२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बालगीतले गर्छन् ठूलो काम

मधु राई

पानीमा बस्छन् माछाहरू
माछाहरू बोतलमा पनि बस्छन्
बाहिर निस्क्यो भने छटपटिन्छन्
छटपटिन्छन्, एक छिनपछि मर्छन् ।

बालविकास कक्षादेखि युकेजीसम्मका विद्यार्थीहरूलाई मन पर्नेमध्ये पर्छ, उपर्युक्त बालगीत । मेरा विद्यार्थीहरूले निकै वर्षयता विद्यालयमा हरेक बिहान प्रार्थना सकेपछि त्योसहित रामेशको ‘कखगघ एबीसीडी भन्ने बानी राम्रो’ बोलको गीत गाउन मन पराउँछन् । उनीहरू नेपालीसँगै अंग्रेजी बालगीत पनि गाउँछन् । मैले उनीहरूलाई साताको एक दिन श्रव्यदृश्य सामग्री पनि देखाउने गरेकी छु । कक्षाकोठामा पसेपछि चाहिँ उनीहरू पाठ र विषयवस्तुसम्बद्ध नेपाली–अंग्रेजी बालगीत गाउँछन्, केही बेर ।


ससाना, विशेष गरी पूर्वप्राथमिक तहका विद्यार्थीलाई जुनसुकै विषयको कक्षा लिनुअघि विषयवस्तुसम्बद्ध बालगीत गाउन लगाउने गरे उनीहरूमा सिक्ने र जान्ने उत्सुकता बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । तर हाम्रा अधिकांश निजी विद्यालयमा अंग्रेजी बालगीतलाई बढी महत्त्व दिइएको पाइन्छ र ती गीत सम्बन्धित शिक्षक–शिक्षिकाले लेखेका पनि हुँदैनन् । यस्ता पुराना आयातित अंग्रेजी बालगीतले दिन खोजेको सन्देश हामी कतिपय शिक्षक–शिक्षिकाले नै बुझ्दैनौं भने विद्यार्थीको के कुरा ! त्यसैले बालगीत गाउँदा र सुन्दा हुने चौतर्फी फाइदाबाट शिक्षक–विद्यार्थी सबै वञ्चित हुन पुग्छन् ।


यस्तै, बहुसंख्यक निजी विद्यालयमा पूर्वप्राथमिक तहदेखि नै नेपालीभन्दा अंग्रेजी भाषालाई बढी महत्त्व दिने गरिएकाले विद्यार्थीहरूलाई अंग्रेजी बालगीत नै गाउन प्रेरित गरिन्छ । त्यस्ता गीतबाट केही सिक्नभन्दा पनि सुन्नकै लागि सुनाइ त्यही तालमा उफ्रन सिकाउँछन्, शिक्षक–शिक्षिकाले । पछिल्लो समय निजी विद्यालयका अधिकांश अभिभावक मोबाइलबाटै भए पनि आफ्ना दूधेबच्चालाई अंग्रेजीकै बालगीत सुनाउँछन् । कतिपय अभिभावक ‘म्याम, मेरो छोराले त इङ्लिस राइम मात्रै सुन्छ’ भनेर दङ्गदास पर्छन् । हुन त अंग्रेजीका तुलनामा नेपाली बालगीतको अनुपलब्धताले गर्दा पनि अभिभावक र शिक्षक–शिक्षिका छनोटबाट वञ्चित हुने गरेका छन्, तर यसो भन्दैमा नेपाली गीतको खोजी नै नगर्नु चाहिँ हुँदैन ।


बालबालिकाले उमेर अनुसारका नेपाली बालगीत सुन्न नपाउनुको प्रमुख कारण विद्यालयको अंग्रेजी वातावरण पनि एक हो । किनभने नेपालीमा दोहोरो कुरा गर्न नसक्ने बालबालिकालाई जबर्जस्ती अंग्रेजी बोल्न सिकाउने र नियमितजसो अंग्रेजी बालगीत सुनाउने विद्यालय व्यवस्थापन र शिक्षकका कारण पनि तिनले आफूले बुझ्ने नेपाली बालगीत सुन्न पाएका छैनन् । यसो गर्नु भनेको तिनलाई नेपाली बालगीत सुन्दा हुने प्रत्यक्ष–अप्रत्यक्ष फाइदाबाट पनि वञ्चित गराउनु हो ।


विशेष गरी नेपाली र अन्य विषयका शिक्षकले विषयवस्तु अनुसारका बालगीत तयार गरे उनीहरूको सिर्जनशीलता मात्रै बढ्दैन, व्यक्तित्व विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । नेपाली विषयका शिक्षकहरूले बालगीत आफै तयार गर्दा शब्द भण्डार बढाउनुपर्ने हुन्छ । त्यसका लागि अतिरिक्त पुस्तक र पत्रपत्रिका पढ्नुपर्ने हुन्छ । एवंरीतले शब्द भण्डार बढ्दै जाँदा शिक्षक–शिक्षिकामा तिनै शब्दलाई प्रयोग गर्ने सीपको विकास हुन्छ । यस्तै, आफूले पढाउने विषयवस्तु रोचक बनाउन सबैभन्दा पहिले विद्यार्थीको ध्यानाकर्षण गर्नुपर्ने हुन्छ । बालगीत सुन्दा र गाउँदा विद्यार्थीमा एकाग्रता मात्र बढ्दैन, तिनले त्यसमा प्रयुक्त शब्दको सही उच्चारण गर्न पनि सिक्छन् ।


अर्को कुरा, उमेर अनुसारको गीत सुन्ने अवसर पाएका बालबालिका आफै पनि गाउने प्रयास गर्छन् । सानै उमेरदेखि गीतसंगीतमा रमाउने बालबालिका सबै भविष्यमा गायक/संगीतकार नभए पनि संगीतप्रेमी त अवश्य हुन्छन् । बालबालिकालाई संगीतप्रेमी मात्र बनाउन सकियो भने पनि उनीहरू दुर्व्यसनमा फस्दैनन् र पछि जिम्मेवार नागरिक बन्ने प्रयास गर्छन् । प्राय: संगीतप्रेमी व्यक्ति समाजप्रति सकारात्मक हुने र विकासको संवाहक बन्न चाहने देखाएका छन् अनेक अध्ययन–अनुसन्धानले ।


हामीकहाँ गीत–संगीतप्रतिको दृष्टिकोण परम्परागत छ । शिक्षक–शिक्षिका मात्रै हैन, अभिभावकहरूको पृष्ठभूमि हेर्ने हो भने विरलै मात्र संगीतप्रेमी हुन्छन् । शिक्षक–शिक्षिका र अभिभावकको गीत–संगीतप्रतिको पुरातन दृष्टिकोणका कारण हाम्रा बालबालिकाले हाल उपलब्ध नेपाली बालगीत पनि सुन्न पाएका छैनन् । कतिसम्म भने, विद्यालयहरूले वर्षेनि आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा ससाना विद्यार्थी मायाप्रीतिका गीतसंगीतमा नाच्न–गाउन बाध्य छन् ।


पछिल्लो समय निजी विद्यालयहरूमा सांस्कृतिक कार्यक्रम गर्ने चलन बढ्दै छ । यसको तयारीका लागि भए पनि कतिपय तिनले नृत्य सिकाउन शिक्षक राख्ने गरेका छन् । राजधानीका कतिपय निजी विद्यालयले नृत्यजस्तै गीतसंगीत सिकाउने शिक्षक नियुक्त गर्न थालेको धेरै भयो । यस्ता शिक्षकले बजारमा उपलब्ध नेपाली बालगीत सुन्ने–सुनाउने प्रयास मात्र गर्ने हो भने पनि बालबालिकाको मानसिक विकासमा उल्लेख्य सुधार आउँदै जान्छ । नेपाली बालगीत सुन्दा–सुनाउँदा अंग्रेजी वातावरण बिग्रन्छ भन्ने पूर्वाग्रहबाट शिक्षक–शिक्षिका र विद्यालय व्यवस्थापन मुक्त हुन जरुरी छ ।


प्रकाशित : आश्विन २, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?