इन्टरनेटसम्बन्धी मिथ्या ज्ञान

शुभ कायस्थ

क्याफे गई घन्टाको ३० रुपैयाँ तिरेर इन्टरनेट चलाउँदै गर्दा यसरी इन्टरनेट घर–घर र हात–हातमा पुग्छ भनेर मैले सोचेको पनि थिइन । अचेल बिहान आँखा खुल्ने बित्तिकै मेसेज वा सामाजिक सञ्जाल चेक गरिन्छ । इन्टरनेट भएन भने कार्यालयको कामसमेत ठप्पै हुन्छ । 

ZenTravel


यति भनिरहँदा सहर–बजारमा इन्टरनेटबारे अर्को विचार याद गर्दैछु । इन्टरनेटले बालबालिका र युवायुवती बिगार्‍यो भन्ने विषय जोडतोडले उठ्दैछ । इन्टरनेट आउनुअघि मानिसहरू बच्चाले टिभी धेरै हेरेर आँखा बिगारे, पढाइ खत्तम पारे भन्थे । अहिले त्यो दोष मोबाइल र कम्प्युटरलाई दिने गरेको पाइन्छ । कोही इन्टरनेटलाई नै बालविवाह बढ्नुको कारक तत्त्व पनि हो भन्छन् । सहर–बजार होस् या गाउँमा अभिभावकलाई आफ्नो बालबच्चा इन्टरनेटको कारण उनीहरूकै भाषामा भन्नुपर्दा ‘नराम्रो बाटो लाग्ला’ कि भन्ने ठूलो चिन्ता छ । अलि ग्रामीण भेगतिर गएर कुरा गर्नुभयो भने त झन् ‘यो फेसबुकले गर्दा केटीहरू सबै पोइल गए’ भन्ने गरेकोसम्म पनि सुन्न पाउनुहुन्छ । मैले चाहिँ आफू काम गरिहिँड्ने क्रममा यस्तो धेरै सुनेको छु ।

‘इन्टरनेट चलाएर बच्चा बिग्रियो’ भन्ने कुरा हामीले प्राय: मिडियामा पढेको र देखेको भरमा भनिरहेका हुन्छौँ । समाचारको शीर्षक नै अत्याउने खालको हुने गर्छ । त्यसो भएपछि मान्छेहरू आत्तिन्छन् नै । त्यस्ता समाचारले कति सत्यतथ्य बोलेको छ वा समाचार लेख्नेको व्यक्तिगत विश्लेषण मात्र हो कि भनेर धेरै नसोची विश्वास गरिहाल्ने हाम्रो बानी छ । फेरि समाचार आफ्नै सन्तानसँग सम्बन्धित भएपछि आत्तिने त भइनै हाल्यो । जबकि अभिभावकलाई आफ्नो सन्तानले इन्टरनेट केको लागि प्रयोग गर्दैछ भन्ने कुरा थाहा नहुनाले यस्तो डर पैदा हुने हो । झन् किशोर अवस्थाको सन्तान छ भने त इन्टरनेटमा कोसँग कुरा गर्दैछ, कसैले उक्साएर गलत काममा लाग्ला, हिंसा अथवा यौनहिंसामा पर्ला कि भनी प्राय: अभिभावकमा डर हुने गरेको पाइन्छ । कतिलाई इन्टरनेट चलाउने क्रममा प्रविधि र भाषाको ज्ञान नभएको हुनसक्छ । आफूले नदेखेको वा नजानेको कुरामाथि शंका लाग्नु स्वाभाविक पनि हो । यस्तै डरका करण देशका विभिन्न ठाउँमा इन्टरनेटको प्रयोगले नै हिंसा बढेको भन्दै विरोध कार्यक्रमहरू पनि भएका छन् । मिडियामा आउने समाचार पढेर त्यो डर अझ बढ्ने गर्छ । सरकारले महिला हिंसा बढ्नुमा इन्टरनेटको दोष देखाउँदै पोर्नसाइटहरू बन्द गरेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यस्ता कदम भनेको अधिकारमुखी नभई संरक्षणमुखी हुन्छ र यसले समस्याको जरा पत्ता लाउनभन्दा सतही रूपमा क्विक फिक्स गर्ने बाहेक केही गर्दैन ।

अब एकछिनको लागि आफ्नो बाल्यकाल र युवावस्था सम्झिम् त । तपाईंहरूमध्ये कतिले कक्षाकोठामा शिक्षकले नदेख्नेगरी कागजमा चिट लेखेर साथीहरूलाई पास गर्नुहुन्थ्यो ? त्यो गर्नुहुन्नथ्यो भने घर बाहिर, सडक नजिक दगुर्ने, गुच्चा खेल्ने त गर्नुहुन्थ्यो । अथवा रुख चढ्नुहुन्थ्यो । अब यो सब गतिविधि पनि त जोखिमपूर्ण नै छ नि होइन ? रुख चढ्दा लढ्न सक्छ । घर बाहिर सडक नजिक खेल्दा गाडीले हान्न सक्छ वा अपहरणमा पनि पर्न सकिन्थ्यो नि । तर त्यस्तो जोखिम हुन्छ भनेर घरमै बस्नुपरेको भए हाम्रो बाल्यकाल कस्तो हुन्थ्यो होला ? त्यस्तै कागजमा चिट लेखी साथीलाई पास गर्दा तपाईंको अभिभावक र शिक्षकले तपाईंलाई ‘अरुसँग गोप्य रूपमा कुरा नगर’ भन्दा कस्तो लाग्छ ? यी कुरा भनेको तपाईको छनोट र गोपनीयतासँग पनि जोडिएका कुरा हुन् भनी हामीले ख्याल गर्नुपर्छ ।

चक्कु, चुलेसी चलाउँदा चोट लाग्छ भने त्यो चक्कु, चुलेसीको दोष होइन । चलाउने व्यक्ति अथवा बाहिरी वातावरण कारण हुनसक्छ । फेरि केही कुराको रोकटोक लगाउँदैमा रोकिन्छ भन्ने हुँदैन । इन्टरनेट चलाउनबाट बालबालिका र किशोरीहरूलाई रोक लगाउँदैमा उनीहरूले अर्को बाटो खोज्दैनन् भन्ने हुन्न । नियन्त्रण गर्नाले झन् जोखिममा पर्न सक्छन् भन्ने बुझ्नुपर्छ ।

अब एकछिन इन्टरनेटबारे कुरा गरौं । प्राय:को लागि इन्टरनेट फेसबुक, युट्युब, अनि भाइबर जस्ता एपहरूमा सीमित हुन्छ । तर इन्टरनेट सागर जतिकै फराकिलो छ । मनोरञ्जन र मेसेज गर्ने बाहेक यो सूचना, समाचार र स्वास्थ्यको जानकारी पाउने, अध्ययन गर्ने, आफ्नो विचार व्यक्त गर्न अनि आफूजस्तै विचार राख्ने समुदायसँग सम्पर्क राख्ने ठाउँ पनि हो । इन्टरनेटको मद्दतबाट सामाजिक आन्दोलन गर्न सजिलो भएको छ । उदाहरणको लागि गुठी विधेयक विरुद्ध हजारौं जनता सडकमा उत्रिए । अरुभन्दा पनि अहिलेको जमानामा सामाजिक अन्तरक्रिया गर्ने तरिका भिन्न भएको छ । अनलाइनमा हुने घटना र समाचारले हाम्रो दैनिक जीवनको सामाजिक अन्तरक्रियालाई सोझै असर पारेको हुन्छ । यदि तपाईं अनलाइन हुनुहुन्न भने धेरै विषयमा अनविज्ञ हुनसक्ने अवस्था छ । अध्ययनहरूले के पनि देखाउँछ भने इन्टरनेटको प्रयोग गर्ने बालबालिकहरू झन् रचनात्मक हुने, अनि यसले उनीहरूको क्षमता विकास हुन्छ।

१८ वर्ष मुनिका सबै बालबालिकाको समूहभित्र पर्छन् । जसमा हरेक बच्चाको उमेर र परिवेश फरक हुन्छ । उसको आवश्यकता र स्वभाव फरक हुनसक्छ । त्यसैले सबै बालबालिका एकै खाले हुन्छन् र उनीहरूलाई एउटै नियमले काम गर्छ भन्ने हुन्न । सुरक्षालाई जोड दिने हो भने पनि के–के कुरामा मात्र ध्यान दिने त ? ध्यान दिएर पनि साध्य लाग्दैन । बरु बालबालिका र किशोर–किशोरीलाई आवश्यक जानकारीहरू पूर्णरूपमा दिने र उनीहरू आफ्नै हिसाबले सिक्न सक्ने कुरामा विश्वास गर्नुपर्छ । यसले उनीहरूको स्वनिर्णय गर्ने क्षमताको समेत विकास हुन्छ ।

पक्कै पनि महिला र बालबालिकाहरू अनलाइनमार्फत हुने हिंसाबाट बढी प्रभावित हुने गरेका छन् । यो भनेको हाम्रो सामाजिक संरचनाकै उपज हो । यसको मतलब उनीहरूलाई इन्टरनेट नै नचलाउ भन्नु भने गलत हो । फोन वा कम्प्युटर चलाउन बन्देज गर्नु गलत हो । उनीहरूको प्रविधि र इन्टरनेटमाथिको पहुँच रोक्नु समस्याको समाधान होइन । बरु इन्टरनेटलाई सुरक्षित तरिकाले प्रयोग गर्न सघाउने डिजिटल सेक्युरिटीका मापदण्ड अपनाएर अगाडि बढ्न दिने हो । त्यसैले नियन्त्रण नै सबै कुराको समाधान होइन ।

समाजमा यदि बालविवाह हुँदैछ भने त्यो इन्टरनेटका कारण नभई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे सचेतनाको कमीले हुनसक्छ । त्यस्तै बालबालिकाको पढाइ बिग्रेको छ भने त्यो स्कुलको वातावरण अनुकूल नभएको कारण अथवा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा भएको हुनसक्छ । पक्कै पनि आफ्नो सन्तान कुलतमा लाग्ला भन्ने चिन्ता प्राय: सबै अभिभावकलाई लाग्नु स्वाभाविक हो । यो उनीहरूको जिम्मेवारी पनि हो । तर चिन्तालाई चिन्तामा मात्र सीमित नराखी यसलाई जति खुलारूपमा छलफल गर्न सकियो, त्यति नै यसको जरो पत्ता लाउन र समाधानको बाटो खोज्न सहज हुन्छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकी सेना फिर्ताको माग गर्दै बग्दादमा प्रदर्शन

एजेन्सी

बग्दाद — अमेरिकी सेना फिर्ताको माग गर्दै इराकको राजधानी बग्दादमा शुक्रबार हजारौंले प्रदर्शन गरेका छन् । इराकका प्रभावशाली धर्मगुरुले आह्वान गरेको ‘मिलियन–म्यान’ अर्थात् ‘१० लाख मान्छे’ र्‍यालीमा सहभागीले अमेरिकी सेना आफ्नो देशबाट फिर्ता हुनुपर्ने माग गरेका हुन् ।

१० लाख मानिस भेला गर्ने भनिएको प्रदर्शनमा त्यतिको सहभागिता भने थिएन । बग्दादस्थित विमानस्थलमा यसै महिनाको सुरुवातमा गरिएको अमेरिकी हवाई आक्रमणमा इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इराकमा अमेरिकाविरोधी भावनामा वृद्धिभएको समाचार संस्था एपीले उल्लेख गरेको छ । बढ्दो अमेरिकाविरोधी भावनाकैबीच शुक्रबार हजारौं इराकमा प्रदर्शन गरेका हुन् ।

बिहानैदेखि राजधानी बग्दादमा भेला भएर प्रदर्शनकारीले अमेरिकाविरोधी नारासमेत लगाएका थिए । प्रदर्शनकारीमध्ये केहीले मध्यपूर्वमा अमेरिकी साझेदार इजरायलविरुद्ध पनि आक्रोश पोखेका थिए ।

इराकमा अमेरिकी सेनाको संख्या थप वृद्धि गरिएको छ । इराकी संसद्ले विदेशी सेनालाई देश छोड्न भने पनि अमेरिकाले सेनाको संख्यामा वृद्धि गरेको हो । इरानको चुनौती समाधान गर्न थप सेना इराक पठाइएको वासिङ्टनको दाबी छ । इरानसँग गत महिनाबाट अमेरिकाको तनाव वृद्धि हुनुपूर्व इराकमा मात्रै ५ हजार अमेरिकी सेना तैनाथ थिए ।

आफ्ना एक ठेकेदारको इरान समर्थित मिलिसियाको आक्रमणमा मृत्यु भएको भन्दै गत महिना अमेरिकाले मिलिसियाका शिविरमा आक्रमण गरेको थियो । आक्रमणबाट २० भन्दा बढी लडाकु मारिएपछि इरानसमर्थित इराकीले राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए । सो आक्रमणबाट अमेरिकी दूतावासमा क्षति पुगेको थियो । आक्रोशित अमेरिकाले इरानका उच्च सैन्य कमान्डर सुलेमानी बग्दादस्थित विमानस्थलबाट बाहिरिँदै गर्दा जनवरी ३ मा ड्रोन हमलामा मारिएका थिए । हमलामा सुलेमानीसहित इराकका केही मिलिसिया कमान्डर पनि मारिएका थिए ।

अमेरिकी आक्रमणको प्रतिक्रिया स्वरूप इरानले पनि इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा आक्रमण गरेको थियो । यद्यपि सो आक्रमणबाट मानवीय हताहती भने भएन । सोही दिन राजधानी तेहरानमा युक्रेनी ध्वजावाहक विमान दुर्घटना भएको थियो । भूलवस मानवीय त्रुटिका कारण प्रहार गरिएकोक्षेप्यास्त्र लागेर विमान खसेको भन्दै इरानले केही दिनपछि सार्वजनिक रूपमै माफी मागेको थियो ।

अमेरिका र इरानबीच पछिल्लो तनाव बढिरहेकै बेला शुक्रबार इराकमा आयोजना गरिएको वासिङ्टनविरोधी प्रदर्शनले थप समस्या उत्पन्न गराउन सक्ने अन्तर्राष्ट्रिय राजनीतिका जानकारहरूले चेतावनी दिएका छन् । केही मत्थर देखिएको अमेरिका–इरान तनावलाई इराकमा शुक्रबार भएको प्रदर्शनले मलजल गर्न सक्ने अनुमान पनि गरिएको छ । इरानले पनि छिमेकी इराकबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग लामो समयदेखि राख्दै आएको छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×