कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थायी सत्तालाई सम्झाइबुझाइ गरेर मात्रै परिवर्तन सम्भव छैन

सीके लाल

के स्थायी सत्तालाई सम्झाइबुझाइ गरेर परिवर्तन सम्भव छ ? एक शब्दमा भन्ने हो भने ‘छैन’ । दुई वाक्य यसमा थप्ने हो भने सम्झाइबुझाइसहित दबाब दिने पनि क्षमता छ भने सम्झाइबुझाइले गर्छ । नत्र भने सम्झाइबुझाइले काम गर्दैन । 

स्थायी सत्तालाई सम्झाइबुझाइ गरेर मात्रै परिवर्तन सम्भव छैन

यो दुइटै काम कसरी गर्ने ?

पहिले सम्झाइबुझाइकै कुरा गरौँ । सम्झाइबुझाइका माध्यमहरुमा एउटा यस्तै बसेर कुराकानी गर्ने हो । तर्क गर्ने माध्यम पनि छ । तर्कसहितको बहस गरौँ । दलितको प्रतिनिधित्व गर्दै कुनैबेला हिरालाल विश्वकर्मा आउँथे । अहिले पनि त्यस्तै आउँछन् । जनजातिको प्रतिनिधित्व गरेर धादिङका बुद्धिमान तामाङ आउँथे अहिले पनि त्यस्तै खोजिन्छन् ।

अहिले पनि मधेसीको प्रतिनिधित्व गर्ने बेलामा बेदानन्द झा, भोला झा, डम्बरनारायण यादवजस्तै मान्छे खोजिन्छन् । थारुको प्रतिनिधित्वका लागि अहिले पनि फत्तेसिंह थारु अथवा परसुनारायण चौधरी जस्ताहरु व्यक्ति खोजिन्छ । आफ्नो कुरा तिनको मुखबाट भन्न लगाउने प्रतिनिधि भएपछि तिनले कस्तो तर्क र बहस गर्लान् ? प्रतिनिधिमार्फत् बहस गराउन नसकिने भयो । अहिले ‘नेकपा दोहोरो’मा पनि आदावासी जनजातिहरु होलान्, थारुहरु होलान् ।


अनि त्यत्रो बहुमतले निर्वाचित जनप्रनिधि रेशम चौधरीलाई अस्पतालमा पनि नेल हालेर राख्नुपर्छ ? त्यो पनि अस्पतालमै ? यो त देखाएको हो नि तिम्रो ठाउँ यो हो भनेर । पहिलो त जेल हाल्नु नै गलत थियो । अदालतले के आधारमा सजाए दियो ? त्यो पनि विचारणीय छ । यो गरेको हो भने के गरे त ? अनि बहस गर्नेहरु कहाँ गए ?

अहिले तर्कको माध्यमबाट सम्झाइबुझाइ गर्न कठिन हुने भयो । बहस गर्ने हराए । तर्कपछि दोस्रो माध्यम हो– अभिव्यक्ति । अभिव्यक्तिको माध्यम ‘टेक्स्चुअल’ अर्थात् पाठ्यमाध्यम, लेख्यमाध्यम हुन्छ । अर्को ‘नन टेक्स्चुअल’ अर्थात् पाठ्यइतरका माध्यमहरु, मूर्तिकला, चित्रकला, गीत संगीत, नृत्यलगायत हुन् ।

पहिले लेख्यमाध्यमको कुरा गरौँ, लेख्य माध्यममा तथ्य चाहिन्छ । तथ्यको उत्पादन कसले गर्छ ? तथ्यको उत्पादन सत्ताले गर्छ । थारुको बारेका पुस्तक लेख्ने को हो ? ‘रेफरेन्स मटेरियल’ कसले बनाएका वा लेखिदिएका छन् ? प्रज्ञा प्रतिष्ठानको शब्दकोश अहिले पनि म सँग छ । जसमा थारुलाई जङगलमा विचरण गर्ने असभ्य जात भनेर लेखेको छ ।

त्यो हेर्दाखेरि म त छक्क परेको थिएँ । किनभने म महोत्तरीको मान्छे, हाम्रोतिर थारुको अर्थ धनीमानी हुन्थ्यो । बछार, गच्छेदार, ताबेदार, पञ्जियारहरु राणाहरुसँग जोडिएका हुन्थे । पञ्जियारले कसको जग्गा कति भनेर लागत रेकर्ड राख्थे । ताबेदार राजा सिकार खेल्न जाँदा सँगै बस्ने मान्छे । गच्छेदार भनेको तिनका लागि खानपिनको व्यवस्था गरिदिने मानिस । त्यस्ता मान्छेहरुलाई के भन्छ यो शब्दकोशले ?

शब्दकोश बनाउने मान्छे मजस्तै महोत्तरीको पढालेखेको भए पनि मधेसी त होइन । शब्दकोश त नेपालीको हो । मैथिली शब्दकोश भए मैले कहीँकतै लेख्ने थिइनँ यस्तो कुरा ।

अध्येतामा पनि समस्या छ

म थारु साथीहरुले लेखेको लेखहरु पढिरहेको हुन्छु । लेखका रेफरेन्स हेर्छु । सबैमा बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवालीलाई नै ‘कोट’ गरिएको हुन्छ । रेफरेन्स हेर्नेबित्तिकै मलाई पढ्न मन लाग्दैन ।

तिनलाई रेफरेन्स बनाएर कुनै थारु विद्वानले लेख्नुभएको छ भने उहाँले के लेख्नुभएको हो भन्ने नपढिकन म अन्दाज गर्नसक्छु । यसमा तत्कालीन एमाले, माओवादी, नेपाली कांग्रेस र दरबारको अथावा पुँजीपतिको वा आधुनिकताको प्रचार होला । त्योभन्दा बढी केही हुँदैन ।

त्यसैले सीमान्तकृत, बहिष्कृतहरुको कुरा कविता, नाटक, कथाहरुमा लेखिनुपर्छ । जहाँ तिनको कुरा बलियोसँग आउँछ ।

दलितका बारेमा पचासौँ किताब लेखिए । तर, श्रवण मुकारुङको एउटै कविता ‘बिसे नगर्चीको बयान’ ले थुप्रै किताबले बुझाउन नसकेका कुरा बुझायो ।

त्यसैले बहिष्कृत, सीमान्तकृतको कुरा लेख्यमाध्यममा भावनात्मक रुपमा आउनुपर्छ । बहसका लागि विद्वतमाध्यम पनि तयार पार्नुपर्छ । तथ्यमा आधारित पनि हुनुपर्छ । तर तथ्यहरु रेफरेन्सहरुबाट होइन फिल्ड रिर्सचबाट आउनुपर्छ ।

टीकापुरको घटनालाई नै हेरौँ न । २० वर्षपछि कसैले रिसर्च गर्यो भने रेशम चौधरीलाई जेलमात्रै हालेछन् भन्ने कुरा मात्रै थाहा पाउँछन् । सबै अखबारमा त्यही त छ । रिसर्च गर्नेहरुले त त्यही फेला पार्ने हुन् । तर, टीकापुरका मान्छेले के भन्थे भन्ने कुरा फेला पर्दैन ।

तथ्यगत कुरालाई लेख्य सामग्रीमा प्रस्तुत गर्ने हो भने सोझै फिल्डमा जाने हो । प्रकाशित पुस्तक, अखबारहरुमा होइन । लेखिएको तथ्य वा सन्दर्भ सामग्रीभन्दा पनि सन्दर्भ व्यक्तिमा आधारित भावनात्मक प्रक्रियाहरु लेख्यमा ल्याउनुपर्यो ।

अब गैरलेख्य सामग्रीको कुरा गरौँ, नेपालमा जनजातिहरु विशेष लुगा लगाएर टुँडिखेलमा परेड खेल्छन् । सस्तोमा रक्सी वा घुँगी ख्वाउने जस्तो देखिन्छ । आदिवासी जनजाति वा सीमान्तकृत समुदाय नेपालमा सजाउने बस्तु बनाइएको छ । म्युजियममा राख्ने सामग्री जस्तो । सत्तालाई यो कुरा राम्रो लाग्ने रहेछ । चुनौती दिने खालको गफ गर्ने मञ्च नबनून्, पार्टी तिनले नखोलून् भन्ने सत्ता चाहन्छ । म्युजियम खोल्ने हो भने सत्ता पैसा दिन पनि तयार छ । सजावटको वा म्युजियमको बस्तु बन्ने प्रवृत्तिबाट सबै निस्कनुपर्छ । गैरलेख्य सामाग्री शक्तिशाली अभिव्यक्तिको माध्यम हो । तर, टुँडिखेलको परेड होइन ।

यो पनि पढ्नुहाेस्

थारु इतिहासको नालीबेली ‘मासिन्या दस्तुर’

'जसलाई दुखेको हो उसैले नबोली परिवर्तन हुँदैन'

थारु महिलालाई सौन्दर्य प्याकेजको रुपमा मात्रै हेरिन्छ

कलाकार लवकान्त चौधरीको सिर्जना याे सन्दर्भमा ‘पावरफुल’ गैरलेख्य सामाग्री हो । डीडीटीको इम्बोस इफेक्ट बनाएको हेर्नुहोस् न यहाँ ग्यालरीमा । म डीडीटीलाई ‘डिजाइन्ड डेसिमेसन अफ थारु’ अर्थात् ‘योजनाबद्ध रुपमा थारुको आमहत्या’ भन्ने गर्थे ।

समस्या यस्तो छ । त्यसका लागि रेफरेन्स खोज्न जानुभयो भने पहिले यहाँ चारकोसे झाडी थियो, अहिले खाली भयो भन्नेमात्र भेटिन्छ । कुन किसिमको संस्कृति, सभ्यता र बस्ती थियो भनेर कुनै पनि टेक्स्ट बुक वा रेफरेन्स मटेरियलमा फेला पर्दैन । यसलाई चित्रकला माध्यमबाट ल्याउन सकिन्छ ।

नारा नलगाइकन परिर्वतन हुँदैन । तर्क गर्ने, तथ्य बटुल्ने, विद्वता निर्माण गर्ने, लेख्य सामग्री उत्पादन गर्ने मानिस पनि चाहियो । र, गैरलेख्य सामग्रीको पनि उत्पादन पनि हुनुपर्‍यो ।

क्रान्ति गर्नु भनेको त एउटा वैकल्पिक जीवन शैलीको परिकल्पना हो । एउटा वैकल्पिक राज्यसत्ता मात्र होइन, वैकल्पिक सभ्यताको कुरा गर्ने हो । वैकल्पिक न्याय प्रणालीको परिकल्पना गर्ने हो । त्यसैले सबै क्षेत्रबाट उत्तिकै रचनात्मकताको अपेक्षा हुन्छ ।


(काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको कलाकार लवकान्त चौधरीको कला प्रदर्शनी ‘मासिन्या दस्तुर’ मा लेखक तथा स्तम्भकार सीके लालको मन्तव्यको अंश)

प्रकाशित : पुस १९, २०७६ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?