बालगीतले गर्छन् ठूलो काम

मधु राई

पानीमा बस्छन् माछाहरूमाछाहरू बोतलमा पनि बस्छन्बाहिर निस्क्यो भने छटपटिन्छन्छटपटिन्छन्, एक छिनपछि मर्छन् ।

ZenTravel

बालविकास कक्षादेखि युकेजीसम्मका विद्यार्थीहरूलाई मन पर्नेमध्ये पर्छ, उपर्युक्त बालगीत । मेरा विद्यार्थीहरूले निकै वर्षयता विद्यालयमा हरेक बिहान प्रार्थना सकेपछि त्योसहित रामेशको ‘कखगघ एबीसीडी भन्ने बानी राम्रो’ बोलको गीत गाउन मन पराउँछन् । उनीहरू नेपालीसँगै अंग्रेजी बालगीत पनि गाउँछन् । मैले उनीहरूलाई साताको एक दिन श्रव्यदृश्य सामग्री पनि देखाउने गरेकी छु । कक्षाकोठामा पसेपछि चाहिँ उनीहरू पाठ र विषयवस्तुसम्बद्ध नेपाली–अंग्रेजी बालगीत गाउँछन्, केही बेर ।

Meroghar


ससाना, विशेष गरी पूर्वप्राथमिक तहका विद्यार्थीलाई जुनसुकै विषयको कक्षा लिनुअघि विषयवस्तुसम्बद्ध बालगीत गाउन लगाउने गरे उनीहरूमा सिक्ने र जान्ने उत्सुकता बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । तर हाम्रा अधिकांश निजी विद्यालयमा अंग्रेजी बालगीतलाई बढी महत्त्व दिइएको पाइन्छ र ती गीत सम्बन्धित शिक्षक–शिक्षिकाले लेखेका पनि हुँदैनन् । यस्ता पुराना आयातित अंग्रेजी बालगीतले दिन खोजेको सन्देश हामी कतिपय शिक्षक–शिक्षिकाले नै बुझ्दैनौं भने विद्यार्थीको के कुरा ! त्यसैले बालगीत गाउँदा र सुन्दा हुने चौतर्फी फाइदाबाट शिक्षक–विद्यार्थी सबै वञ्चित हुन पुग्छन् ।

यस्तै, बहुसंख्यक निजी विद्यालयमा पूर्वप्राथमिक तहदेखि नै नेपालीभन्दा अंग्रेजी भाषालाई बढी महत्त्व दिने गरिएकाले विद्यार्थीहरूलाई अंग्रेजी बालगीत नै गाउन प्रेरित गरिन्छ । त्यस्ता गीतबाट केही सिक्नभन्दा पनि सुन्नकै लागि सुनाइ त्यही तालमा उफ्रन सिकाउँछन्, शिक्षक–शिक्षिकाले । पछिल्लो समय निजी विद्यालयका अधिकांश अभिभावक मोबाइलबाटै भए पनि आफ्ना दूधेबच्चालाई अंग्रेजीकै बालगीत सुनाउँछन् । कतिपय अभिभावक ‘म्याम, मेरो छोराले तइङ्लिस राइम मात्रै सुन्छ’ भनेर दङ्गदास पर्छन् । हुन त अंग्रेजीका तुलनामा नेपाली बालगीतको अनुपलब्धताले गर्दा पनि अभिभावक र शिक्षक–शिक्षिका छनोटबाट वञ्चित हुने गरेका छन्, तर यसो भन्दैमा नेपाली गीतको खोजी नै नगर्नु चाहिँ हुँदैन ।

बालबालिकाले उमेर अनुसारका नेपाली बालगीत सुन्न नपाउनुको प्रमुख कारण विद्यालयको अंग्रेजी वातावरण पनि एक हो । किनभने नेपालीमा दोहोरो कुरा गर्न नसक्ने बालबालिकालाई जबर्जस्ती अंग्रेजी बोल्न सिकाउने र नियमितजसो अंग्रेजी बालगीत सुनाउने विद्यालय व्यवस्थापन र शिक्षकका कारण पनि तिनले आफूले बुझ्ने नेपाली बालगीत सुन्न पाएका छैनन् । यसो गर्नु भनेको तिनलाई नेपाली बालगीत सुन्दा हुने प्रत्यक्ष–अप्रत्यक्ष फाइदाबाट पनि वञ्चित गराउनु हो ।

विशेष गरी नेपाली र अन्य विषयका शिक्षकले विषयवस्तु अनुसारका बालगीत तयार गरे उनीहरूको सिर्जनशीलता मात्रै बढ्दैन, व्यक्तित्व विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाली विषयका शिक्षकहरूले बालगीत आफै तयार गर्दा शब्द भण्डार बढाउनुपर्ने हुन्छ । त्यसका लागि अतिरिक्त पुस्तक र पत्रपत्रिका पढ्नुपर्ने हुन्छ । एवंरीतले शब्द भण्डार बढ्दै जाँदा शिक्षक–शिक्षिकामा तिनै शब्दलाई प्रयोग गर्ने सीपको विकास हुन्छ । यस्तै, आफूले पढाउने विषयवस्तु रोचक बनाउन सबैभन्दा पहिले विद्यार्थीको ध्यानाकर्षण गर्नुपर्ने हुन्छ । बालगीत सुन्दा र गाउँदा विद्यार्थीमा एकाग्रता मात्र बढ्दैन, तिनले त्यसमा प्रयुक्त शब्दको सही उच्चारण गर्न पनि सिक्छन् ।

अर्को कुरा, उमेर अनुसारको गीत सुन्ने अवसर पाएका बालबालिका आफै पनि गाउने प्रयास गर्छन् । सानै उमेरदेखि गीतसंगीतमा रमाउने बालबालिका सबै भविष्यमा गायक/संगीतकार नभए पनि संगीतप्रेमी त अवश्य हुन्छन् । बालबालिकालाई संगीतप्रेमी मात्र बनाउन सकियो भने पनि उनीहरू दुर्व्यसनमा फस्दैनन् र पछि जिम्मेवार नागरिक बन्ने प्रयास गर्छन् । प्राय: संगीतप्रेमी व्यक्ति समाजप्रति सकारात्मक हुने र विकासको संवाहक बन्न चाहने देखाएका छन् अनेक अध्ययन–अनुसन्धानले ।

हामीकहाँ गीत–संगीतप्रतिको दृष्टिकोण परम्परागत छ । शिक्षक–शिक्षिका मात्रै हैन, अभिभावकहरूको पृष्ठभूमि हेर्ने हो भने विरलै मात्र संगीतप्रेमी हुन्छन् । शिक्षक–शिक्षिका र अभिभावकको गीत–संगीतप्रतिको पुरातन दृष्टिकोणका कारण हाम्रा बालबालिकाले हाल उपलब्ध नेपाली बालगीत पनि सुन्न पाएका छैनन् । कतिसम्म भने, विद्यालयहरूले वर्षेनि आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा ससाना विद्यार्थी मायाप्रीतिका गीतसंगीतमा नाच्न–गाउन बाध्य छन् ।

पछिल्लो समय निजी विद्यालयहरूमा सांस्कृतिक कार्यक्रम गर्ने चलन बढ्दै छ । यसको तयारीका लागि भए पनि कतिपय तिनले नृत्य सिकाउन शिक्षक राख्ने गरेका छन् । राजधानीका कतिपय निजी विद्यालयले नृत्यजस्तै गीतसंगीत सिकाउने शिक्षक नियुक्त गर्न थालेको धेरै भयो । यस्ता शिक्षकले बजारमा उपलब्ध नेपाली बालगीत सुन्ने–सुनाउने प्रयास मात्र गर्ने हो भने पनि बालबालिकाको मानसिक विकासमा उल्लेख्य सुधार आउँदै जान्छ । नेपाली बालगीतसुन्दा–सुनाउँदा अंग्रेजी वातावरण बिग्रन्छ भन्ने पूर्वाग्रहबाट शिक्षक–शिक्षिका र विद्यालय व्यवस्थापन मुक्त हुन जरुरी छ ।

प्रकाशित : आश्विन २, २०७६ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बालबालिकाको पढ्ने भोक

मधु राई

चार कक्षा पढ्दै गरेकी आकांक्षा राय स्कुल छुट्टीपछि सधैं घर नजिकैको विराट सामुदायिक पुस्तकालय जान्छिन् । विराटनगर–११ कै अन्य स्कुलमा पढ्दै गरेका पुकार, वैष्णवी, नाइमा, तान्छोना, सोसिन र नितेशजस्ता पन्ध्र विद्यार्थी पनि दिनहुँ पुस्तकालय जाने गर्छन् ।

प्रावि तहका विद्यार्थीलाई लक्षित गरी तीन महिनाअघि टोलबासीले खोलेको उक्त पुस्तकालयमा विद्यार्थीहरू बालपुस्तक पढ्नुका साथै साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापसमेत गर्छन् ।

पुस्तकालयमा उनीहरूले बालपुस्तक वाचन, हस्तकला, प्रतिभा प्रदर्शन, चित्रकला, उद्घोषण, फोहोरमैला व्यवस्थापनका आधारभूत सीप पनि सिक्ने गरेका छन् । हरेक शुक्रबार उनीहरू कागजजन्य फोहोरबाट ससाना भाँडा, फलफूल र तरकारी बनाउँछन् भने कागजको लेदोबाट बनेको ब्लकमा सेतो कागज टाँसेर चित्र बनाउँछन् । वडा बाल सञ्जालका निमावि र मावि तहका विद्यार्थीहरूले बिदाको दिन पारेर उक्त पुस्तकालयका विद्यार्थीहरूलाई सहभागी गराई चित्रकला प्रतियोगिता गराउँछन् ।

पुस्तकालयले विद्यार्थीलाई दैनिक आधा घण्टा पुस्तक वाचनको नियम लगाएको छ । ‘पठन सीप र पुस्तकालय आउने बानीको विकास गराउन अतिरिक्त क्रियाकलाप गराउँछौं’, लाइब्रेरियन दया राई भन्छिन् । उनी एक कक्षा पढ्ने छोरी मितुम दिनहुँ पुस्तकालय आएकै कारण बालपुस्तक राम्ररी पढ्न सक्ने भएको बताउँछिन् ।

कतिपय अभिभावकलाई भने अझै पनि पुस्तकालयको महत्त्व बोध हुन सकेको छैन । कतिपय अभिभावक ‘आऽ के नै हुन्छ र पुस्तकालय गएर !’ भन्ने गर्छन् । यस्ता अभिभावकका लागि टोलछिमेकमा खुलेका पुस्तकालय ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ सरह भएका छन् । यसो हुनुमा वर्तमान शिक्षाकै पनि दोष छैन । किनभने कतिपय चलेका निजी विद्यालयमा निम्न माविदेखि मात्र विद्यार्थीले पुस्तकालयको पहुँच पाउनेगरेका छन् ।

अक्षर र मात्रा छिचोलेपछि प्रावि तहका बालबालिकालाई उमेर सुहाउँदा पुस्तक पढ्न दिने हो भने उनीहरूमा पढ्ने भोक जाग्दै जान्छ भन्ने विकसित मुलुकहरूको सफल अभ्यासले देखाउँछ । सभ्य समाज निर्माण गर्न र देशलाई समृद्धिको शिखरमा पुर्‍याउन शिक्षित बालबालिका र शिक्षित युवाशक्ति चाहिन्छ भन्ने बुझेरै होला, विकसित मुलुकले उमेर अनुसारको पुस्तक प्रकाशनमा जोड दिने गरेका छन् ।

बेलायत तथा अमेरिकामा दुई वर्षदेखिका बालबालिकालाई लक्षित गरी पुस्तक प्रकाशन गरिन्छ । साना छोराछोरीलाई शिक्षित अभिभावकले पढेर सुनाऊन् भनेर यस्तो गरिएको हुनुपर्छ । अस्ट्रेलियामा बाटोछेउ ससाना घरजस्तो संरचना ‘स्ट्रिट लाइब्रेरी’ राखिएका हुन्छन् । यस्ता घुम्ती पुस्तकालयमा मानिसहरूले आफूले पढिसकेका पुस्तकसमेत राखिदिने गर्छन् ।

हामीकहाँ अभिभावकले घरमा र शिक्षकले विद्यालयमा बाल पुस्तकको महत्त्व नबुझ्दा बालबालिका वञ्चितीकरणमा परेका छन् । अतिरिक्त पुस्तक पढ्दा हुने चौतर्फी फाइदाबारे अभिभावक र शिक्षक अनभिज्ञ हुँदा बजारमा उपलब्ध बाल पुस्तकहरूले यथोचित पाठक पाउन सकेका छैनन् ।

पछिल्लो समय सूचना प्रविधिको सहज पहुँच भएपछि हुनेखाने घरका अभिभावकहरू अधिकांश समय सामाजिक सञ्जालमा बिताउने गरेकाले यसको नकारात्मक असर बालबालिकामा पर्दै छ । यस्ता अभिभावकले आफ्ना कलिला छोराछोरीलाई फकाउन, फुल्याउन स्मार्ट फोन र ट्याब दिनेगरेका छन् ।

हुनेखाने परिवारका बालबालिकाले उमेर नपुगी यस्ता सामग्री उपयोग गर्नु भनेको फेरि पनि पुस्तक र पत्रपत्रिकाबाट टाढिनु हो । यी उपकरण उपयोग गर्ने बानीले बालबालिकाको व्यक्तित्व लगायत स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने अध्ययन–अनुसन्धानले देखाएका छन् ।

यिनमा अभ्यस्त बालबालिकाले जेनतेन कक्षाकार्य र गृहकार्य गरे पनि उनीहरूमा बिस्तारै पढ्ने भोक हराउँदै जान्छ र कालान्तरमा यस्ता विद्यार्थीका लागि पढाइ बोझ बन्नजान्छ । यी र यस्ता कतिपय कारणलेअचेल बालबालिकामा पढ्ने भोक हराउँदै गएको छ ।

सहरी क्षेत्रका बालबालिकामा पढाइप्रति भोक जगाउन र शिक्षाको महत्त्व बुझाउन बालपुस्तक र पुस्तकालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । पछिल्लो समय स्कुले जीवनमा अतिरिक्त पुस्तक पढ्ने अवसर पाएका अधिकांशले विश्वविद्यालय शिक्षापूरा गर्ने गरेको अध्ययन–अनुसन्धानले देखाएका छन् ।

पछिल्लो समय सरकारले एक विद्यालय र पुस्तकालयको अवधारण अघि सारेको छ । तैपनि उक्त अवधारणा अनुरूप सामुदायिक विद्यालयहरूले आफ्ना विद्यार्थीलाई पुस्तकालयको सुविधा अपेक्षित रूपमा दिने गरेका छैनन् । विद्यालय व्यवस्थापनको बालपुस्तकप्रतिको असंवेदनशीलता र शिक्षक स्वयंको अतिरिक्त पुस्तक पढ्ने बानी नहुँदा प्रावि तहका विद्यार्थी पुस्तकालयको सुविधाबाट वञ्चित भइरहेकै छन् ।

प्रावि तहका विद्यार्थीलाई उमेर सुहाउँदा बालपुस्तक उपलब्ध गराउन घरमा अभिभावक र विद्यालयमा शिक्षकले सहजीकरण गर्ने हो भने हामीकहाँ पनि अतिरिक्त पुस्तक पढ्ने बालबालिका र युवा जन्मने वातावरण तयार हुन्छ । बालबालिका र युवा यो हिसाबले शिक्षित हुनु भनेको सभ्य समाज निर्माणका लागि दक्ष जनशक्ति तयार हुनु हो ।

यस्तो जनशक्ति जन्मने पहिलो थलो घरपरिवार हो भने दोस्रो विद्यालय हो, त्यसपछि सामुदायिक पुस्तकालय । यसरी घरपरिवार, विद्यालय र सामुदायिक पुस्तकालयहरूले जन्माएका शिक्षित बालबालिका र युवाशक्ति नै भोलिका
कर्णधार हुन्, जसले समाजलाईसभ्य बनाउँछन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×