ओलीको सपना

विमल निभा

विगत सप्ताह बडो काव्यमय रह्यो । यसको कारण के हो भने नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो वार्षिक काव्य अनुष्ठान अन्तर्गत केही कविहरूलाई आकर्षक नगदसहित पुरस्कृत गर्‍यो । र सम्भवतः यसैबाट प्रेरणा ग्रहण गरेर अर्को ठूलो सरकारी प्रतिष्ठान अर्थात् नेपाल सरकार पनि एकाएक सक्रिय भयो । यसको फलस्वरुप राजधानी काठमाडौंबाट दुई कवि गिरफ्तार भए ।


नेपाली साहित्यको नयाँ पुस्ताका कविद्वय संगीतश्रोता र रसुवाली कविको नामले परिचित ठाकुरप्रसाद तिमिलसिनाको हठात् गिरफ्तारीले तमाम कविहरू अतिव आक्रोशित भएका छन् । कहाँसम्म भने एक सरकारी कविले उत्तेजित भएर मसँग भने, ‘यो राम्रो भएन ।’
‘के राम्रो भएन कविज्यू ?’ मैले भनें ।
‘तपाईंलाई थाहै छ नि ।’
‘के थाहा छ, मलाई ?’
‘कविहरूका गिरफ्तारीमा सरकारको कुनै दोष छैन ।’ उनले भने, ‘यो झुक्किएर भएको हो ।’

मसँग सरकारी कविले कुनै गलत बयान गरिरहेका थिएनन् । यस सम्बन्धमा सरकारी अभिव्यक्ति ठ्याक्कै यही रहेको छ । दिवसको उज्यालोमा कविहरूका गिरफ्तारीपश्चात आएको विज्ञप्तिमा यस्तै उल्लेख रहेको छ । वास्तवमा कविहरू झुक्किएर समातिएका हुन् । र यसरी झुक्किएर समातिएको कुरा मलाई पनि राम्रै लाग्यो । कदाचित सरकार नझुक्किएको भए के हुन्थ्यो ? मेरो विचारमा जे पनि हुनसक्थ्यो । यसबखत त कविहरू फगत झुक्किएर समातिएका हुन् । के नराम्रो भयो ? अन्यथा हाम्रोसामु कवि कृष्णसेन ‘इच्छुक’ को ऐतिहासिक उदाहरण पनि टड्कारो रूपमा रहेको छ । त्यसबखत सरकार विलकुलै झुक्किएको थिएन ।

‘के सोचिरहनुभएको हो ?’ मलाई चुपचाप पाएर सरकारी कविले मुख खोले ।
‘केही होइन कविज्यू ।’ मैले भनेँ ।
‘मलाई सबै थाहा छ ।’
‘के थाहा छ ?’
‘तपाईहरू सरकारलाई त्यसै आलोचना गरिरहनुभएको छ । ‘सरकारी कविको क्रोध जारी थियो, ‘यो विरोधको कुनै अर्थ छैन ।’

सरकारी कविले जेसुकै भने पनि कवि र कविताको कुरोमा सरकार झुक्किएकै हो त ? यो संगतिपूर्ण लागिरहेको छैन मलाई । हेर्नोस्, वर्तमान सरकार प्रमुख प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली स्वयम् एक कवि हुन् । र प्रधानमन्त्रीको कुर्सीमा आसिन भएकाले कविताको क्षेत्रमा पनि उनको सोही स्तरको हैसियत रहेको छ । एक प्रकारले उनी आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का कवि कमरेड झलनाथ खनाल परम्पराका प्रधान (मन्त्री) कवि हुन् । याद रहोस्, कवि झलनाथ खनाल भूतपूर्व प्रधानमन्त्री हुन् । र दुवै प्रधान कविहरूमा तात्त्विक अन्तर के रहेको छ भने वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको कवित्वले कविवर माधवप्रसाद घिमिरेबाट अनुमोदित हुने सुनौलो अवसर पाएको छ ।

कवि ओली प्रधानमन्त्री हुनुभन्दा अघि परमानेन्ट ‘राष्ट्रकवि’ घिमिरेको लैनचौरस्थित निवासथानमा कविता सुनाउन जाने गर्थे । त्यहाँ उनले के–के कविता सुनाए, त्यो मलाई थाहा भएन । तर हिमवत् खण्ड साहित्य सम्मेलन, चन्द्रागिरिमा कवि खड्गप्रसाद शर्मा ओलीले तात्तातै लेखेर सुनाएको कविता तल दिइन्छ ।

‘परिवर्तनशील दुनियाँमा
सधैं बाँचेको को छ र
बँचुन्चेल हो जिन्दगी
मर्नु त छँदैछ
मरे पनि केही छैन
त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी
मेची, महाकाली
हाम्रा लहलह खेत, बारी
झपक्क कान्ला र आली
यो पनि सपनामा
भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको
देख्न पाउँ
मरे पनि केही छैन
त्यसपछि पनि सपना देख्न पाउँ ।’

यस्तो मृत्युपश्चात पनि सपनाको हार्दिक कामना गर्ने कवि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली कविहरूका मामलोमा झुक्किन सक्छन् त ? अहँ, यो कदापि सम्भव छैन । अतः उनी एक सच्चा एवं सजग कवि भएकोमा कुनै शंका छैन । म कवि ओलीको सपनाको पक्षमा दह्रोसँग उभिएको छु । यो एक असाधारण सपनावादी कविता हो । किनभने मरेपछि सपना देख्ने अलौकिक इच्छा व्यक्त भएको छ, यसमा । यस विषयक मेरो व्यक्तिगत ज्ञान त्यति परिपक्व नभएकोले म उनको जीवितावस्थाको सपनाबारे थोरै सामान्य जिज्ञासा राख्ने अनुमति चाहन्छु । हँ, आजभोलि हाम्रा कवि प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली आफ्नो नितान्त निजी सपनामा के देख्ने गर्छन्– झापा आन्दोलन ? महाकाली सन्धि ? सहिद रत्नकुमार वान्तवा ? होली वाइन ? हँसिया–हथौडा ? वाइडबडी जहाज ? कार्ल मार्क्स ? राजा महेन्द्र ? जनवाद ? गुगल ब्वाय ? रातो झण्डा ? आइफा अवार्ड ? वर्ग–संघर्ष ? कमरेड दीपक मनाङे ???

प्रकाशित : असार २१, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

आलो र पालो

सिउँडी
विमल निभा

काठमाडौँ — वास्तवमा कुरो के हो भने आलोपालो कुर्सीमा बस्ने सहमति भएको थियो । यो गोप्य प्रकारको सहमति थियो । त्यसैले फ्याट्टै खुला भयो । यदि गोप्यको साटो खुला सहमति भएको भए के हुन्थ्यो ? केही पनि हुँदैनथ्यो । किनभने खुलालाई फेरि के खुला गर्ने ?

यही आलोपालोको आलो बिहानैदेखि विचार गरिरहेको थियो । उसको विचारको केन्द्रीय भागमा एकथान कुर्सी थियो । अर्थात् के गरी आलोपालोको पालोलाई कुर्सीमा बस्न नदिने ! किनभने खुला भएको गोप्य सहमति बमोजिम पालोको कुर्सीमा बस्ने पालो आएको थियो । र आलोपालोको आलोको पालोलाई कुर्सी छाड्ने कुनै विचार थिएन ।
‘सरकार के भयो ?’ उसको प्राइभेट सेक्रेटरीले आएर सोध्यो ।
‘किन, के भयो ?’ आलोले उल्टै ऊसँगै सोध्यो ।
‘बिहानैदेखि चुपचाप हुनुहुन्छ सरकार ।’
‘म चुपचाप छैन ।’
‘सरकारले बिहानैदेखि केही बोल्नुभएको छैन ।’
‘हो र ?’ आलोले मानौ आफैंसित भन्यो ।
‘म बिहानैदेखि हेरिरहेको छु, सरकार चुपचाप कुर्सीमा बसिरहनुभएको छ ।’ प्राइभेट सेक्रेटरीले थप्यो ।
‘बिहानैदेखि चुपचाप बसिरहेको छु म ?’
‘हो, बिहानैदेखि चुपचाप सरकार ।’
यसपछि आलोपालोको आलोले केही भनेन । त्यसैगरी चुपचाप कुर्सीमा
बसिरह्यो । यो चुपचापपन निकै लम्बिएकोले प्राइभेट सेक्रेटरीले विस्तारै भन्यो, ‘सरकारलाई केही अप्ठ्यारो छ कि ?’
‘मलाई के अप्ठ्यारो हुन्छ ?’ आलोले प्राइभेट सेक्रेटरीतिर हेरेर भन्यो ।
‘त्यही त, सरकारलाई कुनै अप्ठ्यारो नहुनुपर्ने हो ।’
यसको प्रत्युत्तरमा आलो फेरि विचार गर्न थाल्यो । उसले दुवै आँखा चिम्लेको थियो । केही बेरपछि खोलेर भन्यो, ‘अब तिमीले सोधिहाल्यौ, (केही क्षणको मौन), हेर, कुरो के हो भने पालोको कुर्सीमा बस्ने पालो आयो ।’
‘हो र सरकार ?’ प्राइभेट सेक्रेटरी झस्कियो ।
‘हुन त हो, तर म कुर्सी छाड्न चाहँदिन ।’
‘त्यसो भए, के गर्ने त सरकार ?’
‘त्यही त, अब के गर्ने भनी विचार गरिरहेको छु ।’
एता आलो विचार गरिरहेको थियो भने उता आलोपालोको पालो पनि त्यसै बसेको थिएन । ऊ पनि बिहानैदेखि विचार गरिरहेको थियो । र उसको विचारको केन्द्रमा पनि उही कुर्सी थियो । अर्थात् के गरी कुर्सीमा बस्ने ! यसमा मुख्य समस्या के थियो भने कुर्सीमा आलोपालोको आलो बसेको थियो । र आलो कुर्सीमा बसिरहेसम्म पालो कसरी कुर्सीमा बस्ने ?
‘के भयो हजुर ?’ पालोको सल्लाहकारले सोध्यो ।
‘तिमीलाई थाहै छ ।’ पालोले निधार खुम्च्याएर भन्यो, ‘अहिले कुरो के हो ?’
‘के हो हजुर ?’ सल्लाहकारले अनजान भावमा भन्यो ।
‘यही, कुर्सीमा कसरी बस्ने ?’
‘ए, कुर्सीको कुरो हो ।’
‘अरु के हुन्छ त ?’
‘हजुर, कुर्सीमा बस्ने एउटै उपाय छ ।’ सल्लाहकारले सल्लाहको मुड बनायो ।
‘के उपाय छ ?’ पालोको जुंँगा चल्यो ।
‘उपाय सिम्पल छ, हजुर ।’
‘भन न त, के उपाय छ ?’
‘हजुर कुर्सी वरिपरि उभिइरहनुपर्‍यो ।’ सल्लाहकारले सल्लाह दियो, ‘र आलो कुर्सीबाट उठ्नासाथ झट्ट त्यसमा
बस्ने हजुर । ’
पालो र उसको सल्लाहकारको यस्तो कुरो चलिरहेको बखत आलो र उसको प्राइभेट सेक्रेटरीको संवाद भने चरममा पुगेको थियो । यही कुराकानीको सिलसिलामा आलोले प्राइभेट सेक्रेटरीसँग भन्यो, ‘पालो कुर्सीमा बस्न खोजिरहेको छ ।’
‘यो मिल्दैन हजुर ।’
‘कसरी मिल्दैन ?’
‘सरकार कुर्सीमा रहेसम्म पालो कसरी कुर्सीमा बस्ने ?’ प्राइभेट सेक्रेटरीले भन्यो, ‘यो मिल्दै मिल्दैन ।’
‘यो त हो ।’ आलोको मिहिन स्वर लर्बरायो, ‘तर पालोले मेरो कुर्सीमा बस्ने पालो हो भनिरहेको छ ।’
‘यसरी भनेर के हुन्छ, सरकार ?’
‘अनि के गर्ने त ?’
‘सरकार कुर्सीबाट उठ्दै नउठ्ने नि !’
‘यो कसरी हुन्छ ?’
‘किन, के गाह्रो छ, सरकार ?’
‘हेर, मैले नित्यकर्म गर्नुपरेन ? सधैं दाँत माझ्नैपर्‍यो । दिसा–पिसाब नगरी भएन । अलिकता यताउता हिंँडडुल गर्नैपर्‍यो । अनि राति ओछ्यानमा गएर सुत्नु परेन ?’ आलोको भुक्क गाला अरु भुक्क भयो, ‘कुर्सीमा बसिरहेर सबै कसरी गर्ने मैले ?’
‘त्यसो भए, के गर्ने त सरकार ?’ प्राइभेट सेक्रेटरी चिन्तित भयो ।
‘त्यही त, के गर्ने ?’
‘केही न केही त गर्नैपर्‍यो, सरकार ।’
‘हो, नगरिकन भएन ।’ आलोको स्वरमा पनि चिन्ता थियो ।
यो समस्या गम्भीर भएकोले सोही खालको समाधान जरुरी थियो । त्यसैले आलोपालोको आलो र उसको प्राइभेट सेक्रेटरी गम्भीर रूपमा विचार गर्न थाले । केही समयपछि आलोले दह्रोसाथ कुर्सी समातेर भन्यो, ‘म यो कुर्सीबाट उठ्दै
उठ्दिन ।’
‘हो सरकार, कुर्सीबाट उठ्नु भएन ।’
‘अबदेखि म खानपिनदेखि लिएर दिसा–पिसाबसम्म कुर्सीमै बसेर गर्नेछु ।’ आलोले दृढ आवाजमा भन्यो, ‘अनि हेरुँ त, त्यो पालो कसरी कुर्सीमा बस्नेछ ?’
‘यसरी कुर्सीमा दिसा–पिसाब गर्दा सरकारलाई गाह्रो हुँदैन ?’
‘गाह्रो भए पनि कुर्सीका लागि गर्नैपर्‍यो ।’ आलोको स्वर भारी भयो, ‘नत्र पालो
कुर्सीमा बस्नेछ ।’
‘ठीक भन्नुभयो सरकार ।’
‘बेठीकको कुरै छैन ।’
यसपछिको कुरो के हो भने आलोपालोको आलो कुर्सीमा बसेको बस्यै छ । त्यसबाट पटक्कै उठेको छैन । र पालो पनि कुर्सी वरिपरि उठेको उठ्यै छ । कारण, कुनै न कुनै बेला आलो कुर्सीबाट कसो नउठ्ला त !

प्रकाशित : असार ७, २०७६ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्