कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी कि छोरा ?

डा. अजय रिसाल

‘छोरी कि ‘छोरा’ ? एक महिनायता आत्मीयजन, बन्धुबान्धव, छरछिमेक अनि साथीसंगीका यही प्रश्नको उत्तर दिने क्रम चलिरहेछ, मेरो जीवनमा । बाटाघाटा, प्रत्यक्ष भेटघाट, फोन, मेसेन्जर, भाइवर, इ–मेलमा .........।

छोरी कि छोरा ?

हुन त यो प्रश्न मेरी श्रीमतीको गर्भ रहेको थाहा भएदेखिकै हो । गर्भवतीको नियमित स्वास्थ्य जाँचका लागि अल्ट्रासाउन्ड (प्रचलित भाषामा भिडियो एक्सरे) महत्त्वपूर्ण हो । गर्भावस्थाकी महिलाको शारीरिक अवस्थामात्र नभई गर्भभित्र हुर्किरहेको भ्रूण वा शिशुको अवस्था जान्न पनि गर्भावस्थामा कम्तीमा तीनपटक यो परीक्षण अपरिहार्य नै हुन्छ । हाम्रो जनमानसमा भिडियो एक्सरे भनेको बच्चाको लिंग पहिचानका लागिमात्रै हो भन्ने भ्रम कायमै रहँदा, अझ ‘यो डाक्टरले त त्यो थाहा नपाई कसरी बस्यो होला र ?’ भन्ने सामान्य चेतनाका कारण पनि मानिसहरू मलाई सोध्ने गर्थे, ‘यसपालि छोरी छ कि छोरा ?’ पहिलो सन्तानको बेलामा पनि यस्तै प्रश्नहरूले घेरिने गर्थें म आजभन्दा करिब ७ वर्षअघि । पहिलो सन्तान ‘छोरी’ भएपछि त झन् अब त एउटा ‘छोरो’ नै चाहिन्छ भनेर सल्लाह दिनेहरूको पनि कमी थिएन, कमी हुँदैन पनि हाम्रोजस्तो समाजमा ।


वास्तवमा अल्ट्रासाउन्डबाट लिंग पहिचान मेरो चासोको विषय कहिल्यै रहेन, पहिलो बच्चाको पालामा पनि र यसपालि पनि । आफ्नै पारिवारिक इतिहासका कारणले पनि हुनसक्छ या अरु कुनै कारणले पनि होला, छोरा हुने हो कि छोरी भन्ने कौतुहल कहिल्यै पनि भएन । न त वर्ष पहिले, न अहिले नै । साथीहरू नै रेडियोलोजिस्ट रहेका अनि तिनले यसको छनक दिने प्रयास गरेका भए पनि त्यसमा गहिरो चासो भने कहिल्यै लिइएन । अझ एउटा ‘छोरो’ त चाहिन्छ नै’ भनेर अल्ट्रासाउन्डलाई त्यसको हतियार बनाउने अपराध–चिन्तन त हामी दुवैको मानसपटलमा कहिल्यै रहेन, रहन पनि हुँदैन ।


यी प्रश्नहरूले हामी दुई बुढाबुढी मात्र प्रताडित भएका भने होइनौं । हाम्री ६ वर्षे छोरीलाई समेत ‘तिम्रो मामुको पेटमा भाइ छ कि बहिनी ?’ भनेर प्रश्न तेर्स्याउने पनि धेरै थिए । अझ उसको मामु अस्पतालबाट घर आएपछि त बाटामा भेटिएका उसलाई चिन्ने छिमेकी अनि साथीसंगीहरूले धरि ‘भाइ आयो कि बहिनी ?’ भनेर कति दिन त हैरानै पारेका थिए । पछिपछि त विरक्तिएर जे भए पनि के भयो र ? मलाई त बहिनी नै मनपर्छ.. भन्न थालेकी थिई, मेरी सानी छोरी ।


माथि उल्लेखित प्रश्नमा ‘छोरी जन्मिई’ भन्ने उत्तर पाउँदा प्रौढावस्थाका महिलाहरू (आमा समूह) ले अलिकति नराम्रो मानेको अनुभव भयो । कसैले भने ‘ए ! भन्दै लामो सुस्केरा हालेको, अरु कसैले चाहिँ ठिक्कै भयो नि ! अर्की महालक्ष्मी आई घरमा...भनेर प्रतिक्रिया दिएको पाइयो । कोही भने मुखै फोरेर ‘अब त छोरो भइदिएको भए पनि हुने ....’, ‘फेरि दु:ख पाउनुपर्ने भयो...’ भन्ने पनि निस्किए । सबै आत्मीयजनले हामीप्रतिको स्नेहकै कारण त्यसो भनेका हुन् भन्ने कुरामा अन्यथा किमार्थ छैन । तर ‘छोरीहरू मात्रको मातापिता’ हुँदैमा त्यसरी पीरै मान्नुपर्ने, चिन्तै गर्नुपर्ने, माया नै पोखिनुपर्ने अचेतना (अन्धविश्वास नै त नभनौं) ले भने अझै पनि हाम्रो समाजलाई गाँजिरहेको यथार्थ भने यस्तै प्रसंगहरूले छर्लंग्याउँछ । अझ त्यस्तो पीर, चिन्ता, अप्ठ्यारोपन पुरुष वर्गमा भन्दा महिलावर्ग (मातृसमूह) मा ज्यादा झल्किएको पाउँदा भने साह्रै नमज्जा लाग्छ मलाई । यस्तो अनुभव हामीजस्ता अन्य छोरीमात्रका मातापिताहरूले पनि व्यक्त गरेका छन् ।


हाम्रो समाज आधुनिकता (?) तिर लम्किरहेछ । पुराना सोच अझ धार्मिक–सांस्कृतिक पक्षलाई रुढीवाद–अन्धविश्वासको बिल्ला ओडाइदिन पछि नपर्ने हामी आधुनिक कहलिएका अनि शिक्षित नै भएका वर्गसमेत अझै पनि ‘छोरो’कै आवश्यकताको पैरवी गरिरहेको देख्दा अचम्मित नै हुन्छु, म कहिलेकाहीं त । ‘एउटा छोरो त चाहिन्छ नै’ भन्ने भ्रम कसैगरी फालिनसकेको रहेनछ, हाम्रो समाजबाट ।


‘छोरो नभएमा मरेपछि पिण्डपानी पाइँदैन’ भन्ने कथन कति वास्तविक रहन सक्ला यो समाजमा अहिले ? ‘छोरैछोरा’ नै भएर पनि पिण्डपानी नपाएका पितृहरू समाजमा छैनन् र ? अनि ‘छोरी’ मात्र हुँदा पनि सबै किरियाकर्म गर्ने चलन चलिसकेको होइन र आजको समाजमा ? यी त भए मरेपछिका कुरा । ‘मरेपछि डुमै राजा’ भनेर यी कुरालाई अहिलेलाई छाडिदिए पनि भो ।


तर ज्युँदैमा पनि छोरैछोरा भएका बाबुआमाहरूसमेत कोही रुँदै वृद्धाश्रममा बसेका अनि कोही भने सबै परिवार त्यागेर देवघाट पुगेका समाचार दैनन्दिन भइरहेका छैनन् र अचेल ? सबै ‘छोरा’ विदेशमा पुगेर औषधिपानी गर्नका लागि ‘छोरी’ अनि ‘छिमेकी’ गुहार्नुपर्ने अवस्था पनि विद्यमान छ, धेरै घरहरूमा आजकाल । अत: भविष्यका लागि अनि मरेपछिका लागि भनेर ‘छोरो’ नै चाहिन्छ भन्ने चिन्तन त्याग्नु अपरिहार्य नै भइसकेको छ । अनि परिवार एवं समाज चलाउनका लागि ‘छोरो’ या ‘छोरी’ नभनी ‘असल सन्तान’को कामना गर्नुपर्ने समय हो यो ।


अझ छलफलका क्रममा तिहारको भाइटीकाका लागिमात्र भए पनि एउटा छोरो त चाहिन्छ नै भन्ने विचार पनि आउँछ, यदाकदा । के हाम्रो समाजमा दाजुभाइ भएका दिदीबहिनीहरूको पनि निधार खाली भएको दृष्टान्तहरू छैनन् र ? एउटा भाइ जन्मिए पनि ऊ दिदीबहिनीहरूसँग टीका लगाउनकै लागि विदेशै (या कतै पनि) नगई परिवारमै बस्ला भन्ने कामना गर्न सकिने समय या अवस्था छ र अहिले ?


यी सबै भ्रम अनि नचाहिँंदा तर्कले नारीवादीहरूले भन्ने गरेझैं ‘पितृसत्ता’को अवशेष अझै पनि समाजमा जोगाइरहने बाहेक अरु केही पनि गर्दैनन् । तर विडम्बना ! यसमा पुरुषहरूभन्दा नारीहरूकै हात बढी हुने गर्छ ।


हाम्रो धर्मसंस्कृतिलाई पितृसत्तावादी भन्नेहरूलाई अझै पनि चुनौती दिन चाहन्छु म । वैदिककालदेखि नै आमाहरूले नै सञ्चालन गर्ने गरेको हाम्रो घरपरिवार कदापि पितृसत्तात्मक थिएन । दुर्गा, कालरात्रि, लक्ष्मी, सरस्वतीलाई पुज्ने हाम्रो संस्कृति कहिल्यै नारीहरूको विरोधमा छैन । जानकी, गार्गी, मैत्रेयी, याज्ञसेनीहरू जन्माउने हाम्रो समाज सधैं नारीपूजक नै थियो र छ पनि । दसैंमा पुज्न कन्या नै खोज्नुपर्ने हाम्रो संस्कृतिमा छोरा त नभई हुन्न भन्ने चिन्तन कहाँबाट आएको होला ? अनि कसरी चिरस्थायी रहनसकेको होला, यो अन्धविश्वास ?


दुई छोरीको पिताको क्लबमा आबद्ध भएपछि एक महिना यताका मेरा निजी चिन्तन यिनै शब्दहरूमार्फत पोखेर अहिलेलाई भने पूर्णविराम लगाउन चाहन्छु ।


रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : पुस ५, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?