कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गणितविनाको विज्ञान र प्रविधि 

नै व्यक्तिले साँचो वा झुठो बोलेको कुरा पत्ता लगाउने उपकरण पोलिग्राफ पनि गणितीय अभिव्यक्ति हो । मानव निर्मित रोबोटको कृत्रिम बुद्धिमताको आधार पनि गणित नै हो । गणित सर्वव्यापी छ ।

नेपालमा नयाँ शासन प्रणालीको स्थापनापश्चात् सरकारले समृद्ध नेपालको परिकल्पना गरी विभिन्न क्षेत्रमा सुधार गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा पनि सुधार गर्दै माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमको प्रारूप पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको छ ।

गणितविनाको विज्ञान र प्रविधि 

यो प्रारूप सार्वजनिक गरेसँगै नेपाल गणित समाज लगायत विज्ञान विषय सम्बद्ध विज्ञहरूले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका छन् । विज्ञान विषय सम्बद्ध विज्ञद्वारा आएको असन्तुष्टि जायज वा नाजायज के हो ? पाठ्यक्रम प्रारूपमा विरोध हुनुको अर्थ यसमा केही कमजोरी छ । सरकारले सुधारका लागि सुझाव लिन सम्बद्ध निकायहरूसँग वार्ताको पहल गर्नुपर्ने थियो, तर त्यो भइरहेको छैन ।


पाठ्यक्रम संरचना परिवर्तन गर्नु एक राष्ट्रिय महत्त्वको विषय हो । यो परिवर्तन गर्न सरकारले के कस्ता पद्धति अपनायो भन्ने विषयले महत्त्वपूर्ण अर्थ राख्छ । पाठ्यक्रम संरचनाले शैक्षिक क्षेत्रमा दूरगामी प्रभाव राख्ने हुनाले प्राज्ञिक वर्गले जिज्ञासा व्यक्त गर्नु स्वाभाविक हो । देशभर विशिष्टीकृत उच्च शैक्षिक संस्थाहरू खोलिएका छन् र दर्जनौं खोलिने क्रममा छन् । यिनका आफ्नै विशेषता र महत्त्व छन् ।


पाठ्यक्रम विकास केन्द्रले विज्ञमार्फत पाठ्यक्रम प्रारूपको प्रारम्भिक मस्यौदा तयार गरी त्यसलाई प्रदेशहरूमार्फत राष्ट्रिय बहसमा ल्याउनुपर्थ्यो । सम्बन्धित क्षेत्रका जानकारहरूको सल्लाह–सुझाव संकलनपछि मात्रै परिमार्जित पाठ्यक्रम प्रारूप लागू गरेको भए त्रुटिरहित र सर्वस्वीकार्य हुने थियो । व्यापक बहस हुन नसके पनि पाठ्यक्रम प्रारूप निर्माणका लागि गठन गरिएको समितिले वैज्ञानिक एवं पारदर्शी रूपमा काम नगरेको देखिएको छ । विधि मात्र पुर्‍याउने हेतुले अपरिपक्व एवं अदूरदर्शी निर्णयको भरमा अवैज्ञानिक पाठ्यक्रम लाद्न खोज्नु राम्रो होइन । प्रारूप निर्माणका लागि बनेका विभिन्न धारहरूमध्ये विशाल क्षेत्र ओगट्ने साधारण धारले हो । साधारण धारको संयोजकका रूपमा राखिएका विज्ञले आफू संयोजक रहेको भन्ने नै थाहा नपाएको, नियुक्ति पत्र नभएको र प्रारूप निर्माणका कुनै पनि बैठकमा उपस्थित नभएको बारे सञ्चार माध्यममा अभिव्यक्ति आएका छन् ।


यसबाट निहित उद्देश्य परिपूर्ति गर्ने लक्ष्य अनुरुप नियोजित रूपमा पाठ्यक्रम प्रारूप निर्माण गरिएको स्पष्ट भएको छ । राष्ट्रिय महत्त्व राख्ने पाठ्यक्रम प्रारूपको निर्माण यति अपरिपक्व तरिकाले हुनु दुर्भाग्यपूर्ण छ ।


पाठ्यक्रम प्रारूप युक्तिसंगत नरहनुका प्रशस्त आधारहरू छन् । विज्ञान समूह अन्तर्गत अध्ययन गर्ने विद्यार्थी मुख्यतया दुई वर्गमा विभाजित हुने गर्छन् । भौतिक विज्ञान र जीव विज्ञान वर्ग । विश्वका धेरैजसो देशमा भौतिक विज्ञानका विद्यार्थीले भौतिकशास्त्र, रसायनशास्त्र र गणित विषय अनिवार्य रूपमा अध्ययन गर्छन् । त्यस्तै जीव विज्ञानका विद्यार्थीले जीव विज्ञान, भौतिकशास्त्र र रसायनशास्त्र विषय अध्ययन गर्छन् । विज्ञानको भाषा नै गणित भएकाले जीव विज्ञानका विद्यार्थीलाई पनि कक्षा ११ वा १२ मा गणित विषय अनिवार्य हुने गर्छ । विज्ञान वा वाणिज्य समूहलाई गणित अनिवार्य नगरी उत्पादन भएको जनशक्ति सम्बन्धित विषयमा कतिको सबल हुन सक्छ ? साधारण व्यक्तिले पनि अनुमान गर्न सक्छ । हाल लागू गर्न खोजिएको प्रारूपभन्दा विगतकै प्रारूप तुलनात्मक रूपमा वैज्ञानिक देखिएको छ ।


अहिले निर्माण गरिएको प्रारूपमा विद्यार्थीले गणित विषय नपढी विज्ञान समूहमा अध्ययन गर्न सक्छन् । विद्यार्थीले ऐच्छिक विषयहरू भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान मात्र लिएर अध्ययन गर्न सक्ने प्रारूप बनाइएको छ । गणित विषय गाह्रो मान्ने तर विज्ञान समूह रोज्ने विद्यार्थीले उपर्युक्त तीन विषय लिई अध्ययन गर्दा गणितविनाको विज्ञान हुनपुग्छ । विज्ञान र गणित एक सिक्काका दुई पाटा हुन् । यसलाई अलग्याउनै सकिँदैन । उपर्युक्त संयोजनबाट उत्पादित विद्यार्थी कुन वर्गको हो भन्ने पनि यकिन हुँदैन । वर्ग नखुलेका विद्यार्थीले जीव विज्ञान विषयको आधारमा चिकित्साशास्त्रमा प्रवेश पाउने बाटो त खुल्छ, तर सबै विद्यार्थी चिकित्सा विज्ञानको अध्ययनका लागि हुने प्रवेश परीक्षामा उत्तीर्ण हुँदैनन् । यसले नेपाल लगायतका विदेशी विश्वविद्यालयका सबैजसो इन्जिनियरिङ तथा प्राविधिक धारका संकायमा गणित विषय नपढेका कारण प्रवेश पाउन कठिन हुन्छ ।


गणित विषयको अभावमा प्राविधिक धारका विषयहरू जस्तै इन्जिनियरिङ, वन विज्ञान, कृषि विज्ञान, सूचना प्रविधि विज्ञान, औषधि विज्ञान, खाद्य विज्ञान, बीएस्सी आईटी, वाणिज्यशास्त्र तथा मानविकी अन्तर्गतका अर्थशास्त्र, भूगोल विज्ञान आदि धेरैजसो संकायमा प्रवेश पाउन सक्दैनन् ।


पाठ्यक्रम संरचना निर्माण गर्दा यी कुरा ध्यान दिइएको छैन । विश्वविद्यालयका सम्बन्धित संकायका डिन, विषय समिति र विभाग कसैसँग पनि परामर्श वा सुझाव लिएको देखिएको छैन । उच्च माध्यमिक शिक्षाको पाठ्यक्रम विश्वविद्यालय प्रवेशका लागि अन्तरसम्बन्ध राख्ने प्रकृतिको हुनुपर्छ । माथि उल्लेख गरिएका प्राविधिक विषय अध्ययन गर्न विद्यार्थीलाई पुनः अतिरिक्त गणित विषय पढ्नुपर्ने बाध्यात्मक स्थिति उत्पन्न हुन्छ । यो विद्यार्थी र अभिभावकका लागि दोहोरो झमेला हुनुका साथै खर्चिलोसमेत हुन आउँछ । विश्वविद्यालय प्रवेशको संघारमा सरकारले अवैज्ञानिक तर्क दिँदै जम्मा ६ विषय पढ्नुपर्नेमा ३ वटा विषय अनिवार्य बनाउनु युक्तिसंगत मान्न सकिँदैन । विद्यार्थीले आफू अनुकूल पढ्न पाउन प्रशस्त विकल्प राखी अध्ययन गर्ने समूहको प्रकृति अनुसारका अनिवार्य विषय राख्नुपर्ने हुन्छ ।


विषय सम्बद्ध आगामी उच्चशिक्षाका लागि उपयोगी नहुने र सम्बद्ध विषयलाई सबलीकरण गर्न कुनै भूमिका नखेल्ने विषयहरूलाई ऐच्छिक नगरी किन अनिवार्य गर्ने ? विश्वविद्यालयसँग समन्वय नै नगरी विद्यार्थीलाई माथि उल्लेख गरिए बमोजिमका विज्ञान तथा प्राविधिक संकायमा अध्ययनका लागिसमेत वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय शिक्षा नीतिमा विज्ञान र प्रविधिको अध्ययनलाई महत्त्व दिने भनी उल्लेख गर्ने, विज्ञान र प्रविधिको महत्त्व दर्शाउनेगरी मन्त्रालयको नाम पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राख्ने अनि पाठ्यक्रम संरचना बनाउँदा विद्यार्थी विश्वविद्यालयमा विज्ञान र प्रविधि क्षेत्रमा प्रवेशका लागि निरुत्साहित गर्ने ? विज्ञान र प्रविधिको धरातल नै कमजोर हुने प्रकृतिको पाठ्यक्रम प्रारूप बनाउनु कति औचित्यपूर्ण हो ? समयको आवश्यकता र मागअनुसार पाठ्यक्रम प्रारूप विज्ञान तथा प्रविधिमैत्री हुनैपर्छ । प्राविधिक कम्प्युटर शिक्षा पनि सबै समूहको ऐच्छिक पहुँच हुनेगरी राखिनुपर्छ ।


विश्वविद्यालयमा हुने अध्ययन–अनुसन्धानमा गणित विषय अपरिहार्यजस्तै छ । विश्वमा विभिन्न क्षेत्रमा भइरहेको विकासमा विज्ञान र प्रविधिको मुख्य भूमिका हुन्छ । विज्ञान र प्रविधिको आधार भनेकै गणित हो । गणितको उपयोग एवं प्रभाव अझ विस्तार हुँदै गइरहेको छ । खगोल, भूगोल र भौतिक विज्ञान बाहेक अन्तर्मनका भावनात्मक कुरा थाहा पाउनसमेत गणितकै प्रयोग हुन्छ । कुनै व्यक्तिले साँचो वा झुठो बोलेको कुरा पत्ता लगाउने उपकरण पोलिग्राफ पनि गणितीय अभिव्यक्ति हो । मानव निर्मित रोबोटको कृत्रिम बुद्धिमताको आधार पनि गणित नै हो । गणित सर्वव्यापी छ । गणितको अध्ययनले तर्क गर्ने, सत्यताको प्रमाणीकरण गर्ने र मस्तिष्क विकास गर्ने क्षमता अभिवृद्धि गर्छ ।


उच्च माध्यमिक शिक्षासम्म गणितलाई अलग्याउनुभन्दा यो विषयलाई सरल, बोधगम्य र जीवनोपयोगी बनाइनुपर्छ । नयाँ समुन्नत नेपालको परिकल्पना गरेको सरकारले विज्ञान तथा प्रविधिको युगमा गणित विषयलाई उच्च प्राथमिकतामा राखी यसको विकास तथा प्रवर्द्धनका लागि वातावरण बनाइदिने हो । तत्काल यो पाठ्यक्रम प्रारूपप्रति पुनर्विचार गरी राष्ट्रिय शिक्षा नीतिमा उल्लेख गरे बमोजिम विज्ञान र प्रविधिको अध्ययन–अनुसन्धानलाई महत्त्व दिनुपर्छ । र, प्रारूपको परिमार्जन गर्नुपर्ने खाँचो छ ।


-पन्थी वाल्मीकि क्याम्पसका सहप्राध्यापक र गुरुङ काठमाडौं विश्वविद्यालयका गणित विभाग प्रमुख हुन् ।

प्रकाशित : चैत्र १, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?