा बढेको जनसंख्याको कुरो पनि सुनेकै त हौं !


८) केही वर्ष अघि देशमा भूकम्प आउने ठूलो हल्ला चलिरहँदा एकजना चङ्खे मित्रले भनेका थिए ‘अब भुइँचालो आउने रे कतिजना मर्ने हुन् ? अनि कतिजना बाँच्ने हौं ?’ भन्नेखाले समावेशी र असमावेशी वाक्य यो प्रकोपमा पनि दोहोरिएला नि !


यो ‘लक डाउन’मा उठेका जोड घटाउका यी लहरहरू यस्तै हुन् । तपाईहरू पनि यस्तो गोरेटेमा हिंडिरहनु भएको भए आ–आफ्नो पोकाहरू खोल्नु भए मिलेर सहयात्रामा रमाइलो नै होला ।


पहेंला पातहरू हावाहुरीबाट जोगिने यत्न गरौं । नयाँ र हरिया पातहरू पनि रूखै ढल्न सक्ने सम्भावनाको याद राख्ने होऔं ।


अन्तमा, मलाई यसो भनुँभनुँ जस्तो लागेको छ– यो कोराना भाइरस अब लगभग संसारका २०२ देशहरूमा फैलिइसकेको छ । यसको विरूद्ध लड्न व्यक्ति–व्यक्ति, परिवार–परिवार, समुदाय–समुदाय अनि सबै राष्ट्रहरू एक लयमा जागरूक, सचेत र सकारात्मक भएर लाग्नु पर्दछ । अर्कोतर्फ हेर्दा यो महामारीमा हामी आ–आफ्नो पूर्वाग्रह छाडेर ‘वसुधैव कुटुम्बकम’को विचारले माथि उठ्नु पर्छ । सचेत नागरिकले आफ्नो कर्तव्यको ख्याल राखेर आफू बच्ने अनि अरूलाई बचाउने काम गर्नु पर्‍यो ।


अहिलेलाई ‘नागरिक अधिकार’ बिर्सेर ‘नागरिक कर्तव्य’को सोच राखौं । ‘म कोरोनाबाट अलग हुन्छु र अरूलाई पनि अलग रहन मद्दत गर्छु ।’ भन्ने दृढ संकल्प लिएर काम गर्नु पर्‍यो । किनभने हामी नागरिक नै कर्मचारी हौं, हामी नै व्यापारी हौं र हामी नै सरकार पनि हौं । सबैको कल्याण होस् । सबैको जय होस् ।


राई भाषाशास्त्री तथा जर्मनीका लागि पूर्वराजदूत हुन् । प्रकाशित : चैत्र २०, २०७६ १३:४२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भाइको कुटाइबाट दाइको मृत्यु

दुर्गालाल केसी

दाङ — भाइको कुटाइबाट बिहीबार राजपुर गाउँपालिका–१ रसरीखोलाका ३२ वर्षीय प्रेम कामीको मृत्यु भएको छ । सहोदर भाइ २४ वर्षीय जसराम कामीको कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

बुधबार राति घरायसी विवादले उग्ररुप लिएपछि दाजुभाइबीच कुटाकुट भएको थियो । कुटपिटबाट गम्भीर घाइते प्रेमको बिहीबार लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक भरतसिंह राठौरले बताए । कुटपिट गर्ने भाइ फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र २०, २०७६ १३:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×