कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिद्धका गुत्थी

कृष्णप्रसाद भुसाल

नामले सिकारी चरा भए पनि गिद्धले कहिल्यै सिकार गर्दैन । केवल मरेका जनावरको मासु अर्थात सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ । यस हिसाबले गिद्ध प्रकृतिको कुचीकार हो । हामी भने गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्छौं ।

यो हामी मानव जातिको ठूलो दृष्टिदोष हो । गिद्धे दृष्टि भनेर हामीले जुन कुरालाई इङ्गित गर्छौं, त्यो कदापि जायज होइन । बरु गिद्धले मानिसभन्दा आठ गुणा टाढासम्म देख्ने हुँदा गिद्धे दृष्टि भनेको टाढासम्म देख्ने भन्ने हुनसक्छ । सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने गिद्ध पर्यावरणीय चक्र सनातन, खाद्यशृङखलाको सन्तुलन र गतिशीलताको संवाहक हुन् ।


गिद्ध बाहेक अरु सिनो खाने जनावरहरूले सिनोको करिब ३६ प्रतिशत भागमात्र खान सक्छन् । गिद्धले भने सिनोको करिब ८० प्रतिशत खपत गर्छ । जिप्स प्रजातिले मूलतः मासु लुछी खान्छन्, सेतो गिद्धको प्रजातिले स–साना बचेका मासुका टुक्रा खान्छ भने हाडफोर गिद्धले हड्डीको टुक्रा र बोन म्यारो खान्छ, जसले करिब ३० सेन्टिमिटर लामा हाँडका टुक्रासम्म निल्न सक्छ ।


सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरूको संक्रमणले निम्ताउन सक्ने महामारीबाट बचाउँछ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको बहनका रूपमा पुजिन्छ ।


रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्ने गर्छन् ।


करिब दुई दशक अघिसम्म गिद्ध संसारमै सबैभन्दा सहजै देख्न सकिने र ठूलो संख्यामा भेटिने चराका प्रजातिमा पर्थे । विडम्बना सन् १९८०/९० को दशकमा आएर खासगरी भारतीय उपमहाद्वीपमा पाइने गिद्धहरू संसारमै तीव्र गतिले घटेर लोप हुने अवस्थामा पुगे । नेपालमा पनि सन् १९८० को दशकमा १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सीमित भएका छन् । आईयुसीएनले नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अति सङ्कटापन्न सूचीमा, एक प्रजातिलाई सङ्कटापन्न सूचीमा र तिन प्रजातिलाई सङ्कटको नजिक सूचीमा राखेको छ ।


गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात सिनो खाँदा गिद्धको मृगौलामा असर गर्छ ।


समूहमा खाने गिद्धलाई ३० मिलिको एक भाएल डाइक्लोफेनेक संक्रमित एउटै सिनोले ३५० देखि ८०० गिद्धहरू मार्ने भएकोले यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । वासस्थानको विनाश, आहाराको कमी, सिनोमा विषको प्रयोग, गिद्धलाई हानि गर्ने अन्य पीडानाशक औषधि र विद्युतीय तारजस्ता कारकहरू जीवित सानो संख्यामा रहेका गिद्धका लागि खतरा हुन् ।


गिद्धको यस प्रकारको विनाशबाट वातावरणमा सिनोबाट उब्जने प्रदूषण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर बढ्दै जाँदा गिद्ध जोगाउने अभियानलाई नेपाल सरकार, मातहतका सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था, संरक्षणकर्मी, सरोकावाला निकाय र समुदायहरूले आत्मसात गरेको देखिन्छ ।


गिद्ध संरक्षणका लागि नेपाल सरकारले जेठ २३, २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु गर्‍यो । गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू संकलन गरी पालन–पोषण गरिन्छ ।


तिनीहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । नजिकैको अवलोकन घरबाट अति संकटापन्न गिद्धका प्रजाति, आनीबानी र क्रियाकलापको अध्ययन अवलोकन गर्न सकिन्छ । रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तारित भएका जटायु रेष्टुरेन्टले वृद्ध र छाडा चैपायाहरूको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गर्नुका साथै पर्या–पर्यटन प्रवर्द्धन, स्थानीयबासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र पनि हुन् ।


स्थापनाको दस वर्षपछि चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने र स्याटेलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी भएको छ, जसले प्रकृतिमा गिद्धको संख्या बढाउन र गिद्धको जैविक विज्ञानको जानकारीमा थप टेवा पुर्‍याउनेछ ।


नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९—२०१३’ को सफल कार्यान्वयनपश्चात् दोस्रो पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ को कार्यावन्यनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षण साझेदार संस्था र समुदायले हातेमालो गरिरहेका छन् । हामीले अंगिकार गरेको समुदायमा आधारित गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान र यसबाट प्राप्त नतिजा विश्व संरक्षण समुदायका लागि उदाहरणीय र अनुकरणीय बनेका छन् ।


गिद्ध स्वतन्त्रपूर्वक ठूलो र फराकिलो भूभागमा उड्ने चरा भएकोले बृहत भूदृश्य स्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा गिद्ध संरक्षण अभियान सञ्चालन गर्नु गिद्धको दिगो संरक्षणका लागि प्राथमिक आवश्यकता हो । यही पृष्ठभूमिमा नेपालबाटै गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणामा आधारित भएर संरक्षणका कार्यक्रमहरूको थालनी सन् २००९ बाट सुरु गरिएको हो ।


नेपालमा गिद्ध संरक्षणको क्षेत्रमा हालसम्मका भए–गरेका संरक्षण अभियान र आगामी रणनीतिहरूको लेखाजोखा गर्दा गिद्ध सुरक्षित क्षेत्रको विकास तथा व्यवस्थापन सफलता उन्मुखतर्फ बढेको देखिन्छ । फलतः पछिल्ला वर्षहरूमा नेपालमा गिद्धको ह्रास रोकिएर पुनः बढ्ने दिशामा अघि बढेको अध्ययनहरूले देखाएका छन् ।


दिगो रूपमा गिद्ध संरक्षणका लागि स्रोतको पहिचान तथा सुनिश्चितता, समुदाय सशक्तीकरण, स्थानीय निकायका कार्ययोजनामा गिद्ध तथा जैविक विविधता संरक्षणका क्रियाकलापहरूको मूलप्रवाहीकरणमा भने जरुरी छ । हाम्रा गिद्ध सुरक्षित क्षेत्रका केही भाग भारतमा पनि पर्छ । तसर्थ गिद्ध संरक्षण र गिद्ध सुरक्षित क्षेत्र स्थापना तथा दिगो व्यवस्थापनमा नेपाल र भारतबीच अन्तरदेशीय सहकार्य र साझेदारीको टडकारो खाँचो छ ।


नेपालमा हालसम्मका गिद्ध संरक्षणका कार्यक्रमहरू मूलतः दाताहरूमा निर्भर छन्, जुन दीर्घकालसम्म सञ्चालित नहुन सक्छन् । मानिसमा प्रयोग गरिने डाइक्लोफेनेकको पशु उपचारमा अवैधानिक प्रयोग, सिनोमा विष हाल्ने, किटोप्रोफिन, निमुसलाइड र एसिक्लोफेनेक जस्ता औषधिहरू पनि गिद्धका लागि हानिकारक ठहरिनुका साथै अन्य पर्यावरणीय चुनौती हामीमाझ विद्यमान छन् ।


स्थानीय निकायहरू स्वायत्त र शक्ति सम्पन्न भएको वर्तमान अवस्थामा ती निकायहरूले आफ्नो कार्यक्रममा गिद्ध संरक्षण तथा गिद्ध सुरक्षित क्षेत्रको दिगो व्यवस्थापन, पूर्वाधार विकास र अध्ययन–अनुसन्धान जस्ता कार्यक्रमहरूलाई आत्मसात गर्नसके यसको सफलता निश्चित छ ।


लेखक नेपाल पन्छी संरक्षण संघमा आबद्ध छन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?