समावेशी समाज बनाउने काम अझै अपुरो छ

विहारीकृष्ण श्रेष्ठ

काठमाडौँ — मानवशास्त्री विहारीकृष्ण श्रेष्ठले डोरबहादुर विष्टको ९३ औं जन्मजयन्ती र ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ पुस्तकको नेपाली अनुवाद सार्वजनिक कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश :

ZenTravel

२०२७ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको टोली जुम्ला गएको थियो। सत्यमोहन जाशीले यस टोलीको नेतृत्व गर्नुभएको थियो। टोलीमा स्थिर जंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमाल र म थियौं।

Meroghar

सत्यमोहन जोशीको टोलीमा भाषाशास्त्री, भूगोलशास्त्री र संस्कृतिविद् त हुनुहुन्थ्यो। मानवशानस्त्री थिएनन्। मानवशास्त्री खोज्दै उहाँ डोरबहादुर विष्ट कहाँ पुग्नुभएछ ।डोरबहादुरले सत्यमोहन जोशीलाई गृह मन्त्रालय पठाइदिनुभयो। म त्यसबेला गृह मन्त्रालयमा काम गर्थें। भर्खरै अमेरिकाबाट एन्थ्रोपोलजी पढेर आएको थिएँ। मलाई लेखपढमा रुचि थियो। जोशीको पछि लागेर म पनि जुम्ला पुगेँ।

सामान्यतय मानवशास्त्रीको धर्म भनेको ३६५ दिन नै फिल्डमा बसेर एकवर्षको लाइफ साइकल पूरा हुनुपर्ने हो। तर, जुम्लाको बसाइँ २–३ महिनाको मात्र थियो।अमेरिका पढ्दाको सौद्धान्तिक ज्ञान र त्यसभन्दा अगाडिको मेरो फिल्ड अनुभव यसबेला काम लाग्यो। मैले आफ्नो अनुभव र अध्ययनका आधारमा २–३ महिनाको समयमा राम्रो रिपोर्ट तयार पारें । अहिले फर्केर हेर्दा त्यसबेलाको कामले सन्तोषजनक नै लाग्छ।

जुम्लाको दियार गाउँका ठकुरीहरुको अध्ययन गरेर हामीले कणार्लीको इतिहास, भूगोल, जनजीवन, साहित्य, संगीत–कला विषयमा छुट्टाछुट्टै पाँच पुस्तक तयार पार्‍यौं।

अमेरिकाको पढाइदेखि मानवशास्त्रीका रुपमा काम गर्दासम्म डोरबहादुर विष्टको सहयोग मलाई रह्यो।

म पछि नियमित सरकारी जागिरबाट राजीनामा दिएर विश्वविद्यालय पुगें । त्यतिबेला विश्वविद्यालयको अध्ययन केन्द्र ‘सिनास’का हाकिम डोरबहादुर विष्ट नै हनुहुन्थ्यो। उहाँले मलाई तुरुन्तै रिडरको कन्ट्रयाक्ट दिनुभयो।
सन् १९९१ ठिक ३० वर्ष अघि उहाँको पुस्तक ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ निस्केको थियो । उक्त किताब त्यसबेला निकै चर्चित भयो। नेपाली पाठकभन्दा बढी विदेशी पाठकमा पपुलर भयो। यसो हुनुको कारण छ। त्यसबेला उक्त पुस्तक पढ्दामलाई के लेख्या होला भनेर रिस उठेको थियो ।

अब विदेशीमाझ पपुलर हुनाको कारण खोतल्छु।

सन् १९९१ सम्म आइपुग्दा विदेशी डोनरका बथान थिए नेपालमा। डोनरले आ–आफ्नो खुसीले आ–आफ्नो काम गर्थे अर्थात काम गरेर पैसा खर्च गर्थे। काम होस्, न होस्, तर रिपोर्टमा राम्रो काम गरेको देखाउँथे।

विदेशी सहायता नेपालमा प्रभावकारी भएन भनेर सन् १९८३ तिर देवेन्द्रराज पाण्डेले ‘फरेन एड एन्ड डिभलप्मेन्ट’ विषयमा सेमिनार आयोजना गरेका थिए। मैले यही सेमिनारमा कुनैपनि शब्द नलुकाइकन डोनरहरुको तात्विक आलोचना गर्दै शोधपत्र प्रस्तुत गरेको थिएँ।
डोनरको चौतर्फी आलोचना भइरहेको समयमा डोरबहादुरको किताब निस्कियो। ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’।
यसमा के लेखिएको छ भने, नेपालमा विदशी सहायता प्रभावकारी नहुनुको कारण, नेपाली समाज विद्यमान भाग्यवादी चरित्र हो । भाग्यवादमा पैसाले केही फरक पर्दैन भन्ने उनको तर्क थियो। यसो भनेपछि विदेशी डोनरहरुको जागिर जोगियो। र, विदेशीमाझ पुस्तक चर्चित भयो।

मैले जागिरमा छँदा एकखालको समाज देखेँ। जागिरबाट बाहिर निस्केपछि अर्को। जागिरबाट बाहिर आएपछि मैले धुमधामले कन्सलटेन्सी पाएँ।
विडम्बना के भयो भने जब म जागिरमा थिएँ त्यसबेला गरेको अध्ययन सरकारको नीति बन्थ्यो। सन्तोष धुमधाम थियो तर पैसा थिएन । जागिर खोसिएर कन्सल्ट्यान्सीमा गइसकेपछि एकैचोटि चाङकाचाङ पैसा हुनथाल्यो। तर, चाङकाचाङ रिपोर्ट त्यसै कुहिए। सन्तोष तल झर्‍यो।

डोरबहादुरले पुस्तकमा उठाएको आफ्नो मान्छे, भाग्यवाद, बाहुनवादको मुद्दा आज पनि सान्दर्भीक छ। तर, पुस्तक पढ्दा उनको सबै तर्कसँग सहमत हुनुपर्छ भन्ने पनि छैन।उनको तर्कसँगसँगै मेरो अर्को पनि अनुभव छ जुन आज प्रस्तुत गर्दैछु।
जब म जुम्ला गएर अध्ययन गरें । मैले अर्को पक्षपनि सँगै देखेँ।२०२७ सालतिरसत्यमोहन जोशीसँग जुम्लाको अध्ययन गरिसकेको थिएँ । त्यसको ठीक बीस वर्षपछि म फेरि त्यही गाउँमा अध्ययन गर्न गएँ ।बीस वर्षपछि जुम्लाको दियार गाउँ पुग्दा पहिलेका धनी ठुकरीहरु झन्झन् धनी भइरहेको र पहिलेको गरिब परिवार झन् गरिब भइरहेको देखेँ।

दियार गाउँका बासिन्दाले धान खेतमा कुलो लगाएको तरिकाको अध्ययन मैले गरें । पानीको बाँडफाँड र व्यवस्थापन निकै मजबुत पाएँ।
पानीको व्यवस्थापन यसरी गरिएको थियो कि यहाँका ठालुहरुको केही नलाग्ने। राति कसैले आफ्नो पालोभन्दा अगडि पानी लगाए त्यो सहजै देखिन्थ्यो। यदि ठालुले पनि पालोभन्दा अगाडि पानी लगाए त्यो चोरी गरेको ठहर्थ्यो। पानी लगाइसकेपछिको आलो खेत गाउँका सबैले देखिहाल्थे।
यसरी कुलो व्यवस्थापनमा प्रयोग भएको गाउँलेहरुको समूहलाई ‘पिपुल्स कोर्ट’ भन्न मिल्छ। सबै ठूला सानो जातका खेतका मालिकहरु मिलेर कुलोको व्यवस्थापन गरिरहेका थिए। यसले के देखायो भने जुम्लाको समाजमा एकातिर शोषण छ अर्कोतिर समावेशी समाज।यही व्यवस्था र समावेशी चरित्रलाई मैले टिपेर उपोभक्ता समूहहरुको नीतिगत आधार बनाएँ । मेरो यही अध्ययन नै पञ्चायत सरकारको नीति बनेको हो।
यही नीति अन्तर्गत वन उपभोक्ता समूह र आमा समूह देशै भरी बनाइयो।
डोरबहादुरले भनेको जस्तो तहगत जातीय विभेद एकातिर छ। अर्कोतर्फ समावेशी चरित्रको व्यवस्थापन पनि समाज भित्रै भइरहेको छ।उनको अंग्रेजी संस्करण तीसवर्षपछि नेपालीमा आयो। सन् १९९१ मा हाम्रो मुलुक जुन अवस्थामा थियो। त्यही अवस्थामा अहिले छ जस्तो लाग्छ मलाई।

उदाहरणमा यो कुरा हेरौं। तंथ्याङ विभागले पछिल्लोपटक सन् २०११ मा ‘लिभिङ स्ट्याण्डर्ड सर्भे’ गरेको थियो। उक्त सर्भेको तथ्यांकले नेवार १०, बाहुन १०, जनजाति २८ र दलित ४२ प्रतिशत गरिबीको रेखामुनी देखाउँछ।

मैले गरेको कुलोको अध्ययनका आधारमा विकेन्द्रिकरणको नीति बन्यो। यसैको आधारमा वन उपभोक्ता र आमा समूहहरु बने। सन् १९८८ सम्म पहाडमा उजाड भएका वनहरुको अवस्था त्यसपछि गठन भएका वन उपभोक्ता समूहहरुले बदलिदिए। गाउँको वन गाउँलेको हातमा पुगेपछि संरक्षण हुन थाल्यो।

यसै उदाहरणलाई देखाएर मैले के भन्न थालेको छु भने वन बिगार्नलाई तीस वर्ष लगाइयो। तर, त्यसलाई फेरि हुर्काउन १० वर्षमात्र लाग्यो। सन् २००० को आसपासमा हाम्रो वन फर्किसकेको थियो। अहिलेपनि हामी वन व्यवस्थापनको मामिलामा संसारमै अगाडि छौं ।

त्यसपछि लगत्तै नेपालमा ५२ हजार आमा समूह बने। यस समूहले स्वास्थ स्वयंसेविकाको अवधारणामार्फत प्रत्यक घरको दैलोमा स्वास्थ्य सेवा पुर्‍याउन मदत गर्‍यो। फलस्वरुप सन् २०१५ सम्म आइपुग्दा मातृ मृत्यु दर र बाल मृत्यु दर निकै घट्यो।

यी दुई क्षेत्रमा राम्रो काम भयो। श्री ५ को सरकार र पञ्चायत व्यवस्थाको पालामा भएको नीतिले नै अहिलेपनि रिजल्ट दिइरहेको छ। हामीसँग उपभोक्ता र आमासमूहबाट पाएको अनुकुल अनुभव पनि छ। अर्थात विकासको संरचना समावेशी तरिकाले प्रयोग भए स्थितिमा सुधार ल्याउन सकिँदोरहेछ भन्ने पाठ यसले दिन्छ।

हामीले ३० वर्षदेखि लोकतान्त्रिक व्यवस्था भन्यौं। तर, लोकतन्त्र अनुरुप समाज चलिरहेको छैन। तहगत समाजिक विभेद र समावेशी समाजको परिकल्पनाका धेरै काम अझै अपुरो नै छ।

डोरबहादुरको किताब अनुवाद गरेर बजारमा अहिले आयो। स्थिति जस्ताको त्यस्तै छ।


प्रकाशित : माघ ६, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘साङ्लो’मा निकिताको परीक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — मिस नेपालको फिल्मी करिअर सुखद छैन । मलिना जोशी र सृष्टि श्रेष्ठ पछिल्ला उदाहरण हुन् । यही यथार्थबीच सन् २०१७ मा मिस नेपालको ताज पहिरिएकी निकिता चण्डकले अभिनय रोजिन् । तर पहिलो पाइलामै ठेस लाग्यो । ‘रानीमहल’मा अनुबन्ध भइन्, आधाआधी सुटिङ पनि सकियो, तर निर्माता र वितरकको लफडाले फिल्म अलपत्र पर्‍यो । अब यो फिल्म हलसम्म आइपुग्ने सम्भावना देखिन्न ।

निकिताले हरेस खाइनन् । विराज भट्टसँग काम गरिन, ‘साङलो’मा । विराजले नै निर्देशन गरेको फिल्म एक्सनप्रधान हुने भइहाल्यो । धन्न ! ट्रेलरमा निकितालाई पनि महत्व दिइएको देखिन्छ । तर प्रदर्शन मिति नजिकिँदै गर्दा अनेक संशय बढिरहेको छ । केहि समयदेखि नेपाली फिल्मको व्यापार सुख्खा छ । अर्कोतिर, कुनै जमानाका स्टार विराजको फिल्मलाई मल्टिप्लेक्स हलले पर्याप्त शो दिन पक्कै अन्कनाउनेछन् । त्यसमाथि फिल्मको ट्रेलर र गीतले अपेक्षाकृत चर्चा बटुलेको छैन ।

यस्तो बेला ‘साङलो’को व्यापार कस्तो होला ? रिलिजका हिसाबले पहिलो फिल्म हुने भएकाले पनि यसको व्यापारले निकिताको आगामी यात्रामा अर्थ राख्नेछ । यद्यपी प्रमोशनमा उनको सक्रियता भने प्रसंशीय छ ।

‘साङलो’ माघ २४ गते प्रदर्शन हुँदैछ ।

प्रकाशित : माघ ६, २०७६ १६:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×