राजधनेशलाई देऊन वनमा बास

कृष्णप्रसाद भुसाल

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् ।


अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन्। नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ ।

संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।

राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ ।

यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतलेटोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।

प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो ।

चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।

राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।

संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् ।

खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इन्टरनेटले हामीलाई नंग्याएको छ

कारा स्वीसर

दुई दशकअघि इन्टरनेट युग बामे सर्दै गर्दा, स्मार्टफोन चलनचल्तीमा नआउँदै, एप्सहरूको कल्पना नहुँदै ‘सन माइक्रोसिस्टम्स’का सह–संस्थापक स्कट म्याकनेलीले भनेका थिए– ‘तपाईंका केही पनि कुरा गोप्य छैनन् । त्यसलाई आत्मसात गर्नुहोस् ।’ त्यतिबेला उनको कुरालाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् ।

अहिले हामी सबैभन्दा धेरै तथ्यांक उत्पादन गर्छौं, धेरैभन्दा धेरै विषय–वस्तु इन्टरनेटमा अपलोड गर्छौं, पागल जसरी सबै कुरा अनलाइन साटासाट गर्छौं । यसको मतलब मानव इतिहासमै हामी सबैभन्दा धेरै पक्षको निगरानीमा छौं । यस अर्थमा, हामी अनलाइनका कारण नांगिएका छौं ।

हाम्रो सबैभन्दा गोप्य भनिएकै सूचना नै तीव्र गतिमा विस्तार भइरहेको इन्टरनेटको इन्धन हो । हाम्रो विभिन्न प्रकारका तथ्यांकले नै यसलाई चलायमान बनाइरहेको छ । तसर्थ टेक कम्पनीहरूले त्यस्ता तथ्यांकहरूको दुरुपयोग पनि गरिरहेको भेटिएको छ ।
यो सबैलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय जटिल छ । सबैभन्दा पहिला त हामीले हाम्रो गोप्यता हनन भएको विषयलाई आत्मसात गर्नु हुँदैन । हामी के भयौं भन्ने मनन गर्दै हामीले गम्भीर भएर सोच्न आवश्यक छ । आफ्नो सजिलोका लागि प्रयोग गर्ने ग्याजेट्सलाई नै उपयोग गरेर हामीमाथि गरिएको व्यापारबारे सोच्न जरुरी भएको छ । त्यसका लागि हामीले आफ्नै नियम बनाएर टेक कम्पनीलाई चुनौती दिनुपर्ने अवस्था छ ।

ती नियमहरू कस्ता हुनुपर्छ भन्ने अहिलेको प्रश्न हो । केही अमेरिकाले आफ्नो गोप्यता सम्बन्धी कानुनै परिमार्जन गरेर टेक कम्पनीहरूको मनोमानीलाई नियन्त्रण गर्नुपर्ने सुझाउँछन् । केही त टेक कम्पनीको मनोमानीलाई नियन्त्रण गर्न छुट्टै निकाय नै गठन हुनुपर्ने तर्क गर्छन् । अन्य केहीको भने अहिलेकै कानुन नै काफी भएको दाबी छ । उनीहरू विद्यमान संरचनामै केही थप लगानी गरे पुग्ने सोच्छन् ।

मेरो विचारमा भने हामीले दुवै कार्य गर्नु जरुरी छ । तथ्यांकका भोका टेक कम्पनीहरू थप शक्तिशाली बन्नु अघि नै हामीले छिट्टै केही कदम चालिहाल्नुपर्छ ।

कुनै कम्पनीमा काम गर्नका लागि अन्तर्वार्ता दिन जाँदा आफ्नो हाउभाउलाई एउटा आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बुद्धि) ‘एआई’ ले उक्त कम्पनीमा काम गर्ने उत्कृष्ट र निकम्मा व्यक्तिसँग दाँजेको तपाईंलाई चित्त बुझ्छ ? मलाई त बुझ्दैन । तपाईंले घरमा प्रयोग गर्ने हरेक सामानमा क्यामेरा भएको मनपर्छ ? मलाई त मनपर्दैन । हेरिरहेको टेलिभिजन, इन्टरनेटमा किन्नका लागि खोजी गरेको सामानको इतिहाससँग आफू जोडिएको देख्न चाहनुहुन्छ ? हैन, भयो परेन ।

आफ्नो सहजताका लागि हामी हरक्षण स्मार्टफोन प्रयोग गर्छौं । त्यसले नै मानव सभ्यताको इतिहासमै हाम्रा सबै क्रियाकलापलाई निगरानी गर्ने व्यवस्थालाई बढावा दिएको छ । जसलाई मैले पनि धेरैपटक स्वीकारेको छु ।

मलाई प्रविधि मनपर्छ । मेरो आइफोनसँगको नाता पनि झन्डै एक दशक पुरानो भइसक्यो । तर अहिलेजस्तो पहिला मलाई कुनै नियन्त्रण रेखा बनाउनुपर्छ भन्ने लागेको थिएन । सबै टेक कम्पनीहरूमा राक्षसी प्रवृत्ति छ भन्ने पनि होइन । तर उनीहरूमा कुनै पनि बेला राक्षसी प्रवृत्ति आउन सक्ने सम्भावना भने छ ।

कसैले आफूमाथि निगरानी राखिरहेको छ भनेर सोच्न मानसिक रोगी हुनुपर्दैन । त्यस्ता कम्पनीहरूको अनाधिकृत निगरानीबाट रक्षा गर्न हामीलाई कडाभन्दा कडा कानुन चाहिएको छ । हामीले केही वर्षमै त्यस्ता कम्पनीका कार्यमा अंकुश लगाउने कानुन प्राप्त गर्छौं भन्नेमा म आशावादी छु ।

यसो भन्दैमा नयाँ कम्पनीहरू र तिनको आविष्कारमाथि नै अंकुश लगाउनु भने हुँदैन । केही हदसम्म युरोपले लगाएको अंकुशमाथि भने मेरो विमति छ । त्यसरी अत्तिनुपर्ने अवस्था पनि छैन भन्ने मेरो सोच हो ।

युरोपले जेनेरल डाटा प्रोटेक्सन रेगुलेसन, २०१८ मार्फत सबैभन्दा कडा कानुन ल्याएको छ । यसले कुनै पनि व्यक्तिलाई आफ्नो व्यक्तिगत तथ्यांक र सूचना कसले, कसरी प्रयोग गर्न सक्छ भन्ने निर्धारण गर्नसक्ने अधिकार दिएको छ । यस्तै अनलाइनमा विज्ञापनकर्ताहरूले कसरी विज्ञापन गर्न पाउँछन् भन्ने सम्बन्धी पनि कानुन बनाएको छ । ‘बिर्सन पाउने अधिकार’ त्यस्तै एक जटिल कानुनको उदाहरण हो । बेलायतले यसै साता कसैको छवि धुमिल्याउने सामग्री प्रकाशित गर्ने सञ्जालका अधिकारी लगायत कम्पनीलाई पनि कारबाही गर्न मिल्ने कानुन बनाउने बताएको छ ।

युरोपले ठूलो टेक कम्पनीलाई दिएको सन्देश स्पष्ट छ– ‘यो भद्रगोल तिमीहरूले नै बनाएको हो, आफैं सफा गर ।’ यो सोच आन्ध्र र प्रशान्त महासागर तरेर क्यालिफोर्नियासम्म आइपुगिसकेको छ । क्यालिफोर्नियाले पनि गतवर्ष उपभोक्ता गोपनीयता ऐन पारित गरेको छ । युरोपको जेनेरल डाटा प्रोटेक्सन रेगुलेसनभन्दा यो केही नरम रहेको आलोचना भए पनि क्यालिफोर्नियाका कम्पनीहरूले सशक्त तथ्यांक सुरक्षा नियमलाई मान्नुपर्ने भएको छ । यसले उक्त राज्यमा बस्ने नागरिकलाई आफ्नो तथ्यांक र सूचना टेक कम्पनीहरूले कसरी प्रयोग गर्न पाउँछन् भन्ने निर्क्योल गर्ने अधिकार दिएको छ । यो कानुन २०२० देखि पूर्णरूपमा लागू हुने छ र त्यसमा थप प्रावधानहरू पनि जोडिन सक्नेछन् ।

अन्य १० राज्यले पनि गोप्यता सम्बन्धी कानुन बनाउनका लागि गृहकार्य सुरु गरेका छन् । यसका लागि हरेक राज्यले आफ्नो तरिकाले सोच्नेभन्दा पनि एकीकृत रूपमा कार्य गर्नु जरुरी हुन्छ ।

कृत्रिम बुद्धि, फाइभ जी, क्वान्टम कम्प्युटिङ, स्वचालित प्रणालीहरू, रोबोटिक्स, स्वचालित कार, अनुहार चिन्ने प्रविधिजस्ता नवीनतम अविष्कारहरू गोप्यतालाई असुरक्षित बनाउने किसिमका प्रविधि हुन् । यसको प्रयोग हुँदा टेक कम्पनीहरूले प्राप्त गर्ने सूचनालाई उनीहरूले एकआपसमा कसरी साटासाट गर्छन् भन्ने अर्को मुद्दा हो । किनकि अबको विश्व यही जञ्जालमा जकडिएको छ ।

केही देश त अमेरिकीहरूले पचाउन पनि नसक्नेगरी अगाडि बढेर आफ्नो नागरिकका हरेक गतिविधिको निगरानी गरिरहेका छन् । चीन त्यसको एउटा उदाहरण हो ।

अहिलेको युगमा हामी गुगल, फेसबुक वा एमेजोनबाट भाग्न कठिन छ । भविष्यमा त्यस्ता ठूला कम्पनीहरू थप आक्रामक भएर तथ्यांक संकलन गर्न उद्यत हुन्छन् भन्नेमा पनि दुईमत छैन । उनीहरूले संकलन गनेको सूचना हाम्रालागि ‘डिजिटल ट्याटु’ जस्तै हुन् । यो सबै हाम्रो नियन्त्रणभन्दा बाहिर छ भनेर चुप लागेर बस्न भने हुँदैन । उनीहरूले आफ्नो काम गर्छन् । हामी आफ्नो अधिकार सुरक्षित गर्न जुट्नुपर्छ ।

लेखिका प्रविधिका समाचार सम्प्रेषण गर्ने वेबसाइट रिकोडकसँग आबद्ध छिन् ।
न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT