टोल उत्सव

विमल निभा

काठमाडौँ — [१]ध नमायाको कुखुराको भाले बिहान–बिहानै कराउने गर्थ्यो ।आज धनमाया नै पहिले बिउँझेर यताउता फर्‍याकफुरुक गरिरहेकी छन् ।हंसमान दाइ बारीमा ठिङ्ग उभिएर कतै हेरिरहेका छन् ।बल्ल कुखुराको भाले कराउँछ– कुखुरी काँ.....।

[२]
खरेलनी बजैको प्रभात भजनको नियमितता चालु छ ।
भजनको सुर र ताल भने केही बेग्लै महसुस गर्न
सकिन्छ आज ।
एउटा लयात्मक रफ्तारमा उक्लेर खरेलनी बजैको भक्तिभाव टुप्पोमा अडेको छ ।
र अचम्मको कुरो के छ भने यसमा भूतपूर्व कमरेड श्रीमान खरेल पनि आफ्नो कट्टर नास्तिकतासहित सामेल छन् ।
[३]
टोलको नामुद जुवाडे काजी घरको बरन्डामा देखापरेको छ ।
रात–रातभरि जागेर कौडा हान्ने जीवात्मा यसरी बिहानै देखिनु कुनै चमत्कारभन्दा
कम छैन ।
अर्को अचम्म के भने काजीको मुखारविन्द उज्यालो देखिएको छ । त्यहाँ अलिकति पनि रात्रि जाग्रामको थकान छैन । के हिजो राति काजीले दाउमा ठूलै जित हासिल गरेको हो त ? अथवा.....।
घरबाट तल बाटोमा हिँंड्नेलाई काजीले ‘गुडमर्निङ’ गरेको सुनिन्छ ।
[४]
टोलका भुसिया कुकुरहरू पनि त्यतिसारो भुकिरहेका छैनन् ।
एक–दुई अति उत्साहित कुकुरको छाउरालाई टोलका केटाहरूले मार्सल आर्ट स्टाइलमा लात्ती हानेर चुप गराएका छन् ।
श्वान बोलीको अभावमा टोल नै अर्को लागिरहेको छ आज ।
अनि सबै टोले कुकुरहरू परम सिद्ध महात्माझैं देखिएका छन् ।
[५]
सुब्बा–सुब्बेनीको नित्य झगडाको आवाज सुनेर टोल जाग्ने गर्छ ।
वास्तवमा कुरो के हो भने एक चौथाइ टोलबासीले दुवै जोइपोइका बाझाबाझको चर्को ध्वनि श्रवण गरेर
बिछ्यौनाबाट उठ्ने बानी बसालेका छन् ।
आजको ताजा बिहान भने सुब्बा–सुब्बेनीको झैझगडा बिना नै सहसा जागृत
भएको छ ।
‘सुब्बा निवास’ बिग्रिएको साउन्ड बक्सझैं विलकुलै शान्त एवं शब्दहीन ।
र सुब्बा–सुब्बेनी हँसिलो मुद्रामा घरको आँगनमा
उभिएका छन् ।
[६]
गुरजु स्वयम्भूनाथको दर्शन गरेर ब्रह्ममुहूर्तमै घर फर्की
पनि सक्छन् ।
टोलको केही परको स्वयम्भूसम्मको बाटो उनको नेवारी बोलीको भजनगानले गुञ्जने गर्छ ।
यही आशरत्न गुरजुको नित्यकर्मको आरम्भ हो । कुनै–कुनै दिन भने क्रम टुट्ने गर्छ । जस्तो, आज सत्तरी वर्ष नाघिसकेका ज्येष्ठ नागरिक गुरजु ‘हे भगवान द्य......’ भनेर
आफ्नो घर वरिपरि नै परिक्रमा गरिरहेका देखिन्छन् ।
[७]
टोलको उरन्ठेउली ग्वार्चा बेसुर तालमा सिनेमाको गीत गाइरहेको छ ।
यो गीत सुनेर आज कोही पनि उसलाई हप्काउने
मुडमा छैन ।
यसले ग्वार्चाको बेसुरपन चरममा पुगेको छ ।
लौ सुन्नोस्, यो टोलको ग्वार्चा संगीत ! (शब्द बुझ्न गाह्रो) ।
[८]
बिहानको उज्यालोमा पनि रातका आवारा लामखुट्टेहरू भुनभुन गरिरहेका छन् ।
एक लामखुट्टे– आज टोलमा के हो पार्टनर ?
अर्को लामखुट्टे– तिमीलाई थाहा छैन, आज टोलको सरकारी धारोमा पानी आउने दिन हो ।
तेस्रो लामखुट्टे– हो र पार्टनर ?
एक लामखुट्टे– हरेक पन्ध्र दिनमा नियमानुसार टोलमा पानी आउने गर्छ ।
अर्को लामखुट्टे– आजै त्यो दिन हो त पार्टनर ?
चौथो लामखुट्टे– हो, आज बिहानको ४ बजेदेखि ५ बजेसम्म घर–घरको धारोमा एक घन्टा पानी आउनेछ ।
[९]
टोलको समय घडीमा ४ बज्छ । त्यसपछि ५ बज्छ ।
अनि ६ बज्छ ।
र ७ बज्छ ।
८ पनि बज्छ ।
अब ९ बजिसकेको छ ।
हो, १० बज्यो । (५ मिनेट भइसकेको छ) ।
टोलको सरकारी धारोमा
पानी आउने कुनै लक्षण देखापरेको छैन ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

व्रतको अर्थ–राजनीति

सिर्जना ढकाल

साउनको मैझारोसँगै तीजको चटारो सुरु भइसकेको छ । तपाईं धर्मकर्म र व्रतविधिको माहोलमा फिट हुनुहुन्न भने आफन्त र साथीभाइ माझमै ‘आउट साइडर’ ठहरिनु हुनेछ । गत साउनको एक दिन एउटा जमघटमा साउने व्रत कडिकडाउ पालना गर्ने एउटी आफन्त भेटिइन् । साउनभरि माछा–मासुदेखि लसुन–प्याजसम्म नखाने ।

त्यो दिन उनको कारण घरबेटीलाई अतिरिक्त हैरानी र तनाव भयो । उनको लागि विशेष ‘चोखो’ खाना त छँदै थियो, त्यसमाथि लसुन–प्याज राखेको तरकारीको भाँडाले छोइन्छ कि भन्ने जगजगी पनि । उनी केही वर्ष अघिसम्म यति कट्टर थिइनन्, अचेल कट्टरताको सिमाना देखिँदैन । यति मात्रै होइन, मंगलबार गणेश व्रत, एकादशी अनि पूर्णिमाको व्रत अनि शनिबारको व्रतको साथै बेला–बेलामा सम्भव भएसम्मका मन्दिरहरूमा पूजाआजा । अनि बेला–बेला विभिन्न ज्योतिषीकहाँ श्रीमान र छोराछोरीको चिनाचपेटा पनि लिएर पुग्छिन्, उनी । ३० वर्ष पनि ननाघेकी उनको यो भक्ति र अन्धविश्वास उदेकलाग्दो छ ।

अर्की परिचित महिला छन्, लोग्नेले हेंला गरेर सौता ल्याएको, उनी छोरी र सानी नातिनीसहित साउनको हरेक सोमबारमा शिवमन्दिर पुगेकै हुन्छिन् । तीजमा निराहार व्रत बस्छिन् । पञ्चमी पूजा पूरै विधिका साथ गर्छिन् । महिला भएकै कारण हिंसामा परेकी उनको शिवलिङ्गप्रतिको मोह झनै उदेकलाग्दो छ । आमा र हजुरआमाले विधि पुर्‍याएर गर्ने पूजाआजा र व्रत देखेर हुर्कंदै गरेकी नातिनीले ठूली भएर हजुरआमा र आमाकै बाटो नपछ्याउने कुरामा शंका लाग्छ । उसका साना हातमा लगाइएका हरिया चुरा अनि मेहन्दीले नै धेरै कुरा बोल्छ । यति मात्रै होइन, तीज लगायतका व्रत बस्नु किन आवश्यक छ भन्ने कुरामा सानोतिनो प्रवचन नै दिन्छिन्, उनी । पुरुष सत्ताबाट बिभिन्न बहानामा उत्पीडनमा पारिएकाहरू नै जानीबुझी वा नबुझेर त्यही सत्तालाई बलियो बनाउने उपक्रममा लागेको देखिन्छ ।

स्कुल, कलेज जाँदै गरेका किशोरी, युवतीहरू, कार्यालय भ्याउने कामकाजी महिला अनि घर धान्ने गृहणीहरू, महिला बुद्धिजीवी र राजनीतिकर्मीसमेत सबै साउनको सोमबारदेखि, तीज, पञ्चमी अनि शिवरात्रि व्रतको पछाडि यसरी परेका छन्, मानौं उनीहरूको सबै दुःखकष्टको निवारण तिनै व्रतहरूले गर्छन् । हाम्रा हजुरआमाहरूका हजुरआमा व्रत बसे, हाम्रा हजुरआमाहरूका आमाहरू व्रत बसे, हाम्रा हजुरआमाहरू व्रत बसे । यसैगरी हाम्रा आमाहरू व्रत बसे । तर पनि उनीहरूमाथिका उत्पीडन र दुःखकष्ट घटेनन्, बरु बढेर गए । व्रतका शक्तिले जीवनका दुःखकष्ट र उत्पीडनबाट मुक्ति मिल्ने भए पुस्तौं–पुस्तादेखि आमा हजुरआमाहरूले बस्दै आएका व्रतले आजसम्म महिलाको जीवन अर्कै भइसक्ने थियो । यो सबै देख्दादेख्दै पनि हाम्रो चेत खुलेको छैन ।

हामी एकातिर अध्यात्मवादको दास बन्छौं भने अर्कोतिर उपभोक्तावादले पनि हामीलाई चपाउँदैछ । एकातिर पढालेखा सहरिया र मध्यम वर्गका महिलाहरू शिव मन्दिरअघि भिड लागेका छन् । अर्कोतिर महिला केन्द्रित भनिने म्यागजिनदेखि मूलधारका सञ्चार माध्यमसम्म व्रत बस्दा के गर्न हुने के गर्न नहुने, के खान हुने के नहुने, गहना कस्तो के लगाउने, लुगा कस्तो लगाउने र कस्तो शृंगार गर्ने भन्ने बारेमा प्रशस्त टिप्सहरू भेटिन्छन् ।

हाम्रो समाजको मनुवादी मगजसँग बजारले लगनगाँठो कसिसकेको छ । मनुवादी मगज महिलाको जुनीलाई सर्वथा त्याज्य, हीन र तुच्छ सम्झन्छ र पुरुषसत्ताले यही मनुवादी चिन्तनका आधारमा आफूलाई बलियो र महिलालाई कमजोर रूपमा प्रस्तुत गर्छ । पितृसत्ता निःसृत यही हीनभावना र लघुताभासलाई हतियार बनाउँदै बजार महिलालाई कहिले हरिया चुरा र हरिया वस्त्र त कहिले छड्के तिलहरी र चन्द्रमा अनि राता सारीहरू बेचिरहेछ । लघुताभास बोकेर युवतीहरू अर्को जन्ममा महिला भएर नजन्मिनका लागि वा यही जन्ममा बलियो पुरुष प्राप्तिका लागि व्रत बस्छन् ।

बिहे गर्ने व्यक्ति छनोट र प्रेम गर्ने स्वतन्त्रता नदिने समाजमा साउन र तीजमा व्रत बसे, शिवको आराधना गरे, मनले चाहेको जीवनसाथी मिल्छ भन्ने विश्वास थोपरिन्छ । तर कसैले जातभातको विचार नगरी प्रेम गर्ने वा विवाह गर्ने कोसिस गर्‍यो भने उसलाई जबर्जस्ती छुट्याउनेदेखि हत्या गर्ने वा आत्महत्या गर्न बाध्य पार्ने गरिन्छ । यस्तो किन हुन्छ भनेर अहिलेको पुस्ता सोच्नतिर लाग्ने कि व्रत बसेर ‘चाहेको मान्छे पाऊँ’ भनी मन्दिरै धाउने ?

उपभोक्तावादका लागि संसार हरेक वस्तु उपभोगयोग्य छन् । उपभोक्तावादको लागि एकातिर महिला उपभोगको वस्तु हो भने अर्कोतिर उपभोक्ता पनि । धर्मलाई उपभोक्तावादले अपनाएपछि यी दुईको गठजोडबाट महिलामाथिको शोषण झन् चर्को हुँदो छ । धर्मले भन्छ— महिलाको सबै दुःखको समाधान पूजाआजा व्रतले हुन्छ । साउनमा व्रत बस, तीजमा व्रत बस, पञ्चमीको पूजा गर भन्छ । बजार अनि उपभोक्तावादले साउन अनि तीजको लागि लक्षित गरेर लुगा र गहना, शृंगारका सामान उपभोग गर्न लोभ्याउने र उक्साउने गर्छ । बजारको लागि हरेक चिज बिक्रीयोग्य वस्तु हो । जहिलेबाट उपभोक्तावादले धर्मलाई अँगाल्यो, उसले धर्मका हरेक भ्रमलाई वस्तुको रूपमा बजारमा प्रवेश गराएको छ । उसले धर्मलाई नै वस्तुको रूपमा बजारमा ल्यायो । लोकप्रियताको मापनमा विशेषतः महिलाहरू र बच्चाहरूमाझ सबैभन्दा लोकप्रिय धार्मिक कथाहरू भएका र अलौकिक शक्ति भएका पात्रहरूका कथा भएका सिरियल वा कार्टुनहरू नै छन् ।

साउन महिनाबाटै बजारमा बुटिकहरू, गहनाहरू अनि शृंगारका सामानको व्यापार ह्वात्तै बढिरहेको छ । विशेष रङका लुगा अनि पहिरनको बजारमा भएको खपत अनि यसको व्यापार डरलाग्दो छ । अरुभन्दा सुन्दर र फरक देखिने लोभ र भ्रममा हामी थाहै नपाइकन उपभोक्ताको रूपमा परिणत भइरहेका छौं । उपभोक्तावादले विभिन्न भ्रम र प्रलोभनहरू बाँडेर महिलालाई वस्तुमा परिणत गरेर बजारमा बेचिरहेको छ । अनि महिलालाई नाफा कमाउने माध्यम बनाइरहेको छ । यसले महिलाहरूमाथि शासन गर्दै र थिचोमिचो गर्दै आएको पुरुषसत्ताको शक्तिलाई यो या त्यो बहानामा झन् बलियो बनाइरहेको छ । अचेल तीजमा महिनादिनसम्म क्याटरिङ वा रेस्टुरेन्टहरूमा दर खाने–खुवाउने चलन पनि उपभोक्तावादकै नमुना हो ।

बजारमा उपभोक्तावादका अनेक स्वरूप देख्न पाइन्छ, जस्तो– तीज स्पेसल भनेर विभिन्न सौन्दर्य प्रतियोगिता तथा मल तथा सपिङ सेन्टरहरूमा विशेष सेलहरू । अनि त्यसमा लाम लागेर भाग लिनेहरू प्रायः शिक्षा अनि चेतनाको राम्रै अवसर र पहुँच भएकाहरू नै बढी हुन्छन् । अनि सरकार जसले यस्ता कुरामा बोल्ने नैतिक हैसियत गुमाएको छ, उसले हठात् निर्णय गर्छ, तीजमा पार्टी प्यालेसहरूमा तीजका कार्यक्रम गर्न नपाउने भनेर । सरकारले बेला–बेलामा बिर्सन्छ कि यतिबेला बजारको सबैभन्दा ठूलो उपभोक्ता नै सरकार हो र उसको वर्ग अनि धरातलले बजारको अनि उपभोक्तावादको विरोध गर्न सुहाउँदैन पनि ।

विगतमा कतिपय महिलाले तीजलाई राजनीतिक चेतना जगाउन उपयोग पनि गरे । तर व्रतरूपी अन्धविश्वास हटाउन सकेनन् । सतहमा हुने राजनीतिक परिवर्तनसँगै महिला कार्यकर्ताहरू अहिले भोटको राजनीतिको भुलभुलैयामा रुमल्लिएको देखिन्छ । त्यसैले महिला सरोकारका तमाम मुद्दाहरू र महिला मुक्तिको विषय अध्यात्मवादी व्रत राजनीतिलाई सुम्पेर चुपचाप बसेका छन् । उनीहरू आफैं पनि व्रतवादी अर्थराजनीतिको चक्रव्यूहबाट मुक्त हुनसकेको देखिंँदैन । राजनीतिक नेतृत्व अल्मलिए पनि या उसले धोका दिए पनि यदि महिलाहरूले आफ्नो जीवनलाई सहज, सरल र सम्मानयुक्त बनाउने हो भने धर्म र उपभोक्तावादले फैलाउने तमाम भ्रमबाट मुक्त हुन जरुरी छ । अध्यात्मवाद र उपभोक्तावादलाई टाउकोमा बोकेर गरिने यात्राले भ्रम नै सिर्जना गर्ने हो, मुक्ति दिँदैन ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×