फागुन एकको सम्झना, बिर्सन...

माओवादी ‘जनयुद्ध’
गंगा बीसी

काठमाडौँ — फागुन १ पूर्व माओवादीका लागि महान् दिन हुन सक्छ । कांग्रेस  र पूर्व एमालेका लागि पनि सम्झनालायक दिन होइन । अझ मोहन वैद्यले नेतृत्व गरेको माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीका लागि गौरवशाली दिन हुन सक्छ । पूर्व राजाका लागि बिर्सनलायक दिन । माओवादीले राजतन्त्रमाथि धावा बोलेको दिन भएकाले । 

फागुन १ गते सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, यसले धेरै हुरी ल्यायो। करिब १३ हजार मान्छे मारिए, हजारौँ घाइते भए। युद्धले धेरै डोबहरू बनायो। धेरै घाउ बनायो। ती डोबहरू, घाउहरू अझै पनि पुरिएका छैनन्।
रोल्पा, रुकुमलगायतका जिल्लाहरूमा युद्धमा मारिएका व्यक्तिका ‘सहिद’ गेट, शिलालेख र सालिकहरू जस्ताका त्यस्तै छन्। सहिद गेट र सालिक स्थिर छन्। ती सजीव व्यक्तिका निर्जीव वस्तु हुन्। उनीहरू बोल्दैनन्, चाल पनि छैन। उनीहरूको सन्देश भने अवश्य छ, खास गरी पूर्व माओवादीका नेताहरूलाई।

ती सालिकमा हरेक वर्ष फागुन १ गते गेट र सालिकमा माला र टीका लगाइन्छ। उनीहरूको सपना पक्कै पनि दुनियाँ बदल्ने थियो। सपनाले उनीहरूलाई सहिद बनायो, मृत्युको मुखमा पुर्‍यायो। माओवादी र त्यसका नेताहरूले ती सपना बाँडेका थिए। सपनालाई बिपनामा बदल्ने ठुलो रहर थियो उनीहरूको। ‘सहिद’ का सालिक र गेट केही समयपछि पुराना हुँदै जानेछन्। सहिदका सपनाहरू सालिक र गेटसँग बिलाउँदै जाने स्पष्ट सङ्केत देखिएका छन्। सशस्त्र युद्धको नेतृत्व गरेको माओवादी अब पूर्व माओवादी भइसक्यो। माओवादी इतिहासमा छुटिसकेका छ। अधिकांश नेताहरू फेरिएका छन्। मुलुक नेपाल खास बदलिएको छैन। ‘मुलुक बदल्छौँ भन्थे आफै बदलिए’ पूर्व माओवादीका नेताहरू लक्षित भनाइ रोल्पा, रुकुमतिर सुन्न पाइन्छ।

नेता बदलिए। व्यवहार बदलियो। सर्वहारापन हराउँदै गयो। सर्वहाराहरू सधैँ सर्वहारा नै रहे। नेताहरू सर्वहारा रहेनन्। सर्वहाराका नेताहरू पुँजीवादी नेतामा रूपान्तरण भए। भन्न त उनीहरू अझै समाजवादमा जाने भन्दैछन्। समाजवादको बाटो रोल्पा, रुकुमको सडकजस्तै अप्ठ्यारो छ। गधा धोएर गाई बनाउने सिद्धान्त अँगालेको आरोप लाग्दैछ। दूधको दूध पानीको पानी छुट्ट्याउने क्षमता जनतासँग छ। जनताले यो निर्वाचनमा दुई तिहाइ दिएको पनि आड र भरोसाले हो।
सर्वहारा भइरहन अब नेपाली जनतालाई मन छैन। सायद सर्वहाराको नाममा रानजीति जनतालाई मन पर्दैन। किनकि सर्वहारा आफैमा दु:खीपन हो। तर दु:खुलाई पार लगाउने पूर्व माओवादी र एमालेको मिलनपछि जन्मिएको नेपाल कम्युनिस्ट पार्टीले कुरा गरेको छ। यो सरकारमा २०५२ फागुन १ बाट सुरु भई १० वर्ष चलेको सशस्त्र युद्धको रगत र पसिना मिसिएको छ।

‘सर्वहारा’ नेताहरू सरकारमा पुगे। विगतका कार्यशैली सरकारको कार्यशैली। जनताका दु:ख बदलिएका छैनन्। तर, नेताको जीवनशैली बदलिएको छ। जनताको जीवन खासै नबलिनु तर नेताको जीवनशैली बदलिँदै जाने हो भने समाजवादको मार्ग कोरिन्छ कि नाइ? यो प्रश्नको उत्तर रोल्पा, रुकुमलगायत जिल्लामा रहेका सहिदका गेट र सालिकले दिन सक्दैनन्।

युद्धमा मारिएका परिवारको अवस्था खासै सुधार भएको छैन। स्वाभाविक विकासका कामहरू गाउँमा भएका छन्। युद्धमा बन्दुक बोकेका केही व्यक्ति गाउँ फर्किएका छन्। धेरै काम खोज्दै विदेश पुगेका छन्। रगत र पसिनाको मूल्य के हो? बन्दुक बाकेर हाल गाउँ फर्केका पूर्व लडाकु र माओवादी कार्यकर्तालाई सोधे हुन्छ। रगत र पसिना बग्यो, खोला र नदीजस्तै। युद्धमा बगेको रगत र पसिनाको मूल्यले पूर्व लडाकु र कार्यकर्ताको जीवनस्तर फेरिनु पर्ने हो। नेताको जीवनस्तर फेरियो।

युद्ध इतिहासमै सीमित भएको बेश हो। माओवादी युद्ध पनि सम्झना र बिर्सनको दोसाँधमा छ। यद्यपि युद्धका डोबहरू रहिरने छन्। युद्ध शान्तिमा रूपान्तरण भएकोले चिन्ता गर्नुपर्ने अवस्था छैन। चिन्ता त छ केवल सर्वहारा जीवनको। केवल प्रश्न छ, ‘के अझै सर्वहारा भइरहने हो? के सर्वहाराको नाममा राजनीति भइरहने हो?

प्रकाशित : फाल्गुन १, २०७५ १८:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ओगुरा अकुपन्चरिस्ट

नेपाल र नेपाली समाजकी जानकार जापानी पत्रकार कियोको ओगुराको परिचय अहिले फेरिएको छ । उनी अब अकुपन्चरिस्ट ओगुरा बनेकी छन् ।
गंगा बीसी

काठमाडौँ — वत् २०६४ मंसिरतिर रोल्पाको होलेरी नजिक दहवनको अस्थायी शिविरमा माओवादी लडाकु बसेका थिए ।

कान्तिपुर टेलिभिजनमा कार्यरत रहँदा लडाकु शिविरको रिपोर्टिङमा दहवन पुगेका बेला पत्रकार कियोको ओगुरासँग चिनजान भएको थियो । त्यसपछि रिपोर्टिङ सिलसिलामा माओवादीका ठूला कार्यक्रमहरूमा ओगुरासँग भेट भइरहन्थ्यो । माओवादी युद्धकालमा उनले जोखिम मोलेर रिपोर्टिङ गरेकी थिइन्, खासगरी माओवादी महिला लडाकु विषयमा उनको शोधमूलक रिपोर्टिङले वाहवाही पाएको थियो ।


ओगुरा जापानबाट काठमाडौं उत्रिएका बेला काठमाडौंमा जनआन्दोलन (२०४६) जारी थियो । जनआन्दोलनबारे २०५२ मा उनको पुस्तक ‘काठमाडौं स्प्रिङ’ आयो । तीन वर्षपछि ‘जनता जागेका बेला’ प्रकाशित भयो । योसहित उनका नेपाली, जापानी र अंग्रेजी गरीे चार पुस्तक प्रकाशित छन् । तिनै चर्चित पत्रकार ओगुरा यतिबेला भने बिरामीको उपचारमा तल्लीन भेटिन्छिन् । नेपाली समाज र सामाजिक यथार्थको छामछुमपछि उनी अब बिरामीको जीउ छाम्ने काममा खटेकी छन् । सायद अब उनी फेरि पत्रकारको रूपमा रोल्पा/रुकुम जाने छैनन् । जानैपरे त्यो ठाउँमा उनी बिरामीको सेवा गर्न जानेछिन् । हो, लेखक/पत्रकार कियोको ओगुरा अब अकुपन्चरिस्ट भएकी छन् । नेपालमा केही वर्षयता सुरु भएको नयाँ चिकित्साको यो पद्धति सिक्न ओगुराले तीन वर्ष खर्चनुपर्‍यो ।


‘अब मलाई पत्रकारिता गर्न पुग्यो,’ उनले भनिन्, ‘मैले विगतमा धेरै प्रश्न गरेर सायद धेरैलाई दु:ख दिएँ होला । अब म सेवा गर्न चाहन्छु ।’ यही कारण ओगुराले नेपालमा अकुपन्चर विधिबाट बिरामीको सेवा गर्ने बाटो रोजेकी छन् । भन्छिन्, ‘मैले सोधेका सबै प्रश्नको उत्तर नपाए पनि सेवा दिने कर्तव्य सम्झें ।’ उनले जापानको होकाइदा कलेज अफ इस्टर्न मेडिसिनबाट छात्रवृत्तिमा डिप्लोमा तहको अकुपन्चर कोर्स पूरा गरेकी हुन् । यो कोर्स गर्न पैसा तिरेर पढेको भए करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने थियो । उक्त कलेजका शिक्षक नासु सेनसेईको सहयोगमा उनले यो पढ्ने छात्रवृत्ति पाएकी हुन् । आफ्नो रुचिको विषय भएकैले होला, उनले यो कोर्समा प्रथम स्थान हासिल गरिन् । ‘म विज्ञान (एग्रो–बायोलोजी) को विद्यार्थी भएको हुनाले फरक रुचि थियो । मौका मिल्यो, अनि अक्युपन्चर विषय पढें,’ उनले सुनाइन् । उनले टोकियो विश्वविद्यालयबाट बाइलोजीमा स्नातक गरेकी छन् । नेपाल बसाइका क्रममा उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए पनि गरिन् ।


२०४६ सालको आन्दोलनमा उनी काठमाडौंमा थिइन् । आन्दोलनको अग्रस्थानको तस्बिर खिच्दै हिँडेको उनको तस्बिर चर्चित रह्यो । वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यले उनको तस्बिर खिचेपछि धेरै पछि मात्र उनी कियोको ओगुरा भनेर चिनिइन् । ‘मलाई जोखिम मोलेर काम गर्ने रुचि थियो । त्यही भएर आन्दोलन र युद्धबारे पत्रकारिता गर्न चाहेंजस्तो लाग्छ,’ उनले थपिन् । माओवादी युद्धका बेला उनी रोल्पा र रुकुमका भित्री बस्ती पुगेकी छन् । २०६२ तिर सिन्धुपाल्चोकको ठोकर्पामा रिपोर्टिङ गर्न गएको बेला सेनाको हवाई आक्रमणमा पनि परेकी थिइन् । धन्य, ओढारमा आड लागेर जोगिएकी थिइन् ।


माओवादी उद्गमस्थल रोल्पाको थबाङमा उनी आधा दर्जन पटक पुगेकी छन् । थबाङको राजनीतिक–सामाजिक अवस्था बुझ्न आफूले चाहेको बताउँदै ओगु्राले त्यही बुझाइका आधारमा ‘जनता जागेका बेला’ सहितका पुस्तक लेख्न सकेको सुनाइन् । पत्रकारिता दौरानमा उनले जापानका लागि आसाही सिम्बुन र एसिया प्रेस इन्टरनेसनलमा समेत काम गरेकी थिइन् ।
अब भने ओगुरा अकुपन्चरको सुई धेरै चलाउनमा व्यस्त रहनेछिन् । ‘मैले लेखक, पत्रकारको रूपमा जनआन्दोलन, माओवादी युद्ध, शान्ति प्रक्रिया सबै देखें । यस अर्थमा म निकै भाग्यमानी छु,’ उनले भनिन्, ‘अब भने फरक ढंगले काम गर्न चाहन्छु । त्यो भनेको अकुपन्चर विधिबाट बिरामीको सेवा गर्नु हो ।’


हाल उनी काठमाडौंको गोकर्णमा रेस्क अस्पतालमा काम गर्दै छिन् । ‘आफूले पढेको कुरा व्यवहारमा लागू गर्दै छु । सिक्दै उपचार गर्दै छु,’ उनले भनिन्, ‘बिरामीको सेवा गर्नु मेरो परम कर्तव्य हो ।’ उनले उपचारपछि केही निको भएर फर्केका बिरामी देख्दा आफूलाई आनन्द आउने सुनाइन् । जापान अकुपन्चर पढ्न जानुअघि ओगुरालाई दोधार थियो । आयुर्वेदिक भारत पढ्न जाने कि भन्ने सोचाइ उनमा पलाएको थियो । त्यसपछि अकुपन्चर पढ्ने कि भनेर शिक्षक नासु सेनसेईले सोधेका थिए । पढ्न त पढिन् । अब कहाँ गएर काम गर्ने ? जापानको स्वास्थ्य मन्त्रालयबाट उनले परीक्षा दिएर ‘लाइसेन्स’ पनि लिइन् । नेपालमै बसेर काम गर्ने सर्तमा उनले पूरै छात्रवृत्तिमा पढ्ने मौका पाएकी थिइन् ।


पढाइपछि जापानभन्दा उनलाई नेपालमा काम गर्ने जाँगर चल्यो । ‘जापानमा काम गरेको भए राम्रो पैसा कमाइन्थ्यो होला । तर, नेपालमा मैले धेरै मान्छे चिनेकी छु । त्यसकारण म अकुपन्चर पढेर यतै काम गर्न आएँ,’ उनले आफ्नो कुरा खुलाइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा उनले ‘अकुपन्चर इक्युभ्यालेन्ट’ का लागि निवेदन दिएकी छन् । इक्युभ्यालेन्ट पाएपछि नेपाल स्वास्थ्य परिषद्बाट लाइसेन्स लिने प्रक्रियामा उनी लाग्नेछिन् ।‘सहर र गाउँको बीचतिर स्थानीय स्वास्थ्य संस्थामा काम गर्ने सोचाइ मेरो छ,’ ओगुराले भनिन्, ‘ताकि भित्री गाउँमा मान्छेले अकुपन्चर सेवा पाऊन् ।’ अकुपन्चर पद्धति चीन, जापान कोरिया हुँदै छैटौं शताब्दीपछि प्रचलित भएको मानिन्छ । ओगुराको नेपाल मोह अचाक्ली छ । उनले पैसा कमाउन यो नौलो पेसा अँगालेकी होइनन् । ‘यो मेरो रुचिले बिरामीको सेवाका लागि रोजेको पेसा हो । म अब यसमै जीवन बिताउन चाहन्छु,’ उनले थपिन् ।


नसासम्बन्धी विभिन्न रोग लागेका व्यक्ति, जीउ दुखिरहने, प्यारालाइसिसका बिरामीका लागि अकुपन्चर उपचार लाभदायक हुन्छ । उनले काम गर्ने संस्थाले १५ वर्षदेखि अकुपन्चर उपचार गरिरहेको छ, सहुलियत दरमा एक दिनको एक सय ३० रुपैयाँमा । रेस्कमा अकुपन्चर उपचार गर्न हरेक दिन १५ देखि ४० बिरामी आउँछन् ।किन पत्रकारितामा अरुचि ? उनले हाँस्दै भनिन्, ‘अरुचिभन्दा पनि मैले धेरै पत्रकारिता र लेखन गरें । मैले धेरै राजनीतिक परिवर्तन देखें । म यस अर्थमा भाग्यमानी हुँ ।’ ओगुराका बुझाइमा, नेपालको पत्रकारिताले गतिलो फड्को मारेको छ । ‘नेपालको पत्रकारितामा निकै राम्रो विकास भएको छ । मलाई यसमा खुसी लाग्छ,’ उनको अनुभव छ ।यो सवालजवाफ गरिरहँदा पत्रकार ओगुरा गोकर्णस्थित रेस्क अकुपन्चर अस्पतालमा सेतो एप्रोनमा सजिएर बिरामीलाई सुई घोचिरहेकी थिइन् ।


प्रकाशित : माघ २६, २०७५ ११:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×