गिरिजाबाबु, मनमोहन र प्रचण्ड

अभि सुवेदी

काठमाडौँ — 'वाल्टर बेन्जामिन एन्ड हिस्ट्री (२००५)' किताबमा धेरै पढिएका सिर्जनशील जर्मन दार्शनिक र चिन्तक वाल्टर बेन्जामिनले भनेका इतिहास र चेतनाका कुराका छलफल गरिएका छन् । मलाई धेरै मनपरेको उनको एउटा भनाइ यस्तो छ : 'त्यसैले म भन्छु, क्यालेन्डरले समयलाई घडीले जस्तो नाप्दैन । क्यालेन्डरमा अंकित दिनहरू भनेका ऐतिहासिक चेतना हुन् ।'

उनले अंग्रेजीमा अनुवाद भएको इतिहासबाट पाएका ज्ञान भन्ने किताबमा थप भनेका छन्, 'इतिहास भनेको बल्भिmएर आइरहने विषय हो ।' म साहित्यमा पनि कविताबाट समयको गति नाप्न खोज्ने मानिस भएकाले कवि हरिभक्त कटुवालको नारायण गोपालले गाएको गीतकायी हरफ समय चेतनाका द्वन्द्व भएको बेला गाइबस्छु, 'पोखिएर घामको झुल्का भई संघारमा/तिम्रो जिन्दगीको ढोका खोलुँ-खोलुँ लाग्छ है ।'

बेन्जामिनको क्यालेन्डरमा अंकित इतिहास चेतना त्यही संघारमा खसेको घामको झुल्का हो । नेपालमा हामीले गएका एक दर्जनजति वर्षमा धेरैपटक क्यालेन्डरका मितिहरू झुन्ड्यायौं, धेरैपटक हाम्रा चेतनाका संघारमाथि नयाँ समयका घाम पोखिए । तर अहिले लाग्छ, हामीले ती चेतना र घामका झुल्का सायद टिप्न जानेनाैं । त्यो कुराले मलाई चिन्ता लाग्छ । राजनीति गर्ने दलका मानिसलाई पनि लागेकै होला ।

अहिले नेपालमा इतिहास एउटा छोटो स्मृति अथवा अस्ति मैले लेखेको 'एम्नेसिया' (काठमाडौं पोस्ट १२ मे, २०१९) जस्तो भएर अवतार लिंँदैछ ।

हिजो कुन दृष्टि र समय चेतनाले नयाँ युग ल्यायौं अनि अहिले त्यही चेतनामाथि घात-प्रतिघात गर्दैछौं भन्ने कुरा मलाई चिन्ताको विषय लागेको छ । नेपाली लोकतन्त्रको आत्मा नेपालका जनता र राजनीतिक दलहरूले नै बनाएका हुन् । तर अहिले विचार नगरी काम गर्दा त्यो लोकतन्त्र धराशायी हुनसक्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

इतिहास हेर्ने अर्को एउटा पद्धति पनि छ । त्यो सरल, सोझो र मार्मिक हुन्छ । आफूले भोगेको समयमाथि लेखेर छलफल गरेर पनि इतिहासका पाता पल्टाउन सकिन्छ । विद्यार्थीहरू त्यसैलाई लिएर विद्यावारिधिको शोध-प्रबन्ध पनि लेख्छन् । मैले सोचेंँ, म आफैंले भोगेको, आफैंले सम्वाद गरेको इतिहासलाई लिएर किन केही नलेखौं ? किनकि मैले यो समयभरि नै

आफ्ना कुरा राखेर लेखेको छु । मैले इतिहास पटक-पटक संघारमा छरिएको बेला टिप्ने प्रयास गरेको छु । उत्तेजित, उदात्त र भावुक अनि अत्यन्त चिन्तित भएको छु । यस लेखमा केही राजनेताका सन्दर्भमा आफूले विभिन्न समयमा लेखेका केही कुरा राखेर इतिहासका शृङ्खलाहरू कसरी बिर्सिने बानी वा 'एम्नेसिया'ले प्रभावित हुँदैछन् भन्ने कुरा संक्षिप्त प्रसङ्गद्वारा राख्न चाहन्छु । कथा यहाँ यसै सिलसिला मिलेर आउँछ ।

चैत ७, २०६६ को बिहान मण्डिखाटारको एउटा नयाँ घर परिसरमा गिरिजाप्रसाद कोइराला उर्फ गिरिजाबाबु जीवनको अन्तिम क्षणमा थिए । मेरा विद्यार्थी र विश्वविद्यालयका एकेडेमिक शिव रिजाल र म मात्र त्यहाँ बाहिर थियौं । त्यही दिन गिरिजाबाबुको देहावसान भयो । त्यहाँ किसुनजी, शेरबहादुर देउवा अनि प्रचण्ड क्रमशः आए ।

माओवादी नेता प्रचण्डले बाहिरै सुनिनेगरी उच्च स्वरले शोकाकुल बोलीमा 'गिरिजाबाबु !गिरिजाबाबु ! भनेर बोलाए । मैले पछि लेखेँ- मलाई त्यहाँ कहिल्यै निष्कर्षमा नपुग्ने अर्को 'सर्वदलीय', 'उच्चस्तरीय', 'समसामयिक', 'आकस्मिक' र 'महत्त्वपूर्ण' मिटिङ हुनलागे जस्तो भान भयो...जब-जब राजनेताहरू उल्झनमा परे, जब-जब तिनले राजनीतिमा व्यक्ति र उत्तरवर्ती बहुल संरचनावादी चिन्तनलाई मिलाएर काम गर्न खोजे अनि ती उत्तरवर्ती राजनीतिका बहुल चुनौती सामना गर्ने क्रममा असफल भए ।

सबै नै गिरिजाबाबुको निवासमा पुगे । एक अर्थमा गणतन्त्रसम्म र पछिका समयमा यिनै वृद्ध र रोगी तर तेजिला र निर्भीक राजनीतिज्ञको निवास राजनीतिक कर्मको प्रयोगशाला भयो । उनको घर नयाँ नेपालको एक यस्तो म्युजियम भयो, जहाँ कुनै कुरा पनि विधिवत रूपले मिलाएर राखिएको थिएन । उनकै शब्दमा उनको निवासमा इतिहासका अदृश्य 'कुँडाकर्कट' छरिएर बसेका थिए ।

त्यो बेला नागरिक दैनिकका सम्पादक एकजना साहित्यकार थिए । मलाई फोन गरेर एउटा गिरिजाबाबुमाथि लेख साँझसम्म पठाइदिइहाल्नु भने तिनले । मैले गिरिजाबाबुमाथि स्वस्फुर्त लेख लेखेंँ । भोलिपल्टै त्यो लेख आयो । उद्धरणहरू तिनै हुन्, जो आफैं बोल्छन् । मैले लेखेंँ, 'गिरिजाबाबुको मृत्युलाई एक युगको अवसान भन्न सकिन्छ त ? यसको उत्तर सजिलो छैन, किनकि उनी युगको अवसान गरेर गएनन्, आरम्भ गरिदिएर गए ।'

मलाई यहाँ अर्को प्रसङ्गको सम्झना हुन्छ । गिरिजाबाबुको अंग्रेजीमा तयार गरेको सानो किताब 'सिम्पल कन्भिक्सन' माघ १८, २०६३ को दिन काठमाडौंमा विमोचन भयो । मण्डला बुक प्रकाशनले मलाई समीक्षा गर्न भनेकोले बोलेको थिएँ । गिरिजाबाबु प्रधानमन्त्री थिए ।

नेपालमा रहेका विदेशी राजदूतहरू र पत्रकार पनि उपस्थित त्यो सभा महत्त्वपूर्ण थियो । मैले भनेँ, 'गिरिजाबाबु शक्तिको एक निश्चित केन्द्रको प्रतिनिधित्व गर्ने व्यक्ति थिएनन् । ती एक कलाकारजस्ता थिए, जसले आफ्नो क्यानभास आफूले हेर्न चाहेका विम्बहरूले भरेर रचना गर्थे । तर त्यो क्यानभासमा उनी अन्तिम ठोकुवा भनाइ राख्दैनथे । यो शैली प्रजातन्त्रप्रतिको उनको गहिरो आस्थाबाट निःसृत थियो । लोकतान्त्रिक चेतना त्यसरी नै जन्मिने हो ।'

मलाई प्रभाव पारेका अर्का राजनेता मनमोहन अधिकारी हुन् । अधिकारी चीन बसेर फर्केपछि कवि आनन्ददेव भट्ट दाइले मलाई म म्याङलुङ सिंहवाहिनी हाइस्कुलमा आठ कक्षामा पढेको बेला त्यहाँ घुमन्ते कविको रूपमा आएर 'चीन बसी फर्केका दाजुलाई' शीर्षकमा 'भो नचडाऊँ अबिर माला/तिम्रो व्यर्थै आँखी होला' भन्ने कविता सुनाएको अहिले पनि सम्झिन्छु ।

अधिकारीसँग केही महत्त्वपूर्ण भेटघाट र सम्वाद गरेका स्मृतिहरू छन् । भारतमा कार्यक्रमको सिलसिलामा आएका विश्वविख्यात मार्क्सवादी विद्वान फेडरिक जेमिसनलाई काठमाडौं आउन मिलायौं । लिटरेरी एसोसिएसनको अध्यक्ष थिएँ म । त्यही समाजको निम्ति मैले काठमाडौंमा उनको एउटा प्रवचन मिलाएँ ।

त्यही बेला जेमिसनले मनमोहन अधिकारीसँग भेट्ने चाहना राखे । ममनमोहन अधिकारीलाई लिएर उनको होटल गएँ । मनमोहन अधिकारीको लोकतान्त्रिक समाजवादी विचारले जेमिसन अत्यन्त प्रभावित भएका थिए । यो भेटको विषयमा अनेकौं लेखेंँ, तर एउटा यस्तो छ, 'यो दोस्रो भेटमा जेमिसन उनीसँग अत्यन्त प्रभावित भए । रमाइलो कुरा अर्को थियो । मनमोहनलाई भेटेर नेपालमा चाहिँं धेरै ठाउँंमा सम्भव नभएको कम्युनिष्टको चुनावी सरकार बन्न सक्ने कुरामा आशा पलायो, जेमिसनलाई, त्यो नोभेम्बर १९९३ को अमूक दिनमा ।

त्यसको ठिक एक वर्षपछि नोभेम्बर १९९४ मा मनमोहन नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए, जुन जेमिसनको भविष्यवाणी पुगेको एक ऐतिहासिक घटना थियो । तर सायद अब प्रधानमन्त्री हुने ओली वा प्रचण्ड र मनमोहन अधिकारीमा कति कुरा साम्य छन्, कति फरक छन्, त्यो हेर्न इतिहास, सन्दर्भ र समय पनि हेर्नुपर्छ । कम्युनिष्टहरूकै समय र यथार्थ अनि मिथकका पुनव्र्याख्या भएका छन् (कान्तिपुर ३ पुस २०७४) ।

प्रचण्डको विषयमा पनि अनेकौं प्रसङ्ग छन् । धेरै लेख्ने ठाउँ छैन । नोभेम्बर २००६ को हिन्दुस्थान टाइम्सको लिडरसिप सम्मेलनको आमन्त्रणमा भाग लिन प्रचण्ड दिल्ली पुगेका थिए । उनी नेपाली राजनीतिक परिवर्तनको ऐतिहासिक क्षणमा त्यहाँ पुगेका थिए ।

मैले द काठमाडौं पोस्टमा लेखेको रहेछु, 'प्रचण्डको अवतार त्यो बेला एक अर्धमिथकीय हिरोको जस्तो थियो । ... भारतीय नेता र मिडियाले लामो समय जंगलबाट फर्केका रिप भानविंकल जस्ता यी पात्रलाई भेट्दा ठूलो राहत अनुभव गरेका थिए । त्यसको तीन दिनपछि काठमाडौंमा बृहत शान्ति सम्झौता भएको थियो (२ सेप्टेम्बर २००९) । प्रचण्डलाई भारतका दुई प्रधानमन्त्री आईके गुजराल र भीपीसिंहले 'इतिहासमा पढेको क्रान्तिकारीका आर्केटाइप, तिमीलाई देख्दा खुसी भयौं' भनेको खबर कान्तिुपर (२० नोभम्बर २००६) मा पढ्यौं ।

प्ा्रचण्डले त्यहाँ भनेका यी महत्त्वपूर्ण कुरा नोभेम्बर १८, २००६ को हिन्दुस्तान टाइम्सले प्रकाशित गर्‍यो । तिनले भने, 'मैले जिन्दगी जंगलमा बिताएँ, अब उज्यालो र खुलामा बिताउँछु ।' त्यसो त अहिले उनी जंगल सम्झिन्छन्, तर त्यो विचार राजनीतिकभन्दा वानाप्रस्थी चेतनाले उद्वेलित छ । त्यहाँ प्रचण्डले भने, 'एक्काइसौं शताव्दीको राजनीतिक युद्ध प्रजातन्त्रको निम्ति हुनेछ । जसले त्यसको सही स्वरूपको अनुशिलन गर्छ, त्यसैको हुनेछ, अबको विश्व । उनले यसो पनि भने, 'बहुसंख्यक जनतालाई प्रजातन्त्र एउटा बर्जित फलजस्तो भएको छ । शक्तिमा हुनेहरूलाई भने यो अमृत भएको छ । ...सच्चा प्रजातन्त्रले आम जनताको सेवा गर्नुपर्छ ।'

मेरो भनाइ थोरै छ । इतिहासले भन्छ, नेपालमा लोकतान्त्रिक संघर्ष र नेतृत्व जनता र राजनीतिक दलहरूले ठूला दृष्टिले सम्पन्न गरेका हुन् । इतिहास भनेको बिर्सिने होइन, निरन्तर सिक्ने कुरा हो । मिडिया नियन्त्रण गर्ने आदि अनेकथरी विधेयक ल्याएर नहुने काममा समय नष्ट नगर्नोस् । विभाजन अनावश्यक नबढाउनुहोस् । घामको झुल्का संघारमा खसेको छ, टिप्नोस् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपालले चिनेन, जापानले चिन्यो

डा. हिमलाल घिमिरे

काठमाडौँ — सम्पन्नता, विज्ञान/प्रविधिको विकास र शक्तिलाई नै शान्ति र प्रगति ठान्नेहरूका चिन्तनको उपज आज विश्वमा अशान्ति छ । सुख छैन । द्वन्द्व छ । हार्दिकता छैन । मानवता हराएको छ । व्यक्तिलाई जीवन के हो भन्ने अनुभूति हुनछाडेको छ ।

भगवान बुद्धले दिएका शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोहजस्ता सद्गुण मानवजीवनका लागि महत्त्वपूर्ण छन् । मानिसको भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारण दुःख उत्पत्ति हुन्छ । त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ । यो नै बुद्ध धर्मको सार हो । बुद्धका अनुसार चार आर्य सत्यको ज्ञान र अष्टाङ्गकिमार्गको पालनाबाट संसारभरि ब्याप्त आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक द्वन्द्व समाधान हुनसक्छ ।

बुद्धले आफूलाई न भगवान हुँ भने न उनले दिएको शिक्षालाई धर्म नै । उनले प्रतिपादन गरेको ज्ञान, करुणा, स्नेह, दया, क्षमा, अहिंसा, सत्यको मार्ग सर्वस्वीकार्य हुँदै गयो । कालान्तरमा बुद्ध धर्मको रूपमा परिणत भयो । फलस्वरुप उनको सम्झनामा स्तूप, चैत्य, गुम्वा, छोर्तेन, विहार, मन्दिरहरू बन्दै गए ।

बौद्ध धर्म नेपाल र भारतबाट चीन, कोरिया हुँदै छैटौं शताब्दीमा जापान पुगेको भए पनि यसको विकास, संरक्षण र प्रयोग जापानमा राम्रोसँग भएको छ । सातौं शताब्दीको प्रारम्भमा राजकुमार सोतोकुले बौद्धधर्म र दर्शनको गहिरो अध्ययन गरेपछि जापानमा बौद्ध धर्मले ब्यापकता पाएको देखिन्छ ।

बौद्ध धर्म र बौद्ध दर्शनलाई नै आदर्श मान्दै सबैजसो जापानीले आत्मसात गरेका छन् । जापानीहरूका जीवनमा बौद्ध धर्मले निकै प्रभाव पारेको प्रमाण तिनका कला, साहित्य, वास्तु, नैतिक दृष्टिकोण, विचार, आदर-सत्कार गर्ने व्यवहार, नम्रता आदिबाट प्रस्ट हुन्छ ।

बौद्ध र हिन्दु संस्कृतिको संयोग जापानका विभिन्न बौद्ध मन्दिरमा देख्न सकिन्छ । जापानीहरू हिन्दु देवीदेवता जस्तै- गणेशको प्रतीकको रूपमा शोतेन, सरस्वतीको प्रतीकको रूपमा वेन्जालटेन वा वेतेन, विश्वकर्माको रूपमा विशुकाट्सुमा -काष्ठकलाका देवता), यमदूतको रूपमा इम्मा-ओ (नर्कका राजा) लाई पूजा गर्ने गर्छन् । बौद्ध र हिन्दु संस्कृतिको संयोगको एक अनुपम नमुना जापानको नागोयामास्थित तोगान्जी बौद्ध मन्दिर परिसरमा देख्न सकिन्छ ।

उक्त बौद्ध मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरमा दर्शन गर्न, पूजा गर्न आउने भक्तहरू उक्त शिवलिङ्गमा जल चढाएर मात्र मूल मन्दिर प्रवेश गर्ने गर्छन् । मन्दिर परिसरमै हिन्दु देवी सरस्वतीको प्रतीकको रूपमा वेन्जालटेन समेत स्थापना गरिएको छ । जापानको शिकोकु तीर्थ सञ्जालमा रहेका बौद्ध मन्दिरहरूमा बौद्ध बाहेक अन्य धर्म मान्नेहरू पनि बौद्ध सूत्रपाठ गर्छन् । यो धार्मिक सहिष्णुताको नमुना हो ।

अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने प्रमुख माध्यम बुद्ध र लुम्बिनी हुन् भने बुद्ध चिन्ने र बुद्धका सन्देशलाई अनुशरण गर्ने देश जापान हो । जापानका मन्दिरहरू, बौद्ध मूर्तिहरू, वरिपरिको शान्त वातावरण, स्वच्छता, सुन्दरता हेर्दा साँचो अर्थमा बौद्ध दर्शनलाई व्यवहारमा उतारेको अनुभव गर्न सकिन्छ । स्वर्गझैं लाग्ने मन्दिर परिसरको बगैंचा, बौद्ध मन्दिरको भब्य सजावट र सुगन्धित धुप एवं संरक्षणको व्यवस्थापन हेर्दा शान्ति र आनन्द प्राप्त हुन्छ ।

नेपाल भ्रमण गर्ने पहिलो जापानीको रूपमा जेन धर्मका गुरु (भिक्षु) इकाइ कावागुची हुन् । बौद्ध धर्मको अध्ययन, संस्कृत र पाली भाषामा लेखिएको सूत्रको पाण्डुलिपि संकलन, तिब्बती भाषामा लेखिएका ग्रन्थहरूको खोज तथा उल्था गर्ने, बौद्ध दर्शन, ग्रन्थ र संस्कारको अध्ययन, पुराना मठ, मन्दिर, चैत्य तथा विहारहरूमा संस्कृतमा लेखिएको शिला, ताम्रपत्र तथा आधिकारिक बौद्ध ग्रन्थको अध्ययन गर्ने उद्देश्यले सन् १८९९ माउनी नेपाल आएको देखिन्छ ।
हिमालय पार गर्दै तिब्बत पुगेका कावागुचीले 'हे हिमाल, हे उत्तुङ, हे महान्, हे बुद्ध, हे पवित्र तिम्रो दर्शनले कृतकृत भएँ' भनी लेखेका थिए । सन् १९१३ मा चौथोपटक नेपाल आउँदा लुम्बिनी पुगेकाका वागुचीले मायादेवी मन्दिरमा पशुपन्क्षी बलि दिएको देखे । 'मायादेवी बलि खाने देवता होइनन्, बुद्धकी आमा हुन्' भने । फलस्वरुप प्रधानमन्त्री चन्द्रशमशेरले बलि रोक्न हुकुम दिएका थिए ।

अहिले जापान बौद्ध धर्म, संस्कृति र परम्पराको आदर गर्ने, जगेर्ना गर्ने, पालना गर्ने र विश्व जगतलाई यसप्रति आकषिर्त गर्ने देशको रूपमा विकसित भएको छ । बौद्ध धर्मलाई अंगिकार गर्ने र व्यवहारमा ल्याउने कार्यमा सबैभन्दा अगाडि जापान र त्यसपछि श्रीलंका, कोरिया, चीन, थाइल्यान्ड लगायतका देश छन् । बौद्ध धर्मको विश्वव्यापीकरण यसरी भएको छ कि नेपाल र भारतमा भन्दा बढी एसियाका अन्य देश, युरोप र अमेरिका लगायतका पश्चिममा यसप्रति बढी चासो, उत्सुकता, अनुशरण र संरक्षण तथा सौहार्द राख्नेहरूको संख्या बढ्दो छ ।

बौद्ध धर्मको अनुपम केन्द्र बन्नुपर्थ्याे , नेपाल । बुद्धकै जन्मभूमिमा रहेका अधिकांश अध्येता, बौद्ध धर्मका विद्वान भनिएकाहरू चाहे नेपालमै अध्ययन गरेका हुन् वा विदेशमा कर्मकाण्डी भए । बौद्ध धर्म र दर्शनको अध्ययन, अध्यापन गराउनुपर्नेमा एउटामात्र भएको बौद्ध विश्वविद्यालय पनि नाम मात्रको छ ।

लेखकले 'बौद्ध पर्यटन : लुम्बिनी र शिकोकु जापानको तुलनात्मक अध्ययन'मा विद्यावारिधि गरेका छन् 

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×