मैथिली भाषाको मर्म

रामभरोस कापडि भ्रमर

अहिले नेपाल–भारत दुवैतर्फ मैथिली भाषाप्रतिको चिन्ता ह्वात्तै बढेको छ । भारतमा ‘मथिलाराज्य’ र ‘प्राथमिक शिक्षामा मैथिली’को लागि आन्दोलनहरू चर्किंदै गएका छन् । तर सबैभन्दा महत्त्वपूर्ण के छ भने ती आन्दोलनमा सहभागिताको संख्या र स्तर कस्तो छ– विचारणीय पक्ष हो ।

मैथिली भाषासँग अनुराग राख्ने, त्यसप्रति परम्परागत रूपमा एकाधिकारका दाबी गर्नेहरू मध्येका अभियानीहरू बढी हुन्छन् भन्ने रणनीति अन्तर्गत ती समूहमा समेटिएका केही ‘इतर वर्ग’का प्रतिनिधिहरू पनि हुन्छन् ।


भारतमा मैथिलीको संख्या करोडमा भए पनि तिनका लागि कुनै कार्यक्रम लागू नहुँदा अन्य जातका प्रबुद्ध, शिक्षित जनसमुदाय मैथिली भाषा, साहित्यतिर आकर्षित नहुने, यसका ‘मानक’ स्वरुपको सिकञ्जामा कसिएर छटपटिन पुग्ने बाध्यता भोग्ने अनेकौं प्रसंग हामीबीच छर्लंग छन् । दरभंगा महाराजको समय (लगभग डेढ सय वर्षपूर्व) देखि नै मैथिलीलाई राजदरबारको भाषाको रूपमा स्थापित गरेर तत्कालीन दरबारिया पण्डित, विद्वानहरू यसलाई जनसामान्यको ‘बोली’ भन्दा फरक उच्च वर्गले बोल्ने विशिष्ट भाषाको रूपमा प्रचलनमा ल्याउन सफल भएका थिए । र यसै मानकताको साम्राज्यमा मैथिली विकसित भएर यो ‘उच्च वर्ग’ भनिने केही जातको भाषा बन्न पुग्यो ।


मैथिली भाषी जमातले आफ्नै लवजमा बोल्ने र लेख्ने काम गर्दै आए । परिणामत: मैथिलीको नाममा सरकार र समुदायद्वारा उपलब्ध अवसरहरूमा उनीहरूको हालीमुहाली चल्यो । पद–प्रतिष्ठा प्राप्त गरे । पुरस्कार थापे । अन्य समुदाय झन्–झन् टाढा हुँदै गए । उनीहरूलाई मूलधारमा ल्याउने कुनै प्रयास गरिएन । यो उपेक्षामा अज्ञानताभन्दा रणनीतिक उपक्रम बढी देखिन्छ । एकाधिकारको सुख भोग्ने कामना । र त्यसै अनुरुप आजसम्म हुँदै आएको पनि छ ।


अहिले केही हदसम्म भावनात्मक परिवर्तन भएको बाहिरी गतिविधिबाट अनुमान गर्न सकिन्छ । त्यो अवस्था सबैलाई समेट्ने उदारभाव जागेर आएको मलाई लाग्दैन । परिस्थितिजन्य बाध्यात्मक अवस्था आएको जस्तो देखिन्छ । अचेल मञ्चमा दस जनामा एक/दुईजना इतर वर्गका प्रतिनिधिलाई पनि राखिहाल्ने परिपाटी चलेको छ । तर मञ्चको केन्द्रविन्दु उनीहरू नै हुने गर्छन् ।


सम्मान, पुरस्कार थाप्नेहरूका सालाना सूची हेरौं– दर्जनौंबीच कुनै एक/दुईजना इतर वर्गका स्रष्टा, अभियानी शौभाग्यशाली बन्न पुग्छन् । पद/प्रतिष्ठाको कुरा हो, यो अहिले पनि तिनै समूहका व्यक्तिहरूले हात पार्छन् ।


रुचि राख्ने, केही उच्च वर्गका मैथिली भाषा, साहित्य अभियानी मित्रहरूको प्रामाणिक कथन अनुसार ‘खास वर्गमा विशिष्ट प्रकारको संस्कारी जिन’ नभए पनि अनेकौं मैथिली भाषा, साहित्यमा अग्रपंक्तिमा उपस्थित भएका छन् र निरन्तर साधनारत छन् । तर यो उनीहरूको वैयक्तिक र संयोगले प्राप्त अवसरको प्रतिफल हो । सहज र स्वाभाविक प्रक्रियाबाट प्राप्त भएको अवसर भने पक्कै होइन ।


नेपाल क्षेत्रमा त्यस्तै अवस्था छ । नेपाली साहित्यका सबै सरकारी पुरस्कारहरू एकलौटी रूपमा थोकभाउमा एकपक्षीय वितरण हुन्छ भने अन्य भाषाभाषीबाट गरिने मातृभाषा वा राष्ट्रभाषा नेपालीको सेवालाई निरन्तर उपेक्षा गरिँंदै आइएको छ ।


यो आलेखको विषय मैथिली भाषाको वर्तमान अवस्थाप्रति केन्द्रित हुने रहेकोले म आज सबैथोकका एकला हकदार ठान्नेहरू समूहगत रूपमा मैथिलीलाई सबैको भाषा मान्न किन अगाडि सरे त ? यस विषयमा चर्चा गर्नेछु ।


नेपालको राष्ट्रिय जनगणना २०६८ ले नेपालका भाषामध्ये दोस्रो ठूलो भाषाको रूपमा मैथिली (११.६७) लाई राखेको छ । यो पहिलेदेखिकै निरन्तरता हो । बरु जनसंख्याको गणनामा केही संख्या बढे पनि प्रतिशतमा केही कम आएको देखिन्छ । यो प्रारम्भिक संकेत थियो, जसलाई मैथिलीका दाबेदारहरूले अनुभव गर्न सकेनन् ।


अब नयाँ जनगणना हुँदैछ । जुन गतिले मैथिली भाषीहरूले नै मैथिली भाषा अढाई प्रतिशतको मातृभाषा भएकोले हामीले बोल्ने भाषा मगही वा पश्चिमतिर बज्जिका हो भनेर अभियान नै सञ्चालन गर्दै आएका छन्, त्यसले मैथिलीका अभियन्ताहरूलाई घचघच्याउन थालेको छ । र अबको नारा ‘मैथिली सबै मिथिलाको साझा भाषा हो’ भन्न सक्नुपर्छ । मञ्चहरूमा सहकार्यको प्रवृत्ति र त्यसलाई सामाजिक सञ्जालहरूमा खुलेर प्रचार गर्नु यसै आवश्यकताको स्वीकारोक्ति पनि हो । तर पनि यसमा ठूलो पेच अझ पनि खुल्नसकेको छैन । र त्यो हो, भाषाको सर्वव्यापीकरणको लागि शब्दको सहजीकरण अर्थात ग्रामीण शब्दहरूको औपचारिक रूपमा शब्दकोशमा समावेश ।


मैथिलीलाई सबै समुदायको भाषाको रूपमा मान्यता दिन यसको परम्परागत व्याकरण र शब्दकोशमा व्यापक परिमार्जनको आवश्यकता छ । तर यस्तो गर्दा परम्परागत मानक स्वरुपको बखेडा सबैभन्दा ठूलो बाधक बन्न पुग्छ ।


आज यही मानकको बखेडालाई भाषाविज्ञहरू, भाषाप्रति रुचि राख्नेहरूको आवश्यक सहमतिको आधारमा परिवर्तन गर्नुपर्ने बाध्यात्मक परिस्थिति आइपरेको छ । मुखले जे बोलिन्छ, त्यही लेख्नुपर्छ भन्ने नाराकै भरमा भाषा, साहित्यको स्वरुप स्थिर हुन सक्दैन । त्यसका लागि न्यूनतम आधार, सिद्धान्त र स्वरुपको निर्धारण हुनैपर्छ । नत्र भाषा, साहित्यमा छाडातन्त्रको प्रवेशले यसको स्वरुपलाई अझ विकृत बनाउनेछ, आकर्षक होइन । हो, बोल्दाखेरी यथारूप मैथिली भनी स्वीकार गर्नुपर्छ । त्यसमा कुनै मापदण्ड राख्नु भाषाको क्षेत्र अनुसार स्वरुप बदलिने पूर्वको सिद्धान्तको पनि खिलाफ हुन जान्छ । मैथिली पढेका, विद्यावारिधि गरेका, पुस्तक लेखेका कसरी रातारात मगही भाषी भए ? यसका दुई पक्ष कारण छन् ।


१. परम्परादेखि मैथिली भाषाको लेख्य परम्परा र बोलिने भाषिक विशिष्ट शैलीबाट परिचित रहँदै आएका समाजका ठूलो वर्गले आफूलाई मैथिली भाषीभन्दा आफ्नो भाषा र परिवेश फरक भएकोले कालान्तरमा यत्रो वर्ष (लगभग डेढ सय वर्षभन्दा बढी) चुपचाप स्वीकार्दै आए पनि अब नयाँ पुस्ताको सोच र सत्यलाई अवगत गरी भाषाको स्वामित्वलाई ठाढै चुनौती दिनुको सट्टा आफ्नो कित्ता बेग्लै छ्ट्युाउने र मगही लगायतका भाषाको प्रवेश हुन थाल्यो ।


२. समुदायका इतर वर्गभित्र कुनै खास जात–जाति र तिनले बोल्ने विशिष्ट शैलीको भाषा (निश्चय मैथिली) कै कारण आफूलाई अलग–थलग मान्न विवश भइरहेका जनसमुदायलाई एउटा भाषाको नाम दिनुपर्ने ठूलो गृहकार्यपछि मगही भाषा ठम्याए र त्यसपछि मैथिली भाषीहरू ब्राह्मणेत्तर वर्गका केही युवा पिढी, जागरुक समाजसेवी, राजनीतिकर्मीहरू संगठित रूपमा मगहीको प्रचार–प्रसारमा लागे ।


पूर्वमा मैथिली भाषी भनिने २ नं. प्रदेशको सर्लाही पूरा र रौतहट आधा–आधीजति मानिँंदै आएकोमा ती भूभागमा आज बज्जिकाको वर्चस्व छ । त्यस्तै मैथिली भाषाको रूपमा रहेका महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लामा मगही भाषाको प्रचार बढी देखिन थालेको छ ।


नेपालको प्रारम्भिक र दुई दशक पहिलाको जनगणनामा यी दुई भाषाको अवस्था न्यून थियो भने २०६८ सालको जनगणनाले केही मात्रामा मगही देखाए पनि बज्जिकाको संख्या (७,९१,६४२ ) मा राम्रो बढोत्तरी भएको देखिन्छ । यदि यही अवस्था रह्यो भने अगामी जनगणनामा मगहीको संख्या ह्वातै बढ्ने पूर्वानुमान गर्न सकिन्छ । गंगाको दक्षिणी क्षेत्रमा बोलिने मगही मध्य मैथिली क्षेत्रमा कसरी छिर्‍यो ? प्रस्ट गर्नुपर्ने जिम्मेवारी भाषा वैज्ञानिकहरूको हैन र ? कुनै पनि भाषाको बढ्दै गएको अस्वाभाविक संख्याको पृष्ठभूमिप्रति चिन्तनशील हुनुको सट्टा अतिरञ्जित रूपमा विरोध गर्नुको कुनै अर्थ हुँदैन । सत्य केलाउनैपर्छ र त्यसपछि आउने समाधान निश्चय नै दीर्घकालीन हुनेछ ।


नेपालमा आजसम्म भाषा–वैज्ञानिक सर्भेक्षण गरिएको छैन । जनगणनामा गएका गणकहरू विज्ञ हुँदैनन् । उनले प्राप्त हलफनामालाई नै सामान्यत: अन्तिम ठान्छन् । एकै परिवारका थरीथरीका मातृभाषा लेखाउनेहरू पनि देखापर्न सक्छन् । त्यसैले जनगणना अघि भाषाप्रति गम्भीर छलफल र दिशानिर्देश दिनु आवश्यक छ । मैथिली क्षेत्रमा मात्रै होइन, पहाडी क्षेत्रमा पनि भाषा सम्बन्धी समस्या आउन सक्छ, त्यतातिर पनि समयमै ध्यान पुर्‍याउनसके त्यो विवादलाई न्यून गर्न मद्दत हुनेछ । जनगणनापछिको विश्लेषण बैठकहरूमा यसबारे गम्भीरतापूर्वक विमर्श हुनु जरुरी हुनेछ ।


समष्टिमा विचार गर्दा मैथिली भाषाको प्राचीन र समृद्ध स्वरुपलाई निरन्तर अग्रगामी बनाइराख्न यसमा व्याकरण र शब्दकोशको निर्माण नयाँ ढंगबाट गर्नुपर्छ । पाठ्य–पुस्तकको लेखन र सम्पादन त्यसै व्याकरण र शब्दकोशको आधारमा हुनुपर्छ । जसले गर्दा भाषाप्रति अपनत्व बढ्न सकोस् र भावनात्मक उद्वेगमा जसले पनि कुनै वर्ग विशेषको भाषा भनी मैथिलीको छुट्टै नामकरण गरी आफू अत्यन्त समृद्ध र बहुसंख्यक बोलिने भाषाबाट पृथक बस्न नयाँ भाषालाई मातृभाषाको रूपमा स्वीकार गर्न लागिपरेका छन्, तिनीहरूले पनि पुनर्विचार गर्न सकुन् ।


मैथिली भाषा आजको अवस्थासम्म आइपुग्न निकै दशकको कठिन दौडबाट गुज्रेको छ । यस्तै विकसित भाषाको अवस्थामा पुग्न अन्य नयाँ भाषाभाषीलाई कति दशक अझ संघर्ष गर्नुपर्ने हो, त्यो अहिल्यै भन्न सकिँदैन । प्रकाशित : माघ ४, २०७६ ०८:२२

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बमको भाषाशास्त्र

विमल निभा

बिगब्रटरको बम हान्ने शैली बडो मौलिक खालको रहेको छ । यसको युद्धक विमानले पहिले त कुनै पनि स्वतन्त्र मुलुकमा हठात् बम खसाल्छ । त्यसपछि ‘श्वेत भवन’ मा रहेका मिस्टर प्रेसिडेन्ट त्यसलाई आरामसँग अंग्रेजी भाषामा उल्था गरेर दुनियाँलाई सुनाउने गर्छन् । यही अहिलेसम्म चलिआएको सुपरपावर बिगब्रदरको बमको सम्पूर्ण भाषाशास्त्र हो ।

मेरो अंग्रेजी भाषा पर्याप्त कमजोर रहेको छ । तथापि मैले सुपरपावर बिग्रब्रदरको बमको भाषा बुझ्न थालेंँ कि के हो ! केही दिन अघि इरानी कमाण्डर कासिम सुलेमानी बमले इराकमा मारिंँदा म पनि घाइते भएको थिएँ । यसको अर्थ मिस्टर प्रेसिडेन्टको ठाडो आदेशमा मेरो टाउकोमाथि बम खसालिएको भन्ने पनि होइन । त्यो दिन म अचानक खुट्टा चिप्लिएर भर्‍याङबाट लडेको थिएँ । तर अहिलेको प्रधान सवाल मेरो एकथान घाइते टाउकोको होइन । वस्तुत: बहुचर्चित एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) को हो । झन्डै यही बेला हाम्रो विदेश मन्त्री कमरेड प्रदीप ज्ञवालीले अति उत्फुल्ल मुद्रामा घोषणा गरेका थिए– ‘एमसीसीको कुनै रणनीतिक प्रयोजन रहेको छैन ।’ त्यसो भए यसमा कुनै पनि किसिमका बम आदि समावेश रहेको छैन त कमरेड ? यो बहुतै खुसीको बात भयो । तर एमसीसीसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्धित बिगब्रदरको बोलीको टोन त अर्कै रहेको छ नि ! यही सिलसिलामा उसको एम्बेसीको प्रवक्ताले के स्पष्ट गरे भने एमसीसी इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नै हो । अब हामीले कसको भनाइलाई मान्ने ? मेरो विचारमा त आफ्नै मुलुकका विदेश मन्त्रीको कुरा मान्नु बढियो हुन्छ ।

कुनै विदेशी दूतावासका पराई मानिसको कुरा किन मान्ने ? हेर्नोस्, एक प्रकारले पुँजीवादी मुलुकका व्यक्तिसँग एक समाजवादी मुलुकका मन्त्रीको कुरा नमिल्नु बेसै हो । म त पुरै विदेशमन्त्री कमरेड ज्ञवालीको साथमा छु । तर स्वयम् एमसीसी बाहकले नै अघि बढेर एमसीसीलाई रणनीतिक अंग भनिरहेको सन्दर्भमा मनमा थोरै शंका त अवश्य उत्पन्न हुन्छ– कतै हाम्रा विदेशमन्त्री साँच्चिकै विदेशमन्त्री त होइनन् ? मेरो मतलव कुनै विदेशको नै मन्त्री भनेर नठानियोस् । वास्तवमा प्रदीप ज्ञवाली कमरेड स्वदेशकै विदेशमन्त्री हुन् । मेरो कुरामा पत्यार नलागे सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीसँग डाइरेक्ट सोधे हुन्छ । एक छिनपछि मेरो मनमा एउटा अर्को शंका उत्पन्न हुन्छ– यो सोधाइले पनि के हुन्छ र ? हाम्रा प्रधानमन्त्री कमरेड ओली कुनै एमसीसी विरोधी त पक्कै होइनन् । उनी त खाँट्टी एमसीसीप्रेमी हुन् । त्यसकारण बेला–मौकामा निर्धक्कसँग मुलुकमा एमसीसी नल्याई छाड्दिन भनिरहेकै छन् । यसले मेरो मनमा फेरि पनि शंका उत्पन्न भएको छ– कतै हामी एमसीसीको असीम कृपाले बम आदिको रेन्जमा त आउन लागेका छैनौं ?

सुपरपावर बिगब्रदरको इतिहास भनेकै अविच्छिन्न रूपमा बमकै इतिहास हो । र आजसम्मको विश्व इतिहासमा एकमात्र यसलाई नै परमाणु बम पड्काएर जापानका लाखौंलाख नरनारी र ससाना बालक/बालिका निर्दोष ज्यान हरण गर्ने गौरव प्राप्त छ । तर भियतनामको युद्धमा भने बिगब्रदरको बम त्यति कामलाग्ने भएन । त्यस युद्धमा धेरै भियतनामीहरूले बमबाट मृत्युवरण गर्नुपरेको थियो । र अन्तत: भियतनामी नेता कमरेड हो चि मिन्हको नेतृत्वमा भियतनामका जनताहरूले बिगब्रदरको बमबाट मर्न ठाडै इनकार गरेका थिए । त्यसैले आफ्ना सबै बम बोकेर सुपरपावर बिगब्रदर त्यहाँबाट लुरुलुरु फर्कन बाध्य भएको थियो । र हाल भियतनाममा काम नलागेका तमाम् बमलाई अन्य मुलुकमा काममा लगाइएको छ । तर उसको बम वर्षाउने टेक्निक भने केही परिवर्तित भएको देखिन्छ । हो, अफगानिस्तानको युद्धदेखि बिगब्रदरले बम सँगसँगै राहतको पकेट पनि युद्धक विमानबाट खसाउन थालेको छ । यसको परिणामस्वरुप अफगानिस्तान, सिरिया, इराक, लिबिया आदि मुलुकका जनताले पकेटमा भएको राहतको केक आदि टन्न खाएर आरामसँग बमबाट गर्ने सुविधा पाएको छ ।

अन्त्यमा,
नेपाली जनताहरू हो, अपार आनन्दको कुरो के हो भने सुपरपावरको एमसीसीबाट अग्रिम राहतस्वरुप लगभग पचपन्न अर्ब डलरको प्राप्ति हुने भएको छ । त्यसउसले सम्माननीय प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली ब्रान्डेट ‘कम्युनिस्ट राज्य’ मा हामी बिगब्रदरको एमसीसी जनित बम–समले मृत्युन्मुख अर्थात् मर्ने नै भए पनि सित्तैमा चाहिँ पर्ने छैनौं है !

प्रकाशित : माघ ४, २०७६ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×