चिनियाँ रणनीतिको आधार

रमेश के.सी.

सन् १९७२ मा बेइजिङमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको भ्रमणका बेला चिनियाँ प्रधानन्त्री चाउएनलाईलाई हेनरी किसिन्जरले भनेका थिए, ‘तपाईको देश मलाई एकदम रहस्यमय लाग्छ ।’ जवाफमा चाउएनलाईले भने, ‘महोदय, बाहिरबाट हेर्दा रहस्यमय लागेको हो र तर भित्रबाट केही पनि रहस्य छैन ।’

त्यही रहस्यमय चीनलाई अहिले संसारभरका विद्वान र पत्रकार ‘डिकोडिङ’ गर्न लागेका छन् । चीनको अभूतपूर्व उदय पछाडिका कारणहरू खोतल्न लागिपरेका छन् । ५ हजार वर्षको लिखित इतिहास अझै कायम राखेको चीनको मौलिक चिन्तन, राजनीति र रणनीति रहस्यमय नै छ । यसको धर्म र संस्कृतिलाई पश्चिमाहरूले पूर्वीय रहस्यवादको रूपमा लिए । करिब २४ सय पहिलेकै सनजुको एउटा पुस्तक ‘दि आर्ट अफ वार’ले समकालीन चीनको रणनीतिक मस्तिष्क बुझ्न मद्दत गर्छ । यस पुस्तकका सन्देशहरू चिनियाँ सैनिक नेताहरू, विदेश मामिलाका सञ्चालकहरू, व्यापारिक नेताहरू मात्र नभई खेलकुद क्षेत्रका हस्तीहरूका लागि मार्गनिर्देशक बनेका छन् ।

आखिर २४ सय वर्षअघि लेखिएको यस पुस्तकमा के छ ? जसले चिनियाँ राज्य सञ्चालकहरूलाई प्रेरणा दिन्छ । विशेष गरेर सैन्यकलामा लागू हुने यो पुस्तकलाई भियतनाम युद्धताका त्यहाँका कम्युनिष्टहरूले विशाल र प्रविधियुक्त अमेरिकी सेनालाई पराजित गर्न लागू गरेका थिए भने दोस्रो विश्वयुद्धताका पनि यसका सिद्धान्तहरूको लागू भएका थिए । ‘बलियो पक्षलाई बेवास्ता गर, कमजोर पक्षलाई आक्रमण गर । यदि तिमी आफ्नो शत्रुलाई राम्ररी चिन्छौ भने हजार युद्धहरू जित्न सक्छौ र सबैभन्दा राम्रो त त्यो हो, यदि तिमी लडाइँ नलडी युद्ध जित्छौ ।’ यस्ता सन्देशहरू भएको तीन भागमा विभाजित यो पुस्तक चिनियाँ सैन्यकला कौशलको आधार हो ।

‘सबै युद्ध छलमा आधारित हुन्छ’ भन्ने यस पुस्तकलाई सैन्य रणनीतिको सम्पूर्ण र विवेकपूर्ण कृति मानिन्छ । सनजुले प्राचीन कालमा छरिएका झगडालु राज्यहरू बीचको युद्धमा ऊ राज्यको सल्लाहकार भएर आफूभन्दा विशाल र धेरै शक्तिशाली चु राज्यलाई पराजित गरेका थिए । जसले गर्दा त्यसबेला ऊ राज्य धेरै शक्तिशाली भएको थियो । धेरै युद्धहरूमा सहभागी सनजुले आफ्ना अनुभवहरूलाई पुस्तकमा लेखेका हुन् । कतिले यसलाई धेरै सैनिक नेताहरूको अनुभवको निचोड रहेको तर नाम भने सनजुको दिइएको पनि बताएका छन् । ‘विपक्षीलाई सेनाले होइन, विवेकले पराजित गर’ भन्ने सनजु युद्धलाई जीवन र मरणको प्रश्न ठान्छन् । अझ उनी अगाडि भन्छन्, ‘तिम्रा योजना रातजस्तै अँध्यारो हुनुपर्छ । तर आक्रमण गर्दा चम्कनुपर्छ । पराजित सेनाले पहिले युद्ध गर्छ, पछाडिमात्र विजय खोज्छ । तर विजेता सेनाले पहिले मनोवैज्ञानिक रूपमा जित्छ र पछि युद्ध गर्छ ।’

सनजु लडाइँका लागि मौसम, भूगोल, नेतृत्व र नैतिक सिद्धान्त महत्त्वपूर्ण हुने बताउँछन् । उनले लडाइँमा जर्नेलको भूमिकादेखि सामान्य सिपाहीको दायित्वसम्मको चर्चा गर्दै गुप्तचरहरूको महत्त्वलाई प्रकाश पारेका छन् । एक्काइसौं शताब्दीको दोस्रो दशकमा पढ्दा लाग्छ, त्यतिबेलै सनजु मानव व्यवहार र सामाजिक–राजनीतिक संरचना द्वन्द्वमा आधारित छ भन्ने निष्कर्षमा पुगिसकेका थिए । किनभने मानव चेतना नै द्विविपरीत ध्रुवमा विभाजित छ । जस्तो कि अँध्यारो/उज्यालो, महिला/पुरुष, दिन/रात आदिजस्ता द्वन्द्वको क्रममा उत्पन्न हुने युद्धलाई विवेक सम्मत ढङ्गले निरुपण गर्ने उनको उद्देश्य देखिन्छ । यही विवेकका कारण आज उनको दर्शन चिनियाँ समाजको आद्य स्वरुपमा बसेको छ ।
चिनियाँ क्रान्तिका महानायक माओले पनि क्रान्तिताका युद्धमा जुको सिद्धान्तको प्रयोग गरेका थिए ।

यथार्थ राजनीतिमा आधारित यो सिद्धान्त पश्चिमी रणनीतिक सिद्धान्तभन्दा बेग्लै छ । युरोपेली सैन्य सिद्धान्तकार कार्लभान क्लवित्ज र एन्टोनी हेनरी जोमेनी रणनीतिकारहरू विजयलाई महत्त्वपूर्ण मान्छन् भने सनजु घेराउ, मनोवैज्ञानिक दबाब, वातावरण आदिलाई महत्त्वपूर्ण मान्छन् ।

उनी अरु युद्ध नलडीकनै विजय प्राप्त गर्न उद्देश्य पनि राख्छन् । उनी भन्छन्— ध्वस्त भएको राष्ट्रलाई एउटै बनाउन सकिँदैन, जसरी मरेको मानिसलाई पुनः जीवनमा फर्काउन सकिँदैन । उनको विचार अनुसार भूगोलको विजयभन्दा मनोवैज्ञानिक विजय महत्त्वपूर्ण हो । आज भूगोलभन्दा विज्ञान प्रविधि र सामाजिक मिडियामार्फत मनोवैज्ञानिक युद्ध प्रबल हुँदै गएबाट उनको भविष्यवाणी सही सावित भएको छ । लडाइँमा ऊर्जा माथिबाट तल झर्ने पानीजस्तै हुनुपर्छ, जसका लागि कमाण्डरले आफ्नो शक्तिलाई सही दिशातर्फ रणनीतिक रूपमा मोड्ने कार्य गर्नुपर्ने उनको भनाइ छ ।

आजको विशाल चीनलाई विश्व अवस्थामा हेर्दा सनजु कमाण्डरजस्तै अवस्थामा बसिरहेको आभास मिल्छ । यसर्थ चीनको मौलिक दर्शन ताओवाद कन्फुसियशाली धर्म र बौद्ध समुदायजस्तै यो रहस्यमय र मौलिक रणनीतिक सैन्य सिद्धान्तले उक्त मुलुकलाई सुदूर भविष्यसम्म निर्देश गर्ने छाँट देखिन्छ । सनजुको ‘दि आर्ट अफ वार’ भौतिक अर्थात वस्तुगत अवस्थाको आँकलनमा आधारित प्राचीन द्वन्द्ववादको प्रयोग हो ।

विरोधी पक्षको अस्तित्वलाई स्वीकार्दै त्यसलाई घेर्ने, थकित बनाउने र मनोवैज्ञानिक दबाब दिने र अन्ततोगत्वा विजय हासिल गर्ने उनको सूत्र हो । सनजुले सयौं युद्धहरू देखेका थिए । ती युद्धहरूको शैली र संरचना गरेरै उनले यो पुस्तक लेखेका हुन् । युद्धको सार्वभौम अस्तित्वलाई उनले स्वीकारेका छन् । ती युद्धहरूलाई विवेक सम्मत ढंगले टुङ्गो लगाउनु नै उनको रणनीति हो ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

चीन उदयको अन्तर्य

रमेश के.सी.

नयाँ शीतयुद्ध ? हो, चीन र अमेरिकाबीच अहिले व्यापार र प्रविधिको विषयलाई लिएर नयाँ शीतयुद्ध चलिरहेको छ । पहिलेको जस्तो यो शीतयुद्ध वैचारिक छैन । दोस्रो विश्वयुद्धपछि पुँजीवादी अमेरिका र साम्यवादी सोभियत संघबीच चलेको शीतयुद्धले सन् १९६२ मा क्युबा मिसाइल संकटको बेला विश्व ध्वस्त हुने भय थियो । तर त्यो टर्‍यो ।

के अमेरिका र चीनबीच पनि त्यस्तै संकट आउन सक्छ ? अहिले प्रविधि र व्यापारमा देखिएको द्वन्द्वपछि सैन्य तनावको रूपमा पनि प्रकट हुनसक्छ भनेर अन्तर्राष्ट्रिय मामलाका जानकारहरू बताउँदैछन् । अहिले जापान र दक्षिण कोरियामा सैन्य अखडा राखेर प्रशान्त शक्ति बनेको छ, अमेरिका । सन् २०३० सम्म अमेरिकाको समकक्षी शक्ति हुने लक्ष्य चीनले राखेको छ ।

यदि यसो भयो भने विश्व व्यवस्थाको अवस्था के हुन्छ ? के विश्वशक्ति एसियातर्फ सरेर अमेरिका–युरोप क्षयतर्फ जाने छ ? अहिलेको यो पेचिलो प्रश्न हो । अमेरिकी भूराजनीतिका विशेषज्ञ रोवर्ट काप्लानका अनुसार विश्व राजनीतिमा विचारधाराको युद्धपश्चात भूराजनीति फर्किएको छ । भनिन्छ, उन्नाइसौं शताब्दी बेलायतको थियो । २० औं शताब्दी अमेरिकाको भयो । र एसियाको उदय एक्काइसौं शताब्दीमा विशेष गरेर चीनलाई केन्द्रमा राखेर हुनेछ भनी अर्का विद्वान पराग खन्ना बताउँछन् ।

दोस्रो विश्वयुद्धपछि अमेरिकालाई जसरी सोभियत संघले चुनौती दिएको थियो । अहिले त्यस्तै चुनौती चीनले दिनथालेको छ । पात्र र समय परिवर्तन भएका छन् । घटना त्यस्तै छ । सन् १६४८ मा स्थापित पश्चिमा केन्द्रित र त्यसपछि विकसित वेष्टफेलियन विश्व प्रणाली अहिले असान्दर्भिक र अपूरो हुँदै गएको छ । उदारवादको जन्मभूमि युरोपमै अहिले प्रज्ञातन्त्र कमजोर देखिएको छ ।

ब्रेक्जिटसँगै युरोपीयन युनियन सङ्कटमा फँसेको छ । जातिवाद, लोकप्रियतावाद र आप्रवासी घृणा संसारको नाइके मानिएको अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पका बोली–वचनमै देखिन्छ । पश्चिम अघिल्लो शीतयुद्ध जस्तो एकजुट छैन । उनीहरू आत्मकेन्द्रित भइरहेका छन् । सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरेपछि भएको सम्बन्ध सुधारबाट उत्साहित चीनले विगत ५० वर्षमा आश्चर्यजनक उपलब्धिहरू हासिल गरेको छ ।

तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरबाट भएको यस पहलबाट आफू साम्यवादी हुँदाहुँदै तत्कालीन सोभियत संघ गठबन्धनमा नजाने सहमतिपछि अमेरिकासँग चीनको सम्बन्ध कायम भएको थियो । यो पिङपङ कूटनीतिपश्चात अन्तर्मुखी चीनले पश्चिमसँग प्रविधि र व्यापारमार्फत आफ्नो सुधार कार्यक्रम अगाडि बढायो । देङको चिनियाँ चरित्रको समाजवादसँंगै शास्त्रीय साम्यवाद त्यागी राज्य पुँजीवाद लागू गरेर विगतका दशकमा चीनले ७० कडोर जनतालाई गरिबीबाट मुक्त तुल्यायो ।

आधा औद्योगिकीकरण गर्‍यो । अब ऊ विज्ञान र प्रविधिको क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । हरेक वर्ष हुने सैन्य खर्च अमेरिकाभन्दा चीनको कम छ । तत्कालमा चीन कसैसँंग पनि युद्ध चाहँदैन । तर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले स्थापित शक्तिलाई उदाउँदो शक्तिले चुनौती दिनथालेपछि त्यहाँ स्वतः युद्ध हुने सिद्धान्त थुसिडेडिस ट्रापको अविष्कार गरेका छन् ।

प्राचीन ग्रीकका इतिहासकार थुसिडेडिसले कसरी एथेन्स र स्पाटा स्थापित र उदाउँदो शक्ति हुँदा युद्धमा गए भन्ने उदाहरण पेस गरेका छन् । त्यसरी स्थापित शक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीच पनि त्यस्तै युद्ध हुने संकेत उनले गरेका छन् । पहिलो र दोस्रो विश्वयुद्धपछि संसारमा ठूला द्वन्द्व भएका छैनन् । तर त्यस्तो द्वन्द्व यी दुई राष्ट्रबीच हुनसक्ने अनेकौं सम्भावना छन् ।

अन्तर्राष्ट्रिय रणनीतिक मामलाका केही जानकारहरू अमेरिकालाई चीनले युद्धबिना विस्थापित गर्न नसक्ने मत राख्छन् । चिनियाँहरू भने आफ्नो राष्ट्रको उदय दोस्रो विश्वयुद्धताका भएको जर्मनी र जापानको जस्तो हिंसात्मक नहुने बताउँदै आएका छन् । बेलायतबाट विश्व व्यवस्था सन् १९४५ मा हातमा लिएको अमेरिका त्यति सजिलै यो नेतृत्व अरुलाई सुम्पन चाहँदैन । सन्तुलन मिलाउन अहिले उसको नजर भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियामाथि छ ।

यी राष्ट्रहरूलाई एक गरेर ‘इन्डो प्यासिफिक’ रणनीति अन्तर्गत चीनलाई रोक्न चाहन्छ । तर चीन भने बेल्ट र रोड अभियानमार्फत एसिया, युरोप र अफ्रिकामा आफ्नो प्रभाव बढाउन लागिपरेको छ । यी दुई योजनाले अमेरिका र चीनलाई आमने–सामने बनाएका छन् । सात दशकसम्म विश्वको नेतृत्व लिएको अमेरिका अहिले पनि संसारको सबैभन्दा ठूलो र शक्तिशाली सैन्यशक्ति हो । तर आज संसारमा उसलाई चुनौती दिने शक्ति हरेक क्षेत्रमा चीन नै हो ।

करिब १ अर्ब ४० करोड जनसंख्या र १४ राष्ट्रहरू रूस, मध्यएसिया, पूर्वी र दक्षिण एसियासँग सिमाना गाँसिएको चीनको शक्तिमा भूगोलको आफ्नै रणनीतिक महत्त्व छ । यदि चीन विश्वको नेता बन्न चाहन्छ भने उसको त्यो अधिकार भएको सिङ्गापुरका नेता ली क्वान युले बताएका थिए । तर उपनिवेश, साम्राज्य र विश्वव्यापीकरणमार्फत जसरी युरोपीकरण र अमेरिकीकरण विगत चार सय वर्षमा भयो त्यस्तो चिनियाँकरण हुन असम्भव देखिन्छ ।

किनकि चीनको कुन्फुसियाली संस्कृति र एक पार्टी शासन व्यवस्था विश्वका अरु राष्ट्रहरूलाई नसुहाउने हुनसक्छ । नयाँ शीतयुद्ध भनिए पनि आजको चीन सोभियत संघजस्तो होइन । चीनको मनोविज्ञान के छ भने ऊ आफूलाई ५ हजार वर्षदेखिको शक्ति मान्दछ । आफू संसारको केन्द्रमा रहेको मध्य अधिराज्यको ग्रन्थि उसमा छ । चीनमा अहिले राष्ट्रवादको भावना बढ्दो छ ।

चिनियाँ शासकहरू आफ्नो राष्ट्रलाई महान बनाउने अभिव्यक्ति दिन्छन् । देङले आफ्नो शक्ति लुकाउ भन्थे, तर आजको चीन आफ्नो शक्ति प्रदर्शन गर्ने र त्यससँग खेल्ने अवस्था छ । चार सय वर्षयता विश्वलाई विकास र आधुनिकीकरण गरिरहेको पश्चिमको अन्त्य त्यति सजिलो त छैन । तर त्यसका संकेतहरू देखिरहेका छन् । यहुदी, इसाई जातिको वर्चस्व भएको विश्वमा हान जातिले त्यसलाई चुनौती भने दिएकै हो ।

एक्काइसौं शताब्दी विशेष गरेर एसियाका लागि महत्त्वपूर्ण हुनेछ । यो महत्त्व यहाँ हुने भूराजनीतिक सन्तुलनको हेरफेर, आर्थिक वृद्धि र विज्ञान प्रविधिको फैलावटका कारणले हुनेछ । जसको केन्द्रमा चीन हुनेछ । अहिले नै एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र बनेको चीनका लागि बाधाको रूपमा अमेरिका देखिएको छ । यी दुईबीच दक्षिणी चीन समुद्रको भूभाग, ताइवान प्रश्न तिब्बत स्वतन्त्रताको मुद्दामा द्वन्द्व हुनसक्छ ।

तर यी द्वन्द्वहरूलाई मिलाउन सकिने सम्भावना भएको टिप्पणीकार बताउँछन् । १७ औं शताब्दीमा विश्वको ठूलो आर्थिक शक्ति र विकसित राष्ट्र चीन अहिले आफ्नो सही स्थानको खोजीमा छ । जुन स्थान प्राप्त गर्न उसले धेरै मूल्य चुकाएको छ । तर त्यो स्थान पश्चिमाहरूको विश्व व्यवस्था विस्थापित गरेर आफू स्थापित हुने हो वा के हुने हो, त्योचाहिँ भविष्यले नै बताउँछ ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्