पठन संस्कृतिका बाधकहरू - विविधा - कान्तिपुर समाचार

पठन संस्कृतिका बाधकहरू 

हरिहर तिमिल्सिना

विद्यालयहरू शिक्षा, संस्कृति र सभ्यताको जग निर्माण गर्ने थलो हुन् । विद्यार्थीलाई नम्बर दिएर पास/फेलको ठप्पा (ट्याग) लगाउने आधिकारिक संस्थामात्रै होइनन् । दुर्भाग्यको कुरा के छ भने धेरै विद्यालय र शिक्षकले पास/फेलको अङ्कगणित भन्दा परको कुरा सोच्नै चाहेको देखिएन । तोकिएको पाठ्य–पुस्तकका पाना–पानामा के के छन्, गायत्री मन्त्र जसरी घोक्नु/घोकाउनु र परीक्षामा जप गरेर राम्रो अङ्क ल्याउनुलाई नै सफलताको एकमात्र सूत्र मान्नेहरू धेरै छन् ।

पठन संस्कृतिको विकासले या भनौं विद्यार्थीलाई पाठ्य–पुस्तक बाहेकका अन्य पुस्तक अध्ययन गर्न दिनाले हुने फाइदाबारे विद्यालय र शिक्षकहरू बेखबर छैनन् । तर यसतर्फ तिनीहरूको उदेकलाग्दो उदासीनता देखिन्छ । पठन संस्कृतिमा बाधा पुर्‍याउने विभिन्न तत्त्वहरू घर–घरमा व्याप्त छन् । आमा चिन्नुभन्दा अगाडि नै मोबाइल चिन्न थालेका आजका बच्चाबच्चीको पठन संस्कृतिमा असर पुर्‍याउने खतरनाक बाधाहरू के–के हुन् त ?


शिक्षक : पठन संस्कृतिबारे छलफल गर्ने सन्दर्भमा भेटिएका कतिपय शिक्षकका कुरा सुन्दा छक्क परिन्छ । उहाँहरूका भनाइ हुन्छन् : मैले त आफ्ना पाठ्य–पुस्तक बाहेकका अरु किताब पढेकै छैन । नभएको समय खर्च गरी–गरी किन अरु किताब पढ्नु ? कतियप शिक्षकले त पाठ्य–पुस्तक बाहिरका किताब पढ्दा विद्यार्थी बिग्रन्छन् भन्ने कु–विचार बोकेको पनि पाइयो । शिक्षकले नपढ्नु जस्तो घातक शिक्षा क्षेत्रमा अरु कुनै छैन । त्योभन्दा पनि घातकचाहिँ विद्यार्थीलाई पढ्न उत्साहित नगर्नु हो । सरकारले वर्षेनि शिक्षक तालिममा खर्च गरेको ५० करोड रुपैयाँ तबसम्म लगानी बन्न सक्दैन, जबसम्म तिनले पठन संस्कृतिको विकास गर्दैनन् । एउटा शिक्षकले सके वर्षमा २०, नसके कम्तीमा महिनामा एउटा राम्रो किताबमात्रै पढ्ने हो भने उसलाई तालिमको खासै आवश्यकता पर्दैन ।


विद्यालय : सहरी क्षेत्रका कतिपय विद्यालयले पठन संस्कृतिका लागि कक्षाकोठाभित्र किताबी कुना/बुक कर्नर स्थापना, जन्मदिनमा पुस्तक उपहार अभियान, पुस्तक समीक्षा, लेखकसित साक्षात्कार, रिडिङ क्लब स्थापना, पठन अनुभव साटासाट, पुस्तकका लागि चन्दा सङ्कलन तथा ग्रामीण स्थानका विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । तर हाम्रो वर्तमान सन्दर्भमा पठन संस्कृतिको बाधकका रूपमा विद्यालय पनि देखापर्न थालेका छन् । कतिपय विद्यालयका प्रशासक नै पठन संस्कृतिले विद्यार्थीमा ल्याउने चामत्कारिक सुधारप्रति ध्यान दिँदैनन् । कतिपयलाई अतिरिक्त पाठ्य–पुस्तकको अध्ययनले नेपाली र अङ्ग्रेजी भाषालाई मात्र सहयोग गर्ने हो भन्ने भ्रम रहेछ । कथा, कविता, जीवनी, विज्ञान, संस्कृति, भूगोल, इतिहासका पुस्तक अध्ययनले विद्यार्थीहरूमा व्यवहार कुशल सीप, तर्क गर्ने क्षमता विकास र सिर्जनशीलता अभिवृद्धि हुन्छ भन्ने तथ्यलाई तिनले बेवास्ता गरिरहेका छन् । एक अध्ययन अनुसार धेरै पुस्तक पढ्ने बालबालिकामा आपराधिक मानसिकताको विकास हुन पाउँदैन । बालबालिकालाई असल बाटोमा लगाउने पहिलो साथी नै राम्रो पुस्तक हो ।


अभिभावक : अभिभावकहरू आफ्ना सन्तानलाई महँगो मोबाइल, लुगा, जुत्ता, घडी, खेलौना किन्दिन तयार हुन्छन्, तर पुस्तक किन्दिन तयार हुँदैनन् । विद्यालयले पुस्तक किनाएर पठायो भने अतिरिक्त आर्थिक बोझ थोपरिदिएको भनेर गनगन गर्छन् । जाँचमा नआउने कुरा किन पढ्नु भन्ने मान्यता धेरैले बोकेका हुन्छन् । हो, सबै किताब राम्रा हुँदैनन् । सबै खानेकुरा पनि राम्रा हुँदैनन् । मानिसको दिमागलाई आवश्यक पर्ने खुराकचाहिँ राम्रा किताबले परिपूर्ति गर्छन् । यस्ता पुस्तक सम्पत्ति र घरका गहना पनि हुन् । चौबिसै घन्टा मोबाइल र ग्याजेटमा टाँसिन खोज्ने बालबालिकाको हातमा किताब थमाउने कोसिस गर्दा कल्याण हुन्छ । हालसालै सार्वजनिक एक तथ्याङ्कले भन्छ– ग्याजेट प्रयोगकर्ताको सूचीमा नेपाल विश्वको सातौं स्थानमा छ । यसले हामीलाई कता लाँदैछ ?


समाज : विदाका बेला बालबालिकालाई सकेसम्म राम्रा किताब किन्ने वातावरणका मिलाइदिनु सबैको कर्तव्य हो । यसमा विद्यालय, घरपरिवार र समाजको उत्तिकै भूमिका रहन्छ । बालपुस्तक बिक्री गरेर विदेशी प्रकाशनले नेपालबाट अर्बौं रुपैयाँ लाने गरेका छन् । गुणस्तरीय पुस्तकहरू मुलुकभित्र छापिएमा जति पनि बिक्री हुन्छन् । गुणस्तरीय पुस्तक प्रकाशन गर्ने काम व्यापार मात्रै नभएर मुलुकको सेवा पनि हो । नेपालमा लगभग ४० लाख विद्यार्थी छन् । तिनलाई अतिरिक्त पठनमा तान्न सकियो भने सबैको कल्याण हुनेछ । भौतिक संरचनाको विकाससँगै पठन संस्कृतिको पनि विकास गर्नुपर्छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

कानुन, जनता र बीपी

अभि सुवेदी

शिर ठाडो राख्नु मानिसको सबैभन्दा ठूलो कर्म हो, अनि उसको पहिचान हो । मानव जातिको इतिहास त्यत्ति एउटा सानो अभ्यासमा अडेको देखियो । हामी नाट्यमञ्चका मानिस, एउटा निर्देशकको सबै कामको सार त्यत्ति अभिनयमा देख्छौं । शिर ठाडो गरेर आँधी चलाउन सक्ने पात्रले पनि कहीं विपरीत नियति भोग्छ । तर नाटकमा मानिसको शिर उठाउनु सबै अभिनयको आत्मा हो ।

ग्रीस मानव चेतना जनिन नाटक अनि प्रजातन्त्रको पनि थलो हो । प्रजातन्त्रको शक्ति भनेकै त्यही मुक्त मानिस हो । जुन राजनीतिक प्रणालीले मानिसको शिर ठाडो राख्छ, त्यो लोकतान्त्रिक प्रणाली हो । यी कुरा त्रिभुवन विश्वविद्यालय, अंग्रेजी विभाग अन्तर्गत विद्यावारिधि गर्ने शोधकर्ताहरूको निम्ति ‘पर्फर्मेन्स’ कला, राजनीति र मञ्चका सन्दर्भमा प्रस्तुत मेरो सेमिनार कक्षामा मैले राखेको थिएँ । त्यसमा विश्वेश्वरप्रसाद कोइराला उर्फ बीपीका रचना र उनको अदालतको बयान, उनका संस्मरण र साहित्यिक रचनाका अन्तर्यको अनि मैले त्यसमा लेखेको नाटक ‘सान्दाजुको महाभारत (२०७३)’ लाई आधार बनाएको थिएँ । यो लेख त्यही संकथनको सार हो ।

मूलत: यसमा दुई कुरा छन् । पहिलो, हामी लोकतन्त्र र मानिसको स्वतन्त्रताको सम्बन्ध जोडिएको छ भन्ने कुराबाट अलिक टाढा हुँदै गएका छौं । विश्वका अनेकौं प्रजातान्त्रिक देशहरूमा पनि यो धार देखिँंदै गएको छ । हामी लोकतान्त्रिक गणतन्त्रको संविधानलाई प्रयोग गर्ने कर्ममा अलिक बाटो बिराउन लागेका छौं । अथवा जानी–जानी यसो गर्दैछौं कि भन्ने अहिले मुख्य छलफलको विषय हुँदै गएको छ । दोस्रो, बीपी कोइरालाको राजनीति मानिसको सम्मानले बनेको थियो भन्ने कुरासँगै उनले पछिल्लो समय लिएका निर्णयहरूमा उनको एकल पात्रको चरित्र देखिएको थियो भन्ने हो । ती एक राजनीतिज्ञ हुँदाहुँदै पनि सिर्जनशील र संवेदनशील भएको कारण एक पात्र बन्दै गए । तिनले लिएका राजनीतिक निर्णयहरूमा त्यो पात्रको कालजनिन अवस्थाको प्रभाव देखियो । त्यसरी लिएका निर्णयहरूमा तिनको ‘भिजन’ र भविताको लोकतान्त्रिक काल्पनिकी साथै थियो । तर तिनको व्याख्या गर्नेहरूले बीपीको यस्तो पात्रजनिन प्रस्तुतिलाई अर्कै किसिमले व्याख्या गरेको देखियो । अहिलेको अवस्थालाई वरिष्ठ पत्रकारहरूले गरेका केही चर्चाबाट त्यो कुरा टड्कारो गरी देखिन्छ । संगीत श्रोताको विचारमा अहिले राजा महेन्द्रलाई बढोत्तरी गर्न बीपीलाई होच्याउने क्रम बढेको छ । (नयाँ पत्रिका, १३ साउन २०७६) । अर्कातिर किशोर नेपालको विचारमा उनकै दलमा ‘स–साना बीपी कोइरालाहरू’ (कान्तिपुर, पुस २४, २०७६) जन्मिएका हुनाले आफ्नै संरचनाभित्र बीपीको इतिहास अप्ठ्यारोमा परेको देखिएको छ । किशोर भाइले देखेको उत्तर–आधुनिक कांग्रेसको बहुचित्र बुझिनसक्नु छ ।

बीपीले लिएका राजनीतिक निर्णयहरू बुझ्न हामी साहित्यलाई पनि प्रयोग गर्नु एक अर्थपूर्ण तरिका ठान्छौं । बीपीले २०३३ सालमा भारतबाट नेपाल फर्कनलाई अंगिकार गरेका राजनीति र सम्झौताका सिद्धान्तलाई बुझ्न उनको संकटमा परेको उपन्यासको पात्रजस्तो अवस्थालाई ध्यानमा राख्नुपर्छ । त्यसैले हतियार संकलन गरेर ती सबै बंगलादेशका मुक्तिवाहिनीलाई दिएर रित्तो भएको अवस्था अनि इन्दिरा गान्धीका वचन र धम्कीले एकैपटक झड्का लागेका बेलाको एक राजनीतिक व्यक्तिका मनस्थितिको परिप्रेक्ष्यमा तिनलाई हेर्नु बढी सान्दर्भिक हुन्छ । उनको त्यस्तो अवस्थालाई चित्रण गर्न बीपीको आत्मवृत्तान्त को आफूले गरेको समीक्षा सिनास जर्नल (जुलाई १९८८) बाट उल्था गरेर तलको अनुच्छेद राख्न चाहन्छु ।

‘बीपीको अनवरत हतियार भेला गर्ने अभियान, नेपालको प्रधानमन्त्रीसम्म पुगेको अवस्था फेरि जेलजीवन, स्वतन्त्रता र फेरि त्यत्तिकै व्यग्रताले हतियार भेला गर्ने कर्म सबैले भन्छन्, बीपी एक सक्रिय र निर्णायक अवस्थामा पुगेका नेता थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । ती एक मसिहा थिए, एक प्रजातन्त्रका योद्धा थिए र थिए ग्रीक मिथकको एउटा ढुङ्गो तलतिर लडाउनु र फेरि चढाउनुले दण्डित सिसिफस पात्र जो जीवनमा तिनै लयहरू स्क्वायर एकबाट दोहोर्‍याइरहनुपर्ने कर्मले दण्डित थिए । बीपीको राजनीतिक क्षमता अनि भिजन र व्यक्तित्वले गर्दा यिनको रिस गर्ने नेपाली र भारतीय विरोधीहरूबारे बुझ्ने नजिकैका मित्रहरू थोरै थिए । यिनका मित्रहरू र प्रशंसक पनि थिए’ (२९४) । विडम्बनाको कुरा के छ भने राजा महेन्द्र एक एक्ला र अन्तर्मुखी मानिस थिए, जसले बीपीलाई पछि गएर बन्दी बनाए र एकतन्त्री पञ्चायत शासन चलाए । त्यसो त अमूक व्यक्ति ‘कुनै दलमा सम्बद्ध होस् वा नहोस्, जसले उनको संस्मरण पढ्छ, ऊ एउटा भ्रममुक्त, किञ्चित बढी कर्म गर्ने र एक साहसी मुक्तियोद्धाको संसारमा पस्छ, जो खासै पूरा हुन नसकेका सपनाहरूको एउटा भारी बोकेर हिँंड्थ्यो । अनि त्योसँगै पाठक नेपाली इतिहासको एक उत्ताल र महत्त्वपूर्ण खण्डमा पस्छ, जुन इतिहास आज बीपीले भोगको भन्दा फरक तर उनले कल्पना गरेका चरित्र र झन् धेरै चुनौतीहरू लिएर हाम्रो ढोकामा आइपुगेको छ’ (२९८) । जर्मन दार्शनिक वाल्टर बेन्जामिनले इतिहास वर्तमानमा एक मसिहा शक्तिले फर्केर आउँछ, त्यसैले वर्तमान एक महत्त्वपूर्ण क्षण हो भनेजस्तै यो कुरालाई बुझ्नु उपयुक्त ठान्छु यहाँ । म यहाँ बीपीको यो स्वभावलाई बुझेका एकजना विदेशी विद्वान र कूटनीतिमा काम गरेका व्यक्तिको सन्दर्भ ल्याउन चाहन्छु ।

जापानमा मैले राजदूत केदारभक्त माथेमाको निवासमा १८ मार्च १९९८ मा पहिले नेपालमा राजदूत भएर काम गरेका एकजना डा. निसिजावालाई भेटेंँ । ती बीपीका मित्र थिए । बीपी दिवंगत भएका बेला उनी यहाँ जापानका राजदूत थिए । उनले त्यो दिन राजदूतावासमा काम गर्ने सबैलाई विदा दिएर उनको महायात्रामा सामेल हुन प्रेरित गरेको कुरा सुनाए । त्यो दिन केदारभक्त माथेमाका मुख्य अतिथि जापान भ्रमणमा गएका शेरबहादुर देउवा थिए । त्यही प्रसङ्गमा निसिजावाले बीपी र कांग्रेसको प्रसङ्ग निकाले अनि भने, बीपी भविष्यमा उनको दलमा अर्को पुस्ताका कस्ता नेता हुनेहुन् भन्ने कुरामा बढी चिन्तित थिए । तिनले बीपीको एक मानवीय ‘हिरो’को ‘ओडिसी’ देखेको कुराले मलाई धेरै उद्वेलित बनायो । मैले उनलाई बीपीको साहित्यबारे भनेँ । तिनलाई त्यो पक्ष थाहा रहेनछ । त्यसपछि उनले बीपी एक पात्र, भिजनरी भएको कुरा आफूले बढी बुझेको कुरा भने । निसिजावाले नेपारु नो रेक्सी अथवा नेपालको इतिहास भन्ने किताब लेखेका रहेछन् ।

अहिले नागरिकका अधिकारमाथि अनावश्यक चिन्ता राख्ने र बन्देजका कानुन बनाउन लागिपरेको सरकार र राजनीतिक दल कस्तो काल्पनिकीले काम गर्दैछन् भन्ने अनुत्तरित मोडमा पुगेको अवस्थामा हामी बीपीको सान्दर्भिकता बुझ्न सक्छौं । अदालतको बयानमा बीपीले लोकतन्त्रको आत्मा यो हो भनी आफ्नो प्रतिरक्षा गरेको कुरा आज अत्यन्त महत्त्वपूर्ण छ । उनले राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कू’ गरेको दिनलाई लिएर भने, ‘तर बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यसदिन हजारौं निर्दोष नेपाली नागरिकहरू न केवल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागज गराइयो । त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो ।

नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकहरूको तेजोवध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन ।’ (बीपी कोइरालाको अदालतको बयान, २०६९, पृष्ठ ७) । जनतालाई ‘आत्महीन तुल्याइयो’, ‘नागरिकहरूको तेजोवध’ गरियो भन्नेजस्ता अभिव्यक्ति आज अत्यन्त संवेदनशील भएर बुझ्नुपर्ने अवस्था छ । बीपीले कल्पना गरेको लोकतन्त्र नागरिकको शिर ठाडो राख्ने सिद्धान्तसँग गाँसिएको थियो । हामीले पनि ‘बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ’, त्यसपछि नेपालको इतिहासमा नागरिकको त्यही तेजोवध, त्यही आत्महीन तुल्याउने कर्म धेरै भए । अहिले लोकतान्त्रिक, गणतान्त्रिक संविधानले दिएका अधिकारको व्याख्या र प्रयोग गर्नेहरूले यो कुरा बुझेनन् भने जनता फेरि अर्को संकटमा पर्ने निश्चित छ । बीपीले आफ्नो अभियानबारे यसो भने :

‘यो देशका जनताले लामो एकतन्त्री जहानियाँ शासनको अत्याचार भोगेको एक शताब्दी नाघेपछि, जनताका दमित विद्रोह, तिनका पीडा र हुकुमी शासनले तिनीहरूमाथि गरेका खेलवाड र उपहासको युग समाप्त गर्ने पुनित भावनाले प्रेरित भएर नै म २००७ सालको क्रान्तिमा लागेको हुँ ।’

अदालतको बयानमा उनले थपे, ‘सात सालको क्रान्तिबाट स्वतन्त्र भएका यो देशका नरनारीहरूलाई फेरि बन्धनमा पार्नेहरूले पनि साल सालको क्रान्तिकै हवाला दिएर झुक्याइरहेका छन् । म त्यो कुरा प्रस्ट पार्न चाहन्छु । अनि मेरो क्रान्तिको अर्थ बुझिनेछ ।’ बीपीले राजनीतिको सबभन्दा महत्त्वपूर्ण विषय जनता र तिनको प्रतिष्ठालाई माने । कार्ल मार्क्सले पनि त्यही भने । मार्क्सले उन्नाइसौं शताब्दीको मध्यतिर लेखेका दार्शनिक र आर्थिक लेखहरूमा एउटा नएक्लिएको श्रमिकको कल्पना गरे, जो एउटा सौन्दर्य चेतनाका नियमको आधारमा एक सामाजिक सिर्जनामा रमाउँछ र उन्नति गर्छ । मार्क्सले साधारण मानिसको शिर उच्च राख्ने र उसको परिश्रमलाई सौन्दर्यमूलक बनाउने कुरा मूलरूपमा लेखिबसे ।

त्यसदिन मेरो प्रस्तुतिको सार थियो, जनताको सम्मान गर्न चुकेको इतिहासलाई सच्याउनु तर भुल नदोहोर्‍याउनु आजका हाम्रा राजनीतिकर्मीको मन्त्र हुनुपर्छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×