कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

ब्लग : क्‍वारेन्टाइन लभ

श्रद्धा श्रेष्ठ

काठमाडौँ — बिहान उठ्यो अनि फोन हेर्‍यो अनि फेरि सुत्यो, १२ बजे फेरि मन नलागी नलागी उठ्यो, सधैं सुत्न पाए पनि हुन्थ्योजस्तो लाग्ने मलाई आजकल सुत्न पनि अल्छी लाग्दैछ ।

ब्लग : क्‍वारेन्टाइन लभ

नपाउँदा मात्र चिज हुने हरेक बस्तु जस्तै यो क्वारेन्टाइनको अवधि निस्सासिएजस्तै हुँदै छ ।


म मान्छे कम, उल्लु बढी भएकी थिएँ । दिनभरी सुत्थे अनि रातभरी जाग्राम, जानसक्ने भनेकै फेसबुकबाट इन्स्टा, इन्स्टाबाट युट्युब थियो । ट्विटर म खासै चलाउदिन थिएँ ।

घरभित्रै बसेर होला मेरो अनुहारले राम्री हुन पाएको थिएन, त्यसैले क्वारेन्टाइनको चौथो दिन अलि जाागर चलाएर मेकअप गरें अनि एउटा फोटो हालें फेसबुकको स्टोरीमा । सबैलाई लागेको हुँदो हो त्यो एक्लोपन, घर भित्र थुनिदा ! मेरो स्टोरीमा रिप्लाइ आउन थाले, ‘कति राम्री’, ‘स्टे सेफ’ । अनि केही पान आकारका मुटुहरु । खासै टाइमलाइनको फोटोमा समेत कमेन्ट नगर्ने म त्यो दिन एक–एक स्टोरीमा रिप्लाइ गर्दै थिएँ । खासै काम केही थिएन पनि ।


त्यही कमेन्टभित्र एउटा कमेन्ट थियो । ‘यु लुक सो प्रिटी’ उसको प्रोफाइल खोलेर हेरी हालें । हाँसेको मुहार अनि मिलेको दन्तलहर, मेरो आँखाले त्यो अनुहार एक नजरमा कैद गरिहाल्यो, हामी त फेसबुकमा साथी रहेछौं, उ लबकमा बस्दो रहेछ । डल्लासबाट ५ घण्टाको ड्राइभ । अनि म्यासेजबक्स खोलेर हेरें । एकचोटी काम बिशेषले कुरा पनि भएको रहेछ, अलि माथि स्क्रोल गर्दा देखें, मैले २ बर्ष अगाडि ‘भाइ’ भनेको रहेछु ।


त्यतिबेला मलाई दिदी हुने खुबै भूत सवार थियो, मन एकछिन खिन्न भयो, तैपनि एउटा म्यासेज लेख्दे– ‘दिदी पनि भन्छौ फ्लर्ट पनि गर्छौ ?’


उताबाट तुरुन्तै जबाफ आयो, ‘पहिला दिदी हो किजस्तो लागेको थियो, हैन रैछौं ।’ उसले एक्कासी सम्बोधन हजुरबाट तिमीमा झार्‍यो ।


हैन मलाई दिदी नै भन...’ हाँसेको इमोजीसहित पठाइदिएँ ।


‘ठीकै छ नि... प्रियंका पनि आयुषमानको दिदी नै थिइन् ।’ उसले लेख्यो ।


हाम्रो संवाद एकबाट दुई हुँदै तीन घण्टा भएको पत्तै पाइनँ । घर परिवार पढाई अनि प्रेमसम्मका कुरामा आइपुग्दा उसँगको कुनै पनि संवाद कतै बोरिङ लागेन ।

‘ल अब एक बजेछ... सुत्छु है म’ मेरो म्यासेज उता नपुग्दै उत्तर आयो– ‘आज २ बजे सुत न, कस्तो ठ्याक्कै टाइममा आउने निद्रा हो ?’


उसको मिठो अनुरोधलाई नकार्न मनले मानेन, हुन त दिनभरी सुतेर निद्रा लागेको पनि थिएन ।


‘ब्रेकअप कहिले भएको ?’


मेरो अचानकको यो प्रश्नमा उसको जवाफ– ‘कहाँबाट आयो ब्रेकअपको कुरा ?’

‘सिम्पल... रातभर निद्रा नलाग्नुको मतलब बेचैन छौ । अनि कहिले नबोलेको केटिसँग अझै कुरा गर्न खोज्नु कसैलाई जान्न खोज्दैछौं ।’

‘ल भन कति वर्ष भयो छुटेको ?’ उताबाट रिप्लाई आयो– ‘तिमी एकदम बाठी छौ ।’ अनि मेरो प्रश्नको उत्तर– ‘३ बर्षजस्तो भयो, नेपाल हुँदा थिई एउटी, लंग डिस्ट्यान्स चलेन । त्यसपछि पढाई काम भनियो खासै ध्यान दिइएन । मन एकचोटी टुटेपछि जोड्न सारै गारो हुने रहेछ, घाउहरु भरिदै जाँदा फेरि त्यही दुख्ने डरले त्यो कुरालाई आफूसम्म पुग्न दिइनँ ।’


तीन घण्टा अगाडिसम्म नितान्त पराइ अन्जान मान्छे अब केही चिनेजस्तो लाग्दै थियो, केही पल अघिसम्म उसको नाम थाहा थिएन । अहिले उसको घर, थर, पढाई अनि पराइ भएकी उसकी प्रेमिका... उसका सपना बाल्यकालका केही किस्साले एक्कासी म कहिंकतै उसको जीवनको एउटा हिस्सा बन्दै थिएँ ।


केटोमा दम थियो । अलि हकी स्वभावकी भएकाले मसँग बोल्न धेरै डराउथे । उ भने मजाले हाम्रो संवादलाई रमाइलो बनाउँदै थियो ।


‘३ः३० भएछ अबचाहिं सुत्नु पर्छ ।’


‘हुन्छ... धन्यवाद । आज आफ्नो निद्रा मार्नु भएकोमा ।’


मैले एउटा हाँसेको इमोजीले त्यो रातको संवादलाई टुङ्ग्याएं ।


भोलिपल्टबाट मेरो क्वारेन्टाइन बेग्लै भयो, उसँगको म्यासेजबाट सुरु भएको मेरो दिन रात पर्दासमेत चल्दै थियो । क्वारेन्टाइनको पाँचौ दिन किन यो घर भित्र बस्नु परेको जस्तो लागेन ।


कतै केही बनावटी थिएन हाम्रो संवाद ।

छैठौं दिनको साँझतिर उसले आफ्नो गिटारमा एउटा गीत गाएर पठायो– ‘सुन है... म कहिले काही गाउँछु ।’


‘थाकेको यो नजरमा, आशु नदेउ प्रिय

चाहन्छु म तिमीलाई नै, बिन्ति बुझ न ओ प्रिय...’


उसको आवाजले मनको हरेक कुनालाई स्पर्श गर्‍यो । उसले मनबाट गएको भएर होला कति पछि त्यो गीत त्यो आवाज मेरो पनि मनले सुन्दै थियो । मैले २० चोटीभन्दा बेसी त्यो गीत सुनें, हरबार मुटुमै छुन्थ्यो । मानौं उ कसैलाई छियाछिया भएको मुटुलाई अझै चिरेर भन्दै थियो– अब नदुखाऊ अब दर्द सहन सक्दिनँ ।

मैले धीत मरुन्जेल गाना सुनेपछि उसलाई मेसेज गरें– ‘तिम्रो आवाज कस्तो मिठो, सधैं गाउ है ।’

ऊ मक्ख पर्‍यो सायद एउटा मक्ख परेको इमोजीसहित धन्यवाद पठायो । गीत गाउँदा यति मिठो सुनिने आवाज फोनमा कस्तो सुनिएला है ? मैले उसको फोन नम्बर घुमाउरो पाराले मागें, उसले नम्बर दियो ।

सिधै फोन लगाएँ, म्यासेज मिठो थियो । आवाज मह थियो तर फोनमा अलि रुखो सुनियो जस्तो लाग्यो । पहिलो फोन संवाद भएर होला अलि अनौठो लाग्दै थियो, ३ मिनेट बोलेपछि मैले फोन काटिदिएँ ।

र, टाइप गरें, ‘तिम्रो स्वर शब्दभन्दा धेरै फरक रहेछ ।’

‘मैले पास गरिन कि के हो .. यो मौखिक परीक्षा ?’

‘अँ अलि गारो भयो, हाहा ...’ मैले यती मात्र पठाएँ ।

उताबाट उत्तर आयो, 'पास गर्न डल्लास आउनु पर्ने हो ?'

‘लकडाउन छ कसरी आउछौ ?’

‘सकिएपछि आउँछु... तिमीलाई भेट्न, भेट्छेउ ?’


मलाई खासै फेसबुके साथी, प्रेममा विश्वास लाग्दैन । अझ मेरो विश्वास त्यो दिनबाट उडेको थियो, जब एकजना फेसबुकमा चिनेको मान्छेलाई ४ वर्ष अगाडी भेट्‍न गएकी थिए, फोटोमा राम्रै थियो, अगाडि देख्दा सातै गएर भागेर आएकी थिएँ ।


त्यही डरले हो या उसलाई हेर्ने रहरले मैले म्यासेन्सरमा एउटा मेसेज पठाएँ– ‘भिडियो अन गर ।’ अनि कल गरें ।

मेरो प्रफुलित मन त्यहीबेला ढक्क फुल्यो, जब अर्को पट्टि मैले त्यो अनुहार देखें, आँखाले एकटक एकोहोरो हेरिरहृयो, मेरो हेराइ केही असहज लाग्यो उसलाई । उसका दुवै कान राता हुँदै थिए, कहिले लजाएर फोन सिलिङतिर फर्काउथ्यो त कहिले आफूतिर ।


म भने कुनै केटाले पहिलोपटक राम्री केटी देखेजस्तै आँखा नै नझिम्काइ उसैलाई हेर्दै थिएँ एकोहोरो । केही मिनेटको हेराइपछि अलि सहज भयो, धेरै अगाडिबाट चिने जस्तै कुरा हुन लागे, भविष्यमा प्लान के छदेखि सबै कुरा साटिदै जाँदा मन सटिन थालेको पत्तै भएन । भेटन रहर हुँदाहुँदै लकडाउनको चपेटामा परेका हामी फोन, टेक्स्ट हुँदै भिडियो कलमा क्वारेन्टाइनका दिन बिताउदैछौं ।


'काली ! तिम्रो ओठमाथिको तिलमा दिल बस्यो' हिजो भिडियोकलमा उसले यती भन्दा म लजाए मात्र । उसलाई के थाह, उसको आवाजमा, आँखामा गालाको सानो कोठीमा, लजाउदै बोल्ने बोलीमा अनि उसले साचेको भोलिमा यो दिल फसिसकेको छ ।

अब बस् यो लकडाउन खुलोस् । यो क्वारेन्टाइन सकियोस् अनि भेट्न पाउँ । उही मेरो क्वारेन्टाइनको मायालाई । अनि भन्न पाउँ– ‘तिमी यो दिल भित्र सधैको लागि लकडाउन भइदेउ न है ।’

प्रकाशित : चैत्र १४, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?