मिनिस्टर

विमल निभा

काठमाडौँ — '१'‘म म्मी–मम्मी ।’‘के सोमान बाबु ?’‘यता आउनोस् त ।’‘के भयो ?’‘भित्र कोही छ, मम्मी ।’ ‘कहाँ बाबु ?’‘किचेनमा मम्मी ।’‘को छ, किचेनमा ?’‘चोर हो, मम्मी ।’

‘होइन होला बाबु ।’
‘घारघार–घुरघुर गरिरहेको छ, मम्मी ।’
‘हो र ?’
‘अघिदेखि नै साउन्ड आइरहेको छ ।’
‘मिनिस्टर होला बाबु ।’

'२'
‘सोनाली मेडम, सोनाली मेडम ।’
‘के राममाया ?’
‘सोनाली मेडम, यो त भएन नि !’
‘के भयो राममाया ?’
‘यो के गर्नुभएको हो ?’
‘किन, के भयो ?’
‘हाम्रो कुखुरालाई यस्तो गर्नुभयो त मेडम ?’
‘होइन, के भन्न खोजेकी राममाया ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला हरायो ।’
‘यसमा म के गर्न सक्छु, राममाया ?’
‘यो के भन्नुभएको मेडम ?’
‘होइन, प्रस्टसँग भन राममाया ।’
‘हाम्रो कुखुरा हराएको प्रस्ट छ नि मेडम ।’
‘कसरी हरायो राममाया ?’
‘कसरी नि, मिनिस्टरले ।’

'३'
‘मम्मी–मम्मी ।’
‘के छोरी ?’
‘मेरो नयाँ स्कार्फ देख्नुभयो ?’
‘अहँ देखिनँ, के भयो ?’
‘नयाँ स्कार्फ देख्दिन, मेरो रातो फ्रक पनि च्यातिएको छ मम्मी ।’
‘होइन, के भइरहेको हो यो ?’
‘के भइरहेको भन्ने मम्मी ?’
‘त्यही त, के भइरहेको हो यो ?’
‘मम्मीलाई थाहै छ नि !’
‘मिनिस्टरले गरेको हो छोरी ?’
‘त्यसैले त होला नि !’
‘यो मिनिस्टर पनि.......।’

'४'
‘प्रोफेसरसाब ।’
‘के डियर ?’
‘अब त अति नै भयो ।’
‘के भयो डियर ?’
‘ड्राइङरुममा जताततै फोहोर छ ।’
‘कसरी फोहोर भयो ?’
‘अस्ति पूजाकोठामा पनि यस्तै फोहोर भएको थियो ।’
‘होइन, कसरी फोहोर भयो त डियर ?’
‘हजुरकै मिनिस्टरले गर्दा नि, अरु कसले ?’
‘मेरो मिनिस्टर कसरी भयो ?’
‘हजुरले नै मिनिस्टर नाउँ राख्नुभएको होइन ?’
‘तर मिनिस्टरलाई आफ्नो बसको घरबाट सानोमै तिमीले ल्याएको होइन डियर ?’
‘हो, तर निकै क्युट छ भनी मिनिस्टर नाउँ हजुरले नै राख्नुभएको हो नि !’
‘त्यो त हो, म त प्राइमिनिस्टर नै राख्न चाहन्थेंँ, तर लामो नाउँ हुने भएकोले मिनिस्टर मात्रै राखियो ।’
‘हजुरको मिनिस्टरले जताततै उधुम मच्चाइरहेको छ ।’
‘के उधुम गर्‍यो, मिनिस्टरले ?’
‘छोरी गिन्नीको फ्रक च्यातिदियो ।’
‘हो र डियर ?’
‘छिमेकी राममायाको कुखुराको चल्ला चोर्ने गरिरहेको छ ।’
‘अब मिनिस्टरलाई यसरी खुला छाड्नु भएन ।’
‘के गर्ने त प्रोफेसरसाब ?’
‘बेसरी बाँधेर राख्नुपर्‍यो ।’
‘सधैंभरि कसरी बाँधेर राख्ने, अनि फेरि हजुरको प्यारो मिनिस्टरलाई ?’
‘तिम्रो पनि त हो नि मिनिस्टर डियर ।’

'५'
‘समात–समात ।’
‘के भयो हँ ?’
‘समात–समात ।’
‘कसलाई समात्ने ?’
‘त्यो बदमास मिनिस्टरलाई ।’
‘के गर्‍यो मिनिस्टरले ?’
‘आज पनि हाम्रो कुखुराको चल्ला मार्‍यो ।’
‘समात–समात ।’
‘भाग्न नपाओस् मिनिस्टर ।’
‘समात–समात ।’
‘फेरि भाग्यो मिनिस्टर ।’
‘समात–समात ।’
‘अब त मिनिस्टरलाई नसमाती छाड्दिन ।’
‘समात–समात ।’
‘म्याउँ–म्याउँ ।’

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्

हाइबरनेसन

सिउँडी
विमल निभा

सिमसारमा एक प्रकारको हलचल व्याप्त थियो । सबै जलचर सामूहिक ढंगले कोलाहल गरिरहेका थिए । एकाएक एउटा विचित्र जीव उफ्रिएर किनारमा आयो । र मतिर बढेर भन्यो, ‘जयनेपाल बन्धु ।’



पहिले त म अचम्मित भएँ, त्यसपछि अज्ञात डर मभित्र प्रवेश गर्‍यो । एउटा फरक प्रजातिको प्राणी म सम्मुख थियो । म भयको आधिक्यले जडीभूत थिएँ । मलाई विलकुलै अवाक् मुद्रामा पाएर त्यो अमानवी आकृतिले आफ्नो अभिवादन दोहोर्‍यायो, ‘बन्धु, जयनेपाल ।’
‘तपाई को ?’ बल्ल मेरो गलाबाट वक फुट्यो ।

‘मलाई चिन्नु भएन ?’ उसले अघिल्तिरको दुवै हात उचाल्यो, ‘म कुनै अफरिचित व्यक्ति होइन नि !’
‘व्यत्ति !’ मेरो भनाइमा बहुतै आश्चर्य थियो, ‘म त तपाईंलाई कुनै व्यक्तिजस्तो देखिरहेको छैन ।’
‘के देखिरहनुभएको छ, बन्धु ?’

‘माफ गर्नोस्, मलाई सफासफी भन्न गाह्रो छ ।’
‘तपाई निर्धक्क भन्न सक्नुहुन्छ बन्धु ।’

‘तपाई भर्खरै सिमसारबाट आइपुगेको पाहा होइन ?’ मैले अप्ठ्यारोसँग मुख खोलेंँ ।
‘यस्तो नभन्नोस् बन्धु ।’ उसले नाकको पोरा फुलायो, ‘म कुनै फाहा होइन ।’
‘अनि को त ?’

‘म एक राजनीतिक व्यक्ति हुँ ।’
‘राजनीतिक व्यत्ति ?’
‘हो, पुरै राजनीतिक व्यक्ति ।’

सिमसारमा कोलाहल बढेको थियो । एक्कासी एउटा अर्को जलजन्तु मास्तिर उफ्रियो । (मेरो आँखा त्यतातिर गयो) । र म नेर आएर गाला फुलाउँदै भन्यो, ‘उहाँहाम्रो नेता ।’

‘हो, हाम्रो नेता ।’ अर्को पनि उफ्रिएर बाहिर आएको थियो ।
एकपछि अर्को गरेर सिमसारका जलचरहरू बुर्लुक्क–बुर्लुक्क उफ्रिएर माथि सतहमा आइरहेका थिए । र विभिन्न आकार–प्रकारका जलजन्तुहरूका ठूलो जमघट भइसकेको थियो । जस्तो– भ्यागुतो, सर्प, कछुवा, स्नेल इत्यादि । एकछिनपछि सबै आफ्नो नेताको एकस्वरमा जयकार
गर्न थाले ।

‘हाम्रो नेता फ्यारो नेता ।’
‘जिन्दावाद–जिन्दावाद ।’
‘हाम्रो नेता कस्तो छ ।’
‘महान् मानव जस्तो छ ।’
‘वी वान्ट डेमोक्रेसी ।’
‘डेमोत्रेसी–डेमोक्रेसी ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’
‘नेपाली कांग्रेस अमर रहोस् ।’

सिमसारबाट बाहिरिएका जलचरहरूका मुखबाट ‘नेपाली कांग्रेस’ को उच्चारण सुनेर म दंग परेंँ । कतै म गलत त सुनिरहेको छैन ? मलाई पटक्कै विश्वास भइरहेको थिएन । म सामुन्ने जलजन्तुहरू जोड–जोडले ‘नेपाली कांग्रेस अमर रहोस्’ को नारा लगाइनै रहेका थिए । मैले तिनीहरूका अगुवातिर हेरेर भनेंँ, ‘महोदय, यो के हो ?’

‘किन, के भयो बन्धु ?’ उसले सुइरे जिब्रोनिकालेर भन्यो ।
‘तपाईंहरू नेपाली कांग्रेस किन भनिरहनुभएको छ ?’
‘के नेपाली कांग्रेस भन्नु हुँदैन ?’
‘मेरो मतलव, के तपाईंहरू कांग्रेसी हो ?’

उसले शिर उचाल्यो । र मतिर सुस्तरी हेर्‍यो । यही प्रक्रियामा उसको ससाना आँखाको चमक बढ्यो । अनि आफ्नो चुच्चे मुखलाई अरू चुच्चो पारेर भन्यो, ‘वास्तवमा हामी कांग्रेसी नभएर कांग्रेसको छाया हौं बन्धु ।’

‘मैले तपाईंको कुरो बुझिन महोदय ।’
‘यसमा नबुझिने के छ र बन्धु ?’

‘यो कांग्रेसको छाया भनेको के हो ?’ मैले उसको चम्किलो आँखामा हेरेर भनेंँ ।
‘हामीले हालै छाया सरकारको गठन गरेका छौं ।’ दुवै हात (खुट्टा पनि) उफारेर ऊ केही अघि बढ्यो, ‘तपाईँलाई नेपालको राजनीतिको कुनै ज्ञान रहेनछ बन्धु ।’

‘त्यसो भए, छाया सरकार तपाईहरूकै हो त महोदय ?’
‘हो, हाम्रो छाया सरकार ।’ उसको घिच्रो (जस्तो) अलिकति हल्लियो, ‘अब योभन्दा हाम्रो छायापनको अरू के प्रमाण हुनसक्छ बन्धु ?’

‘त्यो त हो ।’ मैले विस्तारै भनेँं, ‘मैले अखबारमा छाया सरकारको खबर पढेको थिएँ ।’
नीला, पहेंँला, काला, हरिया, राता रंगका (कुनै टाटेपाटे पनि) जलचरहरू लगातार उच्च स्वरमा नारा लगाइरहेका थिए । यसले हाम्रो संवादमा थोरबहुत व्यवधान पैदाभएको थियो । त्यसैले उसले आफ्नो खरखराउँदो आवाजलाई अरू चर्को पारेर भन्यो, ‘हामीलाई सरकारविहीनतामा बाँच्ने कुनै अभ्यास नभएकोले यो छाया सरकार बनाउनुपरेको हो बन्धु ।’

‘अब तपाईंहरूका छाया सरकारले के गर्नेछ त महोदय ?’ मेरो उत्सुक प्रश्न थियो ।
‘के तपाईंहरू केही पनि गर्नुहुन्न त ?’ उसलाई चुप पाएर मैले फेरि भनेंँ ।

‘बन्धु, तपाईंलाई थाहा छैन, हामीले जागरण अभियान सुरु गरेका छौं । यो राष्ट्रिय स्तरको जागृतिको हाम्रो सन्देश हुनेछ । राष्ट्रिय जागरण अभियान । अब हाम्रो छाया सरकार सबैलाई नै जगाउने काममा लागिसकेको छ । यसले सम्पूर्ण मुलुक नै जुरुक–जुरुक उचालिनेछ । हाम्रो प्यारो नेपाल जाग्नेछ । हामी त्यसै बसेका छैनौं । योछाया सरकार....।’ र बोल्दाबोल्दै सिमसारबाट
निस्किएको जलजन्तुको बोली लरखरायो ।

टाउको लुलो भएर तल लत्रियो । उसका दुवै चिम्से आँखा बन्द भइसकेका थिए । मैले हेर्दाहेर्दै ऊ आफ्नो चार हातखुट्टासहित सिमसार किनारको गिलो भुइँमा ड्याम्म पछारियो । र एकछिनमै विचित्र आकारको जलचर नेता झन्डै डल्लो पर्‍यो ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्