त्रिवि, केन्द्रवाद र क्रोनी 

समय रेखा
अभि सुवेदी

आफूले भनेका कुराबाट आफैंलाई केही कुरा झल्याँस्स ज्ञान हुनुलाई जापानी जेन दर्शनमा सातोरी भन्छन् । अर्को कुरा अमेरिकी विद्वान गायत्री स्पिभाक चक्रवर्तीले भनेझैं मलाई हरेकपटक विद्यार्थीहरूको कक्षामा गएर भाषण गर्नु एउटा निबन्ध लेख्नु जस्तै हो । निबन्ध लेख्नु भनेको पहिले नै खिचेको योजना र उपायले घायल नभई स्वतन्त्र भएर कुरा राख्दै जानु हो ।

मलाई भर्खरै एउटा कार्यक्रममा बोल्दा यस्तो सातोरी भयो— नेपालमा लगभग सबै क्षेत्रका हाम्रा समस्या केन्द्रमुखी ग्रन्थिले बनिएका छन् र शिक्षालाई अनि त्यसले दिने ज्ञान र दर्शनलाई पनि त्यो ग्रन्थिले गाँजेको छ । केन्द्र बनाउँदै जानु, त्यसको चुम्बकले नित्य तानिनु, अनि त्यसबाट समस्या सिर्जना गरेर भ्रामक दर्शन बनाउनु हाम्रो समस्या हो ।

समकालीन विमर्श शृङ्खलाको निम्ति ‘सार्वजनिक शिक्षा ः कहाँ चुक्यौं हामी ?’ भन्ने शीर्षकमा बोल्न ५ साउन २०७६ मा हरि रोका भाइले मलाई आमन्त्रण गरेकाले गएर बोलेको थिएँ । आयोजकले केदारभक्त माथेमा र मेरो प्राध्यापन र अनुभवको हिसाबले एक पुस्ताका संकथन हुनेछन्, अनि पहिलेकी विद्यार्थी नेतृ र अहिलेकी सांसद रामकुमारी झाँक्री र तिलक विश्वकर्मा भाइका समकालीन संकथन हुनेछन् भन्ने हिसाब राखेको देखिन्थ्यो ।

माथेमाले आफ्नो विस्तृत अनुभव र आफूले त्रिविका उपकुलपति, शिक्षाकर्म र सही संघर्षका अभियन्ता भएर पाएका अनुभवको निचोडमा कुरा राखे । उनले राखेको एउटा कुरा यस्तो थियो— नेपाली शिक्षाका सबै तहमा राजनीतीकरण गर्नेहरूले दुर्दान्त कर्मको रूपमा स्थापित गरेको चलन बन्द गरिहाल्नुपर्छ । रामकुमारी झाँक्रीले हामी कमिनिष्ट र कांग्रेस विद्यार्थीले गरेको ठूलो गल्ती त्यही हो भनेरै संकथन आरम्भ गरिन् । म यस लेखमा भने त्यस दिन बोल्दा खुलेको मेरो एउटा निबन्ध चेतना राख्न चाहन्छु ।

नेपालमा शिक्षामा चिन्ता राख्नेहरूले अहिले एक्कासी चारैतिरबाट विश्वविद्यालय र शिक्षा विषयमा राखेका कुरार छलफलबाट सिक्ने पक्ष यस्ता छन् । पहिलो, यी सबै त्रिभुवन विश्वविद्यालयलाई केन्द्रमा राखेर उठाइएका कुरा हुन्, जसमा बेथिति, शिक्षाको मर्यादाका उल्लंघन र कीर्तिपुर विश्वविद्यालय परिसरमा विश्वविद्यालयको भूमि धेरै किसिमका मानिस र संस्थाले खाँदै गरेका कुराका खुलासा भएपछि आएको छ ।

दोस्रो, अहिले उच्चशिक्षा र यसको व्यवस्थापनमा बुझाइ र प्रयोगको तल्लो चाखको दलीय संस्कार हावी भएर जन्मिएको समस्याको प्रतिविम्बित रूप हो, अहिलेको अवस्था । तेस्रो, मलाई झल्याँस्स ज्ञान भएको छ । अहिले विश्वविद्यालयको छलफल गर्नेहरू बेथितिहरूको आलोचकमात्रै नभएर शिक्षाविद नै भएर प्रस्तुत हुन्छन् । त्यसमा धेरै थरीका मानिस पर्छन् । उनीहरूको तर्क छ, अब विश्वविद्यालय सकियो ।

यो लगभग यसको अन्तिम अवस्था हो । अब केही गरे पनि यो विश्वविद्यालय बनिँदैन । त्यस्तो छलफलले सधैं विद्यार्थीसँग काम गरिरहेका, तिनका प्राज्ञिक कर्ममा सहयोग गरिरहेका र हिजोदेखिको विश्वविद्यालयको परम्परा र ‘स्पिरिट’ कायम गरेर बसेकाहरूलाई चोट लाग्नु, र लज्जाबोध हुनुस्वाभाविक हो ।

अहिले विश्वविद्यालय, खासगरी त्रिवि (आफू त्यसैसँंग सम्बन्धित भएकोले) विषयलाई लिएर निकालिने निष्कर्षहरूमा मूल समस्या पहिचान गरेको भेटिँंदैन । त्यो हेर्न त्रिवि अथवा रूपकको अर्थमा भन्दा कीर्तिपुर विश्वविद्यालय परिसर अनि योसँग सम्बन्धन भएका संस्थाहरूलाई बुझ्नुपर्छ । यो सबै दोहोर्‍याइरहन लामो हुने भएकोले अबचाहिंँ त्रिविमात्रै भनेर बुझाउन चाहन्छु । त्रिविको स्थापना प्रजातन्त्रपछिको नेपालमा विश्वविद्यालय हुनुपर्छ भन्ने सही विचार र सिद्धान्तले भएको थियो ।

त्यसैले विश्वविद्यालय चलाउनेहरूलाई कसरी चलाउनुपर्छ भन्ने ज्ञान र अनुभव हुने कुरै भएन । यहाँ त्रिचन्द्र कलेज चलाउने अनुभव भएकाहरूमात्र थिए । पटना विश्वविद्यालयसँग सम्बन्धनभएकोले विश्वविद्यालय भनेको एउटा मान्यता दिने अमूक उच्च प्रतिष्ठा भएको शैक्षिक संस्था पक्कै मानिएको हो । विश्वविद्यालय खोल्नु ठूलो महत्त्वको विषय थियो । त्यो एउटा भावात्मक, बौद्धिक र शैक्षिक रूपमा मात्रै होइन, राष्ट्रिय दृष्टिले पनि महत्त्वपूर्ण काम थियो ।

सायद विना कुनै विवाद यसको नाम राजा त्रिभुवनको नाममा राखियो । उनको मूर्ति र कलाकार अमर चित्रकारले बनाएका उनका दुईवटी रानीका तेलचित्र भित्तामा अंकित भए । किञ्चित नेवारी प्रतिष्ठित नारीका मंगलमय र स्नेहालु भावमा बनाइएका रानीहरूका यी पोट्रेटहरू विश्वविद्यालयको स्मृति भवनमा पुग्ने सबैको मनमा पुनरावृत्त वा ‘आर्केटाइप’ भएर रहेका हुन् । त्रिवि त्यही रूपमा शक्तिको प्रतीक, ‘स्मृति’ भएर रह्यो ।

त्रिविका कुलपति राजा नै रहने, राजा फर्केर जाने, किम्बा सम्बोधन गर्ने चलनमा राजाले देशको शासन शक्ति, ज्ञान, ज्योति र अपरोक्ष रूपमा नियन्त्रणको रूपमा पनि राखेका थिए । त्यस अर्थमा त्रिवि यो देशको शासकको ऐक्य बुझाउने, सांस्कृतिक र ज्ञानजनिन अनि उपदेशात्मक रूपमा एकल शक्तिकेन्द्रको रूपमा रह्यो ।

कीर्तिपुर वा त्रिवि त्यस अर्थमा एक यस्तो केन्द्र भयो, जसको घोषित वा अघोषित लक्ष्य भनेको शक्ति उत्पादन गर्नु हो । एउटा कुरा भने हामीले मान्नुपर्छ । त्यो हो, राजा र पञ्चायती प्रधानमन्त्रीहरूका सायद मिसेल फुकोले भनेजस्तो यहाँ ज्ञान उत्पादन गर्ने चाहना भए पनि प्रस्ट योजना थिएनन् । यो एउटा रमाइलो विडम्बना हो, त्रिविको । त्रिविमा धेरै कालसम्म विषयका विविधता र तिनका फैलावट हेर्दा एक किसिमले अनौठो लाग्छ ।

विश्वविद्यालयका विभाग, विषयका विस्तार, अनुसन्धान गर्ने थलोहरू, अनुसन्धान, प्रकाशन, विदेशी विज्ञहरूलाई ल्याएर अनि बाहिरी विश्वविद्यालय र संस्थाहरूसँग सहकार्य गर्ने चलन, यहाँबाट बाहिर पठाएर प्राध्यापन गर्ने मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, विज्ञान, कमर्सपछि गएर इञ्जिनियरिङ अध्ययनका सबै अवयव त्रिविकै थिए र छन् ।

स्व. कमलप्रकाश मल्लसँग त्यस बेलाका उपकुलपति स्व. त्रैलोक्यनाथ उप्रेतीले जनवरी १९७० मा दिएको अन्तर्वार्तामा भनेको कुराले इतिहास बुझाउँछ । उप्रेतीले भनेको सार यस्तो छ, ‘म कीर्तिपुर परिसरमा सबै संस्थानहरू ल्याउन चाहन्न, तर देशका विभिन्न अञ्चलमा कमसेकम एउटा बलियो कलेज खोल्न चाहन्छु । टेक्निकल संस्थानहरू छरिएर रहनुपर्छ ।’

उनले यसो भन्दा उप्रेतीको मानसमा कीर्तिपुर विश्वविद्यालय परिसरको एक विशाल आकार, भूगोल रहेको बुझिन्छ, जुन आज खुम्चिएर परिसर नै त्रिविलाई छोड्ने आदेश दिनेहरूको हातमा पुगेको छलफलहरूमा आउन थालेको छ । गएको एक महिनाभित्र खासगरी विद्वान, पूर्व प्राध्यापकहरूका कडा लेखहरू प्रकाशित भएका छन्, त्रिवि विषयमा । जसमा यो कुराको चित्र र छलफल भेटिन्छ । उप्रेतीले भनेका छन्, नेपालमा रिडर र पीएचडी नभएको कारणले विभागको हेडमा भारतीय शिक्षकहरूलाई दिनुपरेको हो ।

अनि पहिलो उपकुलपति उपन्यासकार सरदार रूद्रराज पाण्डेको काल्पनिकीको पनि चर्चा आउँछ । रूद्रराज पाण्डे अमेरिका, ब्रिटेन र भारतबाट विद्वान ल्याएर विश्वविद्यालय चलाउन चाहन्थे । सन् १९७० मा ६० वा ७० पूर्णकालीन शिक्षक थिए त्रिविमा, तर सिनेट र सिन्डिकेटमा सरकारी पदेन सदस्यहरू मात्रै राखिन्थे । यहाँ ठाउँ नभएको हुनाले, त्यहाँदेखि अहिलेसम्म कसरी र किन त्रिविको परिस्थिति बिग्रेको हो, बेग्लै हेर्नुपर्छ ।

उप्रेतीको फेडरल काल्पनिकीपछि अरू क्षेत्रीय विश्वविद्यालयहरू खुलेर पूरा भयो कि भएन, छलफलको विषय हो । मेरो विचारमा सबै विश्वविद्यालय लगभग त्रिविका कार्बन कपी हुने कि नहुने द्वन्द्वमा काम गरेको इतिहास हो, पछिल्लो । तर म त्रिवि शब्दलाई नै लिन चाहन्छु, यहाँ ।

त्रिविको उपलब्धि र दुर्दशा दुबै यसलाई केन्द्र मान्ने अनि शक्तिको थलो मान्ने मानसिकताले ग्रहण गर्‍यो । तर विडम्बना रमाइलो छ । विश्वविद्यालयलाई फुकोको अर्थमा ज्ञान उत्पादन गर्ने थलोको रूपमा न कमिनिष्ट न कांग्रेस पार्टीहरूले लिए । उनीहरूले यसलाई विद्यार्थीहरूमा दलका मान्छे, कार्यकर्ता बढाउने अर्थमा लिएका थिए/छन् ।

विश्वविद्यालयमा कुनै समाजवादी वा लिबरल अर्थव्यवस्थाका नीतिले काम गरेनन् । केवल ‘क्रोनी क्यापिटलिजम’ नीतिले काम गरे, गर्दैछन्, अनि तिनले नै डुबाएका पनि हुन् । डुबाउने क्रम जारी छ । त्रिविको केन्द्रीयता बलियो भएर शासकहरूलाई सधैं आकर्षित गर्नु र उनीहरूले त्रिविलाई स्वायत्त हुन नदिनुको पछिल्तिर त्यही कारण छ । मेरो विचारमा त्रिविलाई स्वायत्त हुन शासकहरूले सजिलै दिँंदैनन् । अहिलेसम्मका उदाहरण हेर्दा विद्यार्थी वर्गले पनि त्यसमा सहयोग गर्लान् भन्ने आशा अहिलेसम्मको परिस्थितिबाट हेर्दा नगरे हुन्छ ।

तर त्रिवि समाप्त भएको छैन । यसमा ‘क्रोनिक्यापिटालिजम’ का बेथिति छन् । त्रैलोक्यनाथको विकेन्द्रीकरणको काल्पनिकी अन्तर्गत मेडिकल कलेजहरू पनि परेका छन्, आज । लेख्नु पर्दैन, त्यो त्रिविको ‘फेडरालिस्ट’ काल्पनिकी कता जाँदैछ । तर एउटा ठूलो भावना, ज्ञान र ‘एकेडेमिक’ शक्ति जो बाह्य र आन्तरिक रूपले काम गर्छ, त्यो जीवन्त छ ।

केन्द्रीकृत चेतनाले राजनीति र सरकारलाई प्रभावित पारेको अवस्थामा त्रिविबाट त्यो रातारात हटेर जान्छ भन्ने कुरामा अहिले आस नगरे हुन्छ । तर कसैले पनि जित्न नसक्ने एउटा शक्ति छ, त्रिविको (सबै विश्वविद्यालयहरूको) । त्यो हो, शिक्षाबाटै जन्मिएको सिर्जनात्मक सामर्थ्य, मुक्तिचेतना । त्यो बुझ्न त्यसमा डुबेका हिजो र आजका धेरै शिक्षक र देश र विदेशमा छरिएका विद्यार्थी ‘स्कलर’हरूलाई नै सोध्नुपर्छ । उत्तर आउँछ ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ऊ नसामा फँसिसकेछ

सुभेच्छा भण्डारी

छ पल्याङ– विकासको पूर्वाधारमा बनेको ठूलो पानी जमेको खाडलमा विशाल काय भएको सेतो चारपांग्रे मोटरको एउटा पाङ्ग्रो अड्कियो । ६ वर्षे कान्छो भरर्र फुला उठेका मकै भएको थाल छोडेर, कट्टु समाउँदै त्यही खाडलतर्फ दगुर्‍यो । आत्तिँदै दगुर्‍यो । हर्सित हुँदै दगुर्‍यो ।

नदगुरोस् पनि किन, त्यो उसको सबैभन्दा मनपर्ने मोटर थियो । टिलिक्क टल्किएको रातो र पिरो मकैफुला ल्याउने मोटर । घरको जस्तो साधा र फिक्का हैन ।

डाँको ठूलो थियो । पल्लो भवनबाट वल्लो भवनसम्म सुनिने । हाजिरी मात्र भए पनि लिएर निस्कन्छु सोचेर हाजिरी कापी खोल्न नपाउँदै मिस भनेर गुञ्जिएको चिच्याहटले हाजिरी कापी त्यहीँ छोडेर अर्को भवनतिर दौडिन आह्वान गर्‍यो । पुस्तकालय बाहिर ठूलो भिड थियो । सबैका आँखा आश्चर्यले बडेमानका भएका ।

मानौँ जादुगरको जादुमा तल्लिन थिए । भिडलाई छिचोल्दै म भित्र पसेँ । कति त म भित्र पस्ने क्रमको ठेलमठेलमा होशमा आए । कतिलाई भने वरपर के भैरहेछ चेत थिएन । टमक्क मिलेका दाँतजस्तै सजिएका किताबका र्‍याकहरूको बीचमा, चकटी–चकटी जोडेर बनाइएको सुत्नलायक डसनामा लम्पसार थिइन् उनी । गहुँगोरो वर्ण, सानो कध र हँसिलो अनुहार भएकी उनको आँखामा यो तेस्रोपटक आँसु देख्दै थिएँ म ।

आँसु बगिरहेका ती आँखा छट्पटीमा बन्द थिए । बिरामी सम्हाल्न बसेका कुरुवालाई सम्हाल्न अर्को आधा दर्जन सहयोगी हात जुटाउन पर्ने जस्तो अवस्था थियो । दुखाइ पेटको थियो भन्ने आँकलन गर्न सकिन्थ्यो । ती कलिला हातले तल्लो पेट निचोर्दै थिए । पेट निचोर्दा–निचोर्दै त्यो सर्टमा हाम्रो विद्यालयमा टुसा बेच्न आउने बाजेका चाउरी परेका गालाजस्तै मुजा परेका थिए । यो तेस्रो पटक थियो । उनी यसरी तड्पिएको । उनी पाँचौँ बिरामी थिइन्, सोही हप्तामा मात्रै ।

साधारण प्राथमिक उपचारपश्चात उनका सहपाठी साथीहरूसँगको अन्तरक्रियामा थाहा भयो कि २–३ पोका चाउचाउ बिना उनको दिन बित्दैनथ्यो । राता बुट्टा भएको सेतो खोलमा बेरिएको मैदाको ढिकोले त्यो दिन रातो बत्ती बल्ने सेतो गाडीलाई निम्तो दियो । त्यो दिन त गुड्ने एम्बुलेन्स आयो । दुई दिन अगाडि त चारजना हाड र छालाले बनेका हिँड्ने एम्बुलेन्सले कालो स्ट्रेचरमा काँधको छाला जानेगरी बोकेर स्वास्थ्यचौकी लगेका थिए । कति शक्तिशाली रहेछ, यो अजिनोमोटो भन्ने तत्त्व, खानेलाई मात्र नभएर उसलाई माया मान्ने सबैलाई सताउने ।

पहिला पनि रोग ठम्याउन नसकेको स्वास्थ्य संस्थाले त्यो पटक पनि विभिन्न दुखाइ कम गर्ने दबाइको पोकोसँगै पानी प्रशस्त पिउनु भन्ने सल्लाहसाथ घर फिर्ती पठायो । अजिनोमोटोले सिर्जाएको स्वादको दलदलमा फँसेकी उनी आज पनि चाउचाउको नाममा उजेली हुन्छिन्, अनि विगतको दुखाइको यादमा अँधेरी ।

विद्यालय आउँदा होस् वा घर फर्कँदा, पसलको त्यो झिलिमिलीले उनलाई डाकिरहन्छ । भन्छ, म बिना तिम्रो अस्तित्व छैन । म तिम्रो नसा–नसामा छु, कतिन्जेल मबाट आँखा छल्दै जान सकौली र ? दुखाइले सिर्जाएको त्यो विछोडमा चिन्तित हुँदै उनी आफ्नो बाटो लाग्छिन् । तर चाउचाउ भने ढुक्क छ, उनी दुखाइ बिर्सेको दिन फेरि आउँछिन भनेर ।

देशमा भएको तीव्र विकाससँगै गाउँ–गाउँका कुनाकन्तरामा, वर्षायाममा तीव्र गतिमा खनिएका धुलौटे बाटाले बाढी र पहिरोसहित चाउचाउका पोका र मकैका फुला भित्र्याउँदा आज विकास केलाई भन्ने म अनविज्ञ छु । आमाको दूध चुस्ने उमेरको बालक कोब्रा साँपझैँ प्लास्टिकभित्र बेरिएका जिब्रो रङ्गाउने तत्त्वमा तल्लिन हुँदाआउने पुस्ताले आमाको दूधको भारा तिर्ने संस्कृतिलाई अङ्गाल्न सक्लान् र भन्ने सोचले आज म वेचैन छु ।

आज पनि कान्छो त्यही सेतो मोटरलाई कुरिरहन्छ । मोटर अड्किन्छ भन्ने पीरले त्यति ठूलो खाडल आफ्ना ती साना हातले ढुङा बोक्दै पुरिसकेछ । त्यो रङ्गीचङ्गी फुला ल्याउने मोटरलाई बाधा नआओस् भनेर ऊ डोजर बनेर ढुङ्गा बोक्न तयार छ ।

ऊ आमासँग पाँच रुपैयाँ माग्छ र खर्चिन्छ, अजिनोमोटोको पोकोमा । ऊ कापीमा आफ्नै हातले रङगाएका बुट्टाभन्दा रसायनले जिब्रोमा भरिदिएका बुट्टामा रमाउँछ । आज उसको विद्यालय आउने मुख्य कारण भनेको त्यो मकैको फुला बनेको छ । ऊ त्यो फुलाबिना छट्पटिन्छ, एउटा प्रयोगकर्ता छट्पटिएझैँ लागुऔषध बिना ।

ऊ अजिनोमोटोको प्रयोगकर्ता भइसकेछ । ऊ यो सानोउमेरमै नसामा फँसिसकेछ । त्यही नसाबाट सिर्जित बेला–बेलाको दुखाइलाई कम गर्न कान्छोकी आमा उसलाई झाँक्रीकोमा लान्छिन्, कालो भाले काट्छिन् । देवीलाई चढाउँछिन् । अनि बिरामी छोराले तातो झोल खानुपर्छ भनेर ताततातो चाउचाउको सुप अगाडि टक्र्याउँछिन् ।

आजको हाम्रो आधुनिक समाज अजिनोमोटोको चक्रमा घुमिरहेछ । ढिँडो लुकाएर पाहुनालाई चाउचाउ पस्किँदा आधुनिकताको परिचय दिएको भान हुने समाजले आधुनिकतालाई खै कसरी परिभाषित गरेको होला ? अजिनोमोटोमा तल्लिन युवा पुस्तालाई त्यो नसाबाट मुक्त गर्न अब के सुधार केन्द्रकै आवश्यकता परेको हो त ?

लेखक टिच फर नेपालमार्फतश्री त्रिभुवन माध्यमिक विद्यालय,लमजुङमा अध्यापन गर्छिन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×